अध्याय २०
बाइबल पद प्रभावकारी ढङ्गमा प्रस्तुत गर्नुहोस्
सभामा दिइने निर्देशन बाइबलआधारित हुन्छ। प्रचारमा हामी जे भन्छौं, त्यसको आधार पनि बाइबल नै हो। हामीले गर्ने छलफलमा बाइबल पदले कत्तिको मदत दिन्छ भन्ने कुरा हामी पदलाई कत्तिको प्रभावकारी ढङ्गमा प्रस्तुत गर्छौं, त्यसैमा भर पर्छ।
पद उल्लेख गरेर अनि पद पढ्न आग्रह गरेर मात्र पुग्दैन। पद प्रस्तुत गर्नुअघि दुईवटा लक्ष्य हासिल गर्ने कोसिस गर्नुहोस्। (१) उत्सुक बनाउनुहोस् र (२) पद पढ्नुको कारणतर्फ ध्यान खिच्नुहोस्। यी लक्ष्य विभिन्न तरिकाले हासिल गर्न सकिन्छ।
प्रश्न सोध्नुहोस्। श्रोतालाई जवाफ प्रस्टै थाह छैन भने प्रश्न सोध्नु सबैभन्दा प्रभावकारी हुन्छ। मानिसहरूलाई सोच्न लगाउने खालका प्रश्न बनाउने प्रयास गर्नुहोस्। येशूले त्यस्तै गर्नुभयो। येशू मन्दिरमा हुँदा फरिसीहरू उहाँसामु आए र उहाँसित शास्त्रको कति ज्ञान छ भनेर जनसमक्ष जाँच्न खोजे। त्यतिबेला येशूले यसरी सोध्नुभयो: “ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? ऊ कसको छोरा हो?” तिनीहरूले जवाफ दिए: “दाऊदको।” त्यसपछि येशूले सोध्नुभयो: “त्यसोभए, पवित्र शक्तिको प्रेरणा पाएर दाऊदले कसरी उनलाई ‘प्रभु’ . . . भन्न सके त?” प्रश्न सोधिसकेपछि उहाँले भजन ११०:१ पद उद्धरण गर्नुभयो। यसरी फरिसीहरूको मुखमा बुजो लाग्यो। तर अरूले भने उहाँको कुरा चाख मान्दै सुने।—मत्ती २२:४१-४६.
प्रचारमा तपाईं यस्ता प्रश्न सोधेर कुराकानी सुरु गर्न सक्नुहुन्छ: “तपाईंको एउटा नाम छ, मेरो पनि एउटा नाम छ। परमेश्वरको पनि कुनै नाम हुनपर्छ जस्तो तपाईंलाई लाग्दैन? परमेश्वरको नाम हामी बाइबलको प्रकाश ४:११ मा पाउँछौं।” “संसारभरि कुनै दिन एउटै सरकार हुन्छ जस्तो तपाईंलाई लाग्छ? बाइबलको दानियल २:४४ मा यस प्रश्नको जवाफ कसरी दिइएको छ, हेर्नुहोस्।” “अहिले संसारमा यस्तो अवस्था हुनुको कारणबारे पनि बाइबलमा केही बताइएको छ कि? अहिले तपाईंलाई थाह भएको परिस्थिति र बाइबलमा २ तिमोथी ३:१-५ मा बताइएको विवरण तुलना गरेर हेर्नुहोस्।” “दुःख-कष्ट र मृत्यु के कहिल्यै नामेट होला? बाइबलले दिएको जवाफ प्रकाश २१:४, ५ मा पाइन्छ।”
भाषणमा पद पढ्नुअघि सोचविचार गरेर प्रश्न सोध्दा श्रोताले राम्ररी बुझेकै पद पनि नयाँ तरिकाले केलाउन मदत पाउँछन्। तर के तिनीहरू साँच्चै त्यसरी पद केलाउँछन्? यो कुरा तपाईंले सोध्ने प्रश्न तिनीहरूको निम्ति साँच्चै चासो लाग्ने खालका छन् कि छैनन्, त्यसैमा भर पर्छ। श्रोताका लागि चाखलाग्दो विषय भए तापनि ती पद धेरै चोटि पढिसकेकोले श्रोताको ध्यान अन्तै जान सक्छ। यसो हुन नदिन आफ्नो प्रस्तुति कसरी चाखलाग्दो बनाउने भनेर तपाईंले निकै सोचविचार गर्नुपर्छ।
समस्या औंल्याउनुहोस्। एउटा समस्या औंल्याउनुहोस् र त्यसको समाधान बताउने पदतर्फ ध्यान खिच्नुहोस्। श्रोतालाई धेरै कुराको आस नदेखाउनुहोस्। प्रायः एउटा पदले समस्याको समाधानबारे केही कुरा मात्र बताएको हुन्छ। तैपनि तपाईंले पद पढ्दा श्रोतालाई तिनीहरूले भोगिरहेको समस्यासित डट्ने कस्तो उपाय त्यस पदमा भेट्टाउन सक्छन्, त्यसबारे विचार गर्न लगाउनुहोस्।
सोही प्रकार तपाईं परमेश्वरलाई मन पर्ने आचरणसम्बन्धी कुनै एउटा सिद्धान्त बताउन सक्नुहुन्छ र त्यो सिद्धान्त पछ्याउनु किन बुद्धिमानी हो भनी बाइबलको कुनै विवरण देखाउन सक्नुहुन्छ। छलफल गरिएको विषयसित सम्बन्धित दुइटा (वा धेरै) खास बुँदा त्यस पदमा पाइन्छ भने ती बुँदालाई ध्यान दिनुहोस् भनी वक्ताले श्रोतालाई आग्रह गर्ने गर्छन्। केही श्रोतालाई कुनै समस्या धेरै ठूलो लागेको जस्तो देखिन्छ भने समाधानका विभिन्न उपाय बताएर तपाईं श्रोतालाई सोच्न लगाउन सक्नुहुन्छ। त्यसपछि जवाफ पत्ता लगाउन बाइबल पद प्रस्तुत गर्नुहोस् र त्यसको उपयोगिता बताउनुहोस्।
बाइबललाई आधिकारिक स्रोतको रूपमा प्रस्तुत गर्नुहोस्। विषयप्रति पहिल्यै चासो जगाइसक्नुभएको छ र कुनै-कुनै पक्षमा एउटा वा दुइटा दृष्टिकोण बताइसक्नुभएको छ भने बाइबल पदतर्फ ध्यान खिच्न तपाईं यसो भन्न सक्नुहुन्छ: “यस विषयमा परमेश्वरको वचन के भन्छ, ध्यान दिनुहोस्।” तपाईंले पढ्न लागेको विवरण आधिकारिक स्रोतबाट हो भनी यसबाट देखिन्छ।
यहोवाले यूहन्ना, लूका, पावल र पत्रुस जस्ता पुरुषहरूलाई बाइबलका कुनै-कुनै भाग लेख्न लगाउनुभयो। तर तिनीहरू लेख्ने मान्छे मात्र थिए; लेखाउने मुख्य ग्रन्थकार त यहोवा नै हुनुहुन्छ। विशेषगरि बाइबलबारे थाह नभएकाहरूलाई बाइबल पद देखाउनुअघि बाइबल परमेश्वरको वचन हो भन्नु जति सशक्त हुन्छ, “पत्रुसले यस्तो लेखे” वा “पावलले यसो भने” भन्दै बाइबल पदतर्फ ध्यान खिच्दा त्यति सशक्त हुँदैन। रोचक कुरा, कुनै-कुनै अवस्थामा यहोवाले कुनै सन्देश घोषणा गर्नुअघि यर्मियालाई यसरी सुरु गर्न लगाउनुभयो: ‘यहोवाको वचन सुन।’ (यर्मि. ७:२; १७:२०; १९:३; २२:२) बाइबल पदतर्फ ध्यान खिच्दा यहोवाको नाम प्रयोग गरौं वा नगरौं, कुराकानी टुङ्ग्याउनुअघि बाइबल परमेश्वरको वचन हो भनी बताउने प्रयास गर्नुपर्छ।
सन्दर्भलाई ध्यान दिनुहोस्। पद कसरी प्रस्तुत गर्ने भनेर निर्णय गर्नुअघि त्यसको सन्दर्भलाई पनि ध्यान दिनुपर्छ। कहिलेकाहीं सीधै सन्दर्भ बताउन सक्नुहुन्छ तर कहिलेकाहीं भने सन्दर्भले तपाईंले भन्ने कुरामा असर पार्ने भएकोले सन्दर्भलाई ध्यान दिनुपर्छ। उदाहरणका लागि परमेश्वरको डर राख्ने व्यक्ति अय्यूबले भनेको कुरा तिनलाई सान्त्वना दिएको ढोंग गर्ने झूटो साथीले भनेको जस्तै तरिकामा प्रस्तुत गर्नुहुन्छ? प्रेषितको किताब लूकाले लेखेका हुन्। तर तिनले अरूको भनाइ पनि आफ्नो किताबमा उद्धरण गरेका छन्। जस्तै:- याकूब, पत्रुस, पावल, फिलिप, स्तिफनस, स्वर्गदूतहरू अनि गमलिएल र अरू यहूदी। तपाईंले उल्लेख गर्ने पद वास्तवमा कसले भनेका हुन्? नबिर्सनुहोस्, सबै भजन दाऊदले रचेका होइनन्। अनि हितोपदेशका सबै अध्याय पनि सुलेमानले लेखेका होइनन्। बाइबल लेखकले कसलाई सम्बोधन गरेर लेखेका छन् र कुन विषयमा छलफल गरिएको छ भनेर थाह पाउनु मदतकारी हुन्छ।
पृष्ठभूमिबारे बताउनुहोस्। बाइबल विवरणमा जस्तो परिस्थिति बताइएको छ, तपाईंले छलफल गरिरहेको परिस्थिति पनि त्यस्तै छ भनेर देखाउन सक्नुभयो भने त्यो प्रभावकारी हुन्छ। तर कहिलेकाहीं भने कुनै खास पदको अर्थ बुझ्न त्यस पदको पृष्ठभूमि पनि बताउनुपर्ने हुन्छ। उदाहरणका लागि फिरौतीको बलिदानबारे भाषण दिंदा हिब्रू ९:१२, २४ प्रयोग गर्ने विचार गर्नुभएको छ भने पद पढ्नुअघि तपाईंले बासस्थानको भित्री कोठाबारे छोटकरीमा बताउनुपर्ने हुन्छ। किनकि बासस्थानको भित्री कोठाले स्वर्गमा येशू प्रवेश गरेपछि यहोवासामु प्रस्तुत हुनुलाई चित्रण गर्छ भनेर बाइबलमा बताइएको छ। तर तपाईंले पढ्ने पदको महत्त्व नै घट्नेगरि चाहिनेभन्दा धेरै जानकारी नदिनुहोस्।
बाइबल पद प्रस्तुत गर्ने तरिकामा प्रगति गर्न अनुभवी वक्ताको तरिका नियाल्नुहोस्। तिनीहरूले प्रयोग गर्ने विभिन्न तरिका ध्यान दिनुहोस्। अनि ती तरिका कत्तिको प्रभावकारी छन्, केलाउनुहोस्। आफ्नो भाषण तयार गर्दा मुख्य पदहरू चिन्नुहोस् र ती पदबाट तपाईंले बुझाउन खोजेको कुरामा विशेष ध्यान दिनुहोस्। प्रत्येक पद पढ्नुअघि के भन्ने त्यसबारे राम्ररी योजना बनाउनुहोस्। यसो गर्नुभयो भने अत्यन्तै प्रभावकारी तरिकामा पद प्रयोग गर्न सकिन्छ। पछि तपाईंले प्रयोग गर्ने अन्य पदमा पनि त्यसै गर्नुहोस्। यसरी बाइबल पद प्रस्तुत गर्न उन्नति गर्दै जाँदा परमेश्वरको वचनतर्फ ध्यान खिच्न सफल हुन सक्नुहुन्छ।