परिचालक निकायको पत्र
यहोवालाई प्रेम गर्ने प्रिय भाइबहिनीहरू,
येशूले भन्नुभयो: “तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (यूहन्ना ८:३२) कत्ति प्रोत्साहनदायी शब्दहरू! हो, झूटै-झूटले भरिएको यो “अन्तको दिनमा” पनि सत्य थाह पाउनु सम्भव छ। (२ तिमोथी ३:१) परमेश्वरको वचनमा बताइएको सत्य थाह पाएको सबैभन्दा सुरुको क्षण के तपाईंलाई याद छ? साँच्चै, त्यो क्षण एकदमै रोमाञ्चक थियो नि, होइन र!
तर सत्यबारे सही ज्ञान थाह पाउनु अनि त्यसबारे अरूलाई नियमित रूपमा बताउनु त महत्त्वपूर्ण छँदैछ त्यसबाहेक हामी आफै पनि सत्यअनुसार चल्नै पर्छ। यसको लागि हामीले आफूलाई परमेश्वरको प्रेम पाउन लायक बनाइराख्नुपर्छ। यसमा के समावेश छ? आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो रात येशूले भन्नुभएका शब्दहरूमा हामी यसको जवाफ पाउन सक्छौं। उहाँले आफ्ना विश्वासी प्रेषितहरूलाई यसो भन्नुभयो: “यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गऱ्यौ भने तिमीहरू सधैं मेरो प्रेम पाउन लायकका भइरहनेछौ, जसरी मैले पनि बुबाका आज्ञाहरू पालन गरेर सधैं उहाँको प्रेम पाउन लायकको भइरहेको छु।”—यूहन्ना १५:१०.
याद गर्नुहोस्, येशूले आफ्नो बुबाका आज्ञाहरू पालन गरेर परमेश्वरको प्रेम पाउन लायकको भइरहनुभयो। यो कुरा आज हामीमा पनि लागू हुन्छ। परमेश्वरको प्रेम पाउन लायकको भइरहनको लागि दिनहुँ सत्यअनुसार जिउनु आवश्यक छ। त्यही साँझ येशूले यसो पनि भन्नुभएको थियो: “तिमीहरूलाई यी कुराहरू थाह छ, त्यसैले यी कुराहरू गर्छौ भने तिमीहरू आनन्दित हौ।”—यूहन्ना १३:१७.
यस किताबले तपाईंलाई सत्यअनुसार जिउन मदत गर्नेछ अनि तपाईंलाई ‘परमेश्वरको प्रेम पाउन लायक बनाइराख्नेछ’ र ‘तपाईंका निम्ति अनन्त जीवन पाउने बाटो खुल्नेछ’ भनेर हामी आशा गर्छौं।—यहूदा २१.
यहोवाका साक्षीहरूको परिचालक निकाय