प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w94 १०/१ pp. ४-७
  • मृतकहरू कस्तो अवस्थामा छन्‌?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृतकहरू कस्तो अवस्थामा छन्‌?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मानवजातिको लागि मृत्यु तोकिएको थिएन
  • कस्तो प्रतिज्ञा?
  • आत्माको दुनियाँबाट कुराकानी
  • यहोवा, सत्यता र प्रेमको परमेश्‍वर
  • हाम्रा प्रिय मृतजनहरूलाई के हुन्छ?
    ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ
  • मृत्युपछि जीवन—कसरी, कहाँ, कहिले?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • के तपाईंसित अमर आत्मा छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • मरिसकेकाहरूको लागि कस्तो आशा छ?
    परमेश्‍वरबाट आएको सुसमाचार!
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
w94 १०/१ pp. ४-७

मृतकहरू कस्तो अवस्थामा छन्‌?

मृत्युपश्‍चात्‌ मानिसको हंस वा आत्मा जीवितै रहन्छ भन्‍ने अनुमानमा मृतकहरूप्रतिको डर आधारित छ। बाइबलले प्रष्टै यो विचारधारा गलत हो भन्छ भने, मृतकले तपाईंलाई हानि गर्न सक्छ या सक्दैन त्यसको टुङ्‌गो त लागि नै हाल्छ। त्यसो भए बाइबल के भन्छ?

मृतकको अवस्थाबारे परमेश्‍वरको वचनले यसो भन्छ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरू बिलकुलै बिर्सिजानेछन्‌। तिनीहरूका निम्ति प्रेम, घृणा, अभिलाषा सबै खतम भएका हुन्छन्‌। संसारमा गरिएको काममा तिनीहरूको फेरि कहिल्यै भाग हुनेछैन।”—उपदेशक ९:५, ६.

यस कुरालाई विचार गर्दा के मृतकले तपाईंलाई मदत या हानि पुऱ्‍याउन सक्छ? शास्त्रले भन्छ, सक्दैन। मृतकहरू अचेत र मौन हुन्छन्‌। जीवितहरूसित तिनीहरूले कुराकानी गर्न सक्दैनन्‌ नता प्रेम या घृणाजस्ता भावना प्रकट गर्न या कुनै प्रकारको कामै गर्न सक्छन्‌। तपाईं तिनीहरूसित डराउनु पर्ने कुनै आवश्‍यकता छैन।

कसैले भन्‍न सक्छ, ‘हो, भौतिक शरीरको मृत्युबारे त्यसो भन्‍न सकिन्छ तर शारीरिक तवरमा मर्नुनै जीवनको अन्त्य होइन; यो त शरीरबाट आत्मा मुक्‍त हुनु मात्र हो। त्यही आत्माले जीवितहरूलाई मदत या हानि पुऱ्‍याउन सक्छ।’ पृथ्वीमा रहेका लाखौं मानिसहरू यस्तै महसुस गर्छन्‌।

उदाहरणको लागि, माडागास्करमा जीवनलाई केवल चोला फेरेको भनी मानिन्छ। अतः अन्त्येष्ठि गर्नु र समाधिस्थलबाट मुर्दा निकाल्नु जस्ता रीतिथितिलाई त्यहाँ विवाहलाईभन्दा बढी महत्त्व दिइन्छ। मानिसहरू पुर्खाहरूबाट आएको र मृत्युपश्‍चात्‌ तिनीहरूकहाँ नै फर्किजान्छ भन्‍ने विश्‍वास गरिन्छ। त्यसैकारण जीवित व्यक्‍तिहरूको घर काठ, काँचो इँटजस्ता चाँडै भत्केर जाने साधनहरूबाट बनाइएको हुन्छ भने चिहान अर्थात्‌ मृतकहरूको “घर” चाहिं ठाँटको र टिक्ने गरी बनाइन्छ। समाधिस्थलबाट मुर्दा निकाल्दा आशिष्‌ पाइन्छ भनी परिवार र मित्रहरू विश्‍वास गर्छन्‌। साथै मृतक नातेदारको हड्डी छोएमा गर्भधारण गर्न सकिन्छ भन्‍ने विश्‍वास स्त्रीहरूको छ। तर यस विषयमा फेरि परमेश्‍वरको वचनले के भन्छ?

मानवजातिको लागि मृत्यु तोकिएको थिएन

चाखलाग्दो कुरा, यहोवा परमेश्‍वरले मानिसलाई बाँच्नको लागि सृष्टि गर्नु भएको थियो र अनाज्ञाकारिताको नतिजा मृत्यु हुनेछ भन्‍नुभएको थियो। (उत्पत्ति २:१७) तर दुःखको कुरा, प्रथम पुरुष र स्त्रीले पाप गरे र फलतः सारा मानवजातिमा यो पाप मृत्युदायी पैतृक सम्पत्तिको रूपमा व्याप्त भयो। (रोमी ५:१२) अतः प्रथम मानव दम्पती अनाज्ञाकारी भएदेखि मृत्यु, जीवनको वास्तविकता मात्र नभई दुःखदायी वास्तविकता भएको छ भनी तपाईं भन्‍न सक्नुहुन्छ। हामी बाँच्नको लागि सृजिएका थियौं। त्यसैकारण मृत्युलाई सबै कुराको अन्त्यको रूपमा सामना गर्न किन लाखौं मानिसहरूलाई कठिन पर्छ भनी केही हदसम्म बुझ्न सकिन्छ।

बाइबलको विवरणअनुसार, अनाज्ञाकारी भयो भने मृत्यु हुन्छ भनी परमेश्‍वरले दिनु भएको चेताउनीको विपरीत कुरा बताएर शैतानले प्रथम मानव दम्पतीलाई छक्काउन खोजेको थियो। (उत्पत्ति ३:४) तर मानिसहरू परमेश्‍वरले भन्‍नुभएझैं मर्छन्‌ भन्‍ने कुरा समय बित्दै जाँदा प्रष्ट देखियो। तसर्थ शताब्दिऔंदेखि शैतानले फेरि अर्को झूट प्रस्तुत गऱ्‍यो। त्यो हो, मानिसको शरीर मरेपछि पनि आत्माको केही भाग बाँचि नै रहन्छ। यस्तो छल रच्नु शैतानलाई ठिक्क सुहाउँछ, जसलाई येशूले “झूटको पिता” भनेर सम्बोधन गर्नुभयो। (यूहन्‍ना ८:४४) तर यसको विपरीत अर्कोतिर हेर्ने हो भने, परमेश्‍वरले मृत्युको सम्बन्धमा प्रोत्साहनदायी प्रतिज्ञा गर्नुभएको छ।

कस्तो प्रतिज्ञा?

त्यो प्रतिज्ञा हो, धेरैको पुनरुत्थान हुनेछ। “पुनरुत्थान” भनी अनुवाद गरिएको युनानी शब्द अनास्तासिस्‌ हो। यसको शाब्दिक अर्थ “फेरि उठ्‌नु” हो। यस बाहेक यसले मृत्युबाट उठ्‌नुलाई सङ्‌केत गर्छ। हो, मानिस मर्दा मृत्युको कोखमा सुत्छ तर परमेश्‍वरले उसलाई फेरि बिउँझाउन सक्नु हुन्छ। परमेश्‍वरको पुत्र, येशू ख्रीष्टले भन्‍नुभयो, “बेला आउँछ, जब चिहानमा हुनेहरूले उसको सोर सुन्‍नेछन्‌ . . . र निस्किआउनेछन्‌।” (यूहन्‍ना ५:२८, २९) प्रेरित पावलले पनि “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ भन्‍ने आशा परमेश्‍वरतर्फ राखेका” थिए। (प्रेरित २४:१५) मसीहीपूर्व परमेश्‍वरको विश्‍वासी सेवक अय्यूबले पनि पुनरुत्थानमाथि आफ्नो आशा यसरी दर्शाए: “तर मेरो सेवा जतिसुकै लामो भए तापनि म आशा मार्नेथिइनँ? मेरो उद्धार आउनेछ भनी म प्रतीक्षा गर्नेथिएँ। तपाईंले [परमेश्‍वरले] मलाई आज्ञा गर्नुहुनेथियो, र म जवाफ दिनेथिएँ।”—अय्यूब १४:१४, १५.

मृतकहरू आत्मिक रूपमा जीवितै छन्‌ भन्‍ने विचारधारालाई के पुनरुत्थानको स्पष्ट प्रतिज्ञाले झूटो साबित गर्दैन र? यदि मृतकहरू जीवितै र स्वर्ग वा अन्य कुनै आत्मिक दुनियाँमा हुने भए पुनरुत्थानको उद्देश्‍य के नै हुनेछ र? त्यस्तो अवस्थामा के तिनीहरूले आफ्नो इनाम पाइसकेका अथवा तिनीहरू आफ्नो गन्तव्यस्थानमा पुगिसकेका हुँदैनन्‌ र? हाम्रो मायालु पिता यहोवाले नयाँ संसार अर्थात्‌ प्रमोदवनमा पुनरुत्थानको महान तरिकाद्वारा नबिउँताउनु भएसम्म मृतकहरू वास्तवमा मृत, अचेत र सुतिरहेकै अवस्थामा हुन्छन्‌ भन्‍ने कुरा परमेश्‍वरको वचन अध्ययन गर्दा थाहा हुन्छ। तर मृत्यु भनेको शरीर र आत्मा छुट्टिनु होइन। यदि आत्मा बाँचिरहँदैन भने आत्माको दुनियाँसित गरिएका कुराकानीहरूबारे के भन्‍न सकिन्छ त?

आत्माको दुनियाँबाट कुराकानी

आत्माको दुनियाँबाट कुराकानी गरिएका अनगिन्ती रिपोर्टहरू प्राप्त भएका छन्‌। तिनीहरूको उत्पत्ति कसरी भयो? बाइबलले हामीलाई यसरी सतर्क गराउँछ: “शैतानले ज्योतिर्मय स्वर्गदूतको भेष धारण गर्छ। त्यसकारण त्यसका दूतहरूका लागि असल कर्त्ताको भेष धारण गर्नु कुनै ठूलो कुरा होइन।” (२ कोरिन्थी ११:१४, १५, द न्यु इङ्‌गलिश बाइबल) हो, मानिसहरूलाई सजिलै धोकामा पार्न र भर्माउन प्रेतहरूले (विद्रोही स्वर्गदूतहरू) जीवितहरूसित कुराकानी गरेका छन्‌ र कहिलेकाहीं फाइदा पुऱ्‍याएजस्तो पनि गर्छन्‌।

अरूलाई भ्रममा पार्ने यस्तो अभियानको विषयमा प्रेरित पावल अझ यस्तो चेताउनी दिन्छन्‌: “पछि आउने समयमा बहकाउने आत्मा र भूतात्माहरूका सिद्धान्तहरूतिर मन लाएर कोही कोही विश्‍वासबाट पतित हुनेछन्‌।” (१ तिमोथी ४:१) अतः मृत व्यक्‍तिलाई श्रेय दिइने जुनसुकै प्रतिक्रिया सम्भवतः “असल कर्त्ताको” भेष धारण गर्ने प्रेतहरूबाट आएका हुन्छन्‌। तिनीहरूले त्यस्तो धार्मिक झूटलाई फैलाएर मानिसहरूलाई अन्धविश्‍वासको दास बनाउँछन्‌ र परमेश्‍वरको वचनको सच्चाइदेखि टाढा लैजान्छन्‌।

मृतकहरूले केही बोल्न, केही गर्न वा महसुस गर्न सक्दैनन्‌ भन्‍ने तथ्यलाई पुष्टि गर्दै भजनसंग्रह १४६:३, ४ यसो भन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्‌, मानिसहरूमाथि पनि नगर्‌, तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास [आत्मा, न्युव] निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।” त्यो ‘निस्किहाल्ने’ आत्मा के हो? त्यो श्‍वास-प्रश्‍वास प्रक्रियाद्वारा संचालन हुने मानिसको जीवन-शक्‍ति हो। त्यसकारण श्‍वास फेर्न रोक्ने बित्तिकै सारा ज्ञानेन्द्रियहरूले काम गर्न छोड्‌छ। ऊ पूर्णतः अचेत हुन्छ। अतः जीवितहरूमाथि अधिकार जमाउनु उसको लागि सम्भव छैन।

त्यसैकारण बाइबलले मानिसको र जनावरको मृत्युलाई समान रूपले हेर्छ। मृत्युपश्‍चात्‌ दुवै अचेत हुन्छन्‌ र जुन माटोबाट तिनीहरू बनेका थिए त्यसैमा फर्किन्छन्‌ भनी त्यसले बताउँछ। उपदेशक ३:१९, २० यसो भन्छ: “किनभने मानिस मौकावादी हुन्छ औ पशु पनि मौकावादी हुन्छ, औ ती दुवैको एउटै दुर्दशा हुन्छ—अर्थात्‌ ती दुवैमाथि मृत्यु आइपर्दछ। ती दुवैको एउटै सास छ। मानिसहरूको पशुहरूमाथि कुनै प्राधान्यता हुँदैन। किनभने सबै माटैले बनिएका हुन्‌, औ सबै माटैमा मिल्नेछन्‌।”

मृतकहरूसित कुराकानी गर्न सकिन्छ र तिनीहरूले असर गर्न सक्छन्‌ भनेर प्रेतहरूले मानिसहरूलाई छल्ने कोशिश गर्छन्‌ भन्‍ने कुरा यहोवा परमेश्‍वरलाई थाहा थियो। त्यसैले आफ्ना जन, पुरातन इस्राएलीहरूलाई यस्तो चेताउनी दिनु भयो: “भावी बताउने, जोखाना हेर्ने, जादूगरी गर्ने, टुनामुना गर्ने, मसान जगाउने, अथवा बिजुवा, झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌। यस्तो काम गर्ने व्यक्‍ति परमप्रभुको अगि घृणित हो।”—व्यवस्था १८:१०-१२.

प्रष्ट छ, मृतकहरूले हानि गर्न सक्छन्‌ भन्‍ने विचार परमेश्‍वरबाट आएको होइन। उहाँ सत्यको परमेश्‍वर हुनुहुन्छ। (भजनसंग्रह ३१:५; यूहन्‍ना १७:१७) “आत्मा र सत्यतामा” उहाँको उपासना गर्ने सत्य प्रेमीहरूका लागि उहाँले अद्‌भुत भविष्य साँचेर राख्नु भएको छ।—यूहन्‍ना ४:२३, २४.

यहोवा, सत्यता र प्रेमको परमेश्‍वर

मरेर गाडिएका र जलाइएका लाखौं मानिसहरूलाई नयाँ धार्मिक संसारमा अनन्त जीवनको प्रत्यशासहित पुनरुत्थान गर्नु हुनेछ भनी “कहिल्यै झूट नबोल्नुहुने” हाम्रो मायालु स्वर्गीय पिताले वचन दिनु भएको छ। (तितस १:१, २; यूहन्‍ना ५:२८) आफूले सृर्जनु भएका मानिसहरूको भलो चाहनु हुन्छ र मृत्यु, शोक तथा पीडालाई अन्त गर्ने यहोवाको ठूलो इच्छा यस्तो मायालु प्रतिज्ञाबाट प्रकट हुन्छ। अतः मृतकसित डराउनु अथवा तिनीहरू र तिनीहरूका भविष्यप्रति ज्यादै चिन्तित हुनु आवश्‍यक छैन। (यशैया २५:८, ९; प्रकाश २१:३, ४) हाम्रो मायालु अनि न्यायी परमेश्‍वरले पीडादायी मृत्युलाई निर्मूल पार्नु हुँदै तिनीहरूलाई पुनरुत्थान गर्न सक्नु हुन्छ र गर्नु हुनेछ।

प्रतिज्ञा गरिएको त्यस नयाँ धार्मिक संसारमा कस्तो अवस्था हुनेछ, त्यसको विवरणले परमेश्‍वरको वचन, बाइबल भरपूर छ। (भजनसंग्रह ३७:२९; २ पत्रुस ३:१३) त्यो समय शान्ति र आनन्द अनि सारा सह-मानवहरूबीच प्रेमको समय हुनेछ। (भजनसंग्रह ७२:७; यशैया ९:७; ११:६-९; मीका ४:३, ४) सबैले सुरक्षित, राम्रा घरहरूका साथै रमाइलो काम पाउनेछन्‌। (यशैया ६५:२१-२३) सबैको निम्ति प्रशस्त असल खानेकुराहरू हुनेछन्‌। (भजनसंग्रह ६७:६; ७२:१६) सबैले सुस्वास्थ्यको आनन्द उठाउनेछन्‌। (यशैया ३३:२४; ३५:५, ६) प्रेरितहरू र अन्य थप जनहरूले स्वर्गमा येशूसित राज्य गर्नेछन्‌ भनी बताइएको भए तापनि मृत्युपश्‍चात्‌ मृतकहरूको हंसहरूले स्वर्गमा आशिष्‌ पाउनेछन्‌ भनेर बाइबलले कतै उल्लेख गरेको छैन। (प्रकाश ५:९, १०; २०:६) यदि अहिलेसम्म मरिसकेका करोडौं मानिसहरू मृत्युपश्‍चात्‌ बाँचि नै रहने हो भने त्यो कुरा अनौठो हुनेछ।

तर मृतकहरू जीवित हंसको रूपमा जीवित छैनन्‌ भन्‍ने बाइबलको प्रष्ट ज्ञान हामीले थाहा पायौं भने हामीलाई त्यो कुरा अनौठो लाग्दैन। तिनीहरूले तपाईंलाई हानि पुऱ्‍याउन सक्दैनन्‌। परमेश्‍वरले तोक्नुभएको समय नआउञ्जेल स्मरणार्थ चिहानमा रहेकाहरू अचेत, अचल अवस्थामा रहन्छन्‌। (उपदेशक ९:१०; यूहन्‍ना ११:११-१४, ३८-४४) हाम्रो आशा र आकाङ्‌क्षा परमेश्‍वरमाथि निहित छ। अतः “उहाँले दिनुभएको मुक्‍तिमा हामी खुशी होऔं र रमाऔं।”—यशैया २५:९. (w94 10/1)

[पृष्ठ ७-मा भएको चित्र]

पुनरुत्थान नहोऊञ्जेल मृतकहरू पूर्णतः निस्क्रिय रहन्छन्‌ भनेर परमेश्‍वरको वचनले प्रष्ट देखाउँछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने