परमेश्वरका अगमवक्ताहरूलाई दृष्टान्तको रूपमा लिनुहोस्
“हे मेरा भाइ हो, प्रभुको नाउँमा बोल्ने ती अगमवक्ताहरूका शासना र धैर्यको दृष्टान्त लेओ।” —याकूब ५:१०.
यी आखिरी दिनमा सर्वव्यापी निराशाको बावजूद यहोवाका जनहरूले आनन्द प्रतिबिम्ब गरिरहेका छन्। तिनीहरूले परमेश्वरलाई खुशी तुल्याइरहेका छन् भनी थाहा भएकोले यसो भएको हो। जन सेवकाईमा सतावट र विरोध आइपर्दा पनि यहोवाका साक्षीहरू सहन्छन् किनभने धार्मिकताको खातिर दुःख भोगिरहेका छन् भनी तिनीहरूलाई थाहा छ। येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “धन्य धार्मिकता निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूलाई मेरो खातिर निन्दा गर्नेछन्, र खेदो गर्नेछन्, र हरेक किसिमको खराबी कुरा तिमीहरूका विरूद्धमा बोल्नेछन्। तब रमाओ, र अत्यन्त खुशी होओ। किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरीनै तिमीहरूका अघिका अगमवक्ताहरूलाई खेदो गरेथे।” (मत्ती ५:१०-१२) निस्सन्देह, परमेश्वरका सेवकहरूले विश्वासको परीक्षा सामना गर्नुपर्दा त्यसलाई आनन्द ठान्छन्।—याकूब १:२, ३.
२ चेला याकूबले यसप्रकार लेखे: “हे मेरा भाइ हो, प्रभुको नाउँमा बोल्ने ती अगमवक्ताहरूका शासना र धैर्यको दृष्टान्त लेओ।” (याकूब ५:१०) यहाँ “दृष्टान्त” (हिपोडेग्मा) भनी अनुवाद गरिएको युनानी शब्दलाई राम्रो अर्थमा केही गर्न अथवा त्यसको नक्कल गर्न प्रेरित गर्ने “उदाहरण, नमूना, दृष्टान्त” भनी डब्ल्यु. एफ. आन्ट र एफ. डब्ल्यु. गिङ्गरीचले परिभाषित गरेका छन्। यूहन्ना १३:१५ मा देखाएझैं “यो एउटा उदाहण मात्र नभई निश्चित प्रतिरूप हो।” (थियोलोजिकल डिक्श्नरी अफ द न्यु टेस्टामेन्ट) त्यसोभए यहोवाका आधुनिक समयका सेवकहरूले ‘शासना सहने’ र ‘धैर्य धारण गर्ने’ सम्बन्धमा विश्वासी अगमवक्ताहरूको दृष्टान्त लिन सक्छन्। तिनीहरूको जीवनी अध्ययन गर्दा हामी अरू के के कुरा बुझ्न सक्छौं? र यसले हाम्रो प्रचार-कार्यमा कसरी मदत पुऱ्याउन सक्छ?
परमेश्वरका अगमवक्ताहरूले शासना भोगे
३ यहोवाका अगमवक्ताहरूले प्रायजसो शासना र दुर्व्यवहार सहनु पऱ्यो। उदाहरणको लागि, सा.यु.पू. नवौं शताब्दीमा बाछो उपासना गर्ने पूजाहारी अमस्याहले दुष्टतापूर्वक अगमवक्ता आमोसको विरोध गरे। राजा यारोबाम द्वितीयलाई तरवारले मार्ने र इस्राएललाई दासत्वमा लग्ने षडयन्त्र आमोसले रचे भनी अमस्याहले झूटो आरोप लगाए। अमस्याहले अनादरपूर्वक आमोसलाई यसो भने: “हे दर्शन देख्ने, यहाँबाट भागेर यहूदामा जाऊ, र त्यहीं रोटी खाएर अगमवाणी कह। तर बेतेलमा फेरि कहिल्यै अगमवाणी नकह, किनकि यो ता राजाको शरण-स्थान र शाही निवासस्थान हो।” तर यस्तो मौखिक प्रहारबाट निरुत्साहित नभइकन आमोसले यसरी जवाफ दिए: “म ता अगमवक्ता होइन, नता अगमवक्ताको छोरोनै हुँ! तर म एउटा गोठाला र किम्बुका रूखहरू छिवँल्ने मानिस हुँ! परमप्रभुले भेड़ा-बाख्राका पछि-पछि लाग्नदेखि बोलाउनुभयो, र मलाई भन्नुभयो, ‘जा, मेरो प्रजा इस्राएललाई अगमवाणी कह।’”—आमोस ७:१०-१५.
४ साहसी भएर अगमवाणी बोल्न आमोसलाई यहोवाको आत्माले बल प्रदान गऱ्यो। आमोसको यस्तो जवाफप्रति अमस्याहले कस्तो प्रतिक्रिया जनाए होलान्, कल्पना गर्नुहोस्। आमोस भन्छन्: “यसैले अब परमप्रभुको वचन सुन। तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नकह, र इस्राएलको घरानाको विरुद्धमा कुरा नसुनाऊ। यसकारण, तिम्री स्वास्नी शहरमा एउटी वेश्या हुनेछ, औ तिम्रा छोरा-छोरीहरू तरवारले काटिनेछन्, औ तिम्रो देश डोरीले नापी नापीकन बाँड़िनेछ। औ तिमी आफैचाहिं एउटा अशुद्ध देशमा मर्नेछौ, र इस्राएलचाहिं निश्चय आफ्नो देशबाट कैदमा लगिनेछ।’” ती अगमवाणीहरू पूरा भए। (आमोस ७:१६, १७) धर्मत्यागी अमस्याह कति स्तब्ध भए होलान्!
५ आज यहोवाका जनहरूको परिस्थिति पनि ठीक त्यस्तै नै छ। परमेश्वरको समाचार घोषणा गर्नेहरू भएकोले हामी शासना भोग्छौं र हाम्रो प्रचार-कार्यबारे धेरै मानिसहरूले अनादरपूर्ण कुरा गर्छन्। हो, प्रचार गर्ने अख्तियार हामीले धार्मिक पाठशालाबाट पाएका होइनौं। बरु, राज्यको सुसमाचार सुनाउन यहोवाको पवित्र आत्माले हामीलाई उत्प्रेरित गर्छ। हामी परमेश्वरको समाचारलाई न त परिवर्तन गर्छौं न फितलो नै बनाउँछौं। बरु, श्रोताहरूको प्रतिक्रियाको बावजूद हामी आज्ञाकारी भएर आमोसले जस्तै घोषणा गर्छौं।—२ कोरिन्थी २:१५-१७.
तिनीहरूले धीरज धरे
६ परमेश्वरका अगमवक्ताहरूले धीरज धरे। उदाहरणको लागि, सा.यु.पू. आठौं शताब्दीमा यहोवाको अगमवक्ताको हैसियतमा सेवा गर्ने यशैयाले धीरज देखाए। परमेश्वरले उनलाई यसो भन्नुभयो: “जा, गएर ती मानिसहरूलाई भन्, ‘तिमीहरू सुन्न ता सुन्छौ, तर बुझ्दैनौ, तिमीहरू देख्न ता देख्छौ, तर थाह पाउँदैनौ।’ यी मानिसहरूको हृदय गह्रौं पार्, र तिनीहरूका आँखा बन्द गरिदे, नत्रता तिनीहरूले आफ्ना आँखाले देख्लान्, र आफ्ना कानले सुन्लान्, र तिनीहरूले बुझ्लान्, र फेरि फर्केर तिनीहरू निको होलान्!” (यशैया ६:९, १०) मानिसहरूले ठीक त्यस्तै प्रतिक्रिया देखाए। तर के यसले गर्दा यशैयाले हार माने? मानेनन्। बरु, उनले धैर्यतापूर्वक र जोशिलो भएर यहोवाको चेताउनीमूलक समाचार घोषणा गरे। यहाँ उद्धृत परमेश्वरको वचनको हिब्रू शब्दहरूको संरचनाले अगमवक्ताको घोषणाको “लामो निरन्तरता” बुझाउँछ, जुन मानिसहरूले “बारम्बार” सुने।—गेजेनियस हिब्रू ग्रामर।
७ यशैयाले सुनाएको यहोवाको वचनप्रति मानिसहरूले जस्तो प्रतिक्रिया देखाएका थिए आज धेरैले सुसमाचारप्रति त्यस्तै प्रतिक्रिया देखाउँछन्। तर त्यस विश्वासी अगमवक्ताले जस्तै हामी “बारम्बार” राज्य समाचार सुनाउँछौं। यहोवाको इच्छा यही नै भएकोले हामी जोश र धैर्यतापूर्वक यो काम गर्छौं।
“तिनीहरूले त्यसै गरे”
८ धीरज र आज्ञाकारितामा अगमवक्ता मोशा उदाहरणीय थिए। तिनी दासत्वमा परेका इस्राएलीहरूको साथमा रहन रोजे तर छुटकाराको लागि धैर्यतापूर्वक पर्खनुपऱ्यो। त्यसपछि इस्राएललाई दासत्वबाट छुटाउन परमेश्वरले चलाउनु नभएसम्म ४० वर्षसम्म तिनी मिद्यानमा बसे। मोशा र तिनको दाइ हारून मिश्री शासकको सम्मुख पर्दा आज्ञाकारी भएर परमेश्वरले आज्ञा गर्नुभएझैं तिनीहरूले भने र गरे। वास्तवमा, “तिनीहरूले त्यसै गरे।”—प्रस्थान ७:१-६; हिब्रू ११:२४-२९.
९ इस्राएलले उजाडस्थानमा बिताउनुपरेको कठिनाइपूर्ण ४० वर्ष मोशाले धैर्यतापूर्वक सहे। यहोवाको उपासनाको निम्ति इस्राएलको पवित्रस्थान र अन्य कुराहरू बनाउँदा आज्ञाकारी भएर तिनले ईश्वरीय निर्देशन पालन गरे। तिनले पूर्णतया परमेश्वरका निर्देशनहरू पालन गरेको हुनाले हामी यस्तो लेखिएको पाउँछौं: “मोशाले त्यसरीनै गरे। परमप्रभुले दिनुभएको सब आज्ञाबमोजिम तिनले गरे।” (प्रस्थान ४०:१६) यहोवाको सङ्गठनको साथमा रहेर हाम्रो सेवकाईलाई पूरा गर्दा हामी मोशाको आज्ञाकारितालाई सम्झौं र हाम्रो ‘अगुवाई गर्नेहरूका आज्ञाकारी’ हुने प्रेरित पावलको सल्लाह पालन गरौं।—हिब्रू १३:१७ न्यु व.
तिनीहरूको मनोवृत्ति सकारात्मक थियो
१० न्यायको समाचार र साथै इस्राएलमा छरिएका विश्वासी जनहरूप्रति परमेश्वरको मायालु चासो दर्साउने अगमवाणीहरू सुनाउन अगमवक्ताहरूले सकारात्मक मनोवृत्ति राख्नु आवश्यक थियो। उनान्साठी वर्षभन्दा बढी समयसम्म अगमवक्ताको हैसियतमा सेवा गर्ने होशेको सन्दर्भमा यो सत्य साबित भयो। सकारात्मक ढङ्गमा तिनले यहोवाका समाचारहरू सुनाइ नै रहे र आफ्नो भविष्यसूचक पुस्तक यी शब्दहरूले टुङ्ग्याए: “जो ज्ञानी छ त्यसले यी कुराहरू बुझोस्। जो बुद्धिमान छ त्यसले यी कुराहरू जानोस्। किनभने परमप्रभुको मार्ग ठीक छन्। धर्मी जन त्यसैमा हिंड़नेछन्, तर अपराधीहरू तिनमा ठक्कर खाएर लोट्नेछन्।” (होशे १४:९) यहोवाले साक्षी दिन अनुमति दिनुभएसम्म हामी सकारात्मक मनोवृत्ति राखौं र विवेकी भएर परमेश्वरको अनुग्रह बुद्धिमानीपूर्वक स्वीकार गर्नेहरूतर्फ खोजी गरौं।
११ हामीले निरन्तर ‘योग्य’ व्यक्तिहरूलाई खोजिरहनुपर्छ र सकारात्मक दृष्टिकोण राख्नुपर्छ। (मत्ती १०:११) उदाहरणको लागि, हाम्रो साँचो हरायो भने हामी जहाँ जहाँ गएका थियौं त्यहाँ पहिले खोज्छौं र निकै पटक खोजिसकेपछि मात्र हामी त्यो भेट्टाउन सक्छौं। भेडाखालका व्यक्तिहरू खोज्न पनि हामी त्यसरी नै लागीरहौं। निकै पटक काम गरिसकेको इलाकामा भेडाखालका मानिसहरूले सुसमाचार सुन्दा हामी कति आनन्दित हुन्छौं! हाम्रो जन सेवकाई पहिले प्रतिबन्धित ठाउँहरूमा परमेश्वरले हाम्रो कार्यलाई आशिष् दिइरहनु भएकोमा हामी कति रमाउँछौं!—गलाती ६:१०.
प्रोत्साहनका स्रोतहरू
१२ यहोवाका अगमवक्ताहरूका वचनहरू सेवकाईमा हाम्रो लागि ठूलो प्रोत्साहन साबित हुन सक्छ। उदाहरणको लागि, योएलको अगमवाणीलाई ध्यान दिनुहोस्। सा.यु.पू. नवौं शताब्दीका धर्मत्यागी इस्राएल र अन्य व्यक्तिहरूलाई भनिएको न्यायको समाचार यसमा समावेश छ। यद्यपि, यो अगमवाणी गर्न पनि योएल प्रेरित भएका थिए: “म [यहोवा] मेरो आत्मा सबैमाथि खन्याउनेछु, र तिमीहरूका छोरा-छोरीहरूले भविष्यवाणी कहनेछन्, तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका तन्हेरीहरूले दर्शन देख्नेछन्। औ ती दिनमा तिमीहरूका दासीहरूमाथि पनि म आफ्नो आत्मा खन्याउनेछु।” (योएल २:२८, २९) सा.यु. ३३ देखि यता येशूका अनुयायीहरूमा यो सत्य साबित भयो। आज २० औं शताब्दीमा यो भविष्यवाणीको महान पूर्ति हामी देख्छौं। आज “भविष्यवाणी गर्ने” अथवा यहोवाको समाचार घोषणा गर्ने लाखौं व्यक्तिहरू छन्—तीमध्ये ६,००,००० भन्दा बढी व्यक्तिहरू पूर्ण-समय अग्रगामी सेवामा लागेका छन्।
१३ थुप्रै राज्य प्रचारकहरू जवान छन्। वृद्ध व्यक्तिहरूसित बाइबलबारे कुरा गर्न तिनीहरूलाई सधैं सजिलो हुँदैन। यहोवाका जवान सेवकहरूलाई कहिलेकाहीं यसो भनिन्छ: ‘प्रचार गरेर तिमीले समय बर्बाद गरिरहेका छौ’, ‘तिमी त अर्कै पेशामा पो लाग्नुपर्ने।’ त्यस व्यक्तिलाई त्यस्तो लागेकोमा दुःख लाग्यो भनी यहोवाका जवान साक्षीहरूले कौशलतापूर्वक जवाफ दिन सक्छन्। सुसमाचारको जवान प्रचारकले यसो भन्नु मदतकारी पाएका छन्: “तपाईंजस्तो वृद्ध मानिसहरूसित कुरा गरेर मैले निकै लाभ उठाउन सक्छु जस्तो मलाई लाग्छ अनि मलाई रमाइलो पनि लाग्छ।” निस्सन्देह, सुसमाचार प्रचार गर्नु समयको बर्बादी अवश्य होइन। जीवन खतरामा छ। योएलद्वारा यहोवाले अझै यो घोषणा गर्नुभयो: “परमप्रभुको नाउँ लिने जोसुकै पनि बचाइनेछ।”—योएल २:३२.
१४ राज्य प्रचार-कार्यमा आमाबाबुसित जाने छोराछोरीहरूले व्यक्तिगत लक्ष्यहरू राख्न आमाबाबुले मदत दिएकोमा मूल्याङ्कन गर्छन्। बाइबलमा आधारित आशा बुझाउन शास्त्रपद पढ्ने र जिज्ञासुहरूलाई उपयुक्त साहित्य दिएर ती जवानहरूले बिस्तारै बिस्तारै उन्नति गर्छन्। तिनीहरूको आफ्नै उन्नति र साथै यहोवाको आशिष् देख्दा सुसमाचार प्रचार गर्न जवान राज्य प्रचारकहरू असाध्यै आनन्दित हुन्छन्।—भजनसंग्रह ११०:३; १४८:१२, १३.
जोश र पर्खने मनोवृत्ति
१५ जोश र पर्खने मनोवृत्ति देखाउन परमेश्वरका अगमवक्ताहरू उदाहरणीय थिए। यी गुणहरू आज हाम्रो सेवकाईमा पनि चाहिन्छ। हामीले परमेश्वरको वचनबाट प्रथम पटक सत्य सुन्दा सम्भवतः साहसी भएर अरूलाई बताउन जोशिएका थियौं होला। तर अब सत्य सिकेको धेरै समय बितिसकेको र हाम्रो इलाकामा निकै पटक साक्षी पनि दिइसकेका हौंला। अहिले राज्यको समाचार थोरैले मात्र स्वीकारी रहेका होलान्। के यसले हाम्रो जोश कम गरेको छ? यदि छ भने, अगमवक्ता इजकिएललाई ध्यान दिनुहोस्, जसको नाउँको अर्थ हो, “परमेश्वरले बलियो पार्नुहुन्छ।” पुरातन इस्राएलमा इजकिएलले कठोर हृदय भएका मानिसहरू सामना गर्नु परे तापनि परमेश्वरले उनलाई बलियो पार्नुभयो र लाक्षणिक तवरमा उनको निधार दर्शन ढुङ्गाभन्दा कडा पारिदिनुभयो। यसप्रकार, मानिसहरूले सुने या नसुने तापनि निकै वर्षसम्म आफ्नो सेवकाईमा इजकिएल लागिरहन सके। हामीले पनि त्यस्तै गर्न सक्छौं भनी उनको उदाहरणले देखाउँछ र त्यसले प्रचार-कार्यमा हाम्रो जोश पुनः जगाउन मदत दिन सक्छ।—इजकिएल ३:८, ९; २ तिमोथी ४:५.
१६ धीरज प्रदर्शन गर्ने अर्का उल्लेखनीय व्यक्ति सा.यु.पू. आठौं शताब्दीका अगमवक्ता मीका थिए। उनले लेखे: “म चाहिं ता परमप्रभुतिरै हेर्नेछु। मलाई बचाउनुहुने परमेश्वरको बाटो म हेर्नेछु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ।” (मीका ७:७) मीकाको आत्म-विश्वास उनको दृढ विश्वासमा आधारित थियो। यहोवाले भविष्यवाणी गर्नुभएका कुराहरू निश्चय नै पूरा गर्नुहुनेछ भनी यशैयालाई झैं मीकालाई पनि थाहा थियो। त्यो हामीलाई पनि थाहा छ। (यशैया ५५:११) यसकारण परमेश्वरका प्रतिज्ञाहरू पूरा हुन पर्खने मनोवृत्ति खेती गरौं। राज्य समाचारप्रति निकै कम चासो देखाउने इलाकाहरूमा पनि जोशका साथ सुसमाचारको प्रचार गरी नै रहौं।—तितस २:१४; याकूब ५:७-१०.
अहिले धीरज धारण गर्ने
१७ यहोवाका केही अगमवक्ताहरू आफूलाई दिइएको काममा धीरजी भएर लागिरहे तर ती भविष्यवाणीहरूको पूर्ति भने देखेनन्। यद्यपि, दुर्व्यवहार भोग्दा भोग्दै पनि तिनीहरूले देखाएको धीरजले हामीले आफ्नो सेवकाई पूरा गर्न सक्छौं भनी बुझ्न मदत दिन्छ। बीसौं शताब्दीका प्रारम्भिक विश्वासी अभिषिक्त जनहरूको उदाहरणबाट पनि हामी लाभ उठाउन सक्छौं। हुनत तिनीहरूले प्रत्याशा गरे जति छिटो स्वर्गीय आशा प्राप्त गरेनन् र परमेश्वरको इच्छा पूरा हुन ढिलो जस्तो देखिए तापनि आफ्नो जोशलाई कम हुन दिएनन्।
१८ वर्षौंसम्म, यी थुप्रै मसीहीहरूले नियमित तवरमा द वाचटावर र यसको सहायक पत्रिका, अवेक! (सुरुमा द गोल्डन एज र पछि कन्सोलेशन नामाङ्कित) वितरण गरे। तिनीहरू जोशिला भएर यी मूल्यवान पत्रिकाहरू सडक र घर-घरमा मानिसहरूलाई उपलब्ध गराए जसलाई आज हामी पत्रिका मार्ग भन्छौं। स्वर्गीय आशा भएकी एउटी वृद्ध बहिनीले आफ्नो पार्थिव सेवा समाप्त गर्दा सडकमा तिनको अनुपस्थिति बटुवाहरूले तुरुन्तै महसुस गरिहाले। तिनले आफ्नो विश्वासी सेवकाईको दौडान कति राम्रो साक्षी दिइन् भन्ने कुरा अन्य व्यक्तिहरूले मूल्याङ्कनसहित गरेको टिप्पणीहरूबाट प्रष्ट हुन्छ। राज्य प्रचारकको हैसियतमा सेवकाईमा भेट्नुहुने व्यक्तिहरूलाई के तपाईंले नियमित तवरमा प्रहरीधरहरा र अवेक! दिइरहनुभएको छ?
१९ यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यहरूका हैसियतमा सेवा गर्ने भाइहरूको धीरज र विश्वासी सेवालाई पनि याद गर्नुहोस्। तिनीहरूमध्ये धेरैजना आफ्नो जीवनको नवौं तथा दशौं दशकमा पुगिसकेका छन् तर आफूलाई दिइएको जिम्मेवारीलाई तिनीहरूले जोशिलो भई पूरा गर्दै राज्य प्रचार गरिरहेका छन्। (हिब्रू १३:७) स्वर्गीय आशा भएका अन्य वृद्धहरू र “अरू भेडा” का उमेर ढल्किसकेका व्यक्तिहरूबारे के भन्न सकिन्छ? (यूहन्ना १०:१६) तिनीहरूका काम र परमेश्वरको नाउँप्रति तिनीहरूले देखाएको प्रेम बिर्सन परमेश्वर अधर्मी हुनुहुन्न भनी तिनीहरू ढुक्क हुन सक्छन्। जवान सङ्गी विश्वासीहरूसित मिलेर यहोवाका वृद्ध साक्षीहरूले विश्वास प्रदर्शन गर्दै परमेश्वरको सेवामा धीरज देखाएर यथाशक्दो गरिरहन सकून्! (हिब्रू ६:१०-१२) तब पुरातन अगमवक्ताहरू जस्तै पुनरुत्थान भएर अथवा आउँदै गरेको “महा संकष्ट” पार गरेर अनन्त जीवनको प्रशस्त आशिष्हरू तिनीहरूले पाउन सक्नेछन्।—मत्ती २४:२१.
२० परमेश्वरका अगमवक्ताहरूले हाम्रो लागि कति राम्रो दृष्टान्त छाडेका छन्! तिनीहरूले यहोवाको नाउँबारे बोल्ने अवसर पाए किनभने तिनीहरूले शासना भोगे, धीरज धरे र अन्य ईश्वरीय गुणहरू प्रकट गरे। उहाँका आधुनिक समयका साक्षीहरूको हैसियतमा हामी तिनीहरू जस्तै होऔं र अगमवक्ता हबकूकजस्तै दृढ निश्चयी बनौं। तिनले यस्तो घोषण गरे: “म मेरो पहरामानै उभिरहनेछु, औ किल्लामा रहनेछु, र म हेर्दै रहन्छु कि उहाँ [परमेश्वर] मलाई के भन्नुहुन्छ।” (हबकूक २:१) हाम्रो महान सृष्टिकर्त्ता, यहोवाको प्रख्यात नाउँ जनसमक्ष घोषणा गर्ने सम्बन्धमा धैर्य र आनन्द प्रदर्शन गर्न त्यसरी नै कटिबद्ध होऔं!—नहेम्याह ८:१०; रोमी १०:१०. (w94 9/15)
के तपाईंले यी बुँदाहरू बुझ्नुभयो?
◻ अगमवक्ता आमोसले कस्तो साहसी उदाहरण बसाले?
◻ कुन कुन ढङ्गमा अगमवक्ता मोशा उदाहरणीय थिए?
◻ यहोवाका आधुनिक समयका साक्षीहरूले आमोस र यशैयाको जस्तै व्यवहार कसरी गर्न सक्छन्?
◻ होशे र योएलको आचरणबाट मसीही प्रचारकहरूले के सिक्न सक्छन्?
◻ इजकिएल र मीकाको उदाहरणहरूबाट हामीले कसरी लाभ उठाउन सक्छौं?
[अध्ययनका लागि प्रश्नहरू]
१. सतावट दिईंदा पनि आनन्दित हुन यहोवाका सेवकहरूलाई कुन कुराले मदत गर्छ?
२. याकूब ५:१० अनुसार धीरज धर्न हामीलाई कुन कुराले मदत दिन सक्छ?
३, ४. अमस्याहको विरोधप्रति अगमवक्ता आमोसले कस्तो प्रतिक्रिया देखाए?
५. यहोवाका आधुनिक समयका सेवकहरू र अगमवक्ता आमोसको परिस्थितिबीच कस्तो समानान्तर पाउन सकिन्छ?
६, ७. (क) यशैयाको अगमवाणीलाई कुन कुराले चित्रित गऱ्यो? (ख) यहोवाका आधुनिक समयका सेवकहरूले यशैयाले जस्तै व्यवहार कसरी गर्छन्?
८, ९. कुन कुन ढङ्गमा यहोवाको अगमवक्ता मोशा एउटा राम्रो उदाहरण हो?
१०, ११. (क) अगमवक्ता होशेको मनोवृत्ति सकारात्मक थियो भनी कुन कुराले सङ्केत गर्छ? (ख) हाम्रो इलाकामा मानिसहरूसित भेट गर्दा हामी सकारात्मक मनोवृत्ति कसरी कायम राख्न सक्छौं?
१२. योएलको कुन अगमवाणी आज २० औं शताब्दीमा पूरा भइरहेको छ र कसरी?
१३, १४. क्षेत्र सेवकाईमा आनन्दित हुन जवान मसीहीहरूलाई कुन कुराले मदत दिन सक्छ?
१५. राज्य प्रचार-कार्यमा हाम्रो जोश जगाउन इजकिएलको उदाहरणले कसरी मदत पुऱ्याउन सक्छ?
१६. मीकाको कस्तो मनोवृत्ति हामीले खेती गर्नुपर्छ?
१७, १८. धीरज धर्न हामीलाई कस्ता पुरातन तथा आधुनिक उदाहरणहरूले मदत दिन सक्छ?
१९. हिब्रू ६:१०-१२ ले हामीलाई कस्तो प्रोत्साहन दिन्छ?
२०. (क) अगमवक्ताहरूको “दृष्टान्त” बाट तपाईंले के सिक्नुभयो? (ख) अगमवक्ताहरूको जस्तो धीरजले हामीलाई कसरी मदत दिन सक्छ?
[पृष्ठ २५-मा भएको चित्र]
अमस्याहको कठोर विरोधको बावजूद साहसी भएर भविष्यवाणी गर्न आमोसलाई यहोवाको आत्माले शक्ति प्रदान गऱ्यो
[पृष्ठ २७-मा भएको चित्र]
यहोवाको सेवामा धीरज धरेर विश्वासी अभिषिक्त जनहरूले राम्रो उदाहरण बसालेका छन्