अध्याय ४
सरर्र बगेको प्रस्तुति
ठूलो स्वर निकालेर पढ्दा के तपाईं कुनै-कुनै शब्दमा अड्कनुहुन्छ? अथवा श्रोतासामु आफ्नो भाग प्रस्तुत गर्दा तपाईंलाई अक्सर सुहाउँदो शब्द नआएको जस्तो लाग्छ? त्यसो हो भने तपाईंले आफ्नो भाग सरर्र प्रस्तुत गर्न सक्नुभएन। शब्द र विचार सरर्र बग्नेगरि पढ्ने र बोल्ने व्यक्तिको प्रस्तुति सरर्र बगेको छ भन्न मिल्छ। यसको अर्थ तिनले बोलेको बोल्यै गरे, रफ्तारले बोले वा सोच्दै नसोची बोले भन्न खोजिएको होइन। बरु तिनको बोली सुनूँ-सुनूँ लाग्ने खालको हुन्छ। त्यसैले ईश्वरतान्त्रिक सेवा स्कूलमा सरर्र बगेको प्रस्तुतिमा विशेष ध्यान दिइएको छ।
विभिन्न कारणले गर्दा प्रस्तुति सरर्र नबगेको हुन सक्छ। निम्न बुँदामध्ये तपाईंले विशेष ध्यान दिनुपर्ने कुनै बुँदा छन् कि? (१) अरूलाई पढेर सुनाउँदा शब्दहरू अपरिचित छन् भने अकमकिन्छ। (२) धेरै ठाउँमा रोकिंदा प्रस्तुति अड्की-अड्की दिइएको जस्तो देखिन्छ। (३) तयारी गरिएको छैन भने पनि समस्या हुन सक्छ। (४) मानिसहरूसामु बोल्दा प्रस्तुति सरर्र नबग्नुको कारण तार्किक ढङ्गमा विषयवस्तु मिलाउन नसक्नु हो। (५) शब्द-भण्डार सीमित छ भने सुहाउने शब्द खोज्दा अलमल हुन सक्छ। (६) धेरै शब्दमा जोड दिंदा पनि प्रस्तुति सरर्र हुँदैन। (७) व्याकरणका नियम थाह नहुँदा यस्तो समस्या हुन सक्छ।
तपाईंको प्रस्तुति सरर्र बगेको छैन भने राज्यभवनमा आएका श्रोता साँच्चिकै उठेर त नजालान् तर तिनीहरूको मन भने डुल्न सक्छ। परिणामस्वरूप तपाईंले भनेको आधाआधी कुरा त श्रोताले सुनेकै हुँदैनन्; तपाईंको मेहनत खेर जान्छ।
अर्कोतर्फ सशक्त र सरर्र बगेको हुनुपर्ने तपाईंको प्रस्तुति हैकम जमाउने खालको र श्रोतालाई अप्ठ्यारोमा समेत पार्ने खालको नहोस् भनी तपाईंले ध्यान दिनुपर्छ। सांस्कृतिक पृष्ठभूमि भिन्न भएकोले श्रोतालाई तपाईंको बोली अशिष्ट वा कपटी लाग्न सक्छ र यसले तपाईंको उद्देश्य पूरा हुँदैन। अनुभवी वक्ता भए तापनि प्रेषित पावल आफूतिर अनावश्यक ध्यान खिच्न चाहँदैनथे। त्यसैले कोरिन्थीहरूकहाँ आउँदा तिनी ‘कमजोर थिए र डरले थरथर काँपिरहेका थिए।’—१ कोरि. २:३.
त्याग्नुपर्ने बानी: थुप्रै व्यक्तिको बोल्दा बीच-बीचमा “अँ . . . ऊँ . . . ” भन्ने बानी हुन्छ। अरूचाहिं “अब” वा “किनभने” भनेर नयाँ विचार सुरु गर्छन् वा बातैपिच्छे “चाहिं,” “भन्दाखेरि,” “तपाईंको” जस्ता थेगो प्रयोग गर्ने वा विनाकारण “हो,” “साँच्चै” भन्ने गर्छन्। यस्ता शब्द कति चोटि प्रयोग गर्दै हुनुहुन्छ, तपाईंलाई थाह नहोला। तपाईं कति धेरै यस्ता थेगो प्रयोग गर्नुहुन्छ, कसैलाई सुन्न लगाउनुहोस् र तपाईं जति पटक ती थेगो प्रयोग गर्नुहुन्छ तिनलाई पनि ती दोहोऱ्याउन लगाउनुहोस्। परिणाम देखेर तपाईं चित खानुहुन्छ।
कसै-कसैको पढ्दा वा बोल्दा दोहोऱ्याउने बानी हुन्छ। भनाइको मतलब तिनीहरू वाक्य त सुरु गर्छन् तर बीचैमा रोकिएर फेरि अघिल्लो शब्द वा शब्दहरू दोहोऱ्याउँछन्।
अरू भने छिटो-छिटो बोल्छन् तर तिनीहरू एउटा विषयमा कुरा गर्दागर्दै बीचैमा अर्कै विषयमा कुरा गर्न थाल्छन्। हुन त तिनीहरूको बोली सरर्र बगेको हुन्छ तर एक्कासि विषय परिवर्तन हुँदा प्रस्तुति सरर्र बग्दैन।
कसरी प्रगति गर्न सकिन्छ? सुहाउँदो शब्द कुन होला भनी अलमलिनुहुन्छ भने तपाईंले आफ्नो शब्द-भण्डार बढाउन लर्तरो प्रयासले पुग्दैन। प्रहरीधरहरा र तपाईंले पढ्ने अन्य प्रकाशनमा प्रयोग भएका नौला शब्दहरू टिप्नुहोस्। शब्दकोशमा यी शब्द खोज्नुहोस्, उच्चारण कसरी गरिन्छ र अर्थ के हो, पत्ता लगाउनुहोस्। यीमध्ये केही शब्द आफ्नो शब्द-भण्डारमा थप्नुहोस्। तपाईंसित शब्दकोश छैन भने नेपाली भाषा शुद्ध बोल्ने कसैसित मदत माग्नुहोस्।
निरन्तर रूपमा स्वर निकालेर पढ्ने बानी गर्दा अवश्य प्रगति हुन्छ। गाह्रा शब्द याद गर्नुहोस् र ती शब्द ठूलो स्वरमा दोहोऱ्याइ-तेहऱ्याइ भन्नुहोस्।
सरर्र पढ्न वाक्यमा शब्दहरूको आपसमा के सम्बन्ध हुन्छ, त्यो बुझ्नुपर्छ। लेखकले जुन विचार राखेर केही कुरा बताएका हुन्छन्, त्यो बुझ्न प्रायः शब्दलाई छुट्ट्याएर होइन समूहको रूपमा पढ्नुपर्छ। शब्दका यस्ता समूहलाई विशेष ध्यान दिनुहोस्। मदतकारी छन् भने चिनो लगाउनुहोस्। तपाईंको उद्देश्य शब्दहरू सही-सही पढ्नु मात्र होइन; विचार स्पष्टसित व्यक्त गर्नु पनि हो। पूरै अनुच्छेद नसिद्धिउन्जेल वाक्यलाई एक-एक गरी केलाउनुहोस्। व्यक्त गरिएको भाव बुझ्नुहोस्। त्यसपछि ठूलो स्वर निकालेर पढ्नुहोस्। सरर्र पढ्न सक्ने नहोउन्जेल अनुच्छेद बारम्बार पढ्नुहोस्। अब त्यसैगरि अर्को अनुच्छेद पढ्नुहोस्।
त्यसपछि तपाईंको गति बढाउनुहोस्। वाक्यमा शब्दहरूबीचको सम्बन्ध थाह पाइसक्नुभएको छ भने एक पटकमा एउटा शब्द मात्र होइन धेरै शब्दलाई ध्यान दिन सक्नुहुन्छ र त्यसपछि के आउँछ तपाईं अनुमान लगाउन सक्नुहुन्छ। यसो गर्दा तपाईंको पढाइ झनै प्रभावकारी हुन्छ।
पहिलो पटक पढ्दा नै कुनै तयारी नगरीकनै सरर्र पढ्ने बानी बसाल्दा निकै फाइदा पुग्छ। उदाहरणका लागि पूर्व-तयारी नगरीकनै दैनिक पद र छापिएको टिप्पणी ठूलो स्वर निकालेर पढ्ने बानी गर्नुहोस्। एक पटकमा एक-एक शब्दलाई नभई निश्चित विचार व्यक्त गर्ने वाक्यांशलाई नै हेर्ने बानी बसाल्नुहोस्।
फरर्र कुराकानी गर्न सक्ने हुन बोल्नुअघि सोच्नुपर्छ। यसरी सोच्ने बानी बसाल्नुहोस्। कुन विचार व्यक्त गर्न चाहनुहुन्छ र कुन क्रममा बताउन चाहनुहुन्छ, निर्णय गर्नुहोस् अनि बोल्न सुरु गर्नुहोस्। नहतारिनुहोस्। बीचैमा रोकिएर नयाँ विचार व्यक्त गर्ने नगर्नुहोस्। पहिला सुरु गरेको विचार नै व्यक्त गरिसिध्याउनुहोस्। छोटो र सरल वाक्य बनाउँदा तपाईंलाई सजिलो हुन्छ।
के भन्न चाहनुहुन्छ भनी पक्का हुनुहुन्छ भने शब्दहरू स्वतः निस्कनेछन्। साधारणतया ‘म यो शब्द प्रयोग गर्छु, म त्यो शब्द प्रयोग गर्छु’ भनी शब्दहरू छान्नुपर्दैन। वास्तवमा अभ्यास गर्दा पहिला के व्यक्त गर्ने, त्यसबारे तपाईं प्रस्ट हुनुपर्छ त्यसपछि बोल्दा कुन शब्द प्रयोग गर्ने, त्यो सोच्नुपर्छ। यसो गर्नुभयो भने र शब्दमा भन्दा पनि विचारमा ध्यान दिनुभयो भने शब्दहरू स्वतः निस्कनेछन् र तपाईंले मनदेखि नै बोलिरहेको हुनेछ। तर विचारमा भन्दा पनि शब्दहरूमा ध्यान दिन थाल्नेबित्तिकै तपाईंको बोली अड्किहाल्छ। अभ्यास गर्दै जाँदा तपाईंको प्रस्तुति सरर्र बग्छ र यो प्रभावकारी बोली र पढाइको लागि महत्त्वपूर्ण छ।
यहोवाको प्रतिनिधिको रूपमा इस्राएली जातिसामु र मिश्रका फिरऊनसामु जाने जिम्मेवारी पाउँदा मोशाले आफू योग्य नभएको महसुस गरे। किन? किनभने तिनी बोल्नमा सिपालु थिएनन्; सायद तिनी स्पष्ट बोल्न सक्दैनथे। (प्रस्थ. ४:१०; ६:१२) मोशाले विभिन्न बहाना बनाए तर यहोवाले कुनै पनि स्वीकार्नुभएन। यहोवाले हारूनलाई प्रवक्ताको रूपमा पठाउनुभयो र मोशालाई पनि बोल्न मदत गर्नुभयो। मोशाले व्यक्ति-व्यक्तिसित र मानिसहरूको सानो समूहसित मात्र होइन तर पूरै इस्राएल राष्ट्रसामु पटक-पटक अनि प्रभावकारी तरिकामा बोले। (व्यव. १:१-३; ५:१; २९:२; ३१:१, २, ३०; ३३:१) तपाईंले पनि यहोवा परमेश्वरमा भरोसा गर्दै आफ्नो बोली वा प्रस्तुति सरर्र बगेको बनाउने लगनशील प्रयास गर्नुभयो भने उहाँको आदर गर्न आफ्नो बोली प्रयोग गर्न सक्नुहुन्छ।