परमेश्वरको सेवा गर्ने जवान व्यक्तिहरू
जवान व्यक्तिहरू तपाईंको घरमा परमेश्वरबारे कुरा गर्न, कुनै तलव बिना, आउँछन् र आफ्नो समय बिताउँछन् भन्ने कुरा के तपाईंलाई असामान्य लाग्छ? आजको बढ्दो अविश्वासको युगमा बच्चाहरू आफ्ना आमाबाबुसँग मिलेर भविष्य बारे बाइबलमा पाइने अद्भुत आशाहरूबारे कुरा गरेको सुन्दा, के तपाईंलाई अचम्म लाग्छ?a
विश्वभरि यहोवाका साक्षीहरूको ६०,००० भन्दा बढ़ी मण्डलीहरूमा, धेरै जवान व्यक्तिहरू छन्। तिनीहरू आइतबारे धार्मिक पाठशालाहरूमा पढ्न जाँदैनन्। बरू, यी जवान व्यक्तिहरू मण्डलीमा हुने सभाहरूबाट लाभ उठाउँछन् र ती सभाहरूमा भाग पनि लिन्छन्। सा-सानाहरूले सरल टिप्पणीहरू दिन सक्छन्। १३ वर्ष भन्दा कम उमेर भएकाहरूले पनि ईश्वरतन्त्रीय सेवकाईको पाठशालामा भाग लिन्छन्। थुप्रै जवान मानिसहरूले आफ्नो स्कूलको विदाको समयमा आफ्ना छिमेकीहरूलाई परमेश्वर र उहाँले भविष्यबारे गर्नु भएका अद्भुत प्रतिज्ञाहरू सिक्ने मदद दिन्छन्।
जवान मानिसहरूको यसप्रकारका क्रियाकलापहरू कुनै नयाँ कुरा होइन। बाइबलमा थुप्रै जवान लोग्ने मानिसहरू र स्वास्नीमानिसहरू, साथै युवाजनहरू र साना बालकहरू बारे चर्चा गरिएको छ जसले परमेश्वरका सेवामा उल्लेखनीय उदाहरणहरू छाड़ेका थिए।
बाइबलको किताब भजनसंग्रहले अग्रिमवाणी गरेको छ कि ईश्वरीय सेवामा लागेका “जवानहरूको समुदाय” “शीत” झैं असङ्खय र ताजा हुनेछन्। त्यहाँ अझ परमेश्वरको प्रशंसा गर्ने “जवान मानिसहरू” र “कुमारीहरूको” बारेमा पनि चर्चा गरिएको छ। (भजन ११०:३; १४८:१२, १३) सा. यु. ३३, पेन्तिकोसको दिनमा, विश्वासीहरूमाथि परमेश्वरको पवित्र आत्मा खन्याइँदा, सम्भवतः, त्यहाँ जवान व्यक्तिहरू पनि उपस्थित थिए होलान्। त्यस दिन करीब ३,००० जनाले वचन स्वीकार गरे र बप्तिस्मा लिए। यो आश्चर्यमय घटना योएल अगमवक्ताले गरेका भविष्यवाणीको पूर्ति हो भनी प्रेरित पत्रुसले यस प्रकार भने: “तिमीहरूका छोराहरू, र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन्, औ तिमीहरूका जवानहरूले दर्शन देख्नेछन्, र तिमीहरूका बूढा-पाकाहरू स्वप्नदर्शी हुनेछन्।”—प्रेरित २:४-८, १६, १७, ४१.
बाइबलमा आफ्ना युवावस्थामा परमेश्वरको सेवा गर्ने अरू व्यक्तिहरूमा शमूएल, धर्मी राजा दाऊद, बाइबलका प्रख्यात अगमवक्ताहरू, यर्मिया र दानियल, साथै विश्वासी तिमोथी समावेश छन्। बाइबलका यी उदाहरणहरूको छलफल गर्न, यस अङ्कमा तीनवटा लेखहरू प्रस्तुत गरिएकाछन्। जवान मानिसहरू, साथै तिनीहरूभन्दा उमेर पाका भएकाहरूले पनि परमेश्वरको सेवालाई त्यतिका महत्त्व किन दिन्छन् र यही काम आफ्ना छिमेकीहरूले पनि गरून् भनेर तिनीहरूलाई मदद दिन किन समय बिताउने गर्छन् भन्ने कुरा यी लेखहरूबाट देख्नु हुनेछ। (w90 8/1)
[फुटनोट]
a १९८५ सालमा लिएको ग्यालप सर्भे अनुसार, १९४६ देखि यता जन्मिएका अमेरिकीहरू मध्ये केवल १२ प्रतिशतले मात्र १६ वर्षको उमेरमा तिनीहरूसँग “प्रशस्त विश्वास” थियो भन्ने कुरा बताए।