“प्रभुको काममा प्रशस्त हुँदै जाओ”
१ अप्रिल र मे महिनामा हामी निस्सन्देह उत्सुकतापूर्वक ईश्वरतान्त्रिक क्रियाकलापहरूको व्यस्त तालिका अपेक्षा गर्छौं! अप्रिल १४ का दिन हामी ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सव मनाउनेछौं। यथासम्भव धेरैभन्दा धेरै मानिसहरूलाई यस महत्त्वपूर्ण अवसरमा उपस्थित हुन प्रोत्साहन दिनुपर्छ: व्यापारिक चिनजानहरू, विश्वासमा नभएका नातेदारहरू, स्कूलका साथीहरू, नवजिज्ञासुहरू तथा बाइबल विद्यार्थीहरू। कोही पनि नछुटोस् भनेर तपाईंले निमन्त्रणा दिने विचार गर्नुभएका सबै मानिसहरूको सूची बनाउनुहोस्।
२ त्यसपछिको हप्तामा हामी स्मरणार्थ उत्सवमा उपस्थित भएका सबैलाई अप्रिल २३ का दिन “झूटा धर्मको अन्त नजीकै छ” भन्ने विशेष जनभाषणमा उपस्थित हुन निमन्त्रणा दिनेछौं। यो सुस्पष्ट समाचार सुन्ने धेरै जिज्ञासुहरूले कहिलेकाहीं विशेष अवसरहरूमा मात्र नभई नियमित तवरमा मण्डलीसित संगत गर्नुपर्ने आवश्यकता बुझ्नेछन् भन्ने आशा गरिएको छ।
३ विशेष राज्य समाचार विमोचन गरिने: अप्रिल २३ को सभाको विशेषता, मे १४ सम्म संसारभरि वितरण गरिने चार पृष्ठ भएको सामयिक राज्य समाचार, न. ३४ को विमोचन हुनेछ। यस स्मरणार्थ उत्सवको समयमा ‘प्रभुको काम प्रशस्त हुनेछ’ भनी के तपाईं सहमत हुनुहुन्न र?—१ कोरि. १५:५८.
४ हरेक मण्डलीलाई राज्य समाचार पठाइनेछ। राज्य समाचार-का बाकसहरू सुरक्षित ठाउँमा सञ्चय गर्नुपर्छ र अप्रिल २३ का दिन कार्यक्रम समापन नभएसम्म खोल्नु हुँदैन। त्यसपछि हाम्रा भाइहरू र जनसाधारणलाई वितरण गर्न राज्य समाचार उपलब्ध हुनेछ। अप्रिल २३ तारिखका दिन मण्डलीका सभा, क्षेत्रीय सम्मेलन तथा विशेष सम्मेलन दिनको कार्यक्रमको समापनपछि उपस्थित सबैले यसको एक प्रति पाउनेछन् ताकि तिनीहरू यसको विषयवस्तुसित परिचित र त्यो वितरण गर्न सुसज्जित हुन सकोस्।
५ प्राचीनहरूसित प्रशस्त काम हुनेछ: विशेष अभियानका विवरणहरू छलफल गर्न यो महिनाको सुरुतिर प्राचीनहरूको निकाय एक साथ भेला हुनुपर्छ। आफ्नो जिम्मामा भएको इलाका सम्पूर्णतया सिध्याउन मण्डलीले प्रयास गर्नुपर्छ। गत छ महिनामा नसिध्याइएका इलाकाहरूलाई अभियान अन्त हुनुअघि सिध्याउन विशेष प्रयास गर्नुहोस्। यस कामको महत्त्वलाई ध्यानमा राखेर सेवकाईको निम्ति हामी यथासम्भव बढी समय छुट्याउनेछौं। निस्सन्देह, अघिपछिभन्दा धेरै प्रकाशकहरू सहायक अग्रगामीको हैसियतमा भर्ती हुनेछन्। सम्भवतः भर्खरै नियुक्त बप्तिस्मा अप्राप्त प्रकाशकहरूको हैसियतमा थुप्रै बाइबल विद्यार्थीहरूले हाम्रो साथ दिनेछन्। प्रभुको काममा एक साथ परिश्रम गर्दा यो कस्तो आनन्ददायी समय हुनेछ!
६ शनिबार र आइतबार सामूहिक साक्षी-कार्यमा भाग लिन मण्डली पुस्तक अध्ययन सञ्चालकहरूले निश्चित प्रबन्धहरू मिलाउनुपर्छ। सक्रिय भाग लिन प्रत्येकलाई प्रोत्साहन दिनुपर्छ। सप्ताहन्तको क्रियाकलापबाहेक अभियानको दौडान हप्तामा कमसेकम एक चोटि सन्ध्याकालीन साक्षीको प्रबन्ध मिलाउनुपर्छ। स्कूलपश्चात् सेवामा भाग लिएर आफ्नो सहभागिता बढाउन चाहने विद्यार्थीहरूको निम्ति क्षेत्र सेवाको सभामा छाँटकाँट गर्नुपर्ला।
७ हरेक दिन प्रकाशक तथा अग्रगामीहरूले सेवकाई चाँडै सुरु गर्न सकोस् भन्ने उद्देश्यले क्षेत्र सेवाको निम्ति सभाहरूको तालिका मिलाउनुपर्छ। यी सभाहरू छोटो हुनुपर्छ। हरेकले राज्य समाचार-को सरल प्रस्तुति चलाउनुपर्छ। राज्य समाचार स्वीकार्ने व्यक्तिहरूकहाँ पुनः भेट गर्न एक दुइवटा सुझाव, क्षेत्र सेवाको निम्ति अपरान्हको सभामा समावेश गर्न सकिन्छ। तथापि, केही प्रकाशकहरू बिहान र बेलुकी दुवै समय पर्चा वितरण गर्न सहभागी हुन रुचाउलान्। त्यसको लागि यथेष्ट इलाका छ कि छैन भनी क्षेत्रीय निरीक्षकले पक्का गर्नेछन्। चासो देखाउने सबैको नाउँ र ठेगाना घर-घरको रिकर्ड पर्चीमा टिप्नुपर्छ। टिप्पणी स्तम्भमा छोटो छलफलका मुख्य बुँदाहरू समावेश गर्न सकिन्छ। यसो गर्दा एक हप्ता वा महिना दिनपछि पुनः भेटको लागि बाटो तयार हुन्छ।
८ इलाका ढाक्न एउटा मण्डलीले अर्कोलाई मदत गरेको छ भने जिज्ञासु व्यक्तिहरूको नाउँ र ठेगाना त्यो इलाकाको निम्ति जिम्मेवार मण्डलीलाई टिपोट दिनुपर्छ।
९ आमा-बाबुहरू हो, के तपाईंका छोरा-छोरीहरू बप्तिस्मा अप्राप्त प्रकाशकहरू हुन प्रयास गरिरहेका छन्? केही मण्डलीहरूमा भद्र केटा-केटीहरू आफ्ना समर्पित आमा-बाबुहरूसँग सेवकाईमा लामो समयदेखि जाने गरेको र तिनीहरू प्रभावकारी साबित भए तापनि सुसमाचारका प्रकाशकहरू भने अझै नभएको देखिएका छन्। यो सुअवसरको लागि आफ्ना छोरा-छोरीहरू साँच्चै योग्य भएका छन् कि छैनन् भनी आमा-बाबुहरूले विचार गर्नुपर्छ। परिवारको शिरसित दुइ प्राचीनहरूले सबै कुराहरू छलफल गर्न र बच्चा बप्तिस्मा अप्राप्त प्रकाशक हुन योग्य भए नभएको निर्धारण गर्नसक्छन्।—om 99-100.
१० के तपाईंको मण्डलीको इलाकामा केही प्रकाशकहरू यहोवालाई स्तुतिको बलिदान चढाउन निष्क्रिय भएर बसेका छन्? (हिब्रू १३:१५) पहिले सक्रिय केही प्रकाशकहरू निराशा वा जीवनको फिक्रीले गर्दा विचलित भएका तर बाइबलका नैतिक स्तरअनुरूप जीवन बिताइरहेका हुनसक्छन्। एक प्राचीनको मित्रैलो भेटघाटले मण्डलीसित पुनः नियमित तवरमा संगत गर्न र समयमा नवीकृत जोसका साथ सेवकाईमा भाग लिन तिनी प्रेरित हुनसक्छन्।
११ योग्य ठहरिने सबै यस आनन्ददायी काममा सहभागी हुनसक्छन्: के तपाईं केटा-केटीहरू वा किशोर किशोरीहरू घर-घरको सेवकाईमा भाग लिन गाह्रो मान्नुहुन्छ? प्रचार-कार्यमा सीमित अनुभव हुने तपाईं नयाँ व्यक्तिहरूबारे के भन्न सकिन्छ? तपाईंले यस विशेष राज्य समाचार प्रयोग गर्नु सबैभन्दा आनन्ददायी पाउनुहुनेछ! यो गर्न सरल प्रस्तुति मात्र भए पुग्छ।
यस्तै केही भन्नुभए हुन्छ:
▪“यो महिना हामी एउटा महत्त्वपूर्ण समाचार सारा संसारभरि २३२ वटा मुलुकमा बाँडिरहेका छौं। यो समाचार महत्त्वपूर्ण छ किनभने आज हामीले सामना गर्ने समस्याहरूको समाधान छ भनी विश्वस्त हुने ठोस कारणहरू यसले प्रदान गर्छ। तपाईंले एउटा व्यक्तिगत प्रति लिनुभएको हामी चाहन्छौं।”
अथवा यसो भन्नुभए हुन्छ:
▪“यो महिना थुप्रै भाषाहरूमा झन्डै पचास लाख स्वयंसेवकहरूले एउटा महत्त्वपूर्ण समाचार वितरण गरिरहेका छन्। आज हामीले सामना गरिरहेका समस्याहरू अन्त भएको देख्न चाहने मानिसहरूको निम्ति यो तयार पारिएको हो। यो तपाईंको व्यक्तिगत प्रति हो।”
यो सरल प्रस्तुति तपाईंलाई सुहाउन सक्छ:
▪“यो शीर्षक भएको महत्त्वपूर्ण समाचार पढ्न हामी सबैलाई प्रोत्साहन दिंदैछौं [राज्य समाचार-को शीर्षक पढ्नुहोस्]। समस्याहरूको वृद्धिबारे यहाँ पृष्ठ २ मा के भनिएको छ हेर्नुहोस् . . . [राज्य समाचार-बाट उपयुक्त वाक्यहरू पढ्नुहोस्।] यस सामयिक समाचारको बाँकी अंश पढ्न मन पराउनुहुनेछ भनेर हामी विश्वस्त छौं। यो तपाईंको प्रति हो।”
१२ राज्य समाचार स्वीकार्ने सबैप्रति व्यक्तिगत चासो राख्नुहोस्। बिस्तारै र स्पष्टसित बोल्नुहोस्; हतार हतार प्रस्तुत गर्नुपर्ने कुनै खाँचो छैन। हामी पूर्णतया आफ्नो इलाका ढाक्न चाहन्छौं र राज्य समाचार पढ्न चासो दिने सबैलाई व्यक्तिगत प्रति दिन बिर्सने छैनौं। घरमा कोही पनि नहुँदा घर-घर रिकर्ड पर्चीमा होशियारीपूर्वक टिप्नुहोस् ताकि उपयुक्त समयमा घरधनीलाई राज्य समाचार दिन पुनः फर्किन सकियोस्। सडक साक्षी दिंदा यो राज्य समाचार-को विषयवस्तु पढ्न चासो देखाउने व्यक्तिलाई एक प्रति दिन सकिन्छ। त्यसका प्रतिहरू हातेपर्चीजस्तो जथाभावी बाँड्नु हुँदैन। बरु, बटुवासित कुरा गरेर यहाँ प्रस्तुत गरिएको समाचारको महत्त्व बुझाउनुहोस्। यात्रा गर्दा वा खाजा खाने छुट्टीमा सहकर्मीहरूलाई साक्षी दिएर अनौपचारिक साक्षी दिंदा राज्य समाचार प्रयोग गर्नुहोस्। अशक्त वा अलिअलि बिरामीहरूले आगन्तुक, डाक्टर, नर्स, बिक्रेता वा आफ्नो घरमा आउने व्यक्तिलाई उक्त पर्चा दिनसक्छन्।
१३ यस अभियानको दौडान तपाईंले कति वटा पुनः भेट गर्नुहुनेछ? निस्सन्देह थुप्रै गर्नुहुनेछ किनभने राज्य समाचार प्रति चासो देखाउने सबैलाई पुनः भेट्नुपर्छ। प्रथम भेटमा राज्य समाचार मात्र प्रस्तुत गर्नु सर्वोत्तम हुनेछ। त्यसपछि, पुनः फर्कंदा राज्य समाचार-को सामयिक समाचारमाथि केही टिप्पणीहरू गर्नुहोस्। घरधनीले आफूले पढेका कुराहरूबारे व्यक्त गरेका विचारधारालाई ध्यान दिएर सुन्नुहोस्। कुन चाहिं ताजा पत्रिका प्रस्तुत गर्ने र आगामी भेटमा के छलफल गर्ने भनी तयारी गर्न तिनका टिप्पणीहरूले मदत दिनेछ। पुनः भेटमा राम्रो प्रतिक्रिया पाउनुभयो भने बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्नुहोस्।—१ कोरि. ३:६, ७.
१४ “तिमीहरूको परिश्रम . . . व्यर्थ हुँदैन”: के यो सबै काम सार्थक हुनेछ? पावलले कोरिन्थीहरूलाई यस्तो आश्वासन दिए: “तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।” (१ कोरि. १५:५८) वर्षौंको दौडान राज्य समाचार वितरण गर्ने हाम्रा प्रयासहरूले निकै आशिष् पाएका छन्। डेरा सर्ने एक दम्पतीले दराजमा राज्य समाचार-को पुरानो प्रति भेटाए। पूरै घरमा त्यो पर्चाबाहेक अरू केही थिएन। त्यो पढेपछि तिनीहरूले स्थानीय मण्डलीलाई सम्पर्क गरे र बाइबल अध्ययनको लागि आग्रह गरे। तिनीहरूले सबै सभाहरू धाउन थाले र पछि बप्तिस्मा लिने इच्छा व्यक्त गरे। शायद तपाईंले छोड्नुभएको प्रतिले पनि त्यस्तै परिणाम ल्याउनेछ!—km 12/74 p. 1; अवेक! नोभेम्बर ८, १९७६, पृष्ठ १५ पनि हेर्नुहोस्।
१५ हाम्रो सामु महान् काम छ। मे १४ सम्म हरेक मण्डलीले आफ्नो इलाका सिध्याउने वा आवश्यक परेमा मे महिनाको अन्तसम्म राज्य समाचार वितरण गर्ने हाम्रो लक्ष्य छ। प्रत्येक नियमित तथा सहायक अग्रगामीले राज्य समाचार-को २५० प्रतिसम्म पाउनसक्ने किसिमले सामान पठाइसकेको छ। मण्डलीको प्रत्येक प्रकाशकले ५० प्रतिसम्म पाउनेछ। यी प्रकाशक तथा अग्रगामीहरूको लागि प्रति पर्चा बीस पैसाको दरमा साहित्य काउन्टरबाट उपलब्ध गराइनुपर्छ तर जनसाधारणको लागि भने निश्शुल्क वितरण गरिनेछ। प्रकाशक तथा अग्रगामीहरूले आफूले वितरण गर्नसक्ने जति प्रतिहरू मात्र लिनुपर्छ ताकि बाँकी अरूले प्रयोग गर्न सकून्। यस सम्बन्धमा सबैले राम्रो सहयोग पुऱ्याउँदा यो महत्त्वपूर्ण समाचार यथासम्भव व्यापक वितरण गर्न सकिन्छ। ठूलो इलाका भएको हुँदा केही मण्डलीहरूले मे महिनाको बीचसम्म इलाका सिध्याइसकेका छैनन् र केही प्रतिहरू अझै उपलब्ध छन् भने मदतको लागि नजीकका मण्डलीहरूबाट सहयोग माग्नु व्यवहारिक हुनेछ। अरू मण्डलीहरूमा प्रकाशकहरू सहायक अग्रगामीको रूपमा भर्ती भए वा सेवकाईमा अझ बढी भाग लिएमा त्यो आवश्यकता पूरा गर्न सकिन्छ।
१६ हाम्रो काम सम्पन्न गर्न सम्पूर्ण मनतनले यहोवामा भक्ति चढाउनु आवश्यक छ। (कल. ३:२३) यसमा जीवन मुछिएको छ। आजको विश्व-परिस्थितिको महत्त्वलाई बेवास्ता गरेर मानिसहरू बस्न सक्दैनन्। अब समय धेरै बाँकी छैन। यो संसारका समस्याहरूको समाधान मानिससित छैन भन्ने तथ्य तिनीहरूले मानी लिनैपर्छ। तर परमेश्वरसित समाधान छ। परमेश्वरको आशिष् प्राप्त गर्न चाहने मानिसहरूले उहाँको आवश्यकताअनुरूप ढिलासुस्ती नगरी निर्णायक कदम उठाउनैपर्छ।
१७ मे १४ मा विशेष अभियान अन्त हुँदा के हामी हात बाँधेर बस्नेछौं? बस्नेछैनौं! हामी पावलको प्रेरित सल्लाहअनुरूप व्यस्त रहनेछौं।