अध्याय २५
रूपरेखाको प्रयोग
रूपरेखा बनाएर भाषण दिनेबारे सोच्दा मात्र पनि थुप्रै मानिस अत्तालिन्छन्। आफूले भन्न चाहेको सबै कुरा लेखेर राखेका छन् वा कण्ठ गरेका छन् भने तिनीहरू ढुक्क महसुस गर्छन्।
तर वास्तवमा हामी कुराकानी गर्दा पाण्डुलिपि हेरेर अर्थात् पहिल्यै लेखेको एक-एक शब्द पढ्दै कुराकानी गर्दैनौं। परिवार र साथीभाइसित कुरा गर्दा पनि कागज हेरेर बोल्ने गर्दैनौं। प्रचारमा भाग लिंदा पनि त्यसै गर्छौं। अनि व्यक्तिगत रूपमा होस् वा मानिसहरूको प्रतिनिधित्व गरेर होस्, प्रार्थना चढाउँदा पनि मनदेखि प्रार्थना गर्छौं।
भाषण पाण्डुलिपिबाट पढेर दिइएको होस् वा रूपरेखाबाट, के त्यसले कुनै फरक पार्छ? पार्छ। पाण्डुलिपि तयार पार्दा राम्रा-राम्रा अनि सही शब्द छानेर लेखिने भएकोले गलत शब्द प्रयोग गरिएला भनेर चिन्ता मान्नु पर्दैन। तर त्यसरी पढेर भाषण दिंदा श्रोतालाई चाहेजति उत्प्रेरणा दिन सकिंदैन। केही वाक्य पढिसकेपछि तपाईं सामान्यतया बोल्ने बेलामा भन्दा फरक गति र फरक उतार-चढावसहित बोल्न थाल्नुहुन्छ। तपाईंको ध्यान कागजमै मात्र छ, श्रोतामा छैन भने के हुन सक्छ? श्रोतालाई तपाईंले तिनीहरूमा चासो राखेको अनि तिनीहरूको परिस्थितिअनुसार छाँटकाँट गरेर भाषण दिएको महसुस हुँदा तिनीहरू जति ध्यान दिएर सुन्थे, त्यति ध्यान दिएर सुन्दैनन्। भाषणलाई प्रेरणादायी बनाउने हो भने टिपोट नहेरी स्वतःस्फूर्त तरिकामा प्रस्तुत गर्नुपर्छ।
ईश्वरतान्त्रिक सेवा स्कूल हामीलाई दैनिक जीवनमा मदत गर्न तयार गरिएको हो। साथीभाइ भेट्दा आफ्नो विचार राम्रा शब्दमा व्यक्त गर्न हामी सानो कागज निकालेर त्यसमा लेखिएका शब्द प्रयोग गर्दै बोल्ने गर्दैनौं। प्रचारमा अरूलाई सुनाउनुपर्ने कुरा छुट्ला भन्ने डरले पाण्डुलिपि बोकेर हिंड्दैनौं। यस्तै परिस्थितिमा प्रचार गरेको प्रस्तुति स्कूल कार्यक्रममा देखाउँदा सकेसम्म स्वाभाविक तरिकामा बोल्ने अभ्यास गर्नुहोस्। राम्रो तयारी गर्नुभएको छ भने मनमा तयार पारेको वा लेखेर बनाएको रूपरेखाले तपाईंले भन्न खोजेको मुख्य कुरा सजिलै सम्झन मदत गर्छ भनी तपाईंले बुझ्नुहुनेछ। तर रूपरेखाबाट भाषण दिंदा कसरी निर्धक्क हुन सक्नुहुन्छ?
विचार पोख्ने क्रम मिलाउनुहोस्। रूपरेखा प्रयोग गर्दै भाषण दिन तपाईंले विचार पोख्ने क्रम मिलाउनुपर्छ। यसको अर्थ तपाईंले प्रयोग गर्ने एक-एक शब्द छान्नुपर्छ भनेको होइन। बरु बोल्नुअघि सोच्नुपर्छ मात्र भन्न खोजिएको हो।
सोचविचारै नगरी प्वाक्क बोल्ने व्यक्ति पछि थकथकाउँछ। अरू कोही भने एउटै विषयमा कुरा गर्दैनन्, म गर्छु आग्राको कुरा, सम्धी गर्छन् गाग्राको कुरा भनेझैं कहिले एउटा कुरा गर्छन् त कहिले अर्को। विचार गरेर मात्र बोलेका छौं भने माथि बताइएका यी दुवै बानी चट्टै हटाउन सक्नेछौं। त्यसैले सर्वप्रथम आफ्नो लक्ष्य के हो, पक्का गर्नुहोस्। त्यसपछि त्यो लक्ष्य हासिल गर्न तपाईंले चाल्नुपर्ने कदम के-के हुन्, छनौट गर्नुहोस् अनि मात्र बोल्नुहोस्।
के तपाईं प्रचारको लागि तयारी गर्दै हुनुहुन्छ? प्रचारमा प्रयोग गर्ने झोला मात्र होइन विचार पोख्ने क्रम पनि मिलाउनुहोस्। हाम्रो राज्य सेवा-बाट कुनै एउटा प्रस्तुति प्रयोग गर्ने निर्णय गर्नुभएको छ भने मुख्य-मुख्य विचार मनमा ठप्प नबसुन्जेल बारम्बार पढ्नुहोस्। प्रस्तुतिको मुख्य बुँदालाई एक-दुइटा छोटो वाक्यमा बताउनुहोस्। तपाईंलाई सजिलो लाग्ने शब्दमा र इलाकाको परिस्थितिअनुसार प्रस्तुति मिलाउनुहोस्। के भन्ने पहिल्यै सोचविचार गर्नुभएको छ भने तपाईंलाई सजिलो लाग्नेछ। यसो गर्नुमा के-के समावेश छन्? (१) परिचयमा तपाईं इलाकाका मानिसहरूलाई चासो लाग्ने केही विषयबारे बताउन सक्नुहुन्छ। त्यसपछि घरधनीलाई तिनको विचार व्यक्त गर्न लगाउनुहोस्। (२) त्यस विषयमा तपाईंले घरधनीसित बाँड्न सक्ने खास बुँदा र परमेश्वरले राहत दिन्छु भनी गरेको प्रतिज्ञाबारे बताउने एक-दुइटा पद याद गर्नुहोस्। यहोवाले आफ्नो राज्य अर्थात् आफ्नो स्वर्गीय सरकारमार्फत त्यसो गर्नुहुन्छ भन्ने कुरा मौका मिल्यो भने प्रस्ट पार्नुहोस्। (३) तपाईंले छलफल गरेको कुराको आधारमा घरधनीलाई कदम चाल्न प्रोत्साहन दिनुहोस्। तपाईं साहित्य प्रस्तुत गर्न सक्नुहुन्छ र/वा बाइबल अध्ययनको प्रस्ताव राख्न सक्नुहुन्छ। फेरि भेटेर छलफल गर्ने योजना मिलाउनुहोस्।
यी सब गर्न तपाईंले मनमा रूपरेखा तयार गरे मात्र पुग्छ। प्रचार गर्नुअघि लिखित रूपरेखा हेर्न चाहनुहुन्छ भने त्यो रूपरेखामा परिचयका केही शब्द, एउटा वा दुइटा पदको सङ्केत र समापनमा तपाईंले भन्न चाहेको कुरा छोटकरीमा लेखिएको हुनुपर्छ। यसरी रूपरेखा बनाएका छौं र त्यसको प्रयोग गरेका छौं भने हामी अलमलिने छैनौं। साथै हामीले भन्ने कुरा पनि घरधनीले स्पष्टसित बुझ्न सक्नेछन्।
तपाईंको इलाकामा मानिसहरूले अक्सर उठाउने प्रश्नको वा तिनीहरू असहमत हुने विषयको जवाफबारे अनुसन्धान गर्नु राम्रो हो। प्रायः दुई वा तीनवटा आधारभूत बुँदा र ती बुँदालाई समर्थन गर्ने पद पत्ता लगाए मात्र पुग्छ। धर्मशास्त्रबाट तर्क गर्ने (अङ्ग्रेजी) किताबमा गाढा अक्षरमा दिइएका उपशीर्षक अथवा “चर्चाका लागि बाइबल विषयहरू”-मा दिइएका बुँदाहरू तपाईंले खोजेकै रूपरेखा हुन सक्छ। प्रचारमा प्रयोग गर्न सकिने उपयुक्त उद्धरण तपाईं अरू स्रोतबाट पनि पाउन सक्नुहुन्छ। अब छोटो रूपरेखा लेख्नुहोस्, प्रचारमा प्रयोग गर्न सकिने त्यस्ता उद्धरणको फोटोकपी गरेर वा लेखेर त्यो रूपरेखासँगै राख्नुहोस्। घरधनीले कुनै प्रश्न उठाउँदा वा असहमति जनाउँदा आफूले विश्वास गरेको कुराको कारण बताउन तपाईं तयार हुनुहुन्छ भनी तिनलाई थाह दिनुहोस्। (१ पत्रु. ३:१५) रूपरेखा प्रयोग गर्दै जवाफ दिनुहोस्।
परिवारमा, प्रचारको लागि भेला भएको समूहमा वा मण्डलीमा सबैको प्रतिनिधित्व गर्दै प्रार्थना गर्न लाग्नुभएको छ भने पनि तपाईंले आफ्नो विचार पोख्ने क्रम मिलाउनु राम्रो हो। लूका ११:२-४ अनुसार येशूले चेलाहरूलाई अर्थपूर्ण प्रार्थनाको लागि एउटा सरल रूपरेखा दिनुभयो। यरूशलेमको मन्दिरको समर्पण गर्ने बेला सुलेमानले लामो प्रार्थना गरे। पक्कै पनि के भन्ने भनेर तिनले पहिल्यै सोचेका थिए। तिनले सबैभन्दा पहिला यहोवातर्फ र उहाँले दाऊदसित गरेको प्रतिज्ञातर्फ, त्यसपछि मन्दिरतर्फ र क्रमबद्ध रूपमा विशेष अवस्थातर्फ र मानिसहरूतर्फ ध्यान खिचे। (१ राजा ८:२२-५३) यी उदाहरणबाट हामी सिक्न सक्छौं।
भाषणको रूपरेखा सरल बनाउनुहोस्। के तपाईं भाषण दिने बेला रूपरेखा प्रयोग गर्न चाहनुहुन्छ? तपाईंले त्यो रूपरेखामा के-के समावेश गर्नुपर्छ?
नबिर्सनुहोस्, रूपरेखा तपाईंलाई विचारहरू सम्झन मदत गर्नको लागि मात्र हो। परिचयमा भन्ने केही वाक्य लेख्नु तपाईंलाई मदतकारी हुन्छ जस्तो लाग्ला। तर त्यसपछि शब्द-शब्दमा होइन, विचारमा ध्यान दिनुहोस्। विचार वाक्यमा पोख्दा छोटा वाक्यहरू प्रयोग गर्नुहोस्। तपाईंले विस्तार गर्ने योजना बनाएका मुख्य बुँदा अरू बुँदाभन्दा प्रस्टै छुट्टिनुपर्छ। यसको लागि मुख्य बुँदा गाढा अक्षरमा लेख्न, त्यसको मुनि धर्सो तान्न वा रङ्गीन कलमले चिनो लगाउन सक्छौं। प्रत्येक मुख्य बुँदामुनि त्यो मुख्य बुँदा विस्तार गर्दा प्रयोग गर्न सकिने विचारहरू लेख्नुहोस्। पढ्ने योजना बनाएका पदहरू पनि उल्लेख गर्नुहोस्। पदहरू बाइबलबाटै पढ्नु राम्रो हो। प्रयोग गर्न चाहेको उदाहरण वा दृष्टान्त लेख्नुहोस्। प्रयोग गर्न उपयुक्त प्रख्यात भनाइ पनि लेख्न सक्नुहुन्छ। केही खास तथ्यबारे राम्ररी बताउन सक्नेगरि टिपोट बनाएको हुनुपर्छ। रूपरेखा सफा छ भने त्यसलाई प्रयोग गर्दा सजिलो हुन्छ।
कोही-कोही साह्रै सरल रूपरेखा प्रयोग गर्छन्। उनीहरूले रूपरेखामा केही मुख्य शब्द मात्र लेखेका हुन्छन्, याद गरेर भन्न सक्ने केही पदको सङ्केत गरेका हुन्छन् र भन्न चाहेको कुरा सम्झन मदत गर्ने केही चित्र कोरेका हुन्छन्। यस्तो सरल रूपरेखाको प्रयोगले वक्ता आफ्नो विषयवस्तु तार्किक ढङ्गमा र कुराकानीको शैलीमा प्रस्तुत गर्न सक्छन्। यस अध्यायको उद्देश्य यही हो।
यस पुस्तकको पृष्ठ ३९ देखि ४२ सम्म “रूपरेखा बनाउने तरिका” शीर्षकको अध्याय दिइएको छ। त्यसैले “रूपरेखाको प्रयोग” शीर्षकको यस अध्यायमा काम गर्दा ती पृष्ठमा दिइएको जानकारी पढ्नु मदतकारी साबित हुन सक्छ।
रूपरेखा प्रयोग गर्ने तरिका: अब तपाईंको लक्ष्य भाषणको रूपरेखा बनाउनु मात्र होइन, त्यो रूपरेखा प्रभावकारी ढङ्गमा प्रयोग गर्नु पनि हो।
रूपरेखा प्रयोग गर्न चाल्नुपर्ने पहिलो कदम हो, भाषण प्रस्तुत गर्नको लागि तयारी गर्नु। मूल-विषय हेर्नुहोस् र प्रत्येक मुख्य बुँदा पढ्नुहोस्। ती प्रत्येक मुख्य बुँदा मूल-विषयसित कसरी सम्बन्धित छन्, खुट्ट्याउनुहोस्। प्रत्येक मुख्य बुँदा व्याख्या गर्दा कति समय लाग्छ, याद गर्नुहोस्। अब फेरि पहिलो मुख्य बुँदा हेर्नुहोस्। त्यो बुँदा विस्तार गर्न तपाईंले प्रस्तुत गर्ने तर्क, पढ्ने पद, प्रयोग गर्ने दृष्टान्त र उदाहरणबारे फेरि सोच्नुहोस्। मनमा त्यो विषयवस्तु ठप्प नबसुन्जेल बारम्बार यसरी नै अभ्यास गर्नुहोस्। अन्य मुख्य बुँदाको तयारी पनि यसरी नै गर्नुहोस्। आफ्नो भाषण वा प्रस्तुति समयमै सिध्याउन कुनै बुँदा वा विचार हटाउनु आवश्यक पऱ्यो भने कुन-कुन बुँदा वा विचार हटाउने हो, सोच्नुहोस्। त्यसपछि पूरै भाषण फेरि सरसर्ती हेर्नुहोस्। शब्द-शब्दमा होइन विचारहरूमा ध्यान दिनुहोस्। भाषण कण्ठ नगर्नुहोस्।
श्रोताको अनुहार हेरेर भाषण दिनुपर्छ। पद पढिसकेपछि अक्सर पदबाटै तर्क गर्नुपर्छ। यसो गर्दा रूपरेखा होइन, बाइबल प्रयोग गर्नुपर्छ। सोही प्रकार कुनै उदाहरण बताउँदा साथीभाइलाई बताएझैं रूपरेखा नहेरीकनै बताउन सक्नुपर्छ। बोल्दा वाक्यपिच्छे रूपरेखा नहेर्नुहोस्। मनदेखि नै बोल्नुहोस्। यसो गर्दा श्रोताको मन छुन सक्नुहुन्छ।
रूपरेखा प्रयोग गर्दै भाषण दिने कलामा पोख्त हुनुभयो भने प्रभावकारी जनवक्ता बन्न तपाईंले ठूलो फड्को मारेको हुनेछ।