राज्य समाचार-को सफल अभियान
“जीवनमा यति धेरै समस्याहरू किन?—के समस्यामुक्त प्रमोदवन सम्भव छ?” यो राज्य समाचार नं. ३४ को शीर्षक थियो। यो चार-पन्ने पर्चा गत वर्ष अप्रिल र मे महिनामा सारा संसारभरि १३९ भाषामा वितरण गरिएको थियो। यस सेवा अभियानलाई जमैकाका साक्षीहरूले “वर्षभरिको उल्लेखनीय घटनाहरूमध्ये एक” भनी वर्णन गरे। बेल्जियमका साक्षीहरूले त्यसलाई “भाइहरूका लागि आनन्दको ठूलो स्रोत” भने। चेक गणतन्त्रका यहोवाका साक्षीहरूले राज्य समाचार वितरण कार्यमा प्रथम चोटि भाग लिने अवसर पाएका थिए। शाखाले यस्तो रिपोर्ट दिन्छ: “यस अभियानले जोश र उत्साह ल्यायो।” अन्य मुलुकका थुप्रैले यस्तै प्रकारका भावनाहरू व्यक्त गरे।
धर्मको नाउँमा गरिएका घीनलाग्दा कुराहरू देखेर शोक र विलाप गर्नेहरूलाई राज्य समाचार नं. ३४ ले विशेष समाचार प्रदान गऱ्यो। (इजकिएल ९:४) आफ्नो नियन्त्रणबाहिरको “आखिरी दिन[को] डरलाग्दो समय[ले]” गर्दा विचलित भएकाहरूलाई यसले सान्त्वना प्रदान गऱ्यो। (२ तिमोथी ३:१) बाइबलतर्फ औंल्याउँदै जीवनका समस्याहरू चाँडै समाधान हुनेछन् भनेर पर्चाले देखायो। समस्यामुक्त प्रमोदवन निश्चित छ। (लूका २३:४३) राज्य समाचार पढ्ने धेरैलाई यसको समाचारले उत्प्रेरित गऱ्यो। टोगोका एक जना मानिसले साक्षीलाई यसो भने: “तपाईंका कुराहरू निर्विवाद छन्।”
निस्सन्देह, यस राज्य समाचार-को वितरणले असामान्य ध्यानाकर्षण गऱ्यो। डेनमार्कका घरधनीले पर्चा स्वीकार्दै यसो भने: “म भर्खरै संयुक्त राज्यबाट फर्कें। त्यहाँबाट आउनै लाग्दा मलाई कसैले यो पर्चा दिएको थियो। म भर्खर डेनमार्क आइपुगें र अहिले त्यही पर्चा डेनिश भाषामा तपाईं दिंदै हुनुहुन्छ।”
अभियानको लागि उत्साहवर्धक समर्थन
संसारभरि यहोवाका साक्षीहरूले उत्साही भएर यो पर्चा वितरण कार्यमा भाग लिए। राज्य समाचार वितरण गरिएका महिनाहरूमा प्रकाशकहरूको नवीनतम शिखर पुगेका देशहरूमध्ये केही, अस्ट्रिया, इटाली, एल साल्भाडोर, न्यु क्यालिडोनिया, हंगेरी, हाइटी, आदि हुन्।
जाम्बियाका एक क्षेत्रीय निरीक्षकले आफ्नो तीन वर्षीया छोरी, डेब्रालाई घर-घरमा साहित्यहरू वितरण गर्न सिकाएका छन्। राज्य समाचार नं. ३४ को अभियानको दौडान डेब्राले ४५ वटाभन्दा बढी पर्चा वितरण गरिन्। डेब्राबाट राज्य समाचार लिएका केही व्यक्तिहरूसित तिनकी आमाले बाइबल अध्ययन सुरु गरिन्।
दक्षिण अफ्रिकामा बस्ने एउटी किशोरीले क्याश्या नाउँकी सहपाठीलाई यो पर्चा दिइन्। क्याश्याले पर्चा पढेपछि यसो भनिन्: “पार्थिव प्रमोदवनमा सधैंभरि बस्न पाउने कुरा मलाई असाध्यै मन पऱ्यो! यो कुरा मैले पहिल्यै थाह पाएको भए कति बेस हुन्थ्यो।” तिनीसित बाइबल अध्ययन सुरु भयो। हप्ता दिनभित्र क्याश्याले अर्को पर्चा पाइन्। दोस्रो पर्चा तिनलाई साइप्रसमा बस्ने रोमन क्याथोलिक पत्रमित्रले पठाएका थिए। रोमन क्याथोलिक चर्चका शिक्षाहरू किन झूटा हुन् भनेर यस पत्रमित्रले क्याश्यालाई बताइन् र आफूले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्ने विचार गरेको कुरा पनि लेखेकी थिइन्। निस्सन्देह, अध्ययन कायमै राख्ने क्याश्याको कटिबद्धतालाई यसले निकै बल प्रदान गऱ्यो।
स्वीट्जरल्याण्डका एक दश वर्षीय केटाले आफ्नी आमासँगै गएर पर्चा वितरण गरे। तिनले एउटी युवतीलाई त्यो पर्चा ध्यान दिएर पढ्ने प्रोत्साहन दिए। पर्चाको चित्रमा देखाइएजस्तै, पृथ्वीमा सबैले अनन्त जीवन पाउनेछ भन्ने कुरामा के तिमी साँच्चै विश्वास गर्छौ भनी त्यस स्त्रीले केटालाई सोधिन्। केटाले कस्तो जवाफ दिए? “हो, मलाई पूरा विश्वास छ।” त्यसपछि त्यस स्त्रीको धर्ममा थुप्रै विरोधाभासहरू भएकोले साँचो विश्वास खोजिरहेको तिनले बताइन्। पुनःभेटमा बाइबल अध्ययन सुरु भयो।
तत्काल प्रतिक्रियाहरू
राज्य समाचार पढ्नेहरूमा कहिलेकाहीं त्यसले तत्काल प्रतिक्रिया जगायो। पर्चा पढिसकेपछि बेल्जियम निवासी एउटी ११ वर्षीया केटीले पसलमा सानोतिनो चोरी गर्ने गरेको कुरा यहोवाको साक्षीसमक्ष स्वीकारिन्। केटीकी आमा यसबारे बताउन चाहन्न थिइन् तर यस केटीले जे पढेकी थिइन्, त्यसले तिनको अन्तस्करणलाई घोच्यो र पसलको प्रबन्धकलाई भेट्न जिद्दी गरिन्। आमाले अन्ततः आफ्नी छोरीलाई उक्त साक्षीसित त्यो पसलमा जाने अनुमति दिइन्। यसरी गलती स्वीकारेको देखेर प्रबन्धक छक्क परे। राज्य समाचार-ले तिनलाई यस्तो कदम चाल्न प्रेरित गरेको सुनेपछि त्यसमा यस्तो शक्तिशाली कुरा के रहेछ भनेर थाह पाउन प्रबन्धकले पनि एक प्रति लिए। अहिले यस केटीले बाइबल अध्ययनमा प्रगति गर्दैछिन्।
क्यामरूनका साक्षीले एक जना मानिसलाई राज्य समाचार-को एक प्रति दिए र तिनी यसरी बताउँछन्: “हामी फर्कंदा त त्यो मानिसले त्यसमा कच गरिसकेको र ऊसित थुप्रै प्रश्नहरू भएको पायौं। सन्तोषजनक जवाफहरू पाएपछि उनले यसो भने: ‘यो पक्कै साँचो हो, मानवजातिलाई दुःखी तुल्याउन धर्मको ठूलो हात छ। तपाईंको पर्चाले मलाई धेरै कुरा बुझ्न मदत दियो तर म अझ बढी जान्न चाहन्छु।’” अहिले तिनी नियमित बाइबल अध्ययन गर्छन्।
ऊरूग्वेमा घर घर गइरहेका साक्षीले एक जना मानिसलाई पर्चा दिए। अनि यो मानिसको घरको पछिल्तिर नपुगुञ्जेल यस साक्षीले अरू घरहरूमा पनि प्रचार गर्दै अघि बढेछन्। त्यो मानिसको घरपछाडि पुग्दा हातमा पर्चा लिएर पर्खिरहेको देखेर साक्षी छक्क परे। तिनले त्यो पढिसकेका थिए र अझ बढी जानकारी चाहन्थे। त्यहीं नै अध्ययन सुरु गरियो।
सर्वसाधारणले वितरण गर्न मदत गर्छन्
जापानमा एक जवान साक्षीले ५० वर्ष पुगिसकेका एक जना मानिसलाई पर्चा दिए। त्यो मानिसले सोधे: “अन्धाहरू भेट्दा यो पर्चा के गर्छौ?” आफूसित त्यसको जवाफ नभएको साक्षीले स्वीकारे। त्यस मानिसले यस जवान साक्षीलाई एकछिन पर्खाएर आफ्नो घर गए। राज्य समाचार-को एउटा प्रति ल्याउँदै तिनले यसो भने: “मैले यो पर्चा पाइसकें। यो जानकारी निकै चाखलाग्दो तथा महत्त्वपूर्ण लागेकोले मैले यो ब्रेलमा सारें। कृपया अन्धाहरूका लागि यो प्रयोग गर्नुहोस्।” अन्धाहरूले पनि यस पर्चाको समाचारबाट लाभ उठाओस् भनेर यस मानिसले राज्य समाचार ब्रेलमा सार्न निकै घण्टा बिताएका रहेछन्।
स्लोभाकियाका एक जना मानिसलाई यो पर्चा असाध्यै मन परेछ। त्यसैकारण तिनले त्यो पर्चाको फोटोकपी गरेर २० प्रति बनाए अनि आफैले वितरण गर्न थाले। स्वीट्जरल्याण्डका एक प्रकाशकले एउटा परिवारलाई राज्य समाचार दिए र त्यो परिवार बस्ने भवनका माथिल्ला तल्लाहरूदेखि प्रचार गर्दै आए। भऱ्याङमा ओर्लंदै गर्दा तिनले त्यसै परिवारको छोरा चाहिंलाई भेटे जसले त्यो पर्चाको १९ प्रति मागे। त्यो केटाको स्कूलमा विद्यार्थीहरूलाई समस्याहरू र त्यसको समाधानको खोजबारे लेख्न अह्राएको रहेछ। तिनी आफ्ना सबै सहपाठीहरूलाई राज्य समाचार-का थप प्रतिहरू दिन चाहन्थे।
कोही पनि छुटेन
कोही पनि नछुटोस् भनेर यस अभियानमा भाग लिने सबैले कडा परिश्रम गरे। न्यु क्यालिडोनियाका दुइ साक्षीहरू एउटा दुर्गम गाउँका मानिसहरूलाई राज्य समाचार वितरण गर्न यात्रा गरिरहेका थिए। जाँदा जाँदै तिनीहरूले कोही पनि हिंड्ने नगरेको जस्तो बाटो देखे। तैपनि त्यहाँ कोही बस्छ कि भनेर तिनीहरूले हेर्ने निर्णय गरे। गाडी बाहिरै छोडेर तिनीहरू त्यो बाटोमा हिंड्न थाले र स-साना खोलाहरू तरेपछि बल्ल एउटा घर फेला पऱ्यो। त्यहाँ बस्ने दम्पतीले यहोवाका साक्षीहरूबारे पहिले कहिल्यै सुनेका थिएनन् र तिनीहरूले राज्य समाचार स्वीकारे। पछि पुनःभेट गर्न जाँदा घरसम्मै साक्षीहरूको गाडी पुग्न सकोस् भनेर त्यस दम्पतीले सडक तथा थुप्रै स-साना पुलहरू मर्मत गरेको देखेर प्रकाशकहरू छक्कै परे। तिनीहरूसित नियमित बाइबल अध्ययन सुरु भयो।
पोल्याण्डका एक साक्षीले घरधनीलाई राज्य समाचार दिन एउटा निर्माण थलो भएर जानुपर्थ्यो। तिनी निर्माण थलो भएर गएका कामदारहरूले देखे। अन्ततः, एक जना कामदारले तिनलाई बोलाएर हामीलाई पनि नबिर्सनुस् है भने। फर्केर आउँदा तिनीहरूले काम गर्न छोडेर त्यो पर्चाको प्रस्तुतिलाई ध्यान दिएर सुने। तिनीहरूले राज्य समाचार र साथै पत्रिकाहरू स्वीकारे अनि पछि पुनःभेटमा पुस्तकहरू लिए।
राज्य समाचार नं. ३४ का करोडौं प्रतिहरू थुप्रै भाषामा वितरण भए। यसको समाचारले शक्तिशाली प्रभाव पारिसकेको छ। समस्यामुक्त प्रमोदवन सम्भव छ भनेर धेरैले सिकेका छन्। सही हृदय भएकाहरूले त्यो समाचार सुनिरहोस् भन्ने प्रार्थना गर्छौं र आशा छ, अन्ततः तिनीहरू “नम्रहरू[मध्ये]” हुनेछन् जसले “देश अधिकार गर्नेछन्। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।”—भजन ३७:११.
[पृष्ठ ३१-मा भएको पेटी]
पत्रिकाहरू वितरण गरि नै रहनुहोस्!
अप्रिल र मे १९९५ मा राज्य समाचार न. ३४ को असाध्यै सफल वितरण भयो। यी दुई महिनाहरूको दौडान प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाहरूको पनि उल्लेखनीय वितरण भयो। उदाहरणका लागि, चेक गणतन्त्रका एक भाइ अप्रिल महिनामा २५० प्रति राज्य समाचार र ७५० प्रति पत्रिकाहरू वितरण गरेको रिपोर्ट गर्छन्। ग्वाडेलुपमा आइतबार, अप्रिल १५ लाई विशेष पत्रिका दिनको रूपमा चुनिएको थियो। त्यस दिन अधिराज्यका लगभग सबै प्रकाशकहरूले सेवकाईमा भाग लिए! अप्रिल महिनामा स्लोभाकियाले अधिक पत्रिका वितरण गरेर नयाँ शिखर कायम गरे। अरू देशहरूबाट पनि त्यस्तै रिपोर्टहरू प्राप्त भए।
त्यसोभए अप्रिल र मे १९९६ मा पत्रिका वितरण गरेर त्यसलाई उल्लेखनीय महिना बनाए कसो होला? मण्डलीहरूले विशेष पत्रिका दिनहरू गठन गर्नसक्छन्। व्यक्ति विशेषले सहायक अग्रगामीको सेवा गर्नसक्छन्। यीलगायत अन्य तरिकाहरूबाट पत्रिका वितरण बढाउन सकिन्छ। त्यसो गर्दा राज्य समाचार न. ३४ मा घोषणा गरिएका अत्यावश्यक समाचार अझ फैलनेछ। अनि गत वर्षमा जस्तै, हामीले देखाएको जोशिलो आत्मालाई यहोवाले अवश्य आशिष् दिनुहुनेछ।—२ तिमोथी ४:२२.