प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • be अध्या. २६ पृ. १७०-पृ. १७३ अनु. ४
  • विषयवस्तुलाई तर्कसङ्‌गत तरिकामा विस्तार गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयवस्तुलाई तर्कसङ्‌गत तरिकामा विस्तार गर्नुहोस्‌
  • ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मिल्दोजुल्दो सामग्री
  • रूपरेखा बनाउने तरिका
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मुख्य बुँदालाई जोड दिनुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • तोकिएको विषयवस्तु प्रयोग गर्नुहोस्‌
    ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
  • मुख्य बुँदालाई जोड दिने
    पढ्‌ने र सिकाउने काममा लागिरहनुहोस्‌
थप हेर्नुहोस्
ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट फाइदा उठाउनुहोस्‌
be अध्या. २६ पृ. १७०-पृ. १७३ अनु. ४

अध्याय २६

विषयवस्तुलाई तर्कसङ्‌गत तरिकामा विस्तार गर्नुहोस्‌

तपाईंले के गर्नुपर्छ?

विचारहरू आपसमा र तपाईंको निष्कर्षसित वा उद्देश्‍यसित कसरी सम्बन्धित छन्‌ भनेर प्रस्ट बुझिनेगरि विषयवस्तु मिलाउनुपर्छ।

यसो गर्नु किन महत्त्वपूर्ण छ?

तर्कसङ्‌गत तरिकामा जानकारी प्रस्तुत गर्दा उक्‍त जानकारी श्रोतालाई बुझ्न, स्वीकार्न र सम्झन सजिलो हुन्छ।

विषयवस्तु तर्कसङ्‌गत तरिकामा मिलाउनुअघि तपाईंले आफ्नो उद्देश्‍य मनमा ठप्प बसाल्नुपर्छ। के तपाईंको उद्देश्‍य कुनै खास विषयमा जानकारी दिनु मात्रै हो? जस्तैः- कुनै विश्‍वास, मनोवृत्ति, गुण, आचरणको किसिम वा जीवनशैली। कुनै खास विचार सही साबित गर्ने कि गलत ठहऱ्‍याउने, सोच्नुभएको छ? कुनै कुराप्रति कदर जगाउने वा कुनै कदम चाल्न उत्प्रेरित गर्ने लक्ष्य राख्नुभएको छ? एक जनासित होस्‌ वा मानिसहरूको समूहसित, विषयवस्तु प्रभावकारी तरिकामा प्रस्तुत गर्न त्यस विषयबारे श्रोतालाई पहिल्यै के थाह छ र त्यस विषयप्रति तिनीहरूको मनोवृत्ति कस्तो छ, ध्यान दिनुहोस्‌। यसो गरिसकेपछि आफ्नो उद्देश्‍य पूरा गर्न सक्नेगरि विषयवस्तुको रूपरेखा बनाउनुहोस्‌।

शावलले (पावलले) दमीशकमा प्रचार गर्दा अपनाएको तरिकाबारे प्रेषित ९:२२ मा यस्तो लेखिएको छ: “येशू नै ख्रीष्ट हुनुहुन्छ भनेर तर्कसङ्‌गत ढङ्‌गमा प्रमाणित गर्दै [तिनले] दमीशकमा बस्ने यहूदीहरूको मुख टालिदिए।” पावलले दिएको तर्कसङ्‌गत प्रमाण के थियो? पछि पावलले एन्टिओक र थिस्सलोनिकामा गरेको सेवाको रेकर्डले देखाएअनुसार सुरुमा पावलले यहूदीहरू हिब्रू धर्मशास्त्रलाई स्वीकार्छन्‌ र मसीहबारे त्यसमा बताइएको कुरालाई पनि विश्‍वास गर्छन्‌ भन्‍ने तथ्यलाई आधार बनाएका थिए। त्यसपछि पावलले हिब्रू धर्मशास्त्रबाटै मसीहको जीवन र सेवाबारे बताउने भाग छाने। तिनले यी पदहरूबाट उद्धरण गरे र त्यसलाई येशूको जीवनमा भएका घटनासित तुलना गरे। अन्तमा तिनले येशू नै ख्रीष्ट वा मसीह हुन्‌ भन्‍ने मुख्य कुरा प्रस्टै बताइदिए। (प्रेषि. १३:१६-४१; १७:२, ३) तपाईंले पनि बाइबल सत्य तर्कसङ्‌गत तरिकामा प्रस्तुत गर्नुभयो भने अरूलाई मनाउन सक्नुहुन्छ।

प्रस्तुतिलाई व्यवस्थित पार्नुहोस्‌। विषयवस्तुलाई तार्किक ढङ्‌गमा मिलाउने तरिका अनेक छन्‌। कुनै-कुनै तरिकालाई सँगै प्रयोग गर्नु उपयुक्‍त देखिन्छ भने त्यसलाई सँगसँगै प्रयोग गर्नुहोस्‌। यसो गर्ने केही तरिका विचार गरौं।

विषयअनुसार: हरेक भागले तपाईंको भाषणको उद्देश्‍य पूरा गर्न मदत दिनेगरि तपाईंले विषयवस्तुलाई व्यवस्थित गर्दै विभिन्‍न भागमा बाँड्‌नुपर्छ। तपाईंको विषयलाई राम्ररी बुझाउन नभई नहुने मुख्य बुँदालाई आधार मानेर भाषणलाई विभाजन गर्न सक्नुहुन्छ। अथवा कुनै कुरालाई सही ठहऱ्‍याउन वा गलत ठहऱ्‍याउन प्रयोग गर्ने तर्कको आधारमा पनि विभाजन गर्न सक्नुहुन्छ। विषयसित सम्बन्धित भए तापनि भाषणको उद्देश्‍य र श्रोतालाई विचार गर्दै कुनै-कुनै बुँदा थप्नुपर्ने वा हटाउनुपर्ने हुन सक्छ।

विषयअनुसार कसरी मिलाउन सकिन्छ भन्‍नेबारे एउटा उदाहरण विचार गरौं। परमेश्‍वरको नामबारे बताउने एउटा छोटो प्रस्तुति प्रस्तुत गर्दा यस्ता कुरा समावेश गर्न सकिन्छ: (१) परमेश्‍वरको नाम थाह पाउनु किन महत्त्वपूर्ण छ? (२) परमेश्‍वरको नाम के हो? (३) परमेश्‍वरको नामको हामी कसरी आदर गर्न सक्छौं?

“विश्‍वासी र बुद्धिमान्‌ दास”-द्वारा प्रकाशित गृह बाइबल अध्ययन सञ्चालन गर्न प्रयोग गरिने प्रकाशनहरू जाँचेर विषयवस्तु विषयअनुसार कसरी मिलाउने भनी बुझ्न सक्नुहुन्छ। (मत्ती २४:४५) यस्ता प्रकाशनमा त्यस्ता विषय वा शीर्षक लेखिएका हुन्छन्‌ जसले बाइबल विद्यार्थीहरूलाई आधारभूत बाइबल सत्य सरसर्ती बुझ्न मदत गर्छ। मोटा किताबको प्रत्येक अध्यायमा विभिन्‍न उपशीर्षक दिइएका हुन्छन्‌। हरेक खण्डले विद्यार्थीलाई त्यसमुनि दिइएका जानकारी सरसर्ती अनुमान लगाउन र पूरै अध्यायको भावसित त्यो कसरी सम्बन्धित छ भनेर बुझ्न मदत गर्छ।

कारण र परिणाम: विषयवस्तुलाई तर्कसङ्‌गत तरिकामा प्रस्तुत गर्ने अर्को तरिका हो, पहिला कारण बताउनु त्यसपछि परिणाम बताउनु।

आफूले गरिरहेको कामको अथवा गर्ने योजना गरेको कामको परिणाम बुझ्नुपर्ने कुनै व्यक्‍तिसित वा मानिसहरूसित कुराकानी गर्दा तपाईंले यो तरिका अपनाउनु प्रभावकारी हुन सक्छ। यसको राम्रो उदाहरण हितोपदेश अध्याय ७ मा पाइन्छ। त्यहाँ एउटा कम अनुभवी ठिटो “मूर्ख” भएकोले (कारण) एउटी वेश्‍याको पासोमा कसरी फस्छ र कस्तो नराम्रो नतिजा (परिणाम) भोग्छ भनी स्पष्टै बताइएको छ।—हितो. ७:७.

आफ्नो कुरामा अझै जोड दिन यहोवाका तौरतरिकाअनुसार चल्न नसक्दा हुने नराम्रो परिणाम र यहोवाको कुरा सुन्‍नेहरूले अनुभव गर्ने राम्रो परिणामबीचको भिन्‍नता देखाउन सक्नुहुन्छ। इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नुअघि यहोवाको पवित्र शक्‍तिद्वारा उत्प्रेरित भएर मोशाले तिनीहरूलाई यस्तै भिन्‍नताबारे स्पष्ट पारे।—व्यव., अध्या. २८.

कहिलेकाहीं छलफल सुरु गर्न तपाईं कुनै अवस्थाबारे (परिणाम) बताउन सक्नुहुन्छ र त्यसपछि त्यस्तो अवस्था किन सृजना भयो भनी देखाउने बुँदाबारे (कारण) बताउन सक्नुहुन्छ। यसको लागि समस्या प्रस्तुत गर्ने र त्यसपछि समाधान बताउने गर्नुपर्छ।

समस्या र समाधान: प्रचारमा मानिसहरूलाई चिन्ता लाग्ने समस्या छलफल गरिसकेपछि त्यसको सन्तोषजनक समाधान छ भनी देखाउँदा घरधनी सुन्‍न इच्छुक हुन सक्छन्‌। उक्‍त समस्याबारे तपाईंले वा घरधनीले कुरा उठाएको हुन सक्छ।

मानिसहरू बूढो हुनु र मर्नु, अपराध वा जताततै फैलिएको अन्यायलाई त्यस्ता समस्याको रूपमा लिन सक्छौं। यस्ता समस्याबारे लम्बेतान छलफल गरिराख्नुपर्दैन किनभने त्यो सबैले बुझेकै छन्‌। कुनै समस्याबारे छोटो कुरा गर्नुहोस्‌, त्यसपछि बाइबलले दिने समाधान देखाइहाल्नुहोस्‌।

अर्कोतर्फ समस्या नितान्त व्यक्‍तिगत किसिमको हुन सक्छ। त्यसमा सायद एक्ली आमा वा एक्लो बुबाले भोगिरहेका चुनौतीहरू, गम्भीर रोगका कारण भएको निराशा वा अरूको नराम्रो व्यवहारको सिकार भएका व्यक्‍तिले अनुभव गरिरहेको कठिनाइ समावेश हुन सक्छ। सबैभन्दा राम्रो उपलब्धि हासिल गर्न सर्वप्रथम तपाईंले राम्ररी सुन्‍नुपर्छ। यस्ता समस्याबारे बाइबलले अनमोल जानकारी दिन्छ। तर तपाईंले त्यसलाई सुझबुझ चलाउँदै प्रयोग गर्नुपर्छ। व्यावहारिक हुनुभयो भने मात्र तपाईंको छलफलले अर्को व्यक्‍तिलाई फाइदा पुऱ्‍याउँछ। तपाईंले समस्याको स्थायी समाधान बताइरहेको हो कि अस्थायी समाधान वा अहिलेको संसारमा समाधान गर्न नसकिने कुनै समस्याको सामना कसरी गर्ने भनेर मात्र बताइरहेको हो, प्रस्ट पार्नुहोस्‌। अर्को शब्दमा भन्‍ने हो भने तपाईंको निष्कर्षलाई समर्थन गर्न बाइबलबाट प्रशस्त मात्रामा प्रमाण पेस गर्नुहोस्‌। नत्रता तपाईंले समाधानको रूपमा पेस गर्ने कुरा अर्को व्यक्‍तिलाई तर्कसङ्‌गत नलाग्न सक्छ।

ऐतिहासिक क्रमअनुसार: कुनै-कुनै विषयवस्तु ऐतिहासिक क्रमअनुसार मिलाउनुपर्ने हुन्छ। उदाहरणका लागि प्रस्थानको पुस्तकमा १० विपत्ति जुन क्रमअनुसार भएका थिए त्यही क्रमअनुसार लेखिएको छ। हिब्रू अध्याय ११ मा उदाहरणीय विश्‍वास देखाएका पुरुष तथा स्त्रीको नाम उल्लेख गर्दा प्रेषित पावलले ऐतिहासिक क्रमअनुसार लेखे।

विगतको घटना ऐतिहासिक क्रमअनुसार मिलाउँदा केही खास घटना कसरी हुन पुग्यो, श्रोताले बुझ्न सक्छन्‌। यो कुरा आधुनिक समयका घटना र बाइबलकालीन समयका घटनाहरू बताउँदा पनि लागू हुन्छ। त्यसैले ऐतिहासिक घटना क्रमलाई उक्‍त घटना हुनुको कारण अनि त्यसको परिणामको रूपमा पनि प्रस्तुत गर्दै तर्क गर्न सक्नुहुन्छ। बाइबलले भविष्यमा हुनेछन्‌ भनी बताएका घटना पनि त्यसको क्रमअनुसार बताउने योजना बनाउनुभयो भने श्रोतालाई बुझ्न र सम्झन सजिलो हुन्छ।

ऐतिहासिक क्रमअनुसार बताउँदा कुनै घटनाको सुरुदेखि नै बताउनुपर्छ भन्‍ने छैन। कुनै-कुनै अवस्थामा कुनै घटनाबारे बताउँदा सुरुदेखि नै नबताएर त्यसमा भएको कुनै रोचक घटना पहिला बताउन सक्नुहुन्छ। उदाहरणका लागि कसैको अनुभव बताउँदा परमेश्‍वरप्रतिको तिनको निष्ठाको जाँचबारे उल्लेख गर्न सक्नुहुन्छ। घटनाको यस्तो भाग बताएर चासो जगाइसकेपछि त्यो घटना कसरी हुन गयो, ऐतिहासिक क्रमअनुसार बताउन सक्नुहुन्छ।

सम्बन्धित विषयवस्तु मात्र राख्नुहोस्‌। तपाईंले जस्तोसुकै क्रममा आफ्नो विषयवस्तु मिलाएको भए तापनि सम्बन्धित कुरा मात्र राख्नुहोस्‌। कस्तो जानकारी समावेश गर्ने भन्‍ने कुरा भाषणको मूल-विषयमा भर पर्छ। श्रोतामा को-को छन्‌, त्यसलाई पनि नबिर्सनुहोस्‌। कुनै खास बुँदा एक प्रकारका श्रोतालाई एकदमै फाइदाजनक होला तर त्यही बुँदा अरू श्रोतालाई अनावश्‍यक लाग्ला। विषयवस्तुले तपाईंको उद्देश्‍य पूरा गर्छ कि गर्दैन, त्यो पनि पक्का गर्नुपर्छ। होइन भने तपाईंको प्रस्तुति रमाइलो त होला तर प्रभावकारी हुँदैन।

भाषणको निम्ति अनुसन्धान गर्दा विषयसित सम्बन्धित विभिन्‍न रोचक सामग्री भेट्टाउन सक्नुहुन्छ। त्यसमध्ये कतिचाहिं तपाईंले आफ्नो भाषणमा प्रयोग गर्नुपर्छ? श्रोतालाई जानकारीको ओइरो लगाइदिनुभयो भने तपाईंको लक्ष्य हासिल हुँदैन। लगातार एकपछि अर्को जानकारी पेस गर्नुभन्दा केही मुख्य बुँदालाई राम्ररी विस्तार गरिएको छ भने सम्झन सजिलो हुन्छ। यसको अर्थ रोचक जानकारी कहिल्यै भन्‍नुहुँदैन भनेको होइन। तर रोचक जानकारी प्रस्तुत गर्दा तपाईंको उद्देश्‍य अन्योलमा नपरोस्‌। मर्कूस ७:३, ४ र यूहन्‍ना ४:१-३, ७-९ मा यस्तो जानकारी कसरी समावेश गरिएको छ, याद गर्नुहोस्‌।

एउटा बुँदा बताउँदा बताउँदै अचानक अर्को बुँदामा फड्‌को नमार्नुहोस्‌। त्यसो गर्दा श्रोताले यी दुई विचारबीचको सम्बन्ध बुझ्न सक्दैनन्‌। श्रोताले विचारहरूबीचको सम्बन्ध राम्ररी बुझून्‌ भन्‍ने चाहनुहुन्छ भने तपाईंले ती विचारहरूबीचको सम्बन्ध स्पष्ट पार्नुपर्छ। वाक्यांश वा एउटा पूरै वाक्यले यस्तो काम गर्न सक्छ। भर्खर उल्लेख गरिएको बुँदा त्यसअघिको बुँदासित कसरी सम्बन्धित छ भनी देखाउन थुप्रै भाषामा संयोजकको प्रयोग गरिन्छ।

सम्बन्धित विषयवस्तु मात्र प्रयोग गर्दा र त्यसलाई तर्कसङ्‌गत तरिकामा मिलाउँदा तपाईं आफ्नो उद्देश्‍य प्राप्त गर्न सक्नुहुन्छ।

आफैलाई सोध्नुहोस्‌ . . .

  • मेरो उद्देश्‍य के हो?

  • के प्रत्येक मुख्य बुँदा त्यो उद्देश्‍यसित सोझै सम्बन्धित छ?

  • विषयवस्तु छान्दा के मैले श्रोताको आवश्‍यकतालाई ध्यानमा राखेको छु?

  • विचारबीचको सम्बन्ध श्रोताले राम्ररी बुझ्नेगरि के मैले आफ्नो विषयवस्तु मिलाएको छु?

अभ्यास गर्नुहोस्‌:- पहिला यो अध्याय पढ्‌नुहोस्‌। त्यसपछि हतार नगरी यसको विषयवस्तुलाई पुनरावलोकन गर्नुहोस्‌। प्रत्येक अनुच्छेदले भन्‍न खोजेको कुरा आफैलाई बुझाउनुहोस्‌। पूरै अध्यायको उद्देश्‍य हासिल गर्न प्रत्येक अनुच्छेदले कसरी मदत गर्छ, विचार गर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने