यहूदी धर्मलाई पुनः परिभाषित गर्ने माइमोनायडेस
“मोजेसदेखि मोजेससम्म मोजेसजस्तो अरू कोही थिएन।” यो रहस्यमय आहान १२-औं शताब्दीको यहूदी दार्शनिक, सङ्कलक र ताल्मुद तथा शास्त्रका टिप्पणीकार मोजेस बेन माइमोन उर्फ माइमोनायडेस रमबमकोa प्रशंसामा गरिने उक्त अभिव्यक्तिसित थुप्रै यहूदीहरू परिचित छन्। आज माइमोनायडेसबारे धेरै मानिसहरू अज्ञान होलान्। तापनि उनका लेखहरूले समकालीन यहूदी, मुसलमान र गिर्जाहरूको सोचाइमा गहिरो प्रभाव पारेको थियो। उनले यहूदी धर्मको अर्थलाई मूलतः पुनः परिभाषित गरे। तर माइमोनायडेस को थिए? उनलाई थुप्रै यहूदीहरूले “दोस्रो मोजेस” किन ठान्छन्?
माइमोनायडेस को थिए?
माइमोनायडेसको जन्म सा.यु. ११३५-मा स्पेनको कोरोडोबा भन्ने ठाउँमा भएको थियो। आफ्नो धेरै जसो प्राथमिक धार्मिक प्रशिक्षण उनले आफ्नो पिता माइमोनबाट पाए जो स्वयं एउटा प्रख्यात रब्बी घरानाका सुप्रसिद्ध विद्वान थिए। अलमोहादहरूले कोरोडोबालाई सा.यु. ११४८-मा कब्जा गर्दा यहूदीहरू या त त्यहाँबाट भाग्न अथवा इस्लाम धर्म स्वीकार्न बाध्य भए। फलस्वरूप, माइमोनायडेस परिवारलाई पनि ठाउँ-ठाउँ भौंतारिंदै हिंड्नु पऱ्यो। तिनीहरू मोरोक्कोको फेज नामक ठाउँमा ११६०-देखि बसोबास गर्न थाले। त्यहाँ माइमोनायडेसले चिकित्सक हुने प्रशिक्षण पाए। यसपछि ११६५-मा उनको परिवार भागेर इस्राएल जानुपऱ्यो।
तर इस्राएलको स्थिति अस्थिर थियो। त्यहाँको सानो यहूदी समाजले मसीहीजगतका क्रूसेडर्स तथा मुसलमान सेनाहरू, दुवैबाट खतराको सामना गर्थे। त्यो “पवित्र देशमा” छ महिना पनि बिताउन नपाइकन माइमोनायडेस र उनको परिवारले मिस्र देशको पुरानो शहर कायरोको फस्टेट भन्ने ठाउँमा शरण पाए। यसै ठाउँमा माइमोनायडेसका खुबीहरूलाई पूर्ण मान्यता दिइयो। ११७७-मा उनलाई यहूदी समाजको प्रमुख बनाइयो। ११८५-मा उनी सुप्रसिद्ध मुसलमान नेता सलाउद्दिनको दरबारमा चिकित्सक नियुक्त भए। सा.यु. १२०४ अर्थात् आफ्नो मृत्युसम्मै माइमोनायडेस यी दुवै ओहोदामा अडि रहे। उनको उपचारात्मक सीपको यति नाउँ चल्यो कि बेलायत जस्तो टाढा देशका राजा रिचर्ड द लायन हार्टेडले समेत उनलाई आफ्नो व्यक्तिगत चिकित्सक बनाउने प्रयास गरे भनिन्छ।
उनले के लेखे?
माइमोनायडेस एक जना जबरजस्त लेखक थिए। मुसलमानहरूको खेदोबाट भाग्दै शरणार्थी जीवन बिताएको बेलामा उनले आफ्नो प्रथम मुख्य लेख, कमेन्टरी ओन द मिशनाह-को विशेष भाग सङ्कलन गरे।b अरबी भाषामा लिखित यस लेखले मिशनाहका धेरै विचार तथा अभिव्यक्तिहरूलाई खुलस्त पार्छ। कहिलेकाहीं यहूदी धर्मबारे माइमोनायडेसको आफ्नै दर्शनको व्याख्यातिर पनि कुरा हाँगिन थाल्छ। सेन्हेड्रिन नामक निबन्ध व्याख्या गरिएको भागमा माइमोनायडेसले यहूदी धर्मका १३ मौलिक सिद्धान्तहरू सूत्रित गरेका छन्। यसभन्दा अघि यहूदी धर्मले आफ्ना धर्मशिक्षाहरूको कुनै औपचारिक धर्मसार तयार गरेको थिएन। तर अब भने माइमोनायडेसका १३ सिद्धान्तहरू यसपछि सूत्रित थुप्रै यहूदी विश्वासहरूको नमूना हुन गए।—पृष्ठ २३-मा पेटी हेर्नुहोस्।
मोइमोनायडेसले चाहे शारीरिक होस् वा आध्यात्मिक, सबै कुरालाई तर्क तथा क्रमानुसार प्रस्तुत गर्न खोजे। उनी अन्ध विश्वासको विरोध गर्थे। आफूलाई मनासिब लाग्ने प्रमाण र तर्कको आधारमा उनी सबै कुराको स्पष्टीकरण चाहन्थे। उनको यही स्वभाविक मानसिक झुकावको कारण उनले मेगनम ओपस अर्थात् मिशनेह तोराह लेखे।c
माइमोनायडेसको समयमा यहूदी विचारअनुसार “तोराह” अथवा “व्यवस्था” भन्नाले मोशाद्वारा लिखित वचन मात्र बोध हुँदैन थियो। रब्बीहरूले सदियौंदेखि व्यवस्थाबारे लगाएका लिपिबद्ध अर्थहरू पनि “तोराह” अथवा “व्यवस्था”-कै अभिन्न भाग मानिन्थे। अतः रब्बीहरूले गरेका ती व्याख्याहरू, हजारौं फैसलाहरू तथा ताल्मुदबारे लेखिएका लेखहरू जम्मै ताल्मुदमै लिपिबद्ध हुन गए। यतिका गज्याङमज्याङ कुराहरूको आधारमा दैनिक फैसलाहरू गर्न एउटा साधारण यहूदीलाई कति गाह्रो हुन्थ्यो, सो माइमोनायडेसले बुझे। साथै, अधिकांश यहूदीहरू रब्बीहरूको जम्मै साहित्य आजीवन पढ्दै बस्ने स्थितिमा थिएनन्। यसबाहेक, ती लेखहरू प्रायः गाह्रो अरामी भाषामा लेखिएका हुन्थे। अब यसको समाधान माइमोनायडेसको विचारमा उक्त जम्मै जानकारीलाई सम्पादन गर्नु, व्यावहारिक फैसलाहरूलाई विशेष महत्त्व दिनु तथा ती १४ पुस्तकहरूलाई विषयअनुसार मिलाएर एउटै व्यवस्थित भाग बनाउनु थियो। तसर्थ उनले यो काम निपुणतासाथ स्पष्ट र प्रवाहमय हिब्रूमा लेखेर गरे।
मिशनेह तोराह अति नै व्यावहारिक मार्ग-दर्शक साबित भयो। जसले गर्दा अब ताल्मुदको ठाउँ मिशनेह तोराह-ले नै लिने हो कि भनी केही यहूदी धर्मगुरुहरू डराउन थाले। तर आपत्ति व्यक्त गर्नेहरूले पनि यस लेखमा झल्कने महान विद्वता स्वीकारे। यो अत्यन्त सुव्यवस्थित संहिता एउटा पूर्णतः बेग्लै तथा महत्त्वपूर्ण उपलब्धी थियो। साधारण मानिसले व्यवहारमा ल्याउन अथवा बुझ्नै नसक्ने यहूदी व्यवस्थालाई यसले नयाँ जीवन प्रदान गऱ्यो।
यसपछि माइमोनायडेसले एउटा अर्को ठूलो पुस्तक द गाइड फर द परप्लेक्सड् (विचलितहरूका लागि मार्ग-दर्शन) लेख्न थाले। त्यतिखेर युनानी साहित्यहरू अरबी भाषामा अनुवाद भइरहेको थियो। जसले गर्दा थुप्रै यहूदीहरू आरिस्टोटल र अन्य दार्शनिकहरूको विचारसित परिचित हुन थालेका थिए। केही चाहिं विचलित पनि भएका थिए। बाइबलका अभिव्यक्तिहरूको शाब्दिक अर्थलाई दर्शनशास्त्रसित मेल खुवाउन तिनीहरूलाई गाह्रो भइरहेको थियो। अतः आरिस्टोटललाई खुबै रुचाउने माइमोनायडेसले बाइबल तथा यहूदी धर्मको मूल सार दर्शनशास्त्रसित मिल्नेगरि द गाइड फर द परप्लेक्सड्-मा प्रस्तुत गर्न खोजे।—१ कोरिन्थी २:१-५, ११-१६ तुलना गर्नुहोस्।
तर ती मुख्य साहित्यिक सृजनाहरू तथा धार्मिक लेखहरूबाहेक, माइमोनायडेसले औषधि र खगोलविद्याबारे पनि आधिकारिक लेखहरू लेखे। उनको सार्थक लेखन शैलीको अझ अर्को पक्ष पनि छ जसको हामी उपेक्षा गर्न चाहदैनौं। यसबारे इनसायक्लोपिडिया जुडायका भन्छ: “माइमोनायडेसले लेखेका पत्रहरूले पत्रलेखनको इतिहासमा एउटा नयाँ युग सुरु गरे। उनी प्रथम यहूदी लेखक हुन् जसका अधिकांश पत्रहरू साँचेर राखिएका छन्। . . . उनका पत्रहरू हृदयस्पर्शी हुन्थे। उनले बेग्लाबेग्लै मानिसलाई सुहाउनेगरी बेग्लाबेग्लै शैलीमा लेख्ने गर्थे।”
उनको शिक्षा के थियो?
उनका १३ धार्मिक सिद्धान्तहरूमा माइमोनायडेसले धर्मशिक्षाहरूको स्पष्ट रुपरेखा प्रस्तुत गरेका छन् जसको केही भाग शास्त्रमा नै आधारित छ। तापनि सातौं र नवौं सिद्धान्तहरू चाहिं येशूलाई मसीह स्वीकार्ने शास्त्रीय शिक्षासित मिल्दैनन्।d त्रिएक जस्तो मसीहीजगतका धर्मत्यागी शिक्षाहरू तथा क्रूसेडर्सहरूले गरेको रक्तपातबाट प्रत्यक्ष हुने पाखण्डलाई विचार गर्दा माइमोनायडेसले पनि येशू नै मसीह हुनुहुन्थ्यो भन्ने विषयमा धेरै चासो नलिनु कुनै छक्कपर्दो कुरा होइन।—मत्ती ७:२१-२३; २ पत्रुस २:१, २.
माइमोनायडेसले यसप्रकार लेखे: “[मसीही] धर्मभन्दा अझ ठूलो ठोकरको कारण अरू के हुन सक्छ र? सबै अगमवक्ताहरूले मसीह इस्राएलको उद्धारक तथा मुक्तिदाता हुनुहुनेछ भनेका थिए। . . . [तर त्यसको ठीक विपरीत मसीही धर्मले गर्दा] यहूदीहरू तरवारले काटिए, तिनीहरूका शेष जनहरू तितर-बितर तथा हेलाको पात्र हुन गए, तोराहमा अदलबदल भयो र संसारका अधिकांश जनहरूले प्रभुलाई छाडी अर्कै देवताको सेवा गर्ने गल्ती गरे।”—मिशनेह तोराह, “द ल अफ किङ्गस एन्ड देर वार्स”, अध्याय ११।
तर उनी जति नै ठूलो श्रद्धाको पात्र भए तापनि माइमोनायडेसले केही खास विषयहरूबारे आफ्नो विचार साफसाफ व्यक्त गरेको हुनाकारण धेरै यहूदीहरू उनको उपेक्षा गर्न रुचाउँछन्। यहूदीधर्ममा तान्त्रिक प्रभाव बढ्दै जाँदा ज्योतिषविद्या यहूदीहरूबीच निकै लोकप्रिय हुन थालेको थियो। तर माइमोनायडेसले भने यसप्रकार लेखे: “ज्योतिषविद्यामा जसजसले भाग लिन्छन् तथा ज्योतिषिहरूद्वारा नियुक्त समयको आधारमा आफ्नो काम वा यात्रा गर्छन्, तिनीहरू कोर्रा खाने योग्यका छन्। . . . ती कुराहरू झूट र ढोङ हुन्। . . . ती सबै कुराहरूमाथि विश्वास गर्ने मानिस . . . बुद्धि नभएको मूर्ख हो।”—मिशनेह तोराह, “लज अफ आइडोलेट्री,” अध्याय ११; तुलना गर्नुहोस् लेवी १९:२६; व्यवस्था १८:९-१३.
माइमोनायडेसले एउटा अर्को चलनप्रति पनि तीव्र आलोचना व्यक्त गरे: “रब्बीहरूले विभिन्न मानिसहरू तथा समाजहरूबाट आर्थिक मदत माग्ने गर्छन्; साथै, यो माग अनिवार्य र उचित हो भनी विश्वास गराउन तिनीहरूले मानिसहरूलाई मूर्ख तुल्याएका छन्। . . . तर यो पनि पूरै गलत हो। उक्त मागको औचित्यलाई पुष्टि दिने एउटा वचन पनि नता तोराहमा न ताल्मुदका विद्वानहरूका वाणीहरूमै पाइन्छ।” (कमेन्टरी अन द मिशनाह, एभट ४:५) त्यस्ता रब्बीहरू जस्तो नभएर माइमोनायडेसले चाहिं आफ्नो खर्च आफै बेहोर्नका लागि चिकित्साको काममा खुबै मेहनत गर्थे। उनले कहिल्यै पनि धार्मिक सेवाको बापत पैसा थाप्ने गर्दैन थिए।—तुलना गर्नुहोस् २ कोरिन्थी २:१७; १ थिस्सलोनिकी २:९.
यहूदी तथा अन्य धर्महरू कतिको प्रभावित भए?
यरूशलेमको हिब्रू विश्वविद्यालयका प्रोफेसर येशाइहु लाइबोविट्सले यसो भने: “यहूदी धर्मको इतिहासमा कुलपिता र अगमवक्ताहरूको समयदेखि लिएर आजसम्म सबैभन्दा प्रभावशाली व्यक्तित्त्व माइमोनायडेसको हुन गएको छ।” इनसायक्लोपिडिया जुडायका-मा पनि यो टिप्पणी प्रस्तुत छ: “यहूदी धर्मको भावी विकासमाथि माइमोनायडेसको प्रभाव बयान गरेर साध्य छैन। . . . काइम् चिर्नोविट्सले यहाँसम्म भने कि माइमोनायडेस न हुँदा हुन् त यहूदी धर्म विभिन्न पन्थ र सम्प्रदायहरूमा विभाजित भइ सकेको हुने थियो। . . . विचारका बेग्लाबेग्लै धाराहरूलाई समेटेर एकत्रित पार्नमा उनको ठूलो योगदान थियो।”
यहूदी विचारधारालाई आफ्नै विचारअनुसारको तर्क र क्रममा ढालेर माइमोनायडेसले यहूदी धर्मलाई पुनः प्रतिपादित गरे। विद्वान र जनता दुवैलाई ये नयाँ प्रतिपादन व्यावहारिक र प्रिय लाग्यो। माइमोनायडेसको दृष्टिकोणलाई उनका विरोधीहरूले पनि अन्ततः स्वीकारे। यहूदीहरूले लामालाम ग्रन्थहरू पल्टाउन नपरोस् भन्ने उद्देश्यलाई दृष्टिगत गर्दै माइमोनायडेसले आफ्ना लेखहरू लेखेका थिए। तर केही समयपछि उनकै लेखहरूबारे लामालामा ग्रन्थहरू लेखिए।
इनसायक्लोपिडिया जुडायका-मा यो टिप्पणी गरिएको छ: “माइमोनायडेस मध्यकालीन समयको सबैभन्दा मुख्य यहूदी दार्शनिक थिए। एक जना यहूदीले आजसम्म लेखेको सबैभन्दा ठूलो मोलको दार्शनिक कृति उनकै गाइड् अफ द परप्लेक्सड् हो।” अरबीमा लेखिएको भए तापनि गाइड् अफ द परप्लेक्सड् माइमोनायडेसकै जीवनकालमा पहिले हिब्रूमा र केही समयपछि ल्याटिनमा अनुवादित भयो। यसप्रकार त्यसलाई युरोपभरि पढ्न सम्भव भयो। माइमोनायडेसले आरिस्टोटलको दर्शनलाई यहूदी विचारधारासित मिलाएर रचेको यो अनौठो मिश्रण चाँडै नै मसीहीजगतको समकालीन विद्वानहरू अर्थात् अलबर्टस मेगनस् र थोमस् एक्वीनसले अक्सर माइमोनायडेसको सोचाइलाई सङ्केत गरेका छन्। इस्लामका विद्वानहरू पनि प्रभावित भए। माइमोनायडेसको दार्शनिक दृष्टिकोणबाट पछि बारुक स्पाइनोजा जस्ता यहूदी दार्शनिकहरू पनि प्रभावित भए। तिनीहरूले अन्ततः कट्टरपन्थी यहूदी धर्मबाट आफूलाई पूर्णतः अलग्ग पारे।
माइमोनायडेसलाई तीव्र बौद्धिक क्षमतायुक्त मानिस मान्न सकिन्छ जो बौद्धिक पुनर्जागरणभन्दा पहिले नै बाँचे तथा मरे। विश्वास तार्किक हुनुपर्छ भन्ने उनको अडान वर्तमानमा पनि ठोस सिद्धान्त मानिन्छ। यसै सिद्धान्तको आधारमा उनले धार्मिक अन्धविश्वासको खुलेआम विरोध गरे। तर मसीहीजगतको खराब उदाहरण र आरिस्टोटलको दार्शनिक प्रभावले गर्दा बाइबलको सच्चाइसित सम्पूर्णतः मिल्ने निष्कर्षमा पुग्न उनी प्रायः असमर्थ भए। “मोजेसदखि मोजेससम्म, मोजेसजस्तो अरू कोही थिएन” भनी माइमोनायडेसको चिहानमा लेखेका यी शब्दहरूसित आज सबै जना सहमत नहोलान्। तापनि उनले यहूदी धर्मको मार्ग र मूल-सारलाई पुनः प्रतिपादित गरे भन्ने कुरालाई स्वीकार्न अनिवार्य छ।
[फुटनोटहरू]
a “रमबम” यहूदी अक्षरीय नाउँ हो जसको रचना “रब्बी मोजेस बेन माइमोन” नाउँहरूका प्रथम अक्षरहरू मिलाएर गरिएको हो।
b मिशनाह, रब्बीहरूका टिप्पणीहरूको एउटा सङ्कलन हो। यो सङ्कलन यहूदीहरूको मौखिक व्यवस्थामाथि आधारित छ। त्यसलाई सा.यु. दोस्रो शताब्दीको अन्त तथा तेस्रो शताब्दीको सुरुतिर लिखित रूप दिइयो र यसैबाट ताल्मुदको आरम्भ भयो। अझ जानकारीका लागि वाचटावर बाइबल एन्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशिट विल देर एवर बि ए वर्ल्ड विदाउट् वार? नामक पुस्तिका हेर्नुहोस्।
c मिशनेह तोराह भन्ने नाउँ व्यवस्था १७:१८-बाट लिएको एउटा हिब्रू अभिव्यक्ति हो। यस अभिव्यक्तिको अर्थ व्यवस्थाको दोहोऱ्याइ अथवा नकल हो।
d येशू नै प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ भन्ने थप प्रमाणका लागि वाचटावर बाइबल एन्ड ट्राक्ट सोसाइटी प्रकाशित विल देर एवर बि अ वर्ल्ड विदाउट् वार भन्ने पुस्तिकाको पृष्ठ २४-देखि ३० हेर्नुहोस्।
[पृष्ठ २३-मा भएको पेटी]
माइमोनायडेसद्वारा सङ्कलित १३ धर्मसिद्धान्तहरूe
१. परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र सबै कुरामाथि उहाँले राज्य गर्नुहुन्छ। उहाँले मात्र सृजनु भएको छ, सृजनु हुन्छ र सृजनु हुनेछ।
२. परमेश्वर एउटै हुनुहुन्छ। उहाँको जस्तो एकता अरू कतै पनि पाउन सकिंदैन।
३. परमेश्वरको शरीर छैन। शारीरिक परिकल्पनाहरू उहाँमा लागू हुँदैनन्।
४. परमेश्वर आदि तथा अन्त हुनुहुन्छ।
५. परमेश्वरलाई मात्र प्रार्थना गर्नु उचित हो। अरू कुनै चीज वा व्यक्तिलाई प्रार्थना गर्न मिल्दैन।
६. अगमवक्ताहरूका सबै वचनहरू सत्य छन्।
७. मोशाको अगमवाणी पूर्णतः सत्य हो। उनीभन्दा पहिले तथा पछि आएका सबै अगमवक्ताहरूमध्ये उनी प्रमुख थिए।
८. आज हामीसित भएको सम्पूर्ण तोराह नै मोशालाई दिइएको थियो।
९. तोराहमा केही अदलबदल हुनेछैन तथा परमेश्वरले अर्को तोराह फेरि दिनु हुनेछैन।
१०. परमेश्वरले मानिसका जम्मै काम र सोचाइ जान्नु हुन्छ।
११. परमेश्वरका आज्ञा पालन गर्नेहरूलाई उहाँले पुरस्कृत गर्नुहुन्छ तर उहाँको विरोध गर्नेहरूलाई चाहिं उहाँले सजाय दिनुहुन्छ।
१२. मसीह आउनु हुनेछ।
१३. मृतकहरू फेरि बिउँताइने छन्।
[फुटनोट]
e माइमोनायडेसले उक्त धर्म-सिद्धान्तहरूलाई आफ्नो कमेन्टरी अन द मिशनाह-मा प्रतिपादित गरे। (सेन्हेड्रिन १०.१) पछि गएर यहूदी धर्मले उक्त सिद्धान्तहरूलाई औपचारिक तवरमा स्वीकारे। माथि उल्लिखित पङ्क्तिहरू यहूदीहरूको प्रार्थना पुस्तकबाट लिएर यहाँ सङ्क्षिप्तमा प्रस्तुत गरिएका हुन्।
[पृष्ठ २१-मा भएको चित्रको स्रोत]
Jewish Division / The New York Public Library / Astor, Lenox, and Tilden Foundations