अध्याय ४२
श्रोताका लागि जानकारीमूलक
श्रोताको लागि जानकारीमूलक प्रस्तुति पेस गर्ने हो भने तपाईंले महत्त्वपूर्ण विषयमा केही कुरा बताएर मात्र पुग्दैन। आफैलाई यस्ता प्रश्नहरू सोध्नुहोस्: ‘यी श्रोताले यो विषय किन थाह पाउनुपर्छ? श्रोतालाई छलफलबाट साँच्चै लाभ उठाएको महसुस गराउन म के भन्न सक्छु?
ईश्वरतान्त्रिक सेवा स्कूलमा कुनै व्यक्तिलाई साक्षी दिएको तरिका देखाउने जिम्मेवारी पाउनुभएको छ भने तपाईंको श्रोता उक्त व्यक्ति हुनेछ। भाषण दिंदाचाहिं तपाईंले पूरै मण्डलीसामु बोल्नुपर्ने हुन सक्छ।
श्रोतालाई कति थाह छ? आफैलाई यस्तो प्रश्न सोध्नुहोस्: ‘यस विषयमा श्रोतालाई कति थाह छ?’ यसैअनुसार तपाईंले आफ्नो भाषण सुरु गर्नुपर्छ। यदि तपाईं परिपक्व ख्रीष्टियनहरू धेरै भएको मण्डलीमा भाषण दिंदै हुनुहुन्छ भने तिनीहरूलाई पहिल्यैदेखि थाह भएको आधारभूत कुराहरू दोहोऱ्याएको दोहोऱ्याइ नगर्नुहोस्। आधारभूत सत्यसित सम्बन्धित थप जानकारी दिनुहोस्। यदि उक्त मण्डलीमा चासो दिने नयाँ व्यक्तिहरू पनि छन् भने तपाईंले दुवै समूहको आवश्यकतालाई ध्यान दिनुपर्ने हुन्छ।
श्रोतालाई थाह भएको जानकारीअनुसार आफ्नो प्रस्तुतिको गतिमा छाँटकाँट गर्नुहोस्। धेरै जनालाई थाह भएको विषयमा कुरा गर्दै हुनुहुन्छ भने आफ्नो बोल्ने गति अलि बढाउन सक्नुहुन्छ। तर थुप्रै श्रोतालाई थाह नभएको नयाँ विचार प्रस्तुत गर्दै हुनुहुन्छ भने बिस्तारै बोल्नुहोस्। यसो गर्नुभयो भने ती श्रोताहरूले तपाईंको कुरा सजिलै बुझ्न सक्नेछन्।
कस्तो जानकारी दिने? जानकारी दिनुपर्छ भन्नुको मतलब सधैं नयाँ कुरा भन्नुपर्छ भन्ने होइन। कुनै-कुनै वक्ता थाह भएकै केही खास सत्यलाई निकै सरल तरिकामा प्रस्तुत गर्न खप्पिस हुन्छन्। यसले गर्दा थुप्रै श्रोताले पहिलो चोटिमै त्यस सत्यबारे बुझ्न सक्छन्।
प्रचार गर्दा अन्तको दिनमा बाँचिरहेका छौं भनेर बुझाउन समाचारको कुनै घटना उल्लेख गरेर मात्र पुग्दैन। ती घटनाहरूले कस्तो अर्थ राख्छ भनेर बुझाउन बाइबल प्रयोग गर्नुहोस्। यसो गर्दा तपाईंको प्रस्तुति घरधनीको लागि साँच्चै नै जानकारीमूलक हुनेछ। त्यसैगरि प्राकृतिक नियम अथवा बोटबिरुवा, पशुपन्छीबारे बताउँदा तपाईंको उद्देश्य घरधनीले पहिला कहिल्यै नसुनेको रोचक वैज्ञानिक तथ्य प्रस्तुत गर्ने हुनुहुँदैन। बरु हामी सबैलाई माया गर्ने सृष्टिकर्ता हुनुहुन्छ भनेर देखाउन बाइबल पदका साथसाथै प्रकृतिका कुराहरूलाई पनि जोड्न सक्नुहुन्छ। यसो गर्दा घरधनीले यी कुरालाई भिन्नै तरिकाले बुझ्न सक्नेछन्।
श्रोताले बारम्बार सुनिसकेको विषयलाई फेरि प्रस्तुत गर्नु चुनौतीपूर्ण हुन सक्छ। तर प्रभावकारी शिक्षक हुने हो भने यस्ता विषयलाई प्रभावकारी ढङ्गमा प्रस्तुत गर्ने तरिका तपाईंले सिक्नै पर्छ। त्यसो भए कसरी प्रभावकारी तरिकामा प्रस्तुत गर्न सकिन्छ?
यसको लागि अनुसन्धान गर्नु मदतकारी हुन्छ। झट्ट दिमागमा आउने कुरा मात्र भाषणमा समेट्नुको सट्टा पृष्ठ ३३ देखि ३८ मा छलफल गरिएको अनुसन्धान सामग्रीहरू प्रयोग गर्नुहोस्। अनुसन्धान गर्दा तपाईंको उद्देश्य के हुनुपर्छ भन्ने विषयमा त्यहाँ दिइएका सल्लाह-सुझाव विचार गर्नुहोस्। अनुसन्धान गर्दा तपाईंले आफ्नो विषयसित मेल खाने तर त्यत्ति धेरै चर्चामा नआउने ऐतिहासिक घटनाहरू भेट्टाउन सक्नुहुन्छ। अथवा तपाईंले छलफल गर्ने बुँदालाई सुहाउने ताजा समाचार पाउन सक्नुहुन्छ।
आफूले प्रस्तुत गर्ने विषयवस्तु जाँच्दा यस्ता प्रश्नहरू सोधेर आफ्नो सोच्ने क्षमतालाई सक्रिय पार्नुहोस्:- के? कस्तो? कुन? किन? कहिले? कहाँ? को? अनि कसरी? जस्तै, यो कुरा किन साँचो हो? म कसरी यसको प्रमाण दिन सक्छु? कोही-कोहीलाई कस्तो आम-विश्वासले गर्दा बाइबल सत्य स्वीकार्न गाह्रो हुन्छ? यो किन महत्त्वपूर्ण छ? यसले मानिसको जीवनमा के-कस्तो असर पार्छ? यसलाई लागू गर्दा फाइदा हुन्छ भनेर कुन उदाहरणले देखाउँछ? यो बाइबल सत्यले यहोवाको व्यक्तित्वबारे के प्रकट गर्छ? छलफल गरिरहेको विषयवस्तुलाई ध्यानमा राख्दै आफैलाई यस्ता प्रश्नहरू गर्न सक्नुहुन्छ: यो घटना कहिले भएको थियो? यसबाट आज कस्तो व्यावहारिक पाठ सिक्न सकिन्छ? भाषण दिंदै गर्दा प्रश्न गरेर अनि त्यसको जवाफ दिएर तपाईं आफ्नो प्रस्तुतिलाई जीवन्त बनाउन सक्नुहुन्छ।
तपाईंले आफ्नो भाषणमा श्रोतालाई थाह भएका बाइबल पदहरू प्रयोग गर्नुपर्ने हुन सक्छ। ती पदहरूलाई तपाईं कसरी जानकारीमूलक बनाउन सक्नुहुन्छ? ती पदहरू सरसरती मात्र नपढ्नुहोस्; व्याख्या पनि गर्नुहोस्।
श्रोतालाई थाह भएको बाइबल पदलाई भाग-भागमा विभाजन गर्नुभयो, भाषणको मूल विषयसित मेल खाने भागलाई छुट्ट्याउनुभयो र त्यसलाई व्याख्या गर्नुभयो भने उक्त पद तपाईंको श्रोताको लागि झनै जानकारीमूलक हुनेछ। मीका ६:८ लाई कसरी प्रस्तुत गर्न सकिन्छ, विचार गरौं। “न्याय” भनेको के हो? यसमा कसको न्यायको स्तरबारे कुरा गरिएको छ? “न्याय गर्नू”-को अर्थ उदाहरणद्वारा कसरी बुझाउन सक्नुहुन्छ? अथवा “दया गर्नू” अर्थात् दयालाई प्रेम गर्नूको अर्थ उदाहरणद्वारा कसरी बुझाउन सक्नुहुन्छ? नम्र हुनु भनेको के हो? यस विषयलाई वृद्धहरूको सन्दर्भमा कसरी लागू गर्न सकिन्छ? कति विषयवस्तु राख्ने त्यो कुरा तपाईंको मूल-विषय, उद्देश्य, श्रोता अनि समयमा भर पर्छ।
कुनै-कुनै शब्दको परिभाषा सरल तरिकामा बताउनु राम्रो हुन्छ। मत्ती ६:१० मा बताइएको “राज्य”-को अर्थ बुझ्दा कोही-कोही तीनछक परेका छन्। लामो समयदेखि सच्चाइमा रहेका ख्रीष्टियनहरूलाई पनि परिभाषाबारे सम्झना गराइदिंदा पदले भन्न खोजेको खास कुरो बुझ्न मदत मिल्छ। दोस्रो पत्रुस १:५-८ मा बताइएको कुरा स्पष्ट छ। यी पदहरूमा प्रयोग गरिएको विभिन्न पक्षलाई व्याख्या गर्नुहोस्। जस्तै: “विश्वास, सद्गुण, ज्ञान, आत्मसंयम, सहनशीलता, परमेश्वरको भक्ति, भ्रातृस्नेह र प्रेम। मिल्दोजुल्दो अर्थ लाग्ने शब्द एउटै प्रसङ्गमा प्रयोग गरिएको छ भने प्रत्येकको परिभाषा दिनुहोस्। यसो गर्दा ती शब्दहरू कसरी एक-आपसमा भिन्न छन् भनेर बुझ्न सकिन्छ। हितोपदेश २:१-६ मा प्रयोग गरिएका शब्दहरू बुद्धि, ज्ञान, समझशक्ति अनि विवेकको सन्दर्भमा पनि यसै गर्न सकिन्छ।
तपाईंले कुनै पदको विषयमा तर्क गर्नुभयो भने तपाईंको श्रोतालाई त्यो कुरा जानकारीमूलक हुनेछ। पहिलो यूहन्ना २:१७ मा संसार बितेर जाँदैछ भनेर लेखिएको छ। संसारको कुनै अभिलाषा नहुने भएको कारण यसले अभक्त मानिसहरूको संसारलाई बुझाउँछ भनेर पहिलोचोटि थाह पाउँदा थुप्रै मानिस छक्क परेका छन्। त्यसमाथि पनि भजन १०४:५ मा पृथ्वी “कहिल्यै नडग्मगाओस्” भनेर त्यसको ‘जग बसालिएको हो’ भन्ने तथ्य पढ्दा तिनीहरू झन् छक्क पर्छन्। एकपटक येशूले सदूकीहरूलाई थाह भएको पद प्रस्थान ३:६ लाई पुनर्जीवनको शिक्षासित जोडेर तिनीहरूलाई अक्क न बक्क पार्नुभयो।—लूका २०:३७, ३८.
कहिलेकाहीं कुनै पदको प्रसङ्ग बताउनु, उक्त पद कस्तो अवस्थामा लेखिएको थियो त्यस विषयमा बताउनु अनि त्यस पदको कुरा भन्ने र सुन्ने मान्छे को-को हुन् भनेर बताउनु पनि राम्रो हुन्छ। फरिसीहरूलाई भजन ११० मा लेखिएको कुराबारे राम्रो जानकारी थियो। तैपनि येशूले त्यस अध्यायको पहिलो पदमा भएको एउटा महत्त्वपूर्ण जानकारीतर्फ तिनीहरूको ध्यान खिच्नुभयो। उहाँले तिनीहरूलाई सोध्नुभयो: “‘ख्रीष्टको विषयमा तिमीहरूको के धारणा छ? ऊ कसको छोरा हो?’ तिनीहरूले उहाँलाई जवाफ दिए: ‘दाऊदको।’ उहाँले तिनीहरूलाई भन्नुभयो: ‘त्यसोभए, पवित्र शक्तिको प्रेरणा पाएर दाऊदले कसरी उनलाई “प्रभु” भनेर सम्बोधन गर्दै यसो भन्न सके त, “यहोवाले मेरा प्रभुलाई भन्नुभयो: ‘मैले तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि नराखुन्जेल मेरो दाहिने हाततिर बस’”? यदि दाऊदले उनलाई “प्रभु” भनी सम्बोधन गर्छन् भने ऊ कसरी तिनको छोरा हुन्छ?’” (मत्ती २२:४१-४५) येशूले जस्तै धर्मशास्त्रमा तर्क गर्नुभयो भने अरू मानिसहरू परमेश्वरको वचन अझ ध्यान दिएर पढ्न हौसिन्छन्।
बाइबलको कुनै पुस्तक कुन समयमा लेखियो वा कुनै घटना कहिले घट्यो भनेर वक्ताले बताउँदैछन् भने तिनले त्यतिबेलाको अवस्थाबारे पनि बताउनुपर्छ। यसरी श्रोताले उक्त बाइबल पुस्तक वा घटनाको महत्त्व झन् स्पष्टसित बुझ्न सक्नेछन्।
तुलना गरेर बताउनुभयो भने पनि तपाईंले भनेको कुरा जानकारीमूलक हुनेछ। कुनै लोकप्रिय विचार र त्यसबारे बाइबलले प्रस्तुत गरेको विचारबीचको भिन्नता देखाउन सक्नुहुन्छ। अथवा बाइबलका उस्तै-उस्तै विवरणलाई दाँज्न सक्नुहुन्छ। के तिनमा कुनै भिन्नता छ? छ भने किन? त्यसबाट हामी के सिक्न सक्छौं? यसो गर्नुभयो भने तपाईंको श्रोताले उक्त विषयलाई नयाँ तरिकाले बुझ्नेछन्।
यदि तपाईंले ख्रीष्टियन सेवाको केही पक्षबारे छलफल गर्ने जिम्मेवारी पाउनुभएको छ भने सुरुमै सारांश बताउनु फाइदाजनक हुन्छ। के गर्नुपर्छ, किन गर्नुपर्छ अनि उक्त कुरा यहोवाका साक्षीहरूको मुख्य लक्ष्यसित कसरी सम्बन्धित छ, छलफल गर्नुहोस्। त्यसपछि कहाँ, कहिले अनि कसरी त्यो काम गर्नुपर्छ, बताउनुहोस्।
भाषणमा “परमेश्वरका गहिरा कुराहरू”-मध्ये केही कुराबारे चर्चा गर्नुपर्ने छ भने के गर्ने? (१ कोरि. २:१०) आफ्नो विषयको खास-खास बुँदा बुझाउनुभयो र त्यसको व्याख्या गर्नुभयो भने बाँकी विवरण सजिलै बुझ्न सकिनेछ। समापनमा सारांश बताउनुभयो भने केही महत्त्वपूर्ण कुरा सिकें भनेर श्रोता सन्तुष्ट हुनेछन्।
ख्रीष्टियन जीवनका लागि चाहिने सल्लाह: तपाईंको भाषणमा भएको जानकारी श्रोताको जीवनमा लागू हुन्छ भनेर बुझ्न मदत गर्नुभयो भने श्रोताले विशेषगरि लाभ उठाउनेछन्। आफूले प्रस्तुत गर्नुपर्ने विषयवस्तुसित सम्बन्धित बाइबल पदहरू केलाउँदै हुनुहुन्छ भने आफैलाई यस्तो प्रश्न सोध्नुहोस्, ‘यो जानकारी हाम्रो समयसम्म किन धर्मशास्त्रमा जोगाएर राखियो?’ (रोमी १५:४; १ कोरि. १०:११) आफ्ना श्रोताहरूले के-कस्तो परिस्थितिको सामना गरिरहेका छन्, विचार गर्नुहोस्। तिनीहरूको अवस्थासित बाइबलमा दिइएको सल्लाह वा सिद्धान्त कसरी लागू हुन्छ, सोच्नुहोस्। भाषण दिंदा त्यस्ता परिस्थितिसित कसरी बुद्धिमानीसाथ जुझ्न सकिन्छ, देखाउनको लागि धर्मशास्त्रबाट तर्क गर्नुहोस्। आम मानिसले राख्ने धारण नबताउनुहोस्। खास मनोवृत्ति वा कामबारे छलफल गर्नुहोस्।
तपाईंले प्रस्तुत गर्ने भाषणको तयारी गर्दा माथि दिइएका एउटा वा दुइटा सल्लाह लागू गरेर हेर्नुहोस्। अनुभव बटुल्दै गएपछि अरू-अरू सल्लाह पनि लागू गर्दै जानुहोस्। यसरी भाषण दिन सिक्नुभयो भने तपाईंको भाषणबाट केही न केही लाभ उठाउन सकिन्छ भन्ने कुरामा श्रोता विश्वस्त हुनेछन् र तपाईंको भाषण कहिले आउला भनेर तिनीहरू उत्सुकतासाथ पर्खनेछन्।