अध्याय नौ
तिनले बुद्धिमानी कदम चालिन्
१-३. (क) अबीगेलको घरमा कस्तो आपत् आइलागेको थियो? (ख) हामी यी असाधारण स्त्रीबारे के सिक्नेछौं?
अबीगेल एउटा केटा स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै आइरहेको देख्छिन्। त्यो त तिनकै नोकर रहेछ। त्यसको होस-हवासै उडेको छ। नउडोस् पनि किन! सबैको ज्यानै खतरामा परेपछि! लगभग ४०० सिपाही रिसले मुरमुरिंदै अबीगेलको घरतिर आउँदैछन्। त्यो पनि तिनको श्रीमान् नाबालको घरानामा भएका सबै पुरुषहरूलाई सोत्तर पार्न! तर किन?
२ दोष नाबालकै थियो। सधैंझैं यसपटक पनि उसले कठोर अनि अशिष्ट व्यवहार गरेको थियो। तर यसपटक उसले अरिङ्गालको गोलामा हात हालेको थियो। वफादार अनि तालिमप्राप्त सिपाहीहरूको प्रिय व्यक्तिसित उसले निहुँ खोजेको थियो। त्यसैले नाबालको घरमा काम गर्ने एक जना जवान, सायद गोठालो, अबीगेलकहाँ आउँछ। अबीगेलले त केही गर्लिन् भनेर त्यो नोकरलाई ठूलो आस छ। तर एउटी स्त्रीले त्यत्ति धेरै सिपाहीको अगाडि के नै गर्न सक्थिन् र?
एउटी स्त्रीले त्यत्ति धेरै सिपाहीको अगाडि के नै गर्न सक्थिन् र!
३ सबभन्दा पहिला हामी यी असाधारण स्त्रीको परिचयतिर लागौं। अबीगेल को हुन्? यस्तो नाजुक परिस्थिति कसरी आइपऱ्यो? अनि तिनले देखाएको विश्वासबाट हामी के पाठ सिक्न सक्छौं?
“सुन्दरी र बुद्धिमानी स्त्री”
४. नाबाल कस्तो मानिस थियो?
४ अबीगेल र नाबालको जोडी फिटिक्कै सुहाउँदैन थियो। नाबाल कहाँको खत्तम मान्छे, अबीगेल कहाँकी बुद्धिमती स्त्री! हुन त हो, नाबालसित पैसाको छेलोखेलो थियो। त्यही भएर होला, नाबाल आफूलाई को-को न हुँ भन्ठाथ्यो। तर अरूले उसलाई कुन दृष्टिले हेर्थे? बाइबल विवरणभरिमा उसलाई जत्तिको निन्दा गरिएको पात्र भेट्टाउन मुस्किलै पर्छ। उसको नामको अर्थ नै “चेतनाहीन” वा “मूर्ख” हो। के उसका आमाबाबुले नै उसको त्यस्तो नाम राखेका थिए? अथवा उसको व्यवहारले गर्दा उसलाई पछि त्यस्तो नाम दिइएको थियो कि? कुरा जेसुकै होस्, उसको व्यवहारसित उसको नाम ठ्याक्कै मिल्थ्यो; जस्तो काम उस्तै नाम! नाबाल ‘निष्ठुर र नीच मानिस’ थियो। मिचाहा अनि जड्याहा नाबाललाई देखेर वरपरका मानिसहरू थरथर हुन्थे र उसलाई फुटेको आँखाले पनि हेर्न मन पराउँदैनथे।—१ शमू. २५:२, ३, १७, २१, २५.
५, ६. (क) तपाईंलाई अबीगेलको सबैभन्दा मनमोहक गुण कुन हो जस्तो लाग्छ? (ख) अबीगेलले नाबालजस्तो मूर्ख व्यक्तिसित विवाह गर्नुको कारण के हुन सक्छ?
५ तर अबीगेल भने नाबालभन्दा बिलकुलै फरक थिइन्। तिनको नामको अर्थ हो, “मेरा बुबा प्रसन्न हुनुहुन्छ।” छोरी सुन्दरी छिन् भने थुप्रै बुबाहरू मक्ख पर्छन्, तर बुद्धिमान् बुबा आफ्नी छोरीको बाहिरी रूप देखेर होइन तर भित्री गुण देखेर खुसी हुन्छन्। प्रायजसो के देखिन्छ भने, बाहिरी सुन्दरतामा धनी हुनेहरू बुद्धि, विवेक, साहस अनि विश्वास जस्ता अनमोल धनलाई बेवास्ता गर्छन्। तर अबीगेल त्यस्ती थिइनन्। बाइबलमा तिनको बुद्धिको साथै सुन्दरताको पनि वर्णन गरिएको छ।—१ शमूएल २५:३ पढ्नुहोस्।
६ थुप्रैलाई अचम्म लाग्न सक्छ, यत्ति समझदार स्त्रीले त्यत्ति मूर्ख व्यक्तिसित किन विवाह गरेकी होलिन्? नबिर्सनुहोस्, बाइबलकालीन समयमा मागी विवाह गरिदिने चलन थियो। आफैले जोडी छाने पनि आमाबाबुको मन्जुरी नभई हुँदैन थियो। नाबालको धनसम्पत्ति अनि रवाफ देखेर अबीगेलका आमाबाबुले तिनीहरूको विवाहमा मन्जुरी दिएका हुन् कि? अथवा तिनीहरूले नै त्यो विवाह गराइदिएका हुन् कि? गरिबीको चपेटाबाट मुक्त हुन पो तिनीहरूले यस्तो कदम चालेका थिए कि? जेहोस्, नाबालसित जत्ति नै धनसम्पत्ति भए पनि ऊ अबीगेलको जोडी हुन लायक थिएन।
७. (क) छोराछोरीलाई विवाहप्रति आदरणीय दृष्टिकोण राख्न मदत गर्ने हो भने आमाबाबुले के गर्नु हुँदैन? (ख) अबीगेल के गर्न कटिबद्ध थिइन्?
७ बुद्धिमान् आमाबाबु आफ्ना छोराछोरीलाई विवाहप्रति आदरणीय दृष्टिकोण राख्न मदत गर्छन्। तिनीहरू पैसाको फन्दामा परेर विवाह गर्न लोभ्याउँदैनन्। आफूले पूरा गर्नुपर्ने जिम्मेवारी बहन गर्न सक्ने उमेर नहुँदै जोडी छान्ने दबाब पनि दिंदैनन्। (१ कोरि. ७:३६) तर बिचरी अबीगेल! नाबालसित तिनको विवाह भइसकेको थियो। जुनसुकै कारणले विवाह भएको भए तापनि वैवाहिक जीवन सकेसम्म सफल बनाउन तिनी कटिबद्ध थिइन्।
‘उसले त उनीहरूलाई हकारे’
८. नाबालले कसको अपमान गरेको थियो? यो किन एकदमै मूर्ख काम थियो?
८ नाबालले अहिले गरेको व्यवहारको कारण अबीगेललाई पर्नु आपत् परेको थियो। उसले अरू कसैको होइन, दाऊदको अपमान गरेको थियो! यहोवाका यी वफादार सेवकलाई भविष्यवक्ता शमूएलले शाऊलको सट्टामा राजा अभिषेक गरेका थिए। उनलाई यहोवाले नै छान्नुभएको थियो। (१ शमू. १६:१, २, ११-१३) शाऊल दाऊदलाई देखेर डाही भएका थिए र उनलाई मार्न चाहन्थे। त्यसकारण दाऊद आफ्ना ६०० वफादार सिपाहीहरूसित उजाडस्थानतिर भागेका थिए।
९, १०. (क) दाऊद र उनका मानिसहरूले कस्तो ठाउँमा सङ्घर्ष गरिरहनुपरेको थियो? (ख) दाऊद र उनका मानिसहरूप्रति नाबाल किन कृतज्ञ हुनुपर्थ्यो? (अनुच्छेद १० को फुटनोट पनि हेर्नुहोस्)
९ नाबाल माओन भन्ने ठाउँमा बसोबास गर्थ्यो। तर कर्मेल भन्ने ठाउँमा पनि उसको जग्गा-जमिन थियो जस्तो देखिन्छ।a त्यहाँका अग्ला भूभागहरूमा हरिया चरनहरू थिए। त्यहाँ नाबालको ३,००० भेडाहरू चराइन्थ्यो। वरपरको इलाका भने उजाड थियो। दक्षिणतिर पारानको उजाडस्थान पर्थ्यो। पूर्वतिर भने खारा समुद्र (मृत सागर) पर्थ्यो। त्यहाँको उजाडभूमिका भूभागहरू धाँजा-धाँजा परेका र गुफाहरूले भरिएका थिए। यही ठाउँमा दाऊद र उनका मानिसहरू जेनतेन गुजारा चलाइरहेका थिए। सायद उनीहरूलाई खानेकुरा खोज्न धौधौ पऱ्यो होला। अनि नानाथरीका समस्याहरू पनि झेल्नुपऱ्यो होला। यही क्रममा धनी नाबालको जवान गोठालाहरूसित उनीहरूको भेट भइरहन्थ्यो।
१० यी मेहनती सिपाहीहरू ती गोठालाहरूसित कस्तो व्यवहार गर्थे? चाहेको भए ती सिपाहीहरूले सजिलैसित भेडाहरू चोर्न सक्थे। तर उनीहरूले त्यसो गरेनन्। बरु उल्टै नाबालको बगाल अनि गोठालाहरूको रक्षा गरे। (१ शमूएल २५:१५, १६ पढ्नुहोस्) भेडाको बगाल अनि गोठालाहरूले अनेकौं खतराको सामना गर्नुपर्थ्यो। जङ्गली जनावरहरूको पनि बिगबिगी थियो। इस्राएलको दक्षिणी सिमाना नजिकै पर्ने भएकोले विदेशी लुटेरा र चोरहरूले पनि उत्तिकै सताउँथे।b
११, १२. (क) नाबाललाई सन्देश पठाउँदा दाऊदले कसरी बुद्धि र आदर देखाए? (ख) दाऊदको सन्देशप्रति नाबालले देखाएको प्रतिक्रिया किन गलत थियो?
११ त्यो उजाडभूमिमा सबै सिपाहीहरूको लागि खानाको बन्दोबस्त गर्नु चानचुने काम थिएन। एकदिनको कुरा हो, दाऊदले आफ्ना दस जना सिपाहीलाई नाबालकहाँ मदत माग्न पठाए। त्यतिबेला मानिसहरू ऊन कत्रने उत्सव मनाउँदै थिए। त्यो एउटा खुसीको समय भएकोले मानिसहरू मन खोलेर दान गर्थे। त्यसैले मदत माग्ने यो एउटा उपयुक्त समय थियो। त्यसमाथि नाबालकहाँ आफ्नो सन्देश पठाउँदा के भन्ने भनेर दाऊदले निकै विचार पुऱ्याए र अत्यन्तै आदर गर्ने शब्दहरू प्रयोग गरे। उनले आफूलाई “तपाईंको छोरा दाऊद” समेत भने। यसो भन्दा उनले नाबालको उमेरप्रति आदर देखाएको हुनुपर्छ। तर नाबालले के गऱ्यो?—१ शमू. २५:५-८.
१२ ऊ रिसले पड्कियो। सुरुको अनुच्छेदमा अबीगेलकहाँ सन्देश ल्याउने गोठालोले बताएअनुसार नाबालले ‘उनीहरूलाई हकाऱ्यो।’ उसले ती सिपाहीहरूलाई खानेकुरा, पानी अनि मासु दिन ठाडै इन्कार गऱ्यो। उसले दाऊदलाई मान्छे नै गनेन र हुनसम्मको बेइज्जत गऱ्यो। उसले दाऊदलाई भगुवा नोकर भन्यो। सायद नाबाल र शाऊलको सोच उस्तै थियो। किनभने शाऊल पनि दाऊदलाई देखिसहँदैनथे। यी दुवैले यहोवाको दृष्टिकोणलाई लत्याए। यहोवा दाऊदलाई माया गर्नुहुन्थ्यो अनि उनलाई विद्रोही दास होइन तर इस्राएलको भावी राजाको रूपमा हेर्नुहुन्थ्यो।—१ शमू. २५:१०, ११, १४.
१३. (क) नाबालले बेइज्जत गरेको थाह पाएपछि दाऊदले सुरुमा कस्तो प्रतिक्रिया देखाए? (ख) याकूब १:२० अनुसार दाऊदको प्रतिक्रिया सही थियो?
१३ सन्देशवाहकहरूको कुरा सुनेपछि दाऊद पनि रिसले चूर हुन्छन् अनि यसो भन्छन्: “सबैले आफ्नो आफ्नो तरवार भिर।” हातहतियारले सुसज्जित भएर उनी ४०० सिपाहीको साथमा नाबाललाई आक्रमण गर्न अघि बढ्छन्। उनी नाबालको घरानाको एउटा पुरुषलाई पनि बाँकी नराख्ने कसम खान्छन्। (१ शमू. २५:१२, १३, २१, २२) दाऊद रिसाउनु जायजै थियो तर उनको रिस पोख्ने तरिका भने ठीक थिएन। बाइबल यसो भन्छ: “रिस गर्ने मानिस परमेश्वरको स्तरबमोजिम चलिरहेको हुँदैन।” (याकू. १:२०) यस्तो बेला अबीगेलले आफ्नो घरानालाई कसरी बचाउन सक्थिन्?
“तिम्रो बुद्धि धन्यको हो”
१४. (क) नाबालको गल्ती सच्याउन अबीगेलले सर्वप्रथम कस्तो कदम चालिन्? (ख) नाबाल र अबीगेलबीचको भिन्नताबाट हामी कस्तो पाठ सिक्न सक्छौं?
१४ यस्तो परिस्थितिलाई सुधार्न अबीगेल पहिलो कदम चाल्छिन् भनेर त हामीले सुरुको विवरणबाट थाह पाइसक्यौं। तिनी गोठालाको कुरा ध्यान दिएर सुन्छिन्, नाबालले जस्तो गर्दिनन्। नाबालको विषयमा कुरा गर्दा ती जवानले अबीगेललाई यसो भन्यो: “तिनी यस्ता व्यर्थका मानिस छन् कि तिनीसँग ता कुरै गर्नु पनि फायदा छैन।” (१ शमू. २५:१७) नाबाल यत्ति घमन्डी थियो कि ऊ अरूको कुरा सुन्नै चाहँदैनथ्यो। यस्तो मनोवृत्ति अहिले पनि छ्यासछ्यासती छ। तर अबीगेल त्यस्ती थिइनन् भनेर ती जवान गोठालालाई थाह थियो। त्यसैले त ऊ मदतको लागि अबीगेलकहाँ गएको थियो।
अबीगेल गोठालाको कुरा ध्यान दिएर सुन्छिन्, नाबालले जस्तो गर्दिनन्
१५, १६. (क) अबीगेल हितोपदेशको पुस्तकमा वर्णन गरिएको सुयोग्य पत्नीजस्तै थिइन्, कसरी? (ख) अबीगेलले आफ्नो पतिको अनादर गरिरहेकी थिइनन् भनेर हामी किन भन्न सक्छौं?
१५ अबीगेल सोचविचार गर्छिन् र तुरुन्तै कदम चाल्छिन्। तिनले “झट्टै” कदम चालिन् भनेर बाइबलमा लेखिएको छ। यो विवरण हेर्ने हो भने अबीगेलको कामलाई बुझाउन “झट्टै,” “हतार-हतार” जस्ता शब्द चार पटक प्रयोग गरिएको छ। दाऊद र उनका मानिसहरूको लागि तिनी थुप्रै उपहारको बन्दोबस्त गर्छिन्। तिनी रोटी, दाखमद्य, भेडाको मासु, चिउरा, किसमिस अनि नेभारा तयार पार्छिन्। आफूसित के-के छ, तिनलाई सबै थाह थियो अनि घरको सारा कामकाज सम्हाल्ने पनि तिनी नै थिइन्। हो, तिनी हितोपदेशको पुस्तकमा वर्णन गरिएकी सुयोग्य पत्नीजस्तै थिइन्। (हितो. ३१:१०-३१) तिनी आफ्नो अघिअघि केही नोकरहरू पठाउँछिन्। बाइबल विवरण यसो भन्छ: “तर आफ्ना पतिलाई तिनले यस विषयमा केही भनिनन्।”—१ शमू. २५:१८, १९.
१६ के अबीगेलले आफ्नो पतिको अनादर गरिरहेकी थिइन्? अहँ, थिइनन्। नबिर्सनुहोस् नाबालले यहोवाको अभिषिक्त सेवकसित नराम्रो व्यवहार गरेको थियो। उसको यस्तो कर्तुतले गर्दा उसको घरानाको कैयौं निर्दोष व्यक्तिहरूले ज्यान गुमाउन सक्थे। अबीगेलले सही कदम नचाल्ने हो भने के तिनी पनि यस गल्तीको भागीदार हुने थिइनन् र? त्यसैले यस्तो अवस्थामा तिनी आफ्नो पतिको होइन तर परमेश्वरको अधीनमा बस्नुपर्थ्यो।
१७, १८. अबीगेल दाऊदकहाँ कसरी गइन्? तिनले के भनिन् र तिनका शब्दहरू किन प्रभावकारी थिए?
१७ चाँडै नै अबीगेलले दाऊद र उनका मानिसहरूलाई भेट्छिन्। दाऊदलाई देख्नेबित्तिकै तिनी हतार-हतार आफ्नो गधाबाट ओर्लिन्छिन् र दाऊदको सामने घोप्टो परेर भूइँसम्मै निहुरिन्छिन्। (१ शमू. २५:२०, २३) त्यसपछि आफ्नो पति र घरानाको लागि दयाको भीख माग्दै तिनी मनमा भएजति सबै कुरा पोखाउँछिन्। तिनका शब्दहरू किन प्रभावकारी थिए?
“हजुरकी विनम्र दासीलाई बोल्ने अनुमति दिनुहोस्”
१८ अबीगेल गल्ती जति सबै आफ्नै थाप्लोमा लिन्छिन् र दाऊदसित क्षमा माग्छिन्। तिनको श्रीमान्ले नामअनुसारकै मूर्ख काम गरेका छन् भनेर तिनी स्वीकार्छिन्। अनि दाऊदजस्तो मान्छेले त्यस्तो मूर्खलाई सजाय दिन फिटिक्कै सुहाउँदैन भनेर पनि तिनी बताउँछिन्। दाऊदलाई यहोवाको प्रतिनिधिको रूपमा स्वीकारेको कुरा तिनी व्यक्त गर्छिन् र दाऊद “परमेश्वरकै युद्ध” लडिरहेका छन् भनेर बताउँछिन्। अबीगेललाई दाऊद र उनको राज्याधिकारबारे यहोवाले गरेको प्रतिज्ञा पनि थाह थियो जस्तो देखिन्छ। किनभने अबीगेलले यसो भनिन्: “परमप्रभुले हजुरलाई . . . इस्राएलका शासक बनाउनुहुनेछ।” दाऊदको कदमले गर्दा उनीमाथि रक्तदोष नलागोस् अनि उनलाई “ठक्कर लाग्ने” कुनै पनि कारण नहोस् अर्थात् उनको अन्तस्करणले नघोचोस् भन्ने अबीगेल चाहन्थिन्। त्यसैले त्यस्तो कदम नचाल्न तिनले दाऊदलाई बिन्ती गरिन्। (१ शमूएल २५:२४-३१ पढ्नुहोस्) कत्ति दयालु अनि मनछुने बोली!
१९. दाऊदले कस्तो प्रतिक्रिया देखाए? उनले किन अबीगेलको प्रशंसा गरे?
१९ अब दाऊद कस्तो प्रतिक्रिया देखाउँछन्? उनी अबीगेलको उपहार स्वीकार्छन् र यसो भन्छन्: “परमप्रभु इस्राएलका परमेश्वर धन्यका होऊन्, जसले आज मसँग भेट गर्नलाई तिमीलाई पठाउनुभयो। तिम्रो बुद्धि धन्यको हो, तिमी धन्यकी हौ, किनभने आज तिमीले मलाई हत्या र प्रतिशोधको दोषदेखि जोगायौ।” साहस जुटाएर ढिलासुस्ती नगरी आफूलाई भेट्न आएकोमा दाऊद तिनको प्रशंसा गर्छन् र अबीगेलले आफूलाई रक्तदोषी हुनबाट बचाएको कुरा बताउँछन्। उनी नम्र हुँदै अबीगेललाई यसो पनि भन्छन्: “शान्तिसित घर फर्क। मैले तिम्रो कुरा सुनें, र तिम्रो बिन्ती मञ्जुर गरें।”—१ शमू. २५:३२-३५.
“म . . . उहाँकी दासी हुँ”
२०, २१. (क) अबीगेल आफ्नो श्रीमान्कहाँ फर्केको कुरा किन प्रशंसनीय छ? (ख) नाबाललाई सबै घटना बताउन अबीगेलले हतार नगरेको कुराबाट तिनको साहस र बुद्धि कसरी झल्कियो?
२० भेटघाट यत्तिमै टुङ्गिन्छ। घर पुगिसकेपछि पनि अबीगेल त्यो दृश्य झलझली सम्झिन्छिन्। मिचाहा प्रवृत्तिको आफ्नो श्रीमान्भन्दा दाऊद कत्ति फरक! कत्ति वफादार छन् दाऊद! यस्तै-यस्तै कुरा सोच्छिन् अबीगेल। तर तिनी यस्तै कल्पनामा डुबिरहँदिनन्। हामी यस्तो लेखिएको पाउँछौं: ‘अबीगेल फर्केर आउँछिन्।’ नाबालको घर फर्केपछि तिनी पहिलाजस्तै असल पत्नीको भूमिका निभाउन तल्लिन हुन्छिन्। दाऊद र उनका मानिसहरूलाई दिएको उपहारबारे तिनले आफ्नो श्रीमान्लाई बताउनुपर्ने थियो। किनभने त्यो कुरा थाह पाउनु नाबालको अधिकार थियो। दैलोसम्मै आइसकेको खतरा कसरी टऱ्यो भनेर अरू कसैले नाबाललाई बताउनुअघि अबीगेलले नै त्यो कुरा बताउनुपर्थ्यो। तर अहिले त्यो कुरा बताउने माहोल नै छैन। नाबाल राजसी ठाँटमा भोज खाँदैछ अनि रक्सी पिएर टिल्ल परेको छ।—१ शमू. २५:३६.
नाबाललाई बचाउन आफूले गरेको कामबारे अबीगेलले साहसी हुँदै बताइन्
२१ यतिबेला पनि अबीगेल साहस र बुद्धि देखाउँछिन्। रक्सीको मातले नछोडेसम्म अर्थात् अर्कोदिन बिहानसम्म तिनी त्यो कुरा मनमै राख्छिन्। रक्सीको मातले छोडेपछि सायद नाबालले अबीगेलको कुरा सुन्ने थियो अथवा उसको रिसको पारो अझै चढ्न पनि सक्थ्यो। तैपनि अबीगेल उसकहाँ जान्छिन् र सारा वृत्तान्त बताउन थाल्छिन्। नाबाल पड्किनेछ वा सायद हातपात गर्नेछ भनेर अबीगेलले सोचेकी हुनुपर्छ। तर अचम्मको कुरा नाबाल चुपचाप बसिरहन्छ!—१ शमू. २५:३७.
२२. नाबाललाई के भयो? घरेलु हिंसा वा अत्याचारबारे यहोवाको दृष्टिकोण कस्तो छ?
२२ नाबाललाई के भयो? बाइबल भन्छ: “त्यसलाई झट्टै हृदय-रोगले आक्रमण गऱ्यो, र त्यो पत्थरझैं भयो।” सायद उसलाई कुनै किसिमको घात भएको हुनुपर्छ। दस दिनपछि उसको मृत्यु हुन्छ तर बिमारीले गर्दा मात्र त होइन। विवरण अझै यसो भन्छ: “परमप्रभुले त्यसलाई फेरि प्रहार गर्नुभयो र त्यो मऱ्यो।” (१ शमू. २५:३८) नाबालको मृत्युसँगै अबीगेलको वैवाहिक जीवनका दुःखद दिनहरू पनि सकिए। हुन त अहिले यहोवाले चमत्कार गरेर मानिसहरूलाई दण्ड दिनुहुन्न तैपनि यस विवरणबाट के देखिन्छ भने घरेलु हिंसा वा सबै किसिमको अत्याचार यहोवाले देख्नुहुन्छ। अनि उहाँ आफ्नो समयमा अन्यायको अन्त पनि गर्नुहुन्छ।—लूका ८:१७ पढ्नुहोस्।
२३. अबीगेलले कस्तो आशिष् पाइन्? दाऊदकी पत्नी हुन पाएकोमा तिनले घमन्ड गरिनन् भनेर हामी किन भन्न सक्छौं?
२३ वैवाहिक जीवनमा छाएको अन्धकारबाट मुक्ति पाउनुको अलावा अर्को आशिष्ले पनि अबीगेललाई पर्खिरहेको थियो। नाबालको मृत्यु भएको कुरा सुनेपछि दाऊदले अबीगेललाई सन्देशवाहकमार्फत विवाहको प्रस्ताव राखे। तिनले यस्तो जवाफ दिइन्: “म उहाँको आज्ञा पालन गर्ने र मेरा हजुरका सेवकहरूका खुट्टा धुने उहाँकी दासी हुँ।” दाऊदकी पत्नी हुन पाएकोमा अबीगेलले घमन्ड गरिनन्। दाऊदका दासहरूको समेत दास हुन राजी भएको कुरा तिनले बताइन्। तिनी फेरि पनि दाऊदकहाँ हतार-हतार गइन् भनेर बाइबल विवरण बताएको छ।—१ शमू. २५:३९-४२.
२४. नयाँ जीवन सुरु गरेपछि अबीगेलले के-कस्तो चुनौती सामना गर्नुपऱ्यो? तिनीप्रति दाऊदको र यहोवा परमेश्वरको दृष्टिकोण कस्तो थियो?
२४ दाऊदसित विवाह गरिसकेपछि अबीगेलका सुखै-सुखका दिनहरू सुरु भएका त होइनन्। त्यसपछि पनि तिनले कठिनाइहरू भोग्नुपऱ्यो। दाऊदले पहिल्यै अहीनोमसित विवाह गरिसकेका थिए। यहोवाले त्यतिबेला बहुविवाह गर्ने अनुमति दिनुभए तापनि विश्वासी स्त्रीका लागि त्यस्तो अवस्था चुनौतीपूर्ण हुन्थ्यो। फेरि दाऊद राजा भइसकेका पनि थिएनन्। राजा हुनुअगाडि उनले अनेकौं बाधा-अवरोध अनि कठिनाइको सामना गर्नुपर्ने थियो। अबीगेलले दाऊदलाई जिन्दगीभर साथ दिइन्। पछि तिनले एउटा छोरा जन्माइन्। श्रीमान्ले आफूलाई कदर गर्छन् र सुरक्षा दिन्छन् भन्ने कुरामा पछि गएर तिनी अझै विश्वस्त भइन्। एकपटक दाऊदले तिनलाई कैदबाट छुटाए। (१ शमू. ३०:१-१९) यसरी दाऊदले यहोवाको अनुकरण गरे। किनभने यहोवा पनि बुद्धिमान्, साहसी अनि विश्वासी स्त्रीलाई माया गर्नुहुन्छ र तिनीहरूको कदर गर्नुहुन्छ।
a कर्मेल भन्ने यो ठाउँ एलिया र बाल उपासकहरूको मुठभेड भएको प्रख्यात कर्मेल डाँडा होइन। कर्मेल डाँडा यो ठाउँबाट निकै टाढा उत्तरतिर पर्छ। (अध्याय १० हेर्नुहोस्) तर कर्मेल भन्ने यो ठाउँचाहिं दक्षिणतिर रहेको पारानको उजाडस्थानको छेउमा पर्ने एउटा सहर थियो।
b छेउछाउका जमिनदारहरू र तिनीहरूको बगालको सुरक्षा गर्नु भनेको यहोवाकै सेवा गर्नु जत्तिकै हो भनेर दाऊदले महसुस गरेका हुन सक्छन्। यहोवाले अब्राहाम, इसहाक र याकूबका सन्तानहरूलाई बसोबास गर्न दिनुभएको इलाकाभित्र त्यो ठाउँ पनि पर्थ्यो। त्यसैले त्यो ठाउँलाई आक्रमणकारी र लुटेराहरूबाट जोगाउनु पवित्र सेवाकै एउटा भाग थियो।