प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be study १ p. ८३-p. ८५ par. ३
  • ठीकसित पढ्‌नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ठीकसित पढ्‌नुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • पढ्‌ने काममा लागिरहनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • उपयुक्‍त विराम
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • दैनिक बाइबल पढाइबाट लाभ उठाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • बाइबल पढाइ–लाभदायी तथा आनन्ददायी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be study १ p. ८३-p. ८५ par. ३

अध्याय १

ठीकसित पढ्‌नुहोस्‌

तपाईंले के गर्नुपर्छ?

जस्तो छापिएको छ ठूलो स्वरमा त्यस्तै पढ्‌नुपर्छ। कुनै पनि शब्द वा अक्षर छुटाउनुहुँदैन, लेखिएको शब्दको सट्टा अर्को शब्द प्रयोग गर्नुहुँदैन। शब्द ठीकसित उच्चारण गर्नुपर्छ। विराम-चिन्ह र मात्राहरू याद गर्नुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

ध्यान दिएर ठीकसित पढ्‌नु बाइबल सत्यको सही ज्ञान बाँड्‌ने अभिन्‍न भाग भएकोले।

“सबै किसिमका मानिसहरूले उद्धार पाऊन्‌ र सत्यको सही ज्ञान लिऊन्‌ भन्‍ने” परमेश्‍वर चाहनुहुन्छ भनी बाइबल बताउँछ। (१ तिमो. २:४) त्यसैले ठूलो स्वर निकालेर बाइबलबाट पढ्‌दा यही भाव झल्किएको हुनुपर्छ।

बाइबल र बाइबलबारे सिकाउने प्रकाशनहरूबाट ठूलो स्वर निकालेर पढ्‌न जवान र वृद्ध सबैले सिक्नै पर्छ। यहोवाका साक्षीको हैसियतमा यहोवा र उहाँका तौरतरिकाबारे अरूलाई सिकाउने हाम्रो दायित्व छ। त्यसमा कुनै व्यक्‍ति वा मानिसहरूको समूहलाई पढेर सुनाउनु समावेश छ। हामी परिवारमा पनि ठूलो स्वर निकालेर पढ्‌ने गर्छौं। जवान होस्‌ वा वृद्ध, भाइ होस्‌ वा बहिनी सबैले स्वर निकालेर पढ्‌ने सन्दर्भमा उन्‍नति गर्न चाहिने थुप्रै सल्लाह ईश्‍वरतान्त्रिक सेवा स्कूलमा पाउन सक्छन्‌।

मानिसहरूसामु होस्‌ वा मण्डलीमा, बाइबल पढेर सुनाउनु गम्भीर जिम्मेवारी हो। बाइबल परमेश्‍वरको प्रेरणाबाट लेखिएको हो। साथै “परमेश्‍वरको वचन जीवित र प्रबल . . . छ। यसले . . . मनको विचार र आशय जाँच्न सक्छ।” (हिब्रू ४:१२) अरू कुनै स्रोतबाट पाउन नसकिने अनमोल ज्ञान परमेश्‍वरको वचनमा पाइन्छ। त्यसले एकमात्र साँचो परमेश्‍वरलाई चिन्‍न, उहाँसित राम्रो सम्बन्ध विकास गर्न र जीवनका समस्यासित डट्‌न मदत दिन्छ। परमेश्‍वरको नयाँ संसारमा अनन्त जीवन कसरी पाउन सकिन्छ भनेर पनि बाइबलले बताउँछ। त्यसकारण आफ्नो क्षमताअनुसार सकेसम्म राम्ररी बाइबल पढ्‌ने हाम्रो लक्ष्य हुनुपर्छ।—भज. ११९:१४०; यर्मि. २६:२.

ठीकसित पढ्‌ने तरिका: प्रभावकारी ढङ्‌गले पढ्‌ने तरिका थुप्रै छन्‌। तर सर्वप्रथम ठीकसित पढ्‌न जान्‍नुपर्छ। यसको अर्थ, जस्तो छापिएको छ त्यस्तै पढ्‌नुपर्छ। शब्दहरू नछुटाईकन पढ्‌नुहोस्‌, विभक्‍ति र प्रत्ययमा ध्यान दिनुहोस्‌ वा उस्तै-उस्तै देखिने शब्द एउटै तरिकामा नपढ्‌नुहोस्‌।

ठीकसित पढ्‌न तपाईंले त्यसको सन्दर्भ राम्ररी बुझेको हुनुपर्छ। यसको लागि ध्यान दिएर तयारी गर्नुपर्छ। समयको अन्तरालमा कुन शब्द पछि कस्ता शब्द आउँछन्‌ भनेर अनुमान लगाउन सक्नुहुन्छ र विषयवस्तु कतातिर गइरहेको छ, त्यो थाह पाउन सक्नुहुन्छ। त्यसपछि ठीकसित पढ्‌ने तपाईंको क्षमता अझै उन्‍नति हुन्छ।

लिखित भाषामा विराम-चिन्ह र मात्राहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। विराम-चिन्हले कहाँ रोकिने, कति लामो समय रोकिने र कहाँ स्वरको तिखोपन घटबढ गर्ने त्यो थाह पाउन सकिन्छ। कुनै-कुनै भाषामा जस्तै नेपाली भाषामा पनि विराम-चिन्हअनुसार आवाज परिवर्तन गरेनौं भने प्रश्‍न वाक्यमा परिणत हुन्छ वा अर्थ नै फरक पर्छ। हुन त व्याकरणले माग गरेकै कारण विराम-चिन्ह प्रयोग गरिन्छ। धेरै भाषामा मात्रालाई राम्ररी ध्यान नदिई ठीकसित पढ्‌न सकिंदैन। अक्षरमा प्रयोग गरिएका मात्राले गर्दा त्यो अक्षर कसरी पढ्‌ने भनी थाह पाउन सकिन्छ। तपाईंको भाषामा विराम-चिन्ह, मात्रा र स्वर-वर्ण कसरी प्रयोग गरिन्छ, पक्का गर्नुहोस्‌। अर्थपूर्ण ढङ्‌गमा पढ्‌नको लागि यी अत्यावश्‍यक छन्‌। नबिर्सनुहोस्‌, तपाईंको लक्ष्य विचार व्यक्‍त गर्नु हो, शब्द पढ्‌नु मात्र होइन।

ठीकसित पढ्‌ने क्षमता विकास गर्न चाहनुहुन्छ भने अभ्यास गर्नुपर्छ। पहिला एउटा अनुच्छेद मात्र पढ्‌नुहोस्‌; कुनै गल्ती नगरी पढ्‌न नसकून्जेल त्यसलाई बारम्बार पढ्‌नुहोस्‌। त्यसपछि अर्को अनुच्छेद पढ्‌नुहोस्‌। अन्तमा कुनै शब्द नछुटाई, नदोहोऱ्‍याई वा गलत उच्चारण नगरी धेरै पाना पढ्‌ने प्रयास गर्नुहोस्‌। यी कदम चालिसकेपछि अरू कसैलाई तपाईंको पढाइ सुनिदिन र पढ्‌दा गरेको गल्ती औंल्याइदिन भन्‍नुहोस्‌।

कुनै-कुनै अवस्थामा आँखा कमजोर भएकोले वा प्रशस्त उज्यालो नपुगेकोले पढ्‌न गाह्रो हुन सक्छ। यस्ता समस्या समाधान गर्न सक्नुभयो भने पक्कै पनि तपाईंले अझ राम्ररी पढ्‌न सक्नुहुन्छ।

राम्ररी पढ्‌ने भाइहरूलाई मण्डली बाइबल अध्ययन र प्रहरीधरहरा अध्ययनमा अनुच्छेदहरू पढ्‌ने सुअवसर आउन सक्छ। तर यस्ता सुअवसरलाई राम्ररी पूरा गर्न शब्द ठीकसित पढ्‌न जानेर मात्र पुग्दैन। मण्डलीमा अरूसामु प्रभावकारी ढङ्‌गमा पढ्‌न तपाईंले व्यक्‍तिगत तवरमै पढ्‌ने राम्रो बानी बसालेको हुनुपर्छ। वाक्यमा हरेक शब्दको महत्त्व हुन्छ भनी स्वीकार्नुहोस्‌। कुनै शब्द छुट्यो भने पनि भनिएको कुरा स्पष्टसित बुझ्न सकिंदैन। एक्लै बसेर पढ्‌दासमेत शब्दको उच्चारण गलत गर्नुभयो भने अर्थको अनर्थ हुन सक्छ। मात्रा वा सन्दर्भलाई ध्यान दिइएन भने पढाइ गलत हुन पुग्छ। हरेक शब्द प्रयोग गरिएको तरिका सन्दर्भअनुसार बुझ्ने कोसिस गर्नुहोस्‌। विराम-चिन्हले वाक्यको अर्थलाई कसरी फरक पार्छ भनेर पनि विचार गर्नुहोस्‌। नबिर्सनुहोस्‌, अक्सर शब्दहरूको समूहबाटै विचार व्यक्‍त गरिन्छ। त्यसकारण यी कुरालाई विचार गर्नुहोस्‌ र ठूलो स्वर निकालेर पढ्‌दा शब्द-शब्दलाई मात्र होइन शब्दहरूको समूह अर्थात्‌ वाक्यांश र उपवाक्यलाई ध्यान दिनुहोस्‌। आफूले पढेको कुरा स्पष्टसित बुझ्नुभयो भने अरूसामु पढेर सही ज्ञान बाँड्‌न तपाईं सक्षम हुनुहुनेछ।

प्रेषित पावलले एक जना अनुभवी एल्डरलाई नै यस्तो लेखेका थिए: ‘मानिसहरूसामु पढ्‌ने काममा लागिरह।’ (१ तिमो. ४:१३) कुरा प्रस्ट छ, ठीकसित पढ्‌ने सन्दर्भमा हामी सबैले उन्‍नति गर्नुपर्छ।

विराम-चिन्ह

पूर्णविराम (।) आउँदा रोकिनुपर्छ।

अल्पविराम (,) आउँदा एकछिन रोकिएर बाँकी भाग पढ्‌नुपर्छ।

अर्द्धविराम (;) आउँदा पूर्णविरामभन्दा थोरै तर अल्पविरामभन्दा अलि धेरै बेर रोकिनुपर्छ।

उद्‌गार वा विस्मयादिबोधक-चिन्ह (!) आउँदा भाव झल्किनेगरि स्वर उचालेर पढ्‌नुपर्छ।

प्रश्‍न-चिन्ह (?) आउँदा प्रायजसो अन्तमा स्वर अलि उचाल्नुपर्छ।

उद्धरण-चिन्ह (‘ ’ वा “ ”) आउँदा यसभित्रको शब्द वा वाक्यांश पढ्‌नुअघि एकछिन रोकिनुपर्छ।

योजक-चिन्ह (- वा —) प्रयोग गरेर दुई समान महत्त्वका शब्दलाई जोडेको बेला रोकिनुपर्दैन। तर निर्देशक-चिन्हको रूपमा आउँदा भने एकछिन रोकिनुपर्छ।

सापेक्षविराम (:) कुनै कुरा उद्धरण गर्नुअघि प्रयोग गरिन्छ। यो चिन्ह आउँदा विराम गर्नुपर्छ तर स्वरमा उतार-चढाव गर्नुपर्दैन। यसलाई निर्देशक-चिन्हको रूपमा पनि प्रयोग गरिन्छ।

निर्देशक-चिन्ह (:- वा - वा :) कुनै कुरालाई तोकेरै देखाउने बेला प्रयोग गरिन्छ। त्यसैले एकैछिन रोकिएर स्वरमा हलुका उतार-चढाव गर्नुपर्छ।

कोष्ठक-चिन्ह ( ) वा [ ] भित्रका शब्द पढ्‌दा आवाज अलि मधुरो गर्नुपर्छ। कोष्ठ-चिन्हभित्रको ( ) सन्दर्भ-सामाग्री पढ्‌नुपर्दैन। तर कुनै वाक्यको पूरै अर्थ बुझ्न बन्धनी-चिन्हभित्रको [ ] शब्द वा वाक्यांश पढ्‌नुपर्छ। पढ्‌दा आवाजमा उतार-चढाव गर्नुपर्दैन।

तिर्यक-चिन्ह (/) आउँदा स्वरमा उतार-चढाव गर्नुपर्दैन।

यसो कसरी गर्न सकिन्छ?

  • पढ्‌नुहोस्‌! पढ्‌नुहोस्‌! पढ्‌नुहोस्‌! अभ्यास गर्दा ठूलो स्वर निकालेर पढ्‌नुहोस्‌।

  • अरू कसैलाई तपाईंको पढाइ सुनिदिन र गल्ती औंल्याइदिन लगाउनुहोस्‌।

  • व्यक्‍तिगत अध्ययन गर्दा ध्यान दिएर पढ्‌ने बानी बसाल्नुहोस्‌।

  • शब्द-शब्द होइन वाक्यांश पढ्‌न सिक्नुहोस्‌।

अभ्यास गर्नुहोस्‌: राम्ररी तयार गरेपछि साथीलाई वा परिवारको कुनै सदस्यलाई तपाईंले मत्ती अध्याय ५ देखि ७ सम्म पढ्‌दा बाइबलमा पछ्याउन लगाउनुहोस्‌। तिनलाई तपाईंले (१) कुनै शब्द छुटाउँदा, (२) कुनै शब्दको गलत उच्चारण गर्दा वा शब्दलाई यताउता गर्दा अथवा (३) मात्रा वा विराम-चिन्हको कारण रोकिनुपर्ने ठाउँमा नरोकिंदा वा स्वरको तिखोपन घटबढ गर्नुपर्ने ठाउँमा त्यसो नगर्दा रोक्न लगाउनुहोस्‌। यस्तो तरिकाले दस-दस मिनेट लगाएर दोहोऱ्‍याइ-तेहऱ्‍याइ पढ्‌नु राम्रो हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने