प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • gt chap. ५८
  • रोटी र खमिर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रोटी र खमिर
  • सबैभन्दा महान्‌ पुरुष
  • मिल्दोजुल्दो सामग्री
  • रोटी र खमिर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • उहाँ थोरै रोटीलाई धेरै बनाउनुहुन्छ र खमिरदेखि होसियार गराउनुहुन्छ
    येसु—बाटो, सत्य र जीवन
  • येशूले हजारौंलाई चमत्कार द्वारा खुवाउनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
  • येशूले चमत्कारद्वारा हजारौंलाई खुवाउनुहुन्छ
    सबैभन्दा महान्‌ पुरुष
थप हेर्नुहोस्
सबैभन्दा महान्‌ पुरुष
gt chap. ५८

अध्याय ५८

रोटी र खमिर

डेकापोलिसमा येशूनजिक ठूलो भीड जम्मा भएको छ। अन्यजातिको बाहुल्य भएको यस क्षेत्रमा मानिसहरू धेरै टाढा-टाढाबाट उहाँको कुरा सुन्‍न र निको हुन आएका छन्‌। तिनीहरूले आफ्ना साथमा ठूला-ठूला टोकरीहरू अथवा खानेकुरा हालेर बोक्ने डालोहरू ल्याएका छन्‌ किनकि अन्यजातिहरूका क्षेत्रमा यात्रा गर्दा आफूसँग खानेकुरा लिएर हिंड्‌ने तिनीहरूको चलन छ।

तथापि येशूले आफ्ना चेलाहरूलाई बोलाएर भन्‍नुहुन्छ: “यो भीड देखेर मलाई साह्रै दया लाग्यो, किनभने तिनीहरू मेरो वरपर बसेको तीन दिन भइसक्यो अनि तिनीहरूसित केही खानेकुरा छैन। मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा ढल्नेछन्‌। हुन पनि, तिनीहरूमध्ये कोही-कोही त निकै टाढाबाट आएका छन्‌।”

चेलाहरू सोध्छन्‌: “यस्तो अनकन्टार ठाउँमा यत्तिका मानिसहरूलाई पुग्ने रोटी कहाँबाट ल्याउने?”

येशू सोध्नुहुन्छ: “तिमीहरूसित कति वटा रोटी छ?”

तिनीहरू भन्छन्‌: ‘सात वटा र केही साना माछाहरू।’

मानिसहरूलाई चौरमा बस्न अह्राएर येशूले ती रोटी र माछाहरू लिनुहुन्छ, परमेश्‍वरलाई प्रार्थना गर्नुहुन्छ, त्यसलाई भाँच्नुहुन्छ अनि चेलाहरूलाई ती टुक्राहरू दिन थाल्नुहुन्छ। अनि चेलाहरूले पनि मानिसहरूलाई दिन्छन्‌। सबै जना खाएर तृप्त हुन्छन्‌। करिब चार हजार पुरुष, स्त्री र केटाकेटीहरूले खाइसकेपछि पनि उब्रेका टुक्राहरू जम्मा गर्दा सात वटा ठूलो डालो भरिन्छन्‌!

येशूले भीडलाई बिदा गर्नुहुन्छ, आफ्ना चेलाहरूसित डुङ्‌गा चढ्‌नुहुन्छ र गालील समुद्रको पश्‍चिम किनारतर्फ जानुहुन्छ। यहाँ फरिसी र यस पटक सदुकी धार्मिक सम्प्रदायका सदस्यहरूसमेत मिलेर येशूलाई परीक्षामा पार्न उहाँसँग स्वर्गबाट एउटा चिन्हको माग गर्छन्‌।

उहाँलाई परीक्षामा पार्ने तिनीहरूको प्रयास देखेर येशू जवाफ दिनुहुन्छ: “जब साँझ पर्छ, तब तिमीहरू यसो भन्‍ने गर्छौ, ‘आकाश रातो छ; त्यसैले मौसम सफा हुनेछ।’ अनि बिहान यसो भन्छौ, ‘आकाश रातो भए पनि धुम्म बादल लागेको छ; त्यसैले आज झरी परेर चिसो हुनेछ।’ तिमीहरू आकाश हेरेर त्यसको अर्थ लगाउन सक्छौ तर अहिले भइरहेको कुरा हेरेर त्यसको चाहिं अर्थ लगाउन सक्दैनौ।”

त्यसपछि येशूले तिनीहरूलाई परमेश्‍वरप्रति वफादार नरहने दुष्ट पुस्ता भन्‍नुहुन्छ र पहिले नै फरिसीहरूलाई भन्‍नुभएजस्तै तिनीहरूलाई पनि योनाको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन भनी चेतावनी दिनुहुन्छ। तिनीहरूलाई छाडेर आफ्ना चेलाहरूका साथ डुङ्‌गामा बसेर गालीलको उत्तर-पूर्व किनारमा बेथसेदातर्फ जानुहुन्छ। रोटी ल्याउन बिर्सेछन्‌ भनी चेलाहरूले बाटोमा थाह पाउँछन्‌। तिनीहरूसित केवल एउटा रोटी मात्र छ।

फरिसी र हेरोदलाई समर्थन गर्ने सदुकीहरूको सम्प्रदायका सदस्यहरूसित भर्खरै भएको विवादलाई ध्यानमा राख्दै येशू कडा आज्ञा दिनुहुन्छ: “तिमीहरूको आँखा खुल्ला राख अनि फरिसीहरू र हेरोदको खमिरदेखि होसियार रहो।” येशूले खमिरको चर्चा गरेकोले चेलाहरू आफूले रोटी ल्याउन बिर्सेको कुरा उहाँले गर्नुभएको होला भन्ठान्छन्‌ र त्यस विषयमा आपसमा बहस सुरु गर्छन्‌। तिनीहरूले कुरा नबुझेको हुँदा येशू भन्‍नुहुन्छ: “रोटी नल्याएको विषयलाई लिएर तिमीहरू किन आपसमा भनाभन गर्छौ?”

हालै येशूले हजारौं मानिसहरूका लागि चमत्कारपूर्वक रोटी उपलब्ध गराउनुभएको थियो र आफ्नो यो आखिरी चमत्कार सम्भवतः उहाँले एक-दुई दिनअघि मात्र गर्नुभएको थियो। साँच्चैकै रोटीको अभावबारे उहाँ चिन्तित हुनुहुन्‍न भन्‍ने कुरा तिनीहरूले बुझ्नुपर्ने हो। तिनीहरूलाई याद दिलाउँदै उहाँ भन्‍नुहुन्छ: “मैले पाँच वटा रोटी भाँचेर पाँच हजार पुरुषलाई खुवाउँदा तिमीहरूले कति डालो टुक्राटाक्री बटुलेका थियौ?”

“बाह्र,” तिनीहरूले जवाफ दिन्छन्‌।

“मैले सात वटा रोटी भाँचेर चार हजार पुरुषलाई खुवाउँदा तिमीहरूले कति वटा ठूलो डालोमा टुक्राटाक्री बटुलेका थियौ?”

“सात,” तिनीहरू जवाफ दिन्छन्‌।

येशू तिनीहरूलाई सोध्नुहुन्छ: “के तिमीहरूले अझै अर्थ बुझेनौ? त्यसोभए, मैले तिमीहरूसित रोटीको विषयमा कुरा गरेको होइन भनेर तिमीहरू किन बुझ्दैनौ? मैले त फरिसी र सदुकीहरूको खमिरदेखि होसियार रहो भनेको पो हुँ।”

चेलाहरू बल्ल कुरा बुझ्छन्‌। खमिर त्यो चीज हो जसले रासायनिक प्रक्रियाद्वारा रोटीलाई फुलाउँछ। दुष्टतालाई सङ्‌केत गर्न पनि यस शब्दको प्रयोग गरिन्छ। यसकारण उहाँले यो शब्द एउटा प्रतीकको रूपमा प्रयोग गर्नुभएको रहेछ र मानिसलाई भ्रष्ट पार्ने “फरिसी र सदुकीहरूका शिक्षाबाट” होसियार रहन चेतावनी दिनुहुँदैछ भनी तिनीहरूले बुझ्छन्‌। मर्कूस ८:१-२१; मत्ती १५:३२–१६:१२.

▪ मानिसहरूसित किन खानेकुराका ठूला-ठूला डालो छन्‌?

▪ डेकापोलिस छाडेपछि येशू डुङ्‌गाबाट कहाँ यात्रा गर्नुहुन्छ?

▪ खमिरसम्बन्धी येशूले गर्नुभएको बयानबारे चेलाहरूमा के गलतफहमी हुन्छ?

▪ “फरिसी र सदुकीहरूका खमिर” भन्‍ने येशूको अभिव्यक्‍तिको अर्थ के हो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने