बढ्दो महङ्गी—एउटा ठूलो समस्या
उदार हुनुहोस्
यदि तपाईँ बढ्दो महङ्गीसित सङ्घर्ष गर्दै हुनुहुन्छ भने अरूलाई उदारता देखाउनु असम्भव कुरा हो जस्तो लाग्न सक्छ। तर वास्तवमा उदारता देखायौँ भने आर्थिक कठिनाइसित जुझ्न अझ सजिलो हुन सक्छ। तपाईँ उदार हुन सक्नुहुन्छ र सँगसँगै पैसा बचत गर्न पनि सक्नुहुन्छ।
यसो गर्नु किन महत्त्वपूर्ण छ?
स-सानो कुरामा समेत उदार हुँदा हामीलाई खुसी मिल्छ र हाम्रो आत्मसम्मान बढ्छ। अनुसन्धानले देखाएअनुसार अरूलाई दिँदा हाम्रो शारीरिक र मानसिक स्वास्थ्य दुवैमा राम्रो असर पुग्छ। उदाहरणको लागि, यसले केही हदसम्म हाम्रो चिन्ता, फिक्री, उच्च रक्तचाप र शारीरिक दुखाइ पनि कम गर्छ। साथै हामीलाई मीठो निद्रा पनि लाग्छ।
आर्थिक रूपमा होस् वा अरू तरिकामा, अरूलाई दिने बानी बसालेका छौँ भने अरूबाट केही पाउँदा पनि अप्ठ्यारो नमानी स्विकार्न सक्छौँ। बेलायतमा बस्ने हावर्ड यसो भन्छन्: “म र मेरी श्रीमती अरूलाई मदत गर्ने विभिन्न तरिकाहरू खोजिरहन्छौँ। यसले गर्दा हामीलाई पनि अरूबाट मदत चाहिँदा अप्ठ्यारो नमानी त्यो स्विकार्न सजिलो भएको छ।” पक्कै पनि उदार मानिसहरू अरूबाट केही पाउने आस गर्दैनन्। तर त्यस्ता मानिसहरूले असल साथीहरू कमाएका हुन्छन्, जो तिनीहरूलाई आवश्यक पर्दा मदत दिन अग्रसर हुन्छन्।
तपाईँ के गर्न सक्नुहुन्छ?
बाँडचुँड गर्नुहोस्। सायद तपाईँसित अरूलाई दिन थोरै मात्र होला, तैपनि तपाईँ बाँजचुँड गर्न सक्नुहुन्छ। तपाईँ कसैलाई एक छाक खानाको लागि मात्र भए पनि निम्तो दिन सक्नुहुन्छ। युगान्डामा बस्ने डन्कन् र तिनको परिवार गरिब भए तापनि तिनीहरूले उदार मनोभाव देखाउँदै आएका छन्। डन्कन् यसो भन्छन्: “प्रायः सप्ताहन्तमा म र मेरी श्रीमती अरूलाई खानाको निम्तो दिन्छौँ। खाना साधारण भए पनि उहाँहरूसितको सङ्गतिबाट हामी निकै लाभ उठाउँछौँ।”
तर बाँडचुँड गर्ने सन्दर्भमा हामी व्यावहारिक पनि हुनुपर्छ। उदार हुनुपर्छ भन्दैमा हामी आफ्नो परिवारलाई अनावश्यक बोझ बोकाउन चाहँदैनौँ।—अय्युब १७:५.
यसो गरे कसो होला? तपाईँ कसैलाई साधारण खाना वा पिउने कुरा मात्र भए पनि दिन सक्नुहुन्छ कि? अथवा आफूले खासै प्रयोग नगर्ने सामानहरू खाँचोमा परेका साथी वा छिमेकीलाई बाँड्न सकिन्छ कि?
विभिन्न तरिका अपनाउनुहोस्। पैसाले किन्न नसकिने उपहारहरू पनि छन्। जस्तै, हामी अरूलाई मदत गर्न आफ्नो समय र शक्ति खर्चन सक्छौँ। हाम्रो दयालु बोली पनि कसैको लागि विशेष उपहार हुन सक्छ! त्यसैले तपाईँ अरूलाई कत्ति माया गर्नुहुन्छ र मूल्यवान् ठान्नुहुन्छ भन्ने कुरा व्यक्त गर्नुहोस्।
यसो गरे कसो होला? अरूलाई घरको कामकुरामा सघाउनुहोस्। तपाईँ उनीहरूलाई घर मर्मत गर्न वा किनमेल गर्ने काममा सघाउन सक्नुहुन्छ। तपाईँ आफ्नो भावना व्यक्त गर्न साथीलाई कार्ड लेख्न सक्नुहुन्छ। अथवा तिनलाई सम्झिरहेको कुरा बताउन मात्र भए पनि मेसेज गर्नुहोस्।
उदार हुँदा तपाईँले खुसी हुने थप कारणहरू पाउनुहुनेछ।