भाग ११ को परिचय
यस भागबाट ख्रिष्टियन ग्रीक धर्मशास्त्र सुरु हुन्छ। येसुको जन्म सानो सहरमा बस्ने गरिब परिवारमा भएको थियो। उहाँले बुबासँगै काम गर्नुभयो, जो सिकर्मी थिए। येसुले नै मानिसको उद्धार गर्नुहुने थियो। यहोवाले उहाँलाई स्वर्गको राज्यको राजा हुन रोज्नुभयो। येसुको लालनपालन परमेश्वरको भक्ति गर्ने परिवार र राम्रो वातावरणमा होस् भन्ने कुरामा यहोवाले ध्यान दिनुभयो। तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई यो कुरा बुझाउनुहोस्। हेरोदले येसुको हत्या गर्न नपाओस् भनेर यहोवाले के गर्नुभयो र कुनै कुराले उहाँको उद्देश्यलाई रोक्न सक्दैन भनेर बुझाउनुहोस्। येसुको लागि बाटो तयार पार्न यहोवाले कसरी युहन्नालाई चलाउनुभयो, बताउनुहोस्। येसुले सानैदेखि यहोवाको बुद्धिलाई प्रेम गरेको कसरी देखाउनुभयो, जोड दिनुहोस्।