चोररहित एउटा संसार
साउ पाउलु, ब्राजिलमा आफ्नै घर अगाडि एक जना सुसज्जित वस्त्र लगाएको मानिसले अन्तोनियोको टाउकोमा बन्दूक तेर्साएर गाडीको साँचो र कागजपत्र खोस्यो। त्यसको लगत्तै त्यो व्यक्ति गाडी चलाएर भाग्यो। अचानक र एकै क्षणमा यो सब भयो।
रियो दे जनेरोमा आफ्नो दश वर्षीया छोरीको आँखा अगाडि चार जना बन्दूकधारी पुरूषहरूले पाउलो नामक व्यक्तिलाई आफ्नो हातमा पारे। गाडी चलाएर पाउलोको घरसम्म पुगेपछि ती लुटेराहरू तिनको घरमा पसेर आफूलाई चाहिए जति सामानहरू चोरेर तिनको दुइटा गाडी भरे। त्यसपछि, तिनकी श्रीमतीलाई मार्ने धम्की दिंदै उनीलाई र एक जना काम गर्ने व्यक्तिलाई बन्दी बनाइ बजारमा पाउलोको सुनचाँदी पसलमा गएर सबै बहुमूल्य सामानहरू लुटे। यद्यपि, अप्रत्याशित रूपमा पछि ती चोरहरूले गाडीहरू कहाँ छोडिएका छन् त्यो फोनबाट खबर गरे।
यति कडा मिहेनत गरेर कमाएको धन र सरसम्पत्तिहरू यसरी लुटिनु कस्तो त्रासलाग्दो कुरो हो! अन्तोनियो र पाउलोले कानून आफ्नो हातमा लिएनन् यद्यपि अरूहरूले भने यसो गर्ने गर्छन्। तिनीहरूले चोरको ज्यान लिन वा अङ्गभङ्ग गरिदिन सक्छन् नभए आफ्नै ज्यान गुमाउन सक्छन्। उदाहरणको लागि एक जना नौजवानले एक जना ब्राजिलियन स्त्रीको घडी खोस्दा रिसको झोंकमा तिनले आफ्नो झोलाबाट बन्दूक झिकेर त्यस चोरलाई गोली हानेर मारिदिइन्। यसको नतिजा? उ एस्तादो द साउ पाउलु रिपोर्ट गर्छ: “घटनाको प्रत्यक्षदर्शीहरूले त्यस अज्ञात स्त्रीले देखाएकी मनोवृत्तिको बखान गरे र कसैले पनि प्रहरी समक्ष तिनलाई चिनाइ दिने इच्छा गरेनन्।” हुनत मसीहीहरूले चोररहित संसारको कल्पना त गर्छन् तर त्यस स्त्रीलेझैं प्रतिशोध लिने गर्दैनन्। बदला लिने काम परमेश्वरको भएको हुनाले तिनीहरू हितोपदेश २४:१९, २०-का यी शब्दहरूलाई ध्यान दिन्छन्: “दुष्ट काम गर्नेहरूको होड़बाजी नगर्, अथवा बदमाशहरूको अनुसरण नगर्। किनभने दुष्ट मानिसको भविष्य असल हुँदैन।”
तर आफूमाथि हमला भइहाल्यो भने तपाईं के गर्न सक्नु हुन्छ? रियो दे जनेरोमा घटेको एउटा घटनाले यस स्थितिमा शान्त रहनु कति महत्त्वपूर्ण छ भन्ने कुरा देखाउँछ। एक जना मसीही स्त्री जसलाई अहिले हामी एलोइज भन्नेछौं, तिनी एउटा बाइबल अध्ययन सञ्चालन गर्न बसमा यात्रा गर्दै थिइन्। अचानक दुई जना पुरूषहरूले यात्रीहरूलाई धमाधम लुट्न थाल्यो। गन्तव्य स्थान आइपुगे पछि आफू यहोवाका एक जना साक्षी भएको र अहिले एउटा बाइबल अध्ययन सञ्चालन गर्न जान लागेको कुरा एलोइजले तिनीहरूलाई बताइन्। तिनले आफ्नो बाइबल र अध्ययन गरिने पुस्तक पनि देखाइन्। चोरहरूले तिनलाई लुट्नुको सट्टा बसबाट ओर्लने अनुमति दिए। यद्यपि अर्को यात्रीलाई भने तिनीहरूले ओर्लने अनुमति दिएनन्। त्यस बसका चालकले यस्तो प्रकारको घटना आफूले कहिल्यै देखेको थिएन भनी पछि बताए।
हथियारले सुसज्जित दुई जना पुरुषहरूले तिनको आफ्नै गाडीमा पस्ने आज्ञा दिंदा रेजिना पनि शान्त भएर बसिन्। अवेक! पत्रिकाको आफ्नो व्यक्तिगत प्रति देखाउँदै रेजिनाले तिनीहरूलाई साक्षी दिइन्। ती लुटेराहरू हडबडाएका हुँदा गाडीको ग्लोभ कम्पार्टमेन्ट खोलेर मिठाई लिने आग्रह गरिन्। तर राज्य धूनहरू-का क्यासेट चक्का देखे पछि तिनीहरू त्यस धून सुन्न थाले। मित्रैलो वातावरण छाएको हुँदा रेजिनालाई सकुशल राजमार्गमा छाडिदिने निर्णय गरे र तिनले दयालु मदतगार भेट्टाउने छिन् भनी ती लुटेराहरूले आश्वासन समेत दिए। दश मिनेट जति हिंडेपछि तिनले एउटा घर भेट्टाइन् तर घरधनीले भने उनको कथा पत्याउनै सकेनन् र भने: “तिमीमाथि हमला भएको जस्तो देखिंदैन; तिमी त एकदमै शान्त छौं।”
अपराधको शिकार हुने व्यक्ति शारीरिक तवरमा सकुशल होला तर त्यसप्रकारका त्रासपूर्ण घटनाको गम्भीर असरहरू हुन सक्छ। ‘अपराधको शिकार भएको व्यक्तिले असुरक्षित महसुस गर्न सक्छ, परिवारका सदस्यहरू वा उसलाई मदत गर्न खोज्ने व्यक्तिहरू प्रति घृणा उत्पन्न हुन सक्छ, अरूलाई भरोसा गर्न नसक्ने हुन्छ, सुव्यवस्थित गर्न दिएका लम्बेतान विवरणदेखि विरक्त हुन सक्छ, संसारै अन्यायी छ जस्तो लाग्न सक्छ,’ भनी उ एस्तादो द साउ पाउलु रिर्पोट गर्छ। यसको विपरीत यहोवा परमेश्वरमा भरोसा गर्ने व्यक्ति अपराधको शिकार हुँदा शारीरिक तथा मानसिक दुवै प्रकारले प्रताडित हुनदेखि बच्न सक्ने सम्भावना बढी हुन्छ। यद्यपि, अपराध वा डर त्रास जगाउने कुनै पनि कुराहरू नभए कति असल हुने थियो भन्ने कुरामा के तपाईं सहमत हुनु हुन्न र?
“चोर्नेले फेरि नचोरोस्”
आफ्नो स्वार्थी जीवन-पद्धतिलाई धेरैले मान्यता दिएको भए तापनि, चोरहरूलाई आफ्नो इच्छा आकाङ्क्षाहरू तथा व्यक्तित्वमा परिवर्त्तन गर्न परमेश्वरको वचनले मदत पुऱ्याएको छ। (एफिसी ४:२३) जीवनको वास्तविक र बाइबलमा आधारित उद्देश्य थाहा पाए पछि तिनीहरूले यी शब्दहरूलाई हृदयङ्गम गरेका छन्: “इमान्दारीसित कमाएको थोरै धन बेमानीसित पाएको ठूलो लाभभन्दा असल हो।” (हितोपदेश १६:८) क्लाउडियो भन्छन्: “मेरो परिवारमा लगभग सबै जना यहोवाका साक्षीहरू हुन्। तर यहोवा र उहाँको उद्देश्यबारे तिनीहरूले भनेका कुरा मैले कहिले पनि सुनिनँ। एक पटक, चोरिएको पिकअप भ्यानमा झन्डै २,००० किलो मिटरको लामो यात्राबाट फर्किरहेको बेला मैले धेरै प्रहरी चौकीहरू पार गर्नु पऱ्यो। यस क्रममा मैले आफ्नो जीवन परिवर्त्तन गर्नु पर्ने महसुस गरे। मैले पहिला पनि यसो गर्न खोजेको त थिएँ तर सफल भइन। यस बखत यहोवाका साक्षी बनेका आफ्ना नातेदारहरूको बारेमा मैले सोच्न थाले। तिनीहरूमा हर्ष, आनन्द तथा शान्ति भएको हुनाकारण तिनीहरू कति भिन्न थिए।” फलस्वरूप क्लाउडियोले परमेश्वरको वचन अध्ययन गर्न थाले, लागू पदार्थ र आफ्ना पुराना साथीहरूलाई त्यागे, र एक जना मसीही सेवक भए।
अरूहरूले पनि यी शब्दहरूलाई अहिले ध्यान दिन्छन्: “अत्याचारमा भरोसा नगर, र डकैती गर्नमा अभिमान नगर।” (भजनसंग्रह ६२:१०) एउटा लुटपाटमा हत्या गर्न खोजेको अभियोगमा जेल सजाय पाएको हुसेले आफ्नो जेठानसित बाइबल अध्ययन गरेर फाइदा उठाए। हुसे लागू पदार्थको सेवन गर्ने र ती ओसार-पसार गर्ने गर्दथ्यो। उसले लागू पदार्थको प्रयोग तथा बेचबिखन गर्न छाड्यो र अहिले उ एक जना जोशिलो साक्षी भएको छ।
यद्यपि, एउटा नयाँ व्यक्तित्व अचानक अथवा चमत्कारी ढङ्गमा आउँदैन। लागू पदार्थ र चोरीमा गम्भीरतापूर्वक बिथोलित भएको ओस्कार यसो भन्छ: “मैले यहोवालाई यति साह्रो व्याकुल भएर प्रार्थना गर्थे कि मेरा आँसुका कारण भुइँ एउटा सानो दह जस्तै हुन्थ्यो।” हो, परमेश्वरको वचनलाई परिश्रमपूर्वक अध्ययन गर्नुको अलावा हृदयदेखि निरन्तर प्रार्थना गर्नु पनि खाँचो छ। यस प्रार्थनामा भएको बुद्धिमत्तालाई विचार गर्नुहोस्: “मलाई नता दरिद्र बनाउनुहोस्, न मलाई धन दिनुहोस्। मलाई चाँहिदो भोजन मात्र जुटाइ दिनुहोस्। किनभने मसित धेरै भयो भने म तपाईंलाई इन्कार गरूँला, र यसो भनूँला, ‘परमप्रभु को हो र?’ यदि म दरिद्र भएँ भने, म चोर्न लागूँला, र परमेश्वरको नाउँमा कलंक लगाउँला।”—हितोपदेश ३०:८, ९.
साँचो प्रेमले स्वार्थीपनलाई ओगट्नु पर्छ: “चोर्नेले फेरि नचोरोस्, बरु त्यसले परिश्रम गरोस् र जे असल छ, सो आफ्नै हातले काम गरेर दरकार पर्नेहरूलाई केही दिनलाई त्यससँग होस्।” (एफिसी ४:२७, २८) पहिले ‘चोरहरू वा लोभी व्यक्तिहरू’ भइसकेका प्रथम शताब्दीका मसीहीहरूलाई गर्नु भएझैं पश्चात्तापी व्यक्तिहरूलाई येशू ख्रीष्टको छुटकाराको बलिदानद्वारा यहोवाले दयापूर्वक क्षमा गर्नु हुन्छ। (१ कोरिन्थी ६:९-११) हाम्रो अतीत जस्तोसुकै भए तापनि हामीले आफ्नो जीवन-पद्धतिलाई बदल्न सक्छौं र परमेश्वरको दया पाउन सक्छौं भनी थाहा पाउनु कति आश्वासनदायी छ!—यूहन्ना ३:१६.
परमेश्वरको नयाँ संसारमा सुरक्षा
चोररहित पृथ्वीको यसो कल्पना गर्नुहोस्। न्यायाधीशहरू, वकिलहरू, प्रहरीहरू, र झ्यालखानाहरू भएको महङ्गो कानूनी व्यवस्थाको तपाईंलाई खाँचो पर्ने छैन! त्यस समृद्ध संसारमा हरेक व्यक्तिले एक अर्कालाई तथा तिनीहरूका सम्पत्तिलाई आदर गर्नेछ! के यो अविश्वनीय छ? के परमेश्वरले साँच्चै नै मानिसहरूको कामकुरामा हस्तक्षेप गरेर अधार्मिकताको अन्त गर्नु हुनेछ? बाइबल परमेश्वरको वचन हो र यसमा गरिएका भविष्यवाणीहरू भरपर्दा छन् भनी जाँच्न हामी तपाईंहरूलाई आह्वान गर्छौं। यसो गर्नु भयो भने परिवर्त्तन नजिकै छ भनी भरोसा गर्ने ठोस आधार तपाईंले भेट्टाउनु हुनेछ। धार्मिकतालाई प्रेम गर्ने सबैका लागि मुक्ति ल्याउने प्रतिज्ञा पूरा गर्न कसैले पनि परमेश्वरलाई रोक्न सक्दैन: “कुकर्मीहरूका कारण व्याकुल नहो, नता अधर्म गर्नेहरूका विरुद्धमा डाह गर्ने हो। किनकि तिनीहरू चाँड़ैनै घाँसझैं काटिनेछन्, र हरियो झारझैं ओइलाउनेछन्।” (भजनसंग्रह ३७:१, २) धेरै अगाडि लेखिएका यी शब्दहरू अब चाँडै नै पूर्ण तवरमा पूरा हुनेछ।
यतिको निराशा र अनिश्चितता ल्याउने दुर्गति र अधार्मिकतालाई परमेश्वरको राज्यले नाश गर्नेछ। चोरी गर्नै पर्ने गरी कोही पनि दरिद्र हुनेछैन। हामीलाई भविष्यवाणीमा यसरी आश्वासन दिइएको छ: “पृथ्वीका पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्न हुनेछ। त्यसको फल (प्राचीन) लबानोनको देवदारूझैं हल्लिनेछन्। र शहरकाहरूचाहिं पृथ्वीका घाँसझैं सप्रनेछन्।” (भजनसंग्रह ७२:१६) साँच्चै नै त्यस पुनस्थापित प्रमोदवनमा साँचो परमेश्वरलाई चिन्ने र उहाँको उपासना गर्ने मानिसहरूको शान्तिलाई कुनै पनि कुराले भङ्ग गर्ने छैन।—यशैया ३२:१८.
अतः यस लोभी संसारका तौर तरिकाहरूको विरोध गर्नु कस्तो इनामदायी हुनेछ! हितोपदेश ११:१९ यसो भन्छ: “धार्मिकतामा लाग्ने मानिसले जीवन पाउँछ, तर दुष्टताको पछि लाग्ने मानिस मृत्युमा पर्छ।” हो, कुकर्मीहरू नष्ट भए पछि आफ्नो ज्यान र सम्पत्तिको लागि डराउनु पर्ने कारण कसैलाई पनि हुने छैन। भजनसंग्रह ३७:११-ले हामीलाई यो प्रतिज्ञा गर्छ: “तर नम्रहरूले देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” (w93 10/15)
[पृष्ठ ५-मा भएको पेटी]
चोरीको वास्तविकतासित सामना गर्ने
घरमा—तपाईं घरैमा भए वा नभए पनि चोरले आक्रमण गर्न सक्ने हुनाले घरका ढोकाहरू ताल्चा मारेर बन्द गर्नुहोस्। विशेषज्ञहरू अलार्महरू (खतरा सूचक घण्टीहरू) अथवा एउटा कुकुर राख्ने सुझाव दिन्छन्। बिदा मनाउन कतै जान लाग्नु भएको छ भने एक भरपर्दो छिमेकीलाई खबर गर्नुहोस्। शान्त हुनुहोस् किनभने लुटेराहरूले अपर्झट काम गर्ने र हड्बडाउँदा आफ्नो योजना समेत परिवर्तन गर्न सक्छन्। तपाईं यहोवाका एक जना साक्षी हुनु हुन्छ भने आफ्नो परिचय दिनुहोस् र साक्षी दिने प्रयत्न गर्नुहोस्। शायद तपाईं मित्रैलोपना अनि सहानुभूति प्रकट गर्न पनि सफल हुन सक्नु हुन्छ। शारीरिक तवरमा हमला नगरेसम्म प्रतिरोध नगर्नुहोस्।
जनसमक्ष—कसैले पिछा गरिरहेको छ कि भनेर सजग हुनुहोस्। पेटीको बीचबाट हिंड्नुहोस्। अँध्यारो तथा सुनसान सडकहरूमा नहिंड्नुहोस्। आफ्नो पैसाको थैलो र बहुमूल्य सामानलाई सुरक्षित राख्नुहोस्। कुनै निश्चित स्थानमा जान लाग्नु भएको जस्तैगरि फटाफट हिंड्नुहोस्। महङ्गा लुगाहरू तथा भड्किलो गर-गहनाहरू नलगाउनुहोस्। आवश्यक देखिएमा बजार जाँदा एक जना साथी लिएर जाने गर्नुहोस्। आफूलाई चाहिए जति रूपैयाँ मात्रै साथमा लिनुहोस् र त्यसलाई बेग्ला-बेग्लै खल्ती वा ठाउँमा राख्नुहोस्।
गाडीमा—यदि तपाईं बस्नु हुने इलाकामा गाडी समेत मानिस को अपहरण गर्ने चलन अर्थात् “कारज्याकिङ्ग” आम छ भने बिसाएर राखेको गाडीमा नबस्नुहोस्। काममा जाने र फर्केर आउने बाटो हेरफेर गर्नुहोस्। केही हदसम्म लामै भए तापनि सुरक्षित बाटोमा गाडी चलाउनुहोस्। गाडी बिसाउन अगाडि, केही शंकास्पद कुराहरू छन् वा छैनन् हेर्नुहोस्। सुनसान ठाउँहरूमा डिक्की नखोल्नुहोस्। बहुमूल्य सामानहरू गाडीमा देखिने गरी नराख्नुहोस्। प्रष्टै देखिने सिक्री भएको ताल्चा वा चोरी हुनबाट बचाउने उपकरणले सानोतिनो चोरहरूलाई हतोत्साह पार्छ।
[पृष्ठ ६-मा भएको पेटी]
“आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले नष्ट पार्छ, र जहाँ चोरहरूले फोरेर चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीरा वा खियाले नष्ट पार्दैन, औ चोरले पनि चोर्दैन।”—मत्ती ६:१९, २०