अध्याय ३७
मुख्य बुँदालाई जोड दिनुहोस्
भाषणका मुख्य बुँदा के हुन्? मुख्य बुँदा भाषण दिंदा दिंदै बताइहाल्ने रोचक कुरा मात्र होइनन्। ती त विस्तृत रूपमा बताउनुपर्ने महत्त्वपूर्ण विचार हुन्। यस्ता विचारहरू भाषण दिनुको उद्देश्य पूरा गर्न महत्त्वपूर्ण छन्।
मुख्य बुँदाहरू स्पष्ट पार्ने एउटा तरिका आफ्नो विषयवस्तु सोचविचार गरेर छान्नु र त्यसलाई क्रमअनुसार मिलाउनु हो। भाषणको लागि अनुसन्धान गर्दा प्रायः चाहिनेभन्दा बढी जानकारी भेटिन्छ। भाषणमा कुन-कुन जानकारी प्रयोग गर्ने, कसरी पक्का गर्न सक्नुहुन्छ?
सबैभन्दा पहिला, श्रोतालाई विचार गर्नुहोस्। तिनीहरूलाई तपाईंले प्रस्तुत गर्ने विषयबारे कति थाह छ? धेरै वा थोरै? त्यो विषय बाइबलमा दिइएको कुरासित मेल खान्छ भनेर के तिनीहरूमध्ये धेरैजसो सहमत छन्? वा त्यसबारे कोही-कोही शङ्का व्यक्त गर्छन्? उक्त विषयबारे बाइबलले दिने सल्लाह लागू गर्ने प्रयास गर्दा तिनीहरूले दिनदिनै के-कस्ता चुनौती सामना गर्नुपर्छ? त्यसपछि, तपाईं कुन उद्देश्यसहित उक्त विषय प्रस्तुत गर्दै हुनुहुन्छ, त्यो तपाईंको मनमा स्पष्ट पार्नुहोस्। यी दुई तरिका प्रयोग गर्दै विषयवस्तु केलाउनुहोस् र ठ्याक्कै मिल्ने जानकारी मात्रै समावेश गर्नुहोस्।
मूल-विषय र मुख्य बुँदाहरू मात्र भएको रूपरेखा दिइएको छ भने त्यही रूपरेखाअनुसार भाषण दिनुपर्छ। प्रत्येक बुँदा विस्तार गर्दा माथि दिइएका दुई तरिकालाई मनमा राख्नुभयो भने तपाईंको प्रस्तुति एकदमै प्रभावकारी हुन्छ। तर रूपरेखा दिइएको छैन भने मुख्य बुँदाहरू तपाईं आफैले छान्नुपर्छ।
मुख्य बुँदा मनमा स्पष्ट छ र त्यसअन्तर्गत बताउने कुराहरूलाई क्रमअनुसार मिलाउनुभएको छ भने तपाईंलाई भाषण दिन सजिलो हुनेछ। सायद श्रोताले पनि प्रशस्त फाइदा उठाउन सक्नेछन्।
विषयवस्तुलाई क्रमअनुसार मिलाउने विभिन्न तरिका: भाषणको मुख्य भाग विभिन्न तरिकाले मिलाउन सकिन्छ। यी सबै तरिका राम्ररी थाह पाउनुभयो भने भाषण दिनुको उद्देश्य प्राप्त गर्न कुन-कुन तरिका अपनाउनु प्रभावकारी हुन्छ, थाह पाउन सक्नुहुन्छ।
पहिलो तरिका हो, विषयअनुसार बुँदाहरू छुट्ट्याउनु। (मुख्य बुँदाहरू चाहिन्छ किनकि ती बुँदाले श्रोतालाई विषय बुझ्न वा तपाईंलाई भाषणको उद्देश्य प्राप्त गर्न मदत गर्छ।) दोस्रो तरिका हो, ऐतिहासिक क्रमअनुसार मिलाउनु। (उदाहरणको लागि, सबैभन्दा पहिला नूहको जलप्रलयको घटनाबारे उल्लेख गर्नुहोस्। त्यसपछि इस्वी संवत् ७० मा यरूशलेमको विनाश हुनुअघिका घटनाहरू बताउन सक्नुहुन्छ र त्यसपछि अहिले हाम्रो समयमा भइरहेका घटनाहरू उल्लेख गर्न सक्नुहुन्छ।) तेस्रो तरिका हो, कारण र परिणाम प्रयोग गर्नु। (यो तरिका जसरी पनि प्रस्तुत गर्न सकिन्छ। जस्तै, सुरुमा परिणामबारे अर्थात् अहिले भइरहेको अवस्थाबारे बताएर पछि त्यसको कारण उल्लेख गर्न सक्नुहुन्छ। अथवा पहिला कारण बताएर पछि त्यसको परिणाम बताउन सक्नुहुन्छ।) चौथो तरिका हो, विपरीत कुरा बताउनु। (तपाईं असल र खराब अथवा सकारात्मक र नकारात्मक कुराबीच भिन्नता देखाउन सक्नुहुन्छ।) कहिलेकाहीं एउटै भाषणमा एउटाभन्दा धेरै तरिका अपनाउनुपर्ने हुन्छ।
यहूदी न्यायपरिषद्सामु झूटो आरोप लगाइँदा स्तिफनसले ऐतिहासिक क्रमअनुसार जोडदार भाषण दिए। त्यसबारे प्रेषित ७:२-५३ मा पढ्दा स्तिफनसले खास उद्देश्यलाई मनमा राख्दै बुँदाहरू छानेको कुरा याद गर्नुहोस्। स्तिफनसले सुरुमा श्रोताले नकार्नै नसक्ने इतिहासबारे बताउन लागेको कुरा प्रस्ट पारे। त्यसपछि तिनले यूसुफलाई दाइहरूले तिरस्कार गरे तापनि उनलाई परमेश्वरले छुटकारा दिने माध्यमको रूपमा चलाएको कुरा बताए। त्यसपछि भने तिनले परमेश्वरको प्रतिनिधि मोशाको आज्ञा पालन नगर्ने यहूदीहरूबारे पनि बताए। अनि अन्तमा तिनले अघि-अघिका पुस्ताका यहूदीहरूले जस्तो मनोवृत्ति देखाएका थिए, येशू ख्रीष्टलाई मार्न लगाउने यहूदीहरूले पनि त्यस्तै मनोवृत्ति देखाइरहेका छन् भनेर जोड दिए।
तीनथुप्रो बुँदा प्रयोग नगर्नुहोस्। मूल-विषयलाई विस्तार गर्न केही बुँदा मात्र भए पुग्छ। प्रायजसो भाषणमा मुख्य बुँदा एकै हातको औंलामा गन्न सकिनेजति मात्र हुन्छ। तपाईंको भाषण ५ मिनेट, १० मिनेट, ३० मिनेट वा त्यसभन्दा लामो भए तापनि यो कुरा लागू हुन्छ। थुप्रै बुँदा प्रस्ट पार्ने कोसिस नगर्नुहोस्। श्रोताले एउटा भाषणबाट केही बुँदा मात्र सम्झन सक्छन्। भाषण जत्ति लामो छ, मुख्य बुँदालाई त्यत्ति नै स्पष्टसित र जोड दिएर बताउनुपर्ने हुन्छ।
तपाईंले भाषणमा जतिसुकै मुख्य बुँदा बताए तापनि प्रत्येक बुँदा राम्ररी व्याख्या गर्नुपर्छ। श्रोतालाई प्रत्येक बुँदा केलाउन पर्याप्त समय दिनुहोस्। यसो गर्दा तपाईंले बताउने कुरा उनीहरूको दिमागमा ठप्प बस्नेछ।
तपाईंको भाषण बुझ्न सजिलो छ भनेर श्रोताले महसुस गर्न सक्नुपर्छ। भाषण बुझ्न सजिलो हुनु वा नहुनु विषयवस्तु कति प्रस्तुत गर्नुभयो, सधैं त्यसमा भर पर्छ भन्ने होइन। भाषणमा व्यक्त गर्ने विचारलाई प्रस्टै छुट्टिनेगरि केही मुख्य बुँदाअन्तर्गत समावेश गर्नुभयो र त्यसलाई एक-एक गरी विस्तार गर्नुभयो भने तपाईंको भाषण बुझ्न मात्र होइन, सम्झन पनि सजिलो हुन्छ।
मुख्य बुँदाहरूमा जोड दिनुहोस्। विषयवस्तुलाई क्रमअनुसार मिलाएर राख्नुभएको छ भने भाषण दिंदा तपाईंलाई मुख्य बुँदाहरूको महत्त्वमाथि जोड दिन गाह्रो हुँदैन।
मुख्य बुँदालाई स्पष्ट पार्ने प्रमुख तरिका मुख्य विचारमा ध्यान खिच्नेगरि वा त्यसलाई विस्तार गर्नेगरि प्रमाण, शास्त्रपद वा अन्य जानकारी प्रस्तुत गर्नु हो। सबै सहायक बुँदा मुख्य बुँदालाई स्पष्ट पार्ने, प्रमाणित गर्ने र विस्तार गर्ने खालको हुनुपर्छ। रोचक छ भन्दैमा भाषणसित सम्बन्धित नै नभएको कुरा समावेश नगर्नुहोस्। मुख्य बुँदाअन्तर्गतका सहायक बुँदाहरू विस्तार गर्दा ती बुँदाहरूबीच के सम्बन्ध छ, स्पष्ट पार्नुहोस्। श्रोताले बुझिहाल्छन् भनेर त्यत्तिकै नछोड्नुहोस्। मुख्य विचारलाई बुझाउने मुख्य शब्द दोहोऱ्याएर वा मुख्य बुँदालाई बुझाउने सारलाई समय-समयमा उल्लेख गरेर मुख्य बुँदा र सहायक बुँदाबीचको सम्बन्ध देखाउन सक्नुहुन्छ।
केही वक्ता क्रम-सङ्ख्या तोक्दै मुख्य बुँदा बताउँछन्। यसरी जोड दिन सकिने भए तापनि होसियार भएर विषयवस्तु छान्ने वा विषयवस्तुलाई तर्कसङ्गत तरिकामा विस्तार गर्ने कुरालाई नै बेवास्ता गर्न मिल्दैन।
मुख्य बुँदालाई समर्थन गर्ने तर्क प्रस्तुत गर्नुअघि नै तपाईं मुख्य बुँदाबारे बताउन चाहनुहुन्छ होला। यसरी मुख्य बुँदाबारे पहिल्यै बताउँदा यसले अब तपाईंले भाषणमा भन्ने कुरा बुझ्न श्रोतालाई मदत दिनेछ र मुख्य बुँदालाई पनि जोड दिन सकिन्छ। मुख्य बुँदालाई व्याख्या गरिसकेपछि छोटकरीमा ती बुँदाहरू दोहोऱ्याउँदा अझै जोड दिन सकिन्छ।
प्रचारमा: माथि चर्चा गरिएका सिद्धान्त भाषण दिंदा मात्र होइन प्रचारमा पनि लागू हुन्छ। तयारी गर्दा स्थानीय व्यक्तिहरूले भोगिरहेको मुख्य समस्या के हो, याद गर्नुहोस्। त्यसपछि उक्त समस्याको समाधानबारे बाइबलमा दिइएको आशा देखाउन सकिने एउटा मूल-विषय छान्नुहोस्। त्यस मूल-विषयलाई विस्तार गर्न सकिने दुईवटा जति मुख्य बुँदा छान्नुहोस्। यी बुँदालाई समर्थन गर्ने कस्ता शास्त्रपदहरू देखाउन सकिन्छ, पक्का गर्नुहोस्। त्यसपछि कसरी छलफल सुरु गर्ने, त्यसबारे योजना बनाउनुहोस्। यसरी तयारी गर्दा कुराकानीको दौडान आवश्यक छाँटकाँट गर्न मदत मिल्छ। यसका साथै घरधनीले सम्झिरहन सक्नेगरि कुरा गर्ने मदत पनि पाउन सक्नुहुन्छ।