अध्याय ५
उपयुक्त विराम
कुराकानी गर्दा ठीक ठाउँमा विराम गर्नुपर्छ अथवा रोकिनुपर्छ। भाषण दिंदा होस् वा कसैसित कुरा गर्दा होस्, विराम गर्नुपर्छ। विराम गरेनौं भने बोलेको वा भनिएको कुरा प्रस्ट हुनु त कता हो कता, मन्त्र जपेको जस्तो मात्र हुन्छ। उपयुक्त ठाउँमा रोकिंदा तपाईंले भन्न खोजेको कुरा प्रस्ट हुन्छ। यसबाहेक श्रोताले मुख्य बुँदा पछिसम्म सम्झन सक्नेगरि तपाईंले विराम गर्नुपर्छ।
तर कहाँ विराम गर्ने, तपाईं कसरी पक्का गर्न सक्नुहुन्छ? अनि विराम कति लामो हुनुपर्छ?
विराम-चिन्ह प्रयोग गरिएको ठाउँमा रोकिनुहोस्। लिपिमा विराम-चिन्हको महत्त्व धेरै छ। विराम-चिन्हले वाक्य अन्त भएको वा प्रश्न सोधिएको सङ्केत दिन्छ। कुनै-कुनै भाषामा उद्धरण गरिएको कुरा प्रस्टै देखियोस् भनेर पनि विराम-चिन्हको प्रयोग गरिन्छ। कुनै-कुनै विराम-चिन्हले वाक्यबीच सम्बन्ध छ भनेर पनि बुझाउँछ। हुन त पढ्ने व्यक्तिले विराम-चिन्ह देखिहाल्छ। तर अरूले पनि फाइदा उठाउन सकून् भनेर प्रयोग गरिएको विराम-चिन्हअनुसार पढ्ने व्यक्तिले स्वर परिवर्तन गर्नुपर्छ। किनकि आवाजको उतार-चढावबाटै श्रोताले लेखमा कस्तो विराम-चिन्ह प्रयोग गरिएको छ, ठम्याउन सक्छन्। (थप जानकारीको लागि “ठीकसित पढ्नुहोस्” शीर्षकको अध्याय १ हेर्नुहोस्।) विराम-चिन्ह प्रयोग गरिएको ठाउँमा रोकिनुभएन भने तपाईंले पढिरहेको कुरा बुझ्न श्रोतालाई गाह्रो पर्न सक्छ वा श्रोताले अर्थको अनर्थ नै लगाउन सक्छन्।
विराम-चिन्हलगायत वाक्यमा विचार व्यक्त गरिएको तरिकाबाट पनि कहाँ रोकिनुपर्ने हो, त्यो पक्का गर्न सकिन्छ। एक जना प्रख्यात सङ्गीतकारले एक पटक यसो भने: “मैले पियानो बजाउने तरिका र अरूले पियानो बजाउने तरिकामा खासै फरक छैन। तर धुनको बीचमा विराम लिने तरिकाले नै कुशल सङ्गीतकारको परिचय दिन्छ।” कुराकानी गर्ने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। सही ठाउँमा रोकिंदा तपाईंले मेहनत गरेर तयारी गरेको जानकारी अझै सुन्दर अनि अर्थपूर्ण हुन्छ।
मानिसहरूसामु पढ्नुपर्दा लेखमा चिनो लगाउनुभयो भने विराम गर्न सजिलो हुन्छ। छोटो विराम गर्नुपर्ने ठाउँमा अर्थात् एकैछिन अडिनुपर्ने ठाउँमा एउटा छड्के धर्सो तान्नुहोस्। लामो विराम गर्नुपर्ने ठाउँमा भने दुईवटा छड्के धर्सो तान्नुहोस्। तपाईंलाई वाक्यको कुनै अंश पढ्न अप्ठ्यारो भयो र तपाईं बारम्बार गलत ठाउँमा रोकिनुभयो भने त्यस्ता शब्दहरूको समूहलाई सीसाकलमले घेरा लगाउनुहोस्। त्यसपछि त्यो अप्ठेरो अंश सुरुदेखि अन्तसम्म एकै पटकमा सरर्र पढ्नुहोस्। वास्तवमा थुप्रै अनुभवी वक्ता यसै गर्छन्।
कुराकानी गर्दा के भन्दै हुनुहुन्छ, थाह हुने भएकोले रोकिन गाह्रो हुँदैन। तर बातैपिच्छे अडिने बानी छ र तपाईं अनावश्यक ठाउँमा पनि रोकिनुहुन्छ भने तपाईंको बोली सशक्त सुनिंदैन, प्रस्ट पनि हुँदैन। यस्तो बानी सुधार्ने तरिकाबारे अध्याय ४ को “सरर्र बगेको प्रस्तुति”-मा केही सुझाव दिइएका छन्।
विचार परिवर्तन गर्दा विराम गर्नुहोस्। एउटा मुख्य बुँदाबारे बताइसकेपछि अर्को मुख्य बुँदा बताउनुअघि रोकिंदा श्रोताले सोच्न, नयाँ जानकारीको लागि मन तयार पार्न, भाषणको दिशा परिवर्तन भएको थाह पाउन र त्यसपछि प्रस्तुत गरिने बुँदालाई अझ राम्ररी बुझ्न मौका पाउँछन्। सडकमा सवारी साधन हाँक्दा दोबाटोमा मोडिने बेला गति कम गरेजस्तै अर्को बुँदा प्रस्तुत गर्नुअघि पनि विराम गर्नु आवश्यक छ।
वक्ताले विराम नगरीकनै तुरुन्तै भिन्नाभिन्नै बुँदा प्रस्तुत गर्नुको कारण हो, एकै पटकमा धेरै विषय बताउन खोज्नु। कसै-कसैको त सामान्य कुराकानी पनि हतारिंदै गर्ने बानी हुन्छ। हुन सक्छ, तिनका परिवार र साथीभाइ सबैले नै हतारिंदै बोल्ने गर्छन् होला। यस्तो बानी छ भने प्रभावकारी तरिकामा सिकाउन सकिंदैन। सुन्न र सम्झन लायकको केही भन्न लाग्नुभएको छ भने त्यो कुरा स्पष्ट पार्न प्रशस्त समय लिनुहोस्। विचार स्पष्टसित व्यक्त गर्न कुराकानी गर्दा विराम गर्नु अत्यावश्यक छ भनेर नबिर्सनुहोस्।
रूपरेखाबाट भाषण दिंदै हुनुहुन्छ भने मुख्य-मुख्य बुँदाबीच कहाँ विराम गर्ने हो, त्यो प्रस्टै छुट्टिनेगरि विषयवस्तुलाई मिलाउनुहोस्। पाण्डुलिपिबाटै पढ्दै हुनुहुन्छ भने एउटा बुँदा सिध्याएर अर्को बुँदा सुरु गर्ने ठाउँमा चिनो लगाउनुहोस्।
विराम-चिन्ह दिइएको ठाउँमा भन्दा विचार परिवर्तन गर्ने ठाउँमा अलि धेरै रोकिनुपर्छ। तर भाषण सुन्नै झर्को लाग्नेगरि विराम निकै लामो हुनुहुँदैन। विराम निकै लामो भयो भने तपाईंले राम्ररी तयारी गर्नुभएको रहेनछ र अब के भन्ने पक्का गर्दै हुनुहुन्छ भन्ने श्रोतालाई भान पर्छ।
जोड दिन विराम गर्नुहोस्। कुनै कुरा भन्नुअघि वा भनेपछि अथवा कुनै प्रश्न सोध्नुअघि वा सोधेपछि जोड दिन गरिने विराम अक्सर जोडदार हुन्छ। पछि विराम गर्दा भर्खरै भनिएको कुरामा श्रोताले मनन गर्ने मौका पाउँछन् भने सुरुमा विराम गर्दा वक्ताले अब के भन्ने हुन् भन्ने उत्सुकता जाग्छ। तर यी दुवै तरिका फरक-फरक भएकोले कुनचाहिं तरिकाले विराम गर्ने हो, त्यो पक्का गर्नुहोस्। तर याद गर्नुहोस्, जोड दिन गरिने विराम अत्यन्तै महत्त्वपूर्ण वाक्यहरूमा मात्रै प्रयोग गर्नुपर्छ। अन्यथा यस्तो विराम अर्थ न बर्थको हुन्छ।
नासरतको सभाघरमा ठूलो स्वर निकालेर धर्मशास्त्रबाट पढ्दा येशूले विरामको प्रयोग निकै प्रभावकारी ढङ्गमा गर्नुभयो। पहिले त उहाँले आफूलाई दिइएको जिम्मेवारीबारे अगमवक्ता यशैयाको मुठाबाट पढ्नुभयो। तर त्यसको अर्थ खुलाउनुअघि उहाँले त्यो मुठा बेर्नुभयो, सेवकलाई फिर्ता दिनुभयो र बस्नुभयो। त्यसपछि एकटक लगाएर उहाँलाई हेरिरहेका सभाघरमा हुनेजति सबैलाई उहाँले यसो भन्नुभयो: “तिमीहरूले भर्खरै सुनेको धर्मशास्त्रको यो अंश आज पूरा भयो।”—लूका ४:१६-२१.
परिस्थितिअनुसार विराम गर्नुहोस्। कहिलेकाहीं कुनै अवरोध आइपर्दा एकछिन रोकिनुपर्ने हुन्छ। प्रचार गरिरहेको बेला कुनै बच्चा रोयो भने अथवा नजिकैबाट कुनै सवारी साधन हुइँकियो भने कुराकानीलाई एकैछिन रोक्नुपर्ने हुन्छ। सम्मेलन भएको ठाउँमा कतैबाट केही आवाज सुनियो भने तपाईं आफ्नो आवाजलाई अलि ठूलो पारेर भाषण दिइरहन सक्नुहुन्छ। तर यस्तो आवाज अलि चर्कै छ र अलि लामो समयसम्म रहन्छ भने तपाईं रोकिनै पर्छ। किनभने यस्तो अवरोध हुँदा तपाईंले भनिरहेको कुरामा श्रोताले ध्यान दिइरहेका हुँदैनन्। त्यसैले प्रभावकारी तरिकामा विराम प्रयोग गर्नुहोस्। यसो गर्नुभयो भने तपाईंले बताउन खोजेको कुराबाट श्रोताले पूरापूर फाइदा उठाउन सक्नेछन्।
जवाफ पाउन विराम गर्नुहोस्। तपाईंको भाषण छलफलको भाग होइन भने पनि श्रोताले मनमनै जवाफ दिनु महत्त्वपूर्ण छ। श्रोतालाई सोच्न लगाउन प्रश्न त सोध्नुभयो तर पर्याप्त मात्रामा विराम गर्नुभएन भने प्रश्न सोध्नुको कुनै अर्थ रहँदैन।
मञ्चबाट भाषण दिंदा मात्र होइन, अरूलाई साक्षी दिंदा पनि विराम गर्नु उत्तिकै महत्त्वपूर्ण छ। कसै-कसैको विराम गर्ने बानी नै हुँदैन। तपाईंको समस्या पनि यही हो भने यस अध्यायमा छलफल गरिएको बुँदामा काम गर्न अथक प्रयास गर्नुहोस्। त्यसो गर्नुभयो भने अरूसित अझै राम्ररी कुराकानी गर्न सक्नुहुन्छ र प्रचारमा अझै प्रभावकारी हुन सक्नुहुन्छ। विराम गर्नु भनेको एकैछिन चुप लाग्नु हो। भनिन्छ, कुराकानीको दौडान विराम गर्दा जोड दिन सकिन्छ, ध्यान खिच्न सकिन्छ र कानलाई पनि सन्चो हुन्छ।
हाम्रो कुराकानीमा विचारको आदान-प्रदान हुनुपर्छ। अरूको कुरा चाख मानेर सुन्नुभयो भने उनीहरू पनि तपाईंको कुरा सुन्न तयार हुनेछन्। यसको लागि तपाईंले कुराकानीको दौडान उनीहरूलाई पनि आफ्नो विचार पोख्न पर्याप्त समय दिनै पर्छ।
कुराकानीको शैलीमा साक्षी दिंदा प्रचारकार्य अझै प्रभावकारी हुन्छ। अभिवादन गरिसकेपछि र सन्चो-बिसन्चो सोधिसकेपछि मात्र आफ्नो विषयवस्तुबारे बताउनु अनि त्यसपछि प्रश्न गर्नु थुप्रै साक्षीले प्रभावकारी पाएका छन्। घरधनीले जवाफ दिने मौका पाऊन् भनेर तिनीहरू एकछिन रोकिन्छन् र घरधनीले व्यक्त गरेको विचारमा चासो देखाउँछन्। छलफलको दौडान तिनीहरू पटक-पटक घरधनीलाई पनि बोल्ने मौका दिन्छन्। छलफल भइरहेको विषयमा घरधनीको विचार बुझ्न पाइयो भने उनलाई अक्सर अझ धेरै मदत गर्न सकिन्छ भनेर तिनीहरूलाई थाह छ।—हितो. २०:५.
हो, सबैले हामीले चाहेजस्तै सकारात्मक जवाफ दिंदैनन्। येशूले पनि यस्तो परिस्थिति भोग्नुभयो। तैपनि येशूले विरोधीहरूलाई समेत आफ्नो विचार व्यक्त गर्ने मौका दिन पर्याप्त मात्रामा विराम गर्नुभयो। (मर्कू. ३:१-५) अर्को व्यक्तिलाई बोल्ने मौका दिंदा हामीले उनलाई सोच्न प्रोत्साहन दिइरहेका हुन्छौं। फलस्वरूप तिनले मनको कुरा व्यक्त गर्न सक्छन्। वास्तवमा हामीले प्रचार गर्नुको एउटा उद्देश्य मानिसहरूलाई परमेश्वरको वचनबाट महत्त्वपूर्ण कुरा सुनाएर त्यसैको आधारमा उनीहरूलाई कदम चाल्न उत्प्रेरणा दिनु हो।—हिब्रू ४:१२.
प्रचारकार्यमा उपयुक्त तरिकामा विराम गर्न सक्नु एउटा सीप नै हो। प्रभावकारी तरिकामा विराम गऱ्यौं भने व्यक्त गरिएको विचार अझै प्रस्ट हुन्छ र मानिसहरू त्यस्तो विचार पछिसम्मै सम्झिरहन्छन्।