अध्याय ३८
चासो जगाउने परिचय
परिचयले भाषणमा महत्त्वपूर्ण भूमिका खेल्छ। तपाईंले परिचयबाटै श्रोताको चासो जगाउन सक्नुभयो भने तिनीहरूले बाँकी कुरा अझै ध्यान दिएर सुन्नेछन्। प्रचारमा जाँदा सुरुमै घरधनीको चासो जगाउन सक्नुभएन भने तिनले तपाईंको कुरा सुन्नेछैनन्। त्यसैगरि राज्यभवनमा भाषण दिंदा तपाईंले सुरुमै श्रोताको ध्यान खिच्न सक्नुभएन भने श्रोता उठेर त नहिंड्लान्, तर तिनीहरूको ध्यानचाहिं अन्तै मोडिन सक्छ।
भाषणको परिचय बनाउँदा यी लक्ष्य हासिल गर्ने कोसिस गर्नुहोस्: (१) श्रोताको ध्यान खिच्ने, (२) विषय प्रस्ट बताउने र (३) श्रोताका लागि उक्त विषय महत्त्वपूर्ण हुनुको कारण खुलाउने। कहिलेकाहीं यी तीनैवटा लक्ष्य लगभग एकै पटकमा हासिल गर्न सकिन्छ। तर कहिलेकाहीं भने यी लक्ष्य फरक-फरक समयमा र फरक-फरक क्रमअनुसार हासिल गर्नुपर्ने हुन्छ।
श्रोताको ध्यान खिच्ने तरिका: मानिसहरू भाषण सुन्न एक ठाउँमा भेला भएका छन् भन्दैमा तिनीहरू तपाईंले प्रस्तुत गर्ने विषयलाई ध्यान दिएर सुन्छन् भन्ने छैन। किन? थुप्रै कुराले तिनीहरूको ध्यान भङ्ग हुन सक्छ। घरायसी समस्या वा अरू चिन्ताले तिनीहरूलाई खाइरहेको हुन सक्छ। त्यसैले श्रोताको ध्यान खिच्नु र त्यसलाई कायम राख्नु वक्ताको रूपमा तपाईंले सामना गर्नुपर्ने चुनौती हो। श्रोताको ध्यान खिच्ने तरिका एउटा मात्र होइन, अरू पनि छन्।
येशूले डाँडामा दिएको उपदेश अहिलेसम्मकै सबैभन्दा प्रसिद्ध भाषणहरूमध्ये एउटा हो। यो भाषण कसरी सुरु गरियो? लूकाको विवरणअनुसार येशूले यसो भन्नुभयो: “आनन्दित हौ तिमी गरिबहरू, . . . आनन्दित हौ तिमीहरू जो अहिले भोका छौ, . . . आनन्दित हौ तिमीहरू जो अहिले रुन्छौ, . . . आनन्दित हौ तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई . . . घृणा गर्छन्।” (लूका ६:२०-२२) यस्तो परिचयले किन चासो जगायो? श्रोताले भोगिरहेका गम्भीर समस्या आफूले बुझेको कुरा येशूले थोरै शब्दमै बताउनुभयो। त्यसपछि उहाँले ती समस्याबारे लम्बेतान कुरा गर्नुको साटो यस्ता समस्या भए तापनि मानिस आनन्दित हुन सक्छन् भनेर बताउनुभयो। उहाँले श्रोतालाई अझै सुनूँ-सुनूँ लाग्ने तरिकामा ती कुरा बताउनुभएको थियो।
प्रश्नहरू सोधेर पनि चासो जगाउन सकिन्छ। तर यस्ता प्रश्नहरू उपयुक्त हुनुपर्छ। तपाईंले सोधेको प्रश्नबाट श्रोतालाई पहिल्यै थाह भएको विषयमा तपाईं कुरा गर्दै हुनुहुन्छ भन्ने महसुस भयो भने तिनीहरूको चासो हराउन सक्छ। श्रोतालाई लाजमा पार्ने वा अप्ठ्यारोमा पार्ने प्रश्न पनि नगर्नुहोस्। बरु, तिनीहरूलाई सोच्न लगाउने खालका प्रश्नहरू सोध्ने प्रयास गर्नुहोस्। प्रत्येक प्रश्न सोधिसकेपछि एकछिन रोकिनुहोस्। यसो गर्दा श्रोताले मनमनै प्रश्नको जवाफ विचार गर्ने समय पाउनेछन्। यसरी श्रोतालाई तपाईंले तिनीहरूसित मनमनै कुराकानी गरिरहेको जस्तो लाग्यो भने तपाईं तिनीहरूको ध्यान खिच्न सफल हुनुभयो।
श्रोताको ध्यान खिच्ने अर्को तरिका हो, वास्तविक जीवनमा आधारित अनुभव बताउनु। तर उक्त अनुभव सुनेर कसै-कसैलाई अप्ठ्यारो महसुस भइरहेको छ भने तपाईं आफ्नो उद्देश्य हासिल गर्न सक्नुहुन्न। साथै श्रोताले तपाईंले भनेको अनुभव मात्र सम्झिरहन्छन् तर त्यसबाट सिक्नुपर्ने पाठ चटक्कै बिर्सन्छन् भने पनि तपाईं आफ्नो उद्देश्य हासिल गर्न सक्नुहुन्न। परिचयमा अनुभव बताउँदा त्यसले तपाईंलाई भाषणको मुख्य भागमा बताउने महत्त्वपूर्ण अंश प्रस्तुत गर्न सजिलो बनाउनुपर्छ। अनुभवलाई जीवन्त बनाउन स-सानो विवरण पनि बताउनुपर्ने हुन सक्छ। तर अनुभवलाई अनावश्यक रूपमा लामो बनाउनदेखि चाहिं होसियार हुनुहोस्।
केही वक्ता ताजा समाचार बताएर, स्थानीय अखबारबाट उद्धरण गरेर वा नाम चलेका उच्च ओहदाका कुनै व्यक्तिको भनाइ उल्लेख गरेर भाषण सुरु गर्छन्। विषयसित ठ्याक्कै सुहाउँछ र श्रोतालाई भन्नु उचित छ भने यसरी भाषण सुरु गर्नु पनि प्रभावकारी हुन सक्छ।
गोष्ठी भाषण दिंदै हुनुहुन्छ वा सेवा सभामा कुनै भाग प्रस्तुत गर्दै हुनुहुन्छ भने परिचयलाई छोटोमीठो बनाउनु राम्रो हुन्छ। जनभाषण दिंदै हुनुहुन्छ भने परिचयको लागि दिइएको समयभन्दा बाहिर नजानुहोस्। श्रोतालाई एकदमै फाइदा पुऱ्याउने जानकारी भाषणको मुख्य भागले नै दिनेछ।
कहिलेकाहीं तपाईंले शङ्कालु वा विरोधी श्रोतासामु बोल्नुपर्ने हुन्छ। तपाईं कसरी तिनीहरूको ध्यान खिच्न सक्नुहुन्छ? प्रथम शताब्दीका ख्रीष्टियन स्तिफनस “पवित्र शक्ति र बुद्धिले भरिपूर्ण भएका” व्यक्ति थिए। तिनलाई जबरजस्ती यहूदी न्यायपरिषद्सामु उभ्याइएको थियो। त्यहाँ तिनले ख्रीष्टियन धर्मको पक्षमा जोडदार तरिकामा वकालत गरे। तिनले आफ्नो कुरा कसरी सुरु गरे? आदर देखाउँदै र दुवै पक्ष सहमत हुन सक्ने विषय उल्लेख गर्दै तिनले आफ्नो कुरा सुरु गरे। तिनले यसो भने: “हे भाइहरू अनि बुबासमान बुज्रुगहरू हो, मेरो कुरा सुन्नुहोस्। . . . हाम्रो पुर्खा अब्राहामकहाँ महिमाका परमेश्वर देखा पर्नुभयो।” (प्रेषि. ६:३; ७:२) एथेन्सको अरियोपागसमा प्रेषित पावलले भने भिन्नै किसिमका श्रोतासामु आफ्नो परिचयलाई छाँटकाँट गरेर यसो भने: “हे एथेन्सका मानिसहरू हो, देवीदेवताहरूप्रति तपाईंहरूको भक्ति अरू मानिसहरूको भन्दा धेरै रहेछ भनेर म देख्दैछु।” (प्रेषि. १७:२२) यसरी प्रभावकारी परिचय चलाएकोले स्तिफनस र पावल दुवैका श्रोता थप कुरा बुझ्न इच्छुक भए।
प्रचारमा पनि तपाईंले मानिसहरूको ध्यान खिच्नुपर्छ। तपाईं पहिलो पटक कसैलाई भेट्दै हुनुहुन्छ भने घरधनी अर्कै काममा व्यस्त हुन सक्छन्। कुनै-कुनै मुलुकमा नौलो मान्छेले आफू आउनुको कारण तुरुन्तै बताएको आशा गरिन्छ। अरू कतिपय ठाउँमा भने आफू आउनुको कारण बताउनुअघि स्थानीय चलनअनुसार केही औपचारिकता पूरा गर्नुपर्ने हुन्छ।—लूका १०:५.
स्थानीय चलन जस्तोसुकै होस्, मित्रैलो व्यवहार गर्दा कुराकानी सुरु गर्ने वातावरण सृजना हुन्छ। मानिसको मनमा खेलिरहेको कुरासित सम्बन्धित विषयमै कुरा थाल्नु अक्सर लाभदायी हुन्छ। कुन विषयमा कुरा थाल्ने, कसरी पक्का गर्न सक्नुहुन्छ? घरधनीलाई भेट्दा तिनी कुनै काममा व्यस्त थिए कि? सायद तिनी खेतबारीमा काम गर्दै, आँगन सफा गर्दै, सवारीसाधन मर्मत-सँभार गर्दै, खाना पकाउँदै, लुगा धुँदै वा छोराछोरीको हेरविचार गर्दैछन् होला। के तिनी अखबार हेर्दै थिए वा बाटोमा भइरहेको गतिविधि हेर्दै थिए? के तपाईंले तिनलाई खेलकुद, सङ्गीत, यात्रा, कम्प्युटर वा त्यस्तै अन्य कुरामा चासो भएको प्रमाण देख्नुभयो? प्रायजसो मानिस हालै रेडियोमा सुनेको वा टेलिभिजनमा हेरेको कुराले गर्दा चिन्तित हुन्छन्। यस्ता विषयमा प्रश्न सोधेर वा छोटकरीमा केही भनेर मित्रैलो कुराकानी थाल्न सक्नुहुन्छ।
सुखारनजिकको इनारमा सामरी स्त्रीसित कुरा गर्दा येशूले साक्षी दिने उद्देश्यले कसरी कुरा थाल्ने, त्यस सन्दर्भमा एकदमै राम्रो उदाहरण बसाल्नुभयो।—यूह. ४:५-२६.
प्रचारमा जाँदा तपाईंले आफ्नो परिचय राम्ररी तयारी गर्नुपर्छ। विशेषगरि मण्डलीले बारम्बार प्रचार गर्ने इलाकामा जाँदै हुनुहुन्छ भने तयारी नगरी हुँदैन। अन्यथा, साक्षी दिन सक्नुहुन्न।
विषय बताउनुहोस्। ख्रीष्टियन मण्डलीमा अक्सर अध्यक्षले वा तपाईंअघि आफ्नो भाग प्रस्तुत गर्ने भाइले तपाईंले प्रस्तुत गर्ने भागको शीर्षक बताएर तपाईंलाई मञ्चमा बोलाउँछन्। तर तपाईंले पनि भाषणको परिचय दिंदा आफ्नो विषय उल्लेख गर्नु फाइदाजनक हुन सक्छ। तपाईं मूल-विषयको एक-एक शब्द दोहोऱ्याउन सक्नुहुन्छ तर त्यस्तै गर्नुपर्छ भन्ने छैन। जेहोस्, भाषणको क्रममा नै तपाईंको मूल-विषय बिस्तारै प्रस्ट हुनुपर्छ। त्यसैले परिचय दिंदा कुनै न कुनै तरिकाले श्रोताको ध्यान विषयतर्फ खिच्नुपर्छ।
चेलाहरूलाई प्रचार गर्न पठाउँदा तिनीहरूले बाँड्नुपर्ने सन्देश येशूले स्पष्टसित बताउनुभयो। उहाँले यसो भन्नुभयो: “जाओ र यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’” (मत्ती १०:७) हाम्रो समयबारे पनि येशूले यसो भन्नुभयो: “राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ।” (मत्ती २४:१४) हामीलाई “वचन प्रचार” गर्न आग्रह गरिएको छ। (२ तिमो. ४:२) यसको मतलब हामीले प्रचार गर्दा बाइबलकै कुरा बताउनुपर्छ। बाइबल पल्टाएर देखाउनुअघि वा परमेश्वरको राज्यतर्फ मानिसको ध्यान खिच्नुअघि समसामयिक चिन्ताबारे अक्सर चर्चा गर्नुपर्ने हुन्छ। युवायुवतीलाई मदत गर्ने तरिका, अपराध, बेरोजगारी, अन्याय, युद्ध, रोगव्याधि वा मृत्युको विषयमा तपाईं केही भन्न सक्नुहुन्छ। तर नकारात्मक विषयमै लामो कुरा नगर्नुहोस्। नबिर्सनुहोस्, तपाईंको सन्देश शुभ-सन्देश हो। कुराकानीलाई परमेश्वरको वचनले वा राज्यले दिने आशातर्फ मोड्ने कोसिस गर्नुहोस्।
तपाईंले प्रस्तुत गर्ने विषय श्रोताका लागि किन महत्त्वपूर्ण छ, बताउनुहोस्। मण्डलीमा भाषण दिंदै हुनुहुन्छ भने तपाईंले प्रस्तुत गर्ने भागलाई श्रोताले चासो दिनेछन् भन्ने कुरामा निश्चिन्त हुनुहोस्। तर के तपाईंको श्रोताले भाषणमा जे सुन्दैछन्, त्यो तिनकै लागि हो भनेर थाह भएको मानिसले जस्तैगरि सुन्दैछन्? सुनिरहेको कुरा आफ्नो अवस्थासित मिल्दोजुल्दो छ र तपाईंले पनि केही गर्न उत्प्रेरित गर्दै हुनुहुन्छ भन्ने लागेकोले पो श्रोताले ध्यान दिएर सुनिरहेका हुन् कि? भाषणको तयारी गर्दा श्रोताको अवस्था, चिन्ता, मनोवृत्तिलाई विचार पुऱ्याउनुभएको छ भने मात्र उपरोक्त प्रश्नको सकारात्मक जवाफ दिन सकिन्छ। त्यसैले भाषणको परिचयमा नै श्रोतालाई चासो देखाएको छनक दिने केही कुरा समावेश गर्नुहोस्।
मञ्चबाट भाषण दिंदा होस् या कसैलाई प्रचार गर्दा होस्, श्रोताको चासो जगाउने सबैभन्दा राम्रो उपाय तिनलाई पनि समावेश गर्नु हो। तिनीहरूको समस्या, आवश्यकता, तिनीहरूको मनमा उठेको प्रश्न तपाईंले छलफल गरिरहेको विषयसित कसरी सम्बन्धित छ, देखाउनुहोस्। तपाईंले आफूले प्रस्तुत गर्ने विषयको मोटामोटी कुरा बताउनुको अलावा उक्त विषयको खास पक्षबारे पनि छलफल गर्दै हुनुहुन्छ भनेर प्रस्ट पार्नुभयो भने श्रोताले अझै ध्यान दिएर सुन्नेछन्। यसको लागि तपाईंले राम्ररी तयारी गर्नुपर्छ।
प्रस्तुत गर्ने तरिका: तपाईं परिचयमा के भन्नुहुन्छ त्यो एकदमै महत्त्वपूर्ण छ तर कसरी भन्नुहुन्छ, त्यसबाट पनि श्रोताको चासो जगाउन सकिन्छ। त्यसकारण के भन्ने भनेर मात्र होइन, कसरी भन्ने भनेर पनि तयारी गर्नु आवश्यक छ।
लक्ष्य हासिल गर्न शब्द छनौट गर्नु पनि आवश्यक छ। त्यसैले सुरुका दुई-तीनवटा वाक्य निकै ध्यान पुऱ्याएर तयार गर्दा सजिलो हुन्छ। छोटो अनि सरल वाक्य प्रयोग गर्नु अक्सर बेस हुन्छ। मण्डलीमा भाषण दिंदै हुनुहुन्छ भने तपाईंले बनाएको रूपरेखामा ती वाक्य लेख्न सक्नुहुन्छ अथवा ती वाक्य कण्ठ पार्न सक्नुहुन्छ। यसो गर्नुभयो भने जोडदार तरिकामा भाषण सुरु गर्न सक्नुहुन्छ। प्रभावकारी परिचय नहडबडाईकन दिनुभयो भने बाँकी भाषण शान्त र सन्तुलित भएर दिन सक्नुहुन्छ।
कहिले तयारी गर्ने? यसबारे थुप्रैको धारणा भिन्नाभिन्नै छ। केही अनुभवी वक्ता भाषणको तयारी गर्दा सुरुमै परिचय बनाउनु राम्रो हो भन्ने गर्छन्। अरू कतिपय भने भाषणको मुख्य भाग तयार गरिसकेपछि परिचयको भाग तयार गर्नुपर्छ भन्ने धारणा राख्छन्।
सुहाउँदो परिचय बनाउन सुरुमा तपाईंलाई भाषणको विषय अनि त्यसका मुख्य-मुख्य बुँदाहरूलाई कसरी विस्तार गर्ने भन्ने कुरा थाह हुनुपर्छ। तर दिइएको रूपरेखाबाटै भाषणको तयारी गर्दै हुनुहुन्छ भने नि? भाषणको रूपरेखा पढिसकेपछि परिचय कस्तो बनाउने भन्ने विषयमा केही विचार फुऱ्यो भने त्यसलाई लेख्नुमा कुनै खराबी छैन। यसबाहेक परिचयलाई प्रभावकारी बनाउने हो भने तपाईंले श्रोता अनि रूपरेखामा दिइएको विषयवस्तु पनि विचार गर्नै पर्छ।