अक्टोबर २० देखि नोभेम्बर १६ सम्म विशेष पर्चा अभियान!
१ सोमबार, अक्टोबर २० देखि चार हप्तासम्म हामी पर्चा वितरण गर्ने विशेष अभियानमा व्यस्त हुनेछौं। उक्त नयाँ पर्चाको शीर्षक छ: के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ? पृथ्वीको चारैतिर हुने यस विशेष अभियानले गर्दा थुप्रै मानिस सत्यको एक मात्र स्रोत थाह पाउन इच्छुक हुनेछन् भन्ने आशा गरिएको छ।—यूह. १७:१७.
२ उक्त पर्चामा छवटा महत्त्वपूर्ण प्रश्नबारे बाइबलले दिएको छोटोमीठो जवाफ छ। ती प्रश्न हुन्: “के ईश्वरलाई साँच्चै हाम्रो चासो छ?” “के युद्ध अनि दुःखकष्ट सधैं भइरहन्छन्?” “मृत्युपछि हाम्रो अवस्था कस्तो हुन्छ?” “मरिसकेकाहरूलाई फेरि भेट्न पाइएला?” “प्रार्थना कसरी गर्ने अनि ईश्वर कस्तो प्रार्थना सुन्छन्?” र “साँचो आनन्द म कसरी पाउन सक्छु?” चर्चहरूले अहिलेसम्म यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिन सकेका छैनन्। ख्रीष्टियान भनेर दाबी गर्नेहरूबाहेक अरूले पनि यी प्रश्नका जवाफ खोजेका छन्। तर बाइबलमा सुस्पष्ट जवाफ छ भनेर तिनीहरूलाई थाह नभएको हुन सक्छ। त्यसैले यो पर्चाको सन्देश धेरैलाई मन पर्नेछ भन्ने आशा हामीले गरेका छौं।
३ इलाका ढक्नुहोस्: घर-घरको इलाका सकेसम्म राम्ररी ढाक्ने प्रयास गर्नुहोस्। प्रचार गर्नुपर्ने इलाका ठूलो छ भने कोही पनि नभेटिएका घरहरूमा पहिलो पटकमा नै एक प्रति पर्चा छोड्न सकिन्छ भनेर प्राचीनहरूले प्रोत्साहन दिन सक्छन्। छिमेकी र नातागोतालाई अनि काम गर्ने ठाउँ, स्कूल र अन्य ठाउँमा तपाईंले चिनेजानेका सबैलाई पर्चा दिन नबिर्सनुहोस्। सायद अक्टोबर वा नोभेम्बर महिनामा सहायक अग्रगामी सेवा गर्ने योजना बनाउन सक्नुहुन्छ कि? के तपाईंका आध्यात्मिक उन्नति गरिरहेका र बप्तिस्मा अप्राप्त प्रकाशक हुन योग्य छोराछोरी वा बाइबल विद्यार्थी छन्? छन् भने, तिनीहरूले पनि हामीसित यस विशेष अभियानमा भाग लिन सक्छन् कि? उसोभए, यसबारे प्राचीनहरूलाई खबर गर्नुहोस्।
४ के भन्ने: धेरैभन्दा धेरै मानिससम्म यो सन्देश पुऱ्याउन आफ्नो प्रस्तुति छोटो बनाउनु बेस हो। घरधनीलाई पहिलो पृष्ठमा दिइएका छवटा प्रश्नमध्ये कुनै एउटा सोध्नुहोस्। त्यसपछि पर्चामा नै दिइएको जवाफ देखाउनुहोस्। यसो गर्दा प्रत्येक प्रकाशकले इलाकाअनुसार आफ्नो प्रस्तुति छाँटकाँट गर्न सक्नेछन्। कसैले चासो देखाएमा यसबारे टिपोट राख्नुहोस् र उक्त व्यक्तिलाई फेरि भेट्न जानुहोस्। सप्ताहन्तमा पर्चासँगै नयाँ अंकका पत्रिकाहरू पनि दिन सकिन्छ। नोभेम्बर १६ मा अभियान सिद्धिएपछि हामी बाइबलले सिकाउँछ पुस्तक प्रस्तुत गर्नेछौं। पर्चाहरू बाँकी भएमा अन्य पर्चाजस्तै दिन सकिन्छ।
५ बाइबल अध्ययन सुरु गर्नुहोस्: यो पर्चा विशेषगरि हामीले बाइबल अध्ययन सुरु गर्न सक्ने गरी तयार पारिएको हो। चासो देखाएको व्यक्तिलाई फेरि भेट्न जाँदा बाइबलले दिएका जवाफहरूमध्ये कुनचाहिंबाट सान्त्वना मिल्यो अथवा हलुको महसुस भयो, त्यो सोध्न सक्नुहुन्छ। बाइबल अध्ययन गर्ने हाम्रो प्रबन्धबारे पर्चाको अन्तिम पृष्ठमा उल्लेख गरिएको अंश तिनलाई देखाउनुहोस् र बाइबलले सिकाउँछ पुस्तक दिनुहोस्। सम्भव भए, तिनले छानेको विषयसित सम्बन्धित थप जानकारी भएको अध्यायबाट एउटा वा दुइटा अनुच्छेद छोटकरीमा छलफल गर्नुहोस्।
६ यहोवा उहाँलाई “आत्मा र सत्यतामा पुज्ने” मानिसहरू खोज्दै हुनुहुन्छ। (यूह. ४:२३) बाइबलमा दिइएको सत्य जवाफ भेट्टाउन मानिसहरूलाई मदत गर्ने यस विशेष अभियानमा हामी सबैले भाग लिन सकौं!