“आनन्दित प्रशंसकहरू” यहोवाका साक्षीहरूको जिल्ला अधिवेशन
बाइबल निर्देशनले भरपूर तीन दिने अधिवेशन तपाईंको प्रतीक्षामा छ। भारतमा मात्रै १६ वटा अधिवेशनहरू सम्पन्न गर्ने योजना भएकोले सम्भवतः तपाईंलाई नजीक पर्ने इलाकामा पनि एउटा अधिवेशन सम्पन्न हुनेछ। शुक्रबार बिहान ९:४० बजे प्रारम्भिक धुन बजेर कार्यक्रम सुरु हुनअधि तपाईं त्यहाँ उपस्थित हुनुहोस्।
शुक्रबार बिहानको कार्यक्रममा स्वागत टिप्पणीका साथै “विश्वव्यापी आनन्दित प्रशंसकहरूको हैसियतमा अलग पारिएकाहरू” शीर्षक भएको मुख्य भाषण प्रस्तुत गरिनेछ। अपरान्हको कार्यक्रममा भने जवानहरू, आमा-बाबुहरू र शिक्षामाथि ध्यान केन्द्रित गरिनेछ। उपस्थित युवक-युवतीहरूले “के म विवाह गर्न तयार छुँ?” शीर्षक भएको भाषण अवश्य छुटाउन चाहनेछैनन्। आमा-बाबुहरूले चाहिं “आफ्ना छोरा-छोरीहरूदेखि खुशी हुने आमा-बाबुहरू” शीर्षक भएको भाषण ध्यान दिएर सुन्नुपर्ने हो। अन्तमा “शिक्षा—त्यसलाई यहोवाको प्रशंसा गर्न चलाउनुहोस्” शीर्षक भएको भाषणद्वारा अपरान्हको कार्यक्रम विसर्जन हुनेछ। यी भाषणहरूमा छलफल गरिएका कुराहरूले युवक-युवतीहरूलाई विद्यालयमा प्रगति गर्न मदत गर्नुपर्ने हो।
शनिबार बिहानको कार्यक्रममा बप्तिस्माको भाषण दिइनेछ र योग्य मानिसहरूलाई बप्तिस्मा लिने मौका प्रदान गरिनेछ। शैतानले यौन इच्छालाई चलाएर कसरी प्रारम्भिक समयदेखि मानिसहरूलाई आफ्नो पासोमा पारिरहेको छ, त्यस सम्बन्धमा अपरान्हको कार्यक्रममा खुलस्त छलफल गरिनेछ। “दियाबलका पासोहरूदेखि जोगिनुहोस्” शीर्षक भएको प्रभावशाली भाषण पनि अपरान्हको कार्यक्रममै प्रस्तुत गरिनेछ। अन्तमा, “मानवजातिलाई किन परमेश्वरको ज्ञान चाहिन्छ” शीर्षक भएको महत्त्वपूर्ण भाषणद्वारा त्यस दिनको कार्यक्रम विसर्जन हुनेछ।
आइतबार बिहान, “यो रीतिरिवाजको अन्तको समयमा आनन्दित प्रशंसकहरू” शीर्षक भएको गोष्ठी भाषणले चाँडै नै हामीले सामना गर्ने विश्व-थरथराउने भावी घटनाहरूमाथि ध्यानाकर्षण गर्नेछ। मत्ती २४:२१ मा लिपिबद्ध गरिएअनुसार येशू ख्रीष्टले बताउनुभएको “महा संकष्ट” सुरु हुनअघि सुरक्षित स्थानमा भाग्नुपर्ने आवश्यकतालाई उपरोक्त गोष्ठी भाषणले जोड दिनेछ।
त्यसपछि “योग्य जनहरूलाई तिनीहरूका वृद्धावस्थामा आदर गर्ने” शीर्षक भएको महत्त्वपूर्ण नाटकद्वारा आइतबार बिहानको कार्यक्रम विसर्जन हुनेछ। अपरान्ह, “अनन्तका महाराजाको प्रशंसा गर्नुहोस्!” शीर्षक भएको जनभाषण दिइनेछ। यो भाषण अधिवेशनकै मुख्य विशेषता हुनेछ।
अधिवेशनमा उपस्थित हुन अहिलेदेखि नै योजना बनाउनुहोस्। तपाईंलाई नजीक पर्ने अधिवेशन स्थलबारे जानकारी चाहिएमा यहोवाका साक्षीहरूको स्थानीय राज्य भवन वा यस पत्रिकाको प्रकाशकसँग सम्पर्क राख्नुहोस्।