“शान्तिको महामारी?”
“शान्तिको महामारी!” “ओहो, कस्तो शान्तिपूर्ण संसार।” “शान्ति चारै तर्फ छरिएको छ।” यता एक दुई वर्ष भित्र अखबारहरूमा छापिएका यस प्रकारका प्रमुख समाचार देखेर पाठकहरू चकित भएका छन्। संसारमा चारै तर्फ विषाद र नाशको समाचारको ठाउँमा आशाको समाचार देखा पर्नु, एउटा आश्चर्यको कुरा भयो। के भइ रहेको थियो?
छक्कै पर्नेगरी, केही समय अघि मात्र, थुप्रा ठूलाठूला द्वन्दहरूको एक दुई महिना भित्रै टुङ्गगो लाग्यो अथवा तिनीहरूको गति मन्द भएर गयो। अफ्रिकाको अङ्गोलामा अचानक ‘शान्ति मच्चियो।’ मध्य एशियामा, सोभियत सङ्घले अफगानिस्तानबाट आफ्नो फौज वापस लग्यो। मध्य अमेरिकामा, निकारागुआ सरकार र कोन्ट्रा विद्रोहीहरू बीच लड़ाइँ कम भएर गयो। दक्षिणपूर्व एशियामा, भियतनामीहरूले कम्पुचियाबाट वापस आउन मञ्जुर गरे। यो “शान्तिको महामारी” मध्यपूर्वमा पनि पुग्यो जसले गर्दा इरान र इराक बीचको रक्तपातपूर्ण युद्ध अन्ततः समाप्त भएर गयो।
शायद सबै भन्दा उल्लेखनीय कुरा दुई महा शक्तिका बीचमा उत्पन्न नया वातावरण थियो। ४० वर्षको शीतयुद्ध पछि, सोभियत सङ्घ र संयुक्त राष्ट्र अमेरिकाको बीचमा यस प्रकारको मेलमिलापको हावभाव, एक अर्काको हितको चर्चा र शान्तिकालागि उठाइएका ठोस कदमहरू, पत्याउनै नसक्ने कुरा हुन गए। अझ द इकोनोमिस्ट को भनाइ अनुसार, युद्ध न भएको यति लामो समय युरोपले इतिहासमा पहिले कहिले पनि अनुभव गरेको थिएन। साँच्चै नै, जताततै शान्तिकै समाचार छ।
यसको अर्थ के हो? के राजनीतिज्ञहरूले “हाम्रो समयका लागि शान्ति” ल्याउनै आँटेका छन्? ती शब्दहरू, बाउन्न वर्ष अघि, विलायतका प्रधान-मंत्री नेविल चेम्बरलेनले भनेका थिए। ती शब्दहरू क्रूरतापूर्वक, व्यंगपूर्ण साबित भए, किनभने केही समय पश्चातनै, दोस्रो विश्व-युद्ध मच्चियो। तर के ती शब्दहरू बल्ल, यस पटक साँचो साबित हुने हुन् त? (w90 4/1)