पाठ ४
येसु ख्रिष्ट को हुनुहुन्छ?
१. येसुलाई कसले बनायो र कहाँ?
येसुमा भएका कस्ता गुणहरूले गर्दा उहाँको नजिक जान सजिलो थियो?—मत्ति ११:२९; मर्कुस १०:१३-१६.
पृथ्वीमा मानिस भएर जन्मनुअघि येसु अदृश्य स्वर्गदूतको रूपमा स्वर्गमा हुनुहुन्थ्यो। (युहन्ना ८:२३) यहोवाले येसुलाई सबैभन्दा पहिले सृष्टि गर्नुभयो। त्यसपछि येसुले अरू सबै कुरा सृष्टि गर्न परमेश्वरलाई सघाउनुभयो। यहोवाले येसुलाई मात्र आफैले सृष्टि गर्नुभएको थियो। त्यसैले उहाँलाई परमेश्वरको “एक मात्र छोरा” भन्नु उपयुक्त छ। (युहन्ना १:१४) येसुले परमेश्वरको प्रवक्ताको रूपमा सेवा गर्नुभएकोले उहाँलाई परमेश्वरको “वचन” पनि भनिन्छ।—हितोपदेश ८:२२, २३, ३०; कलस्सी १:१५, १६ पढ्नुहोस्।
२. येसु पृथ्वीमा किन आउनुभयो?
परमेश्वरले आफ्नो छोरालाई पृथ्वीमा पठाउनुभयो। त्यसको लागि उहाँले येसुको जीवन एउटी यहुदी कन्या मरियमको गर्भमा सारिदिनुभयो। त्यसैले येसुको कुनै मानव बुबा थिएन। (लुका १:३०-३५) येसु पृथ्वीमा आउनुका कारण हुन्: (१) परमेश्वरको बारेमा साँचो कुरा सिकाउन, (२) कठिन अवस्थामा समेत कसरी परमेश्वरको इच्छाअनुसार गर्न सकिन्छ भनेर हाम्रो लागि उदाहरण बसाल्न र (३) आफ्नो त्रुटिरहित जीवन “फिरौतीस्वरूप” दिन।—मत्ति २०:२८ पढ्नुहोस्।
३. हामीलाई किन फिरौती चाहिन्छ?
फिरौती भनेको अपहरण भएको व्यक्तिलाई मार्ने धम्की दिइँदा तिनलाई मुक्त गर्न तिरिने मोल हो। (प्रस्थान २१:२९, ३०) यहोवाले मानिसजातिलाई मर्न वा बूढाबूढी हुन बनाउनुभएको थिएन। यो कुरा हामी कसरी थाह पाउन सक्छौँ? परमेश्वरको आज्ञा उल्लङ्घन गर्नुलाई बाइबलले “पाप” भन्छ। परमेश्वरले पहिलो मानिस आदमलाई पाप गरेमा तिनी मर्नेछन् भन्नुभएको थियो। आदमले पाप नगरेका भए तिनी कहिल्यै मर्ने थिएनन्। (उत्पत्ति २:१६, १७; ५:५) आदमद्वारा मृत्यु संसारमा “प्रवेश” भयो भनी बाइबल बताउँछ। आदमले गर्दा नै तिनका सबै सन्तान पापी भए र तिनीहरूले त्यसको सजायस्वरूप मृत्यु भोग्नुपऱ्यो। आदमबाट जन्मजात पाएको सजाय मृत्युबाट मुक्त हुन हामीलाई फिरौती चाहिन्छ।—रोमी ५:१२; ६:२३ पढ्नुहोस्।
हामीलाई मृत्युबाट छुटाउन कसले फिरौतीको मोल तिर्न सक्थ्यो? हामी मर्दा हामी आफ्नै पापको मात्र मोल तिर्छौँ। कुनै पनि त्रुटिपूर्ण मानिसले अरूको पापको मोल तिर्न सक्दैन।—भजन ४९:७-९ पढ्नुहोस्।
४. येसु किन मर्नुभयो?
येसु हामीजस्तो त्रुटिपूर्ण होइन, त्रुटिरहित हुनुहुन्थ्यो। उहाँले कहिल्यै पाप गर्नुभएन, त्यसैले उहाँ आफ्नो पापको लागि मर्नु आवश्यक थिएन। तर उहाँ अरूको पापको लागि मर्नुभयो। आफ्नो छोरालाई हाम्रो लागि मर्न पठाउनुभएर परमेश्वरले हामीप्रति अपार प्रेम देखाउनुभयो। आफ्नो बुबाको आज्ञा पालन गरेर र हाम्रो पापको निम्ति आफ्नो जीवन दिएर येसुले पनि हामीप्रति प्रेम देखाउनुभयो।—युहन्ना ३:१६; रोमी ५:१८, १९ पढ्नुहोस्।
येसु किन मर्नुभयो? भन्ने भिडियो हेर्नुहोस्
५. येसु अहिले के गर्दै हुनुहुन्छ?
पृथ्वीमा हुँदा येसुले बिरामीहरूलाई निको पार्नुभयो, मरेकाहरूलाई ब्युँताउनुभयो र दुःखकष्टमा परेकाहरूलाई उद्धार गर्नुभयो। यसरी उहाँले आज्ञाकारी मानिसहरूको लागि भविष्यमा के-के गर्नुहुनेछ भनेर देखाउनुभयो। (मत्ति १५:३०, ३१; युहन्ना ५:२८) येसुको मृत्युपछि परमेश्वरले उहाँलाई अदृश्य व्यक्तिको रूपमा जीवित पार्नुभयो। (१ पत्रुस ३:१८) त्यसपछि यहोवा परमेश्वरले येसुलाई सारा पृथ्वीमा राजाको रूपमा शासन गर्ने अधिकार नदिएसम्म उहाँ परमेश्वरको दाहिने हाततिर बस्नुभयो। (हिब्रू १०:१२, १३) येसु अहिले स्वर्गमा राजाको रूपमा शासन गर्दै हुनुहुन्छ। यो सुसमाचार उहाँका अनुयायीहरूले सारा संसारभरि घोषणा गर्दै छन्।—दानिएल ७:१३, १४; मत्ति २४:१४ पढ्नुहोस्।
चाँडै येसुले आफ्नो राजकीय शक्ति प्रयोग गरेर सबै दुःखकष्ट र यी दुःखकष्ट निम्त्याउने मानिसहरूको अन्त गर्नुहुनेछ। येसुको आज्ञा पालन गरेर उहाँमा विश्वास गरेको देखाउने सबैले प्रमोदवनमा अर्थात् सुन्दर बगैँचारूपी पृथ्वीमा आनन्दित जीवन बिताउन पाउनेछन्।—भजन ३७:९-११ पढ्नुहोस्।