आफू कस्तो व्यक्ति हुँ भनेर राम्ररी बुझेको मानिसले आँधीहुरीरूपी समस्या आउँदा पनि दृढ रहन सक्छ
युवाहरूका लागि
९ आफैलाई चिन्नुहोस्
यसको अर्थ के हो?
तपाईँको नाम र रूपरङ्गले मात्र तपाईँको चिनारी दिँदैन। तपाईँको मूल्यमान्यता, धार्मिक विश्वास र व्यक्तित्वले पनि तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ भनेर चिनाउँछ। वास्तवमा तपाईँको गुण, सोचाइ, बानीबेहोरा र रूपरङ्गजस्ता कुराहरू नै तपाईँको चिनारी हो।
यस विषयमा किन चासो राख्नुपर्छ?
आफू कस्तो व्यक्ति हुँ भनेर तपाईँले राम्ररी बुझ्नुभएको छ भने साथीहरूको लहैलहैमा लाग्नुहुनेछैन। बरु आफ्नो अडानअनुसार चल्नुहुनेछ।
“थुप्रै मानिस लुगा पसलमा राखिएको ‘डमी’-जस्तै हुन्छन्। डमीले लुगा त लगाएको हुन्छ तर रोजाइ अरूकै हुन्छ।”—एड्रिएन
“गाह्रो भए पनि सही कुराको लागि अडान लिन सिकेकी छु। म आफ्नो साँचो साथीहरूलाई राम्ररी चिन्छु। तिनीहरूसित सङ्गत गर्न कुनै अप्ठेरो लाग्दैन किनभने तिनीहरू मेरो स्तरको कदर गर्छन्।”—कोर्टने
बाइबलको सिद्धान्त: “तिमीहरू यस युगको चालढालअनुसार चल्न छोड, बरु तिमीहरूको सोचाइमा यस्तो परिवर्तन आओस् कि तिमीहरूको कायापलट होस्।”—रोमी १२:२.
तपाईँ के गर्न सक्नुहुन्छ?
तपाईँ कस्तो व्यक्ति हुनुहुन्छ र कस्तो व्यक्ति बन्न चाहनुहुन्छ, सोच्नुहोस्। आफ्नो राम्रो पक्ष, कमीकमजोरी र विचारधारा राम्ररी केलाउनुहोस्। तल दिइएका प्रश्नहरूले तपाईँलाई त्यसो गर्न मदत गर्नेछ।
राम्रो पक्ष: मसित कस्ता क्षमता र सीपहरू छन्? मेरा राम्रा पक्षहरू के-के हुन्? (जस्तै: के म समयनिष्ठ छु? आत्मसंयमी छु? मेहनती छु? उदार छु?) मैले कस्ता राम्रा कामहरू गरेको छु?
सुझाव: के तपाईँलाई आफूमा कुनै राम्रो कुरा नै छैन जस्तो लाग्छ? आमाबुबा वा भरोसायोग्य साथीलाई ‘मेरा राम्रा पक्षहरू के-के हुन् र तपाईँलाई किन त्यस्तो लाग्छ,’ सोध्नुहोस्।
बाइबलको सिद्धान्त: “हरेकले आफ्नो काम जाँचोस्, तब उसले अरूसित तुलना गरेर होइन तर आफ्नै काममा रमाउने कारण पाउनेछ।”—गलाती ६:४.
कमीकमजोरी: मेरो व्यक्तित्वको कुन पक्ष सुधार्नुपर्छ? प्रायजसो कस्तो अवस्थामा नराम्रो काम गर्ने दबाब महसुस हुन्छ? मैले कुन क्षेत्रमा अझै आत्मसंयम देखाउनुपर्छ?
बाइबलको सिद्धान्त: “यदि हामी ‘हामीमा पाप छैन’ भन्छौँ भने आफैलाई झुक्क्याइरहेका हुन्छौँ।”—१ यूहन्ना १:८.
विचारधारा: म कस्तो नैतिक स्तर पालन गर्छु र किन? के म ईश्वरमा विश्वास गर्छु? गर्छु भने किन? कस्ता कामलाई म अन्याय भएको ठान्छु र किन? भविष्यबारे मेरो सोचाइ कस्तो छ?
बाइबलको सिद्धान्त: “विवेकले तँमाथि हेरचाह गर्नेछ, समझशक्तिले तेरो रक्षा गर्नेछ।”—हितोपदेश २:११.