युद्धरहित संसार—कहिले?
संयुक्त राष्ट्र संघको बडापत्र सन् १९४५, अक्टोबर २४ तारिखदेखि लागू भएको थियो। यो बडापत्र, विश्वशान्ति कायम गर्न मानिसले तयार पारेको सबैभन्दा विस्तृत नीति हो। प्रारम्भमा संयुक्त राष्ट्र संघका ५१ सदस्य राष्ट्रहरू मात्र थिए। तर पछि गएर त्यो मानव इतिहासकै सबैभन्दा ठूलो अन्तरराष्ट्रिय संगठन बन्यो। साथै, इतिहासमै पहिलो पटक, शान्ति सुरक्षा कायम गर्न र युद्धरहित संसार तयार पार्न सेनाको प्रयोग गर्ने अधिकार पाउने अन्तरराष्ट्रिय संगठन पनि संयुक्त राष्ट्र संघ भयो।
आज १८५ सदस्य राष्ट्र हुने संयुक्त राष्ट्र संघ पहिलेभन्दा धेरै शक्तिशाली छ। त्यसोभए सबैभन्दा शक्तिशाली अन्तरराष्ट्रिय संगठनले कसरी आफ्नो सुन्दर सपना पूर्णतया साकार पार्न सकेन त?
धर्म—सबैभन्दा ठूलो बाधा
धर्मले सांसारिक गतिविधिहरूमा खेल्ने भूमिका त्यसका ठूला बाधाहरूमध्ये एक हो। हो, संयुक्त राष्ट्र संघ स्थापना भएदेखि संसारका प्रमुख धर्महरूले त्यसलाई समर्थन गरेको छ। उदाहरणका लागि, संयुक्त राष्ट्र संघको ५० औं वार्षिकोत्सवलाई संकेत गर्दै पोप जोन पल द्वितीयले संघलाई “शान्तिको प्रवर्धन तथा सुरक्षा गर्ने अत्युत्तम साधन” भनी उल्लेख गरे। सारा संसारका धार्मिक नेताहरूको विचार पनि तिनको जस्तै छ। तर धर्म र राजनीतिबीच चातुर्यसाथ गाँसेको यस्तो सम्बन्धले संयुक्त राष्ट्र संघको बाधा वा त्यसलाई अलमलाउने वस्तु नै धर्म हो भनेर लुकाउन सक्दैन।
शताब्दीयौंदेखि धर्मले राष्ट्रप्रेमको नाउँमा घृणा, युद्ध तथा जातिसंहारको प्रवर्धन र समर्थन गर्न अग्र भूमिका निर्वाह गरेको छ। हालसालै धर्मको आडमा छिमेकीहरूले एकअर्काको हत्या गरेका छन्। बाल्कन क्षेत्रमा भइरहेको युद्धलाई “जातीय सफाइ” भन्ने गरिएको भए तापनि त्यस क्षेत्रका अधिकांश मानिसहरूबीचको हिंसात्मक घृणाले जातीय भिन्नतामा होइन तर धर्ममा जरा गाडेको भेटिन्छ। किनभने बाल्कन क्षेत्रका अधिकांश मानिसहरू एउटै जातीय मूलका छन्। हो, धर्मले पहिलेको युगोस्लाभियामा भइरहेको रक्तपातको जिम्मेवारी लिनैपर्छ। तर संयुक्त राष्ट्र संघले भने अहिलेसम्म त्यस्तो रक्तपातलाई रोक्न सकेको छैन।
धर्मसम्बन्धी प्राध्यापकले हालै यसो भन्यो, “शीतयुद्धपछि धर्मको नाउँमा संघर्ष मच्चिरहेका ठाउँहरूमा धर्म र जातिसंहारको जाँच गर्नु असाध्यै आवश्यक छ, चाहे त्यो जति नै संवेदनशील किन नहोस्।” विश्वशान्ति कायम गर्न गरिएका प्रयासहरूमा धर्मले बाधा पुऱ्याइरहेको छ भन्ने कुरा मानिसहरूले बुझ्दैछन् भनेर आज स्पष्ट देखिन्छ।
सन् १९८१ मा सं.रा.सं.-को एउटा प्रस्तावनाले यसो भन्यो: “पृथ्वीका अझै कतिपय क्षेत्रहरूमा धर्म वा विश्वासको आडमा मानिसहरूले असहिष्णुता र भेदभाव देखाउँछन्। हामी त्यस्तो भेदभावप्रति चिन्तित छौं र धर्म वा विश्वासको आधारमा देखाइने कुनै पनि असहिष्णुता र भेदभावलाई तुरुन्तै निर्मूल पार्न हर आवश्यक कदम चाल्न कटिबद्ध छौं।”
उपरोक्त प्रस्तावनाअनुरूप संयुक्त राष्ट्र संघले सन् १९९५ लाई सहिष्णु वर्ष घोषणा गरेको छ। यद्यपि, व्यवहारिक भएर भन्ने हो भने, के धर्मले गर्दा विभाजित संसारमा शान्ति सुरक्षा प्राप्त गर्न सम्भव होला र?
धर्मको भविष्य
त्यसको जवाफ बाइबलको पुस्तक प्रकाशले दिन्छ। त्यसले “महारानी” भएर बसेकी अनि “पृथ्वीका राजाहरूमाथि राज्य” गर्ने प्रतीकात्मक “महा-वेश्या[बारे]” बताउँछ। त्यो वेश्या निर्लज्ज “सुख-विलास[मा]” डुबेकी छे र त्यसले संसारका सरकारहरूसित सम्बन्ध गाँसेकी छे। प्रकाशको पुस्तकमा ती सरकारहरूलाई “चहकिलो रातो रंगको जनावर[द्वारा]” चित्रण गरिएको छ। जसमाथि त्यो वेश्या बडो आरामसित सवार गर्छे। (प्रकाश १७:१-५, १८; १८:७) “महान बेबिलोन[को]” नाउँले चिनिने त्यो शक्तिशाली अनि अनैतिक स्त्रीले आफ्नो त्यस्तो नाउँ मूर्तिपूजक धर्महरूको जन्मथलो पुरातन बाबेलबाट पाएकी हुन्। आज राजनैतिक कामकुराहरूमा हात हाल्ने संसारका धर्महरूलाई वेश्याले चित्रण गर्नु सुहाउँदो छ।
प्रकाशको विवरणले अझै के भन्छ भने, समयमा सैन्य तत्त्वहरूद्वारा निर्मित जंगली जनावरको हृदयमा परमेश्वरले आफ्नो उद्देश्य हालिदिनुहुनेछ। त्यसपछि “त्यस जनावरले त्यस वेश्यासँग दुश्मनी गर्नेछन्, र त्यसलाई उजाड़ र नांगो पार्नेछन्। औ त्यसको मासु खानेछन् र त्यसलाई आगोमा भस्म पारिदिनेछन्।” (प्रकाश १७:१६)a यसप्रकार शक्तिशाली राष्ट्रहरूलाई चलाएर स्वयं यहोवा परमेश्वरले झूटो धर्म हटाउने अभियान थाल्नुहुनेछ। संसारभरिका धर्म तथा त्यसका विलासी मन्दिर, मठ सबै पूर्णतया नाश गरिनेछन्। त्यसपछि शान्ति सुरक्षा स्थापना गर्ने काममा धर्मले फेरि कहिल्यै बाधा पुऱ्याउनेछैन। तर धर्म निर्मूल हुनेबित्तिकै पृथ्वीमा साँच्चै नै शान्ति सुरक्षा छाउनेछ र?
असिद्ध मानव स्वभाव
धर्मलाई निर्मूल पार्दैमा संसार साँच्चै नै युद्धरहित हुनेछ भन्ने के कुनै ग्यारेन्टी छ? छैन। संयुक्त राष्ट्र संघले अझै पनि एउटा हास्यास्पद परिस्थितिको सामना गर्नुपर्नेछ। किनभने एकातर्फ मानिसहरू शान्ति सुरक्षा चाहनेछन् भने अर्कोतर्फ त्यही मानिसहरू शान्ति र सुरक्षाको सबैभन्दा ठूलो अवरोध भइरहेका हुनेछन्। गहिरिएर हेर्ने हो भने, सबै संघर्ष र युद्धहरूपछाडि घृणा, घमण्ड, अहंकार, स्वार्थ र अज्ञानताले जरा गाडेको देखिन्छ।—याकूब ४:१-४.
हाम्रो समयमा “मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्वासघाती, उत्ताउला, दिमागी, परमेश्वरभन्दा बरु सुख-विलास निको मान्ने, भक्तिको भेष चाहिं लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्” भनेर बाइबलले अगमवाणी गरेको थियो।—२ तिमोथी ३:१-४.
महासचिव बुत्रोस बुत्रोस घालीले पनि “यो संसार सामाजिक र नैतिक विपत्तिले पीडित छ अनि अधि- कांश समाजहरूमा त यो विपत्ति अचाक्ली नै छ” भनेर स्वीकारे। असिद्ध मानव स्वभावका हानिकारक गुनहरूलाई कुनै कूटनीतिले निष्क्रिय पार्न सक्दैन।—उत्पत्ति ८:२१ तुलना गर्नुहोस्; यर्मिया १७:९.
येशू ख्रीष्ट—शान्तिका राजकुमार
स्पष्ट छ, संयुक्त राष्ट्र संघसित विश्वशान्ति ल्याउने क्षमता छैन। त्यसका लक्ष्यहरू राम्रै भए तापनि त्यसका सदस्य तथा समर्थकहरू केवल असिद्ध मानिसहरू हुन्। अनि बाइबलअनुसार “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्ति मानिसमा छैन।” (यर्मिया १०:२३) यसबाहेक परमेश्वर यस्तो चेताउनी दिनुहुन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्, मानिसमाथि पनि नगर्, तिनीहरूबाट केही सहायता हुँदैन।”—भजन १४६:३.
आफ्नो पुत्र, “शान्तिको राजकुमार[द्वारा]” यहोवाले के के गर्नुहुनेछ भनेर बाइबलले अगमवाणी गर्छ। यशैया ९:६, ७ ले यसो भन्छ: “हाम्रा निम्ति एउटा पुत्र दिइएको छ। शासन उहाँको हातमा हुनेछ। उहाँको नाउँ उदेकका युद्धि निकाल्नुहुने, पराक्रमी परमेश्वर, सनातनका पिता, शान्तिका राजकुमार कहलाइनेछ। उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन।”
सारा संसारका राष्ट्रहरू ५० वर्षदेखि चलिआएका प्रयत्नहरूदेखि दिक्क भइसकेका छन्। अब चाँडै नै तिनीहरूले वेश्याजस्तो धार्मिक संगठनहरूलाई नष्ट गर्नेछन्। त्यसपछि “राजाहरूका महाराजा, र प्रभुहरूका महाप्रभु” येशू ख्रीष्ट र उहाँका स्वर्गीय योद्धाहरूले सबै मानव सरकारलाई अपदस्थ गरी परमेश्वरको सार्वभौमिकता इन्कार गर्नेहरूलाई नाश गर्नुहुनेछ। (प्रकाश १९:११-२१; दानियल २:४४ तुलना गर्नुहोस्।) यसरी यहोवा परमेश्वरले युद्धरहित संसार बसाल्नुहुनेछ।
[फुटनोट]
a महान् बेबिलोनबारे प्रकाशको भविष्यवाणीको गहिरो अध्ययन गर्नु परेमा सन् १९८८ मा वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ इन्डियाद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको अध्याय ३३ देखि ३७ हेर्नुहोस्।
[पृष्ठ ७-मा भएको पेटी]
संयुक्त राष्ट्र संघप्रति मसीही दृष्टिकोण
बाइबलको भविष्यवाणीमा मानव सरकारहरूलाई प्रायः जंगली जनावरहरूद्वारा चित्रण गरिन्छ। (दानियल ७:६, १२, २३; ८:२०-२२) तसर्थ, निकै दशकदेखि प्रहरीधरहरा पत्रिकाले प्रकाश अध्याय १३ र १७ को जंगली जनावरहरू वर्तमान सांसारिक सरकारहरू हुन् भनी परिचित गराउँदै आएको छ। निस्सन्देह, त्यसमा संयुक्त राष्ट्र संघ पनि समावेश छ, जसलाई प्रकाश अध्याय १७ मा सात शिर र दश सिङ भएको चहकिलो रातो रंगको जनावरको रूपमा चित्रण गरिएको छ।
तथापि, शास्त्रले दिएको यस्तो विवरणको आधारमा सरकार वा अधिकारीवर्गलाई कुनै किसिमले अनादर गर्न मिल्दैन। बाइबलले स्पष्टसित यसो भन्छ: “हरेक प्राणी उच्च अख्तियारवालाहरूका अधीनमा रहोस्, किनभने परमेश्वरका बाहेक अरूका अख्तियार हुँदैन, औ अख्तियारहरूचाहिं परमेश्वरबाट खटिएका हुन्छन्। यसकारण अख्तियारवालाको विरुद्धमा खड़ा हुनेले परमेश्वरको धार्मिक विधानको विरोध गर्दछ, औ जस जसले विरोध गर्छन्, तिनीहरू आफैले दण्डको आज्ञा पाउनेछन्।”—रोमी १३:१, २.
उपरोक्त वचनअनुरूप यहोवाका साक्षीहरूले राजनैतिक मामिलामा कडा तटस्थता कायम गरिरहेका छन्। तिनीहरू मानव सरकारहरूसित कुनै हेमखेम राख्दैनन्। क्रान्ति वा हडतालमा तिनीहरू कहिल्यै भाग लिंदैनन्। बरु, समाजमा कानुन तथा सुव्यवस्था कायम गर्न कुनै न कुनै प्रकारको सरकार चाहिन्छ भनेर तिनीहरू स्वीकार्छन्।—रोमी १३:१-७; तितस ३:१.
यहोवाका साक्षीहरूले संसारका अन्य सरकारी निकाय तथा संयुक्त राष्ट्र संघप्रति एउटै दृष्टिकोण राख्छन्। परमेश्वरले अनुमति दिनुभएकोले संयुक्त राष्ट्र संघ अहिले अस्तित्वमा छ भनी तिनीहरू मानि लिन्छन्। अतः बाइबलअनुरूप यहोवाका साक्षीहरू सबै सरकारलाई दिनुपर्ने आदर दिन्छन् र तबसम्म तिनीहरूको आज्ञा मान्छन्, जबसम्म त्यसो गर्नु परमेश्वर विरुद्ध पाप हुँदैन।—प्रेरित ५:२९.