अध्याय २२
बाइबल पदको उपयोगिता बताउनुहोस्
अरूलाई सिकाउनु भनेको बाइबल पद पढेर सुनाउनु मात्र होइन। प्रेषित पावलले आफ्ना सहकर्मी तिमोथीलाई यस्तो लेखे: “आफूलाई परमेश्वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्नु नपर्ने कामदार अनि सत्यको वचन ठीकसित प्रयोग गर्ने मानिस साबित गर्न तिमीले भरसक कोसिस गर।”—२ तिमो. २:१५.
त्यसकारण हामीले बाइबल पदबारे व्याख्या गर्दा उक्त व्याख्या बाइबलले सिकाउने कुरासित मेल खाएको हुनै पर्छ। पदको मनपर्ने भाग छानेर आफ्नै तरिकाले व्याख्या गर्नुको सट्टा त्यो पदको सन्दर्भलाई विचार गर्नुपर्छ। अगमवक्ता यर्मियामार्फत यहोवाले त्यस्ता अगमवक्ताबारे चेतावनी दिनुभयो जसले “आफ्नै मनको दर्शनको कुरा” बताउँथे तर यहोवाको वचन बोलेको दाबी गर्थे। (यर्मि. २३:१६) प्रेषित पावलले परमेश्वरको वचनमा मानव दर्शन घुसाएर दूषित नपार्न ख्रीष्टियनहरूलाई यसरी चेतावनी दिए: “हामीले सरम मान्नुपर्ने छलकपट त्यागेका छौं। हामी धूर्त चालमा हिंड्दैनौं न त परमेश्वरको वचनलाई बङ्ग्याउँछौं।” त्यतिबेलाका बेइमान दाखमद्य व्यापारीहरू अझै पैसा कमाउन दाखमद्यमा पानी वा कमसल दाखमद्य मिसाउँथे। हामी परमेश्वरको वचनमा मानव दर्शन घुसाएर त्यसलाई बङ्ग्याउँदैनौं। पावलले यसो भने: “हामी परमेश्वरको वचनका व्यापारीहरू होइनौं तर हामी निष्कपटतासहित, हो, परमेश्वरबाट पठाइएकाहरूको नाताले परमेश्वरको नजरसामु, ख्रीष्टको साथमा हामी बोल्दैछौं।”—२ कोरि. २:१७; ४:२.
कहिलेकाहीं कुनै सिद्धान्त प्रस्ट पार्न तपाईं कुनै पद उद्धरण गर्नुहुन्छ होला। विभिन्न अवस्थाको सामना कसरी गर्ने भन्ने विषयमा उपयुक्त सल्लाह दिने सिद्धान्त बाइबलमा प्रशस्त छ। (२ तिमो. ३:१६, १७) पदबारे तपाईंले बताउने उपयोगिता सही छ र तपाईं जे भन्न चाहनुहुन्छ त्यो पदले त्यही भन्न खोजेको भान पार्नेगरि पदको दुरुपयोग पनि गरेको छैन भनेर तपाईं पक्का हुनुपर्छ। (भज. ९१:११, १२; मत्ती ४:५, ६) पदबारे तपाईंले बताउने उपयोगिता यहोवाको वचन बाइबलभरि एकरूपतासित बताइएको उहाँको उद्देश्यसँग मेल खाएको हुनै पर्छ।
“सत्यको वचन ठीकसित प्रयोग गर्ने” कोसिस गर्नुमा बाइबलले भन्न खोजेको कुराको भाव बुझ्नु पनि समावेश छ। बाइबल अरूलाई तर्साउन, धम्क्याउन प्रयोग गरिने “लट्ठी” होइन। येशू ख्रीष्टको विरोध गर्ने धार्मिक गुरुहरूले शास्त्रबाट उद्धरण गरे तर परमेश्वरले माग गरेको न्याय, कृपा र विश्वासीपन जस्ता व्यवस्थाका गहकिला कुराहरूप्रति तिनीहरू आँखा चिम्लिरहेका थिए। (मत्ती २२:२३, २४; २३:२३, २४) परमेश्वरको वचन अरूलाई सिकाउँदा येशूले आफ्नो बुबाको व्यक्तित्व झल्काउनुभयो। आफूले सिकाउने मानिसहरूलाई प्रेम गर्ने भएकोले नै येशू सत्यप्रति जोसिलो हुनुहुन्थ्यो। साथै सत्यप्रति जोसिलो भएकोले नै उहाँ मानिसहरूलाई प्रेम गर्नुहुन्थ्यो। हामीले उहाँको यो उदाहरण पछ्याउन प्रयास गर्नुपर्छ।—मत्ती ११:२८.
पदको उपयोगिता सही तरिकाले बताइरहेका छौं कि छैनौं कसरी पक्का गर्न सक्छौं? नियमित रूपमा बाइबल पढ्दा मदत पाउँछौं। “विश्वासी र बुद्धिमान् दास” अर्थात् परमेश्वरको पवित्र शक्तिद्वारा अभिषेक गरिएका ख्रीष्टियनहरूको समूहद्वारा उहाँका सबै विश्वासी सेवकहरूलाई आध्यात्मिक भोजन दिने प्रबन्ध यहोवाले मिलाउनुभएको छ। (मत्ती २४:४५) हामीले त्यसको कदर गर्नै पर्छ। व्यक्तिगत अध्ययन गरेर, सभामा नियमित उपस्थित भएर तथा भाग लिएर विश्वासी र बुद्धिमान् दास वर्गमार्फत आउने निर्देशनबाट हामी लाभ उठाउँछौं।
तपाईंसँग धर्मशास्त्रबाट तर्क गर्ने (अङ्ग्रेजी) किताब छ र त्यसलाई राम्ररी प्रयोग गर्न जान्नुभएको छ भने प्रचारमा धेरैजसो प्रयोग गरिने सयौं पदको उपयोगिता बताउने तरिका सजिलै भेट्टाउन सक्नुहुन्छ। अक्सर त्यति प्रयोग नगर्ने पद प्रयोग गर्ने विचार गर्दै हुनुहुन्छ भने आफ्नो सीमितता बुझ्दै थप अनुसन्धान गर्नै पर्छ। यसो गर्दा तपाईंले सत्यको वचनलाई ठीकसित प्रयोग गरिरहेको हुन्छ।—हितो. ११:२.
उपयोगिता स्पष्ट पार्नुहोस्। तपाईंले छलफल गरिरहेको विषय र तपाईंले देखाइरहेको पदको सम्बन्ध श्रोताले स्पष्टसित बुझेको हुनै पर्छ। प्रश्न सोधेपछि पद पढ्दै हुनुहुन्छ भने पदले प्रश्नको जवाफ कसरी दिन्छ भनी श्रोताले प्रस्टै बुझ्नुपर्छ। कुनै विचारलाई समर्थन गर्ने पद पढ्दै हुनुहुन्छ भने त्यो कुरा विद्यार्थीले प्रस्ट बुझे कि बुझेनन् पक्का गर्नुहोस्।
बाइबल पद पढ्दैमा चाहे त्यो जोड दिएर पढिएको नै किन नहोस्, त्यतिले मात्र पुग्दैन। नबिर्सनुहोस्, एक साधारण व्यक्तिलाई बाइबलबारे खासै थाह हुँदैन र एक पटक पढ्दैमा तपाईंले भन्न खोजेको कुरा तिनले बुझ्न सक्दैनन्। पद पढेपछि तपाईंले छलफल गरिरहेको कुरासित सम्बन्धित भागतर्फ ध्यान खिच्नुहोस्।
यसको लागि छलफल गरिएको कुरासित सोझै सम्बन्धित मुख्य शब्दहरू छुट्ट्याउनुपर्छ। यसो गर्ने सरल उपाय ती शब्दहरू दोहोऱ्याएर पढ्नु हो। कसैसित कुरा गर्दै हुनुहुन्छ भने मुख्य शब्दहरू चिन्न मदत गर्न तिनलाई तपाईं प्रश्न सोध्न सक्नुहुन्छ। मानिसहरूको समूहसित कुरा गर्दा केही वक्ता उस्तै अर्थ लाग्ने अर्को शब्द प्रयोग गरेर वा विचार दोहोऱ्याएर आफ्नो उद्देश्य हासिल गर्छन्। तपाईं पनि यसो गर्ने छनौट गर्नुहुन्छ भने छलफल गरिरहेको बुँदा र पदमा भएका शब्दको सम्बन्ध श्रोताले स्पष्ट बुझ्नेगरि छलफल गर्नुहोस्।
मुख्य शब्दहरू छुट्ट्याएर तपाईंले राम्रो जग बसाल्नुभयो। अब त्यसैमा थप्दै जानुहोस्। कुनै पद पढ्नुअघि तपाईं त्यो पद किन पढ्दै हुनुहुन्छ स्पष्टसित बताउनुभयो? बताउनुभएको छ भने तपाईंले जुन बुँदातर्फ श्रोताको ध्यान खिच्नुभएको थियो ती बुँदा र तपाईंले जोड दिएका शब्दहरूबीचको सम्बन्ध स्पष्ट पार्नुहोस्। पद किन पढ्दै हुनुहुन्छ स्पष्टसित बताइएको छैन भने पनि त्यसरी व्याख्या गर्नु आवश्यक हुन्छ।
फरिसीहरूले येशूलाई यस्तो प्रश्न गरे: “एक जना पुरुषले जुनसुकै कारण देखाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु के ठीक हो?” येशूले यसको जवाफ दिन सक्नुहुन्न जस्तो उनीहरूलाई लागेको थियो। उत्पत्ति २:२४ लाई आधार बनाएर येशूले जवाफ दिनुभयो। उहाँले त्यस पदको एउटा भागमा मात्र कसरी ध्यान खिच्नुभयो र त्यसको उपयोगिता कसरी स्पष्ट पार्नुभयो, याद गर्नुहोस्। पुरुष र तिनकी स्त्री एउटै शरीर हुनेछन् भनेपछि येशूले निष्कर्षमा यसो भन्नुभयो: “त्यसकारण, जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्।”—मत्ती १९:३-६.
कुनै पदको उपयोगिता स्पष्ट पार्न तपाईंले कतिसम्म व्याख्या गर्नुपर्छ? यो कुरा श्रोतामा र छलफल गरिएको बुँदा कत्तिको महत्त्वपूर्ण छ, त्यसमा भर पर्छ। सरल शब्द प्रयोग गर्ने र सीधै बताउने गर्नुहोस्।
बाइबलबाट तर्क गर्नुहोस्। पावलले थिस्सलोनिकामा सेवा गर्दा “धर्मशास्त्रबाट तर्क गरे” भनी प्रेषित १७:२, ३ मा लेखिएको छ। यहोवाको प्रत्येक सेवकले यस्तो क्षमता विकास गर्ने प्रयास गर्नुपर्छ। उदाहरणका लागि पावलले येशूको जीवन र सेवासम्बन्धी सत्य-तथ्य बताए, तीबारे हिब्रू धर्मशास्त्रमा पहिल्यै भविष्यवाणी गरिएको थियो भनी देखाए र त्यसपछि यसो भन्दै सशक्त निष्कर्ष दिए: “यही ख्रीष्ट अनि येशूबारे म तपाईंहरूलाई प्रचार गर्दैछु।”
हिब्रूहरूलाई लेखेको पत्रमा पावलले बारम्बार हिब्रू धर्मशास्त्रबाट उद्धरण गरे। कुनै बुँदालाई जोड दिन वा स्पष्ट पार्न तिनी प्रायजसो कुनै एउटा शब्दमा वा छोटो वाक्यांशमा ध्यान खिच्थे र त्यसको महत्त्व प्रकाश पार्थे। (हिब्रू १२:२६, २७) हिब्रू अध्याय ३ मा पावलले भजन ९५:७-११ बाट उद्धरण गरे। त्यसपछि तिनले ती पदको तीनवटा भाग व्याख्या गरेको याद गर्नुहोस्:- (१) तिनले मनबारे बताए (हिब्रू ३:८-१२), (२) “आज” भन्ने शब्दको महत्त्व देखाए (हिब्रू ३:७, १३-१५; ४:६-११) र (३) “तिनीहरू मेरो विश्राममा प्रवेश गर्नेछैनन्” भन्नुको अर्थ स्पष्ट पारे (हिब्रू ३:११, १८, १९; ४:१-११)। प्रत्येक पदको उपयोगिता स्पष्ट पार्दा पावलको यो उदाहरण पछ्याउने प्रयास गर्नुहोस्।
लूका १०:२५-३७ मा पाइने विवरणमा येशूले धर्मशास्त्रबाट तर्क गर्दा त्यो कत्तिको प्रभावकारी भयो ध्यान दिनुहोस्। व्यवस्थामा पोख्त एक जना मानिसले उहाँलाई सोध्यो: “गुरुज्यू, के गरें भने म अनन्त जीवनको हकदार हुनेछु?” येशूले सबैभन्दा पहिले त्यस मानिसलाई आफ्नो विचार व्यक्त गर्न लगाउनुभयो र त्यसपछि परमेश्वरको वचनमा लेखिएबमोजिम गर्नु महत्त्वपूर्ण छ भनी जोड दिनुभयो। त्यस मानिसले कुरा नबुझेको प्रस्ट भएपछि येशूले त्यो पदको केवल एक शब्द “छिमेकी”-बारे समय लगाएर व्याख्या गर्नुभयो। उहाँले त्यो शब्दको अर्थ मात्र बताउनुभएन, बरु त्यस मानिसलाई सही निष्कर्षमा पुग्न एउटा दृष्टान्त पनि प्रयोग गर्नुभयो।
प्रश्नको जवाफ दिंदा येशूले सीधै र स्पष्ट जवाफ दिने पद मात्र उद्धरण गर्नुभएन भन्ने कुरा प्रस्ट छ। उहाँले ती पदमा लेखिएका कुरा केलाउनुभयो र जवाफमा पदको उपयोगिताबारे बताउनुभयो।
सदुकीहरूले पुनर्जीवनको आशाबारे प्रश्न गरेर निहुँ खोज्दा येशूले प्रस्थान ३:६ को एउटा खास भागमा ध्यान खिच्नुभयो। तर उहाँले त्यो पद उद्धरण मात्र गर्नुभएन। पुनर्जीवन परमेश्वरको उद्देश्यको भाग हो भनी उहाँले तर्क गरी स्पष्ट पार्नुभयो।—मर्कू. १२:२४-२७.
बाइबलबाट सही र प्रभावकारी तरिकामा तर्क गर्न सिपालु हुनुभयो भने तपाईं दक्ष शिक्षक बन्न सक्नुहुन्छ।