विस्तृतरूपमा राज्य समाचार न. ३५ वितरण गर्नुहोस्
१ हामी सबैको निम्ति अक्टोबर र नोभेम्बर एकदमै व्यस्त महिना हुनेछन्। अक्टोबर महिनाको पहिलो ११ दिनसम्म हामी प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को ग्राहक बनाउनेछौं। त्यसपश्चात्, अक्टोबर १२ तारिख आइतबारदेखि नोभेम्बर १६ तारिख आइतबारसम्म राज्य समाचार न. ३५ को विश्वव्यापी वितरणमा भाग लिनेछौं। आफ्नो इलाकाका मानिसहरूसमक्ष यो महत्त्वपूर्ण समाचार पुऱ्याउनु हाम्रो विशेषाधिकार हो। यसले, “के सबै मानिसहरूले एकअर्कालाई प्रेम गर्ने समय पनि आउला र?” भन्ने प्रश्नको जवाफ दिनेछ। यो विशेष अभियानको दौडान, हप्तैभरि हामी राज्य समाचार न. ३५ वितरण गर्नेछौं। सप्ताहन्तमा चाहिं राज्य समाचार वितरण गर्नुको अलावा पत्रिकाका ताजा अंकहरू प्रस्तुत गर्नुका साथै ग्राहक बनाउनेछौं।
२ क-कसले भाग लिनसक्छ? साबिकबमोजिम प्राचीनहरूले नै यस कार्यमा अगुवाइ लिनेछन्। सबैले राज्य समाचार वितरण गरेर आनन्द उठाउनेछन्। निस्सन्देह, यस अभियानको दौडान थुप्रै प्रकाशकहरूले सकभर दुवै महिना, नभए एकै महिना भए पनि सहायक अग्रगामी गर्नेछन्। अरू प्रकाशकहरूले चाहिं सेवकाईमा बिताएको साबिक समयभन्दा बढी नै समय बिताउन चाहलान्।
३ ज्ञान पुस्तकबाट निकै अध्ययन गरिसकेका र क्षेत्र सेवकाईमा भाग लिन योग्य भइसकेका तपाईंको बाइबल विद्यार्थी छ कि? त्यसो हो भने, राज्य समाचार अभियानमा संलग्न हुन तिनी बप्तिस्मा अप्राप्त प्रकाशक बन्न सक्लान्। यो पर्चा प्रस्तुत गर्दा सरल प्रस्तुति चलाउनुभए पुग्छ। उदाहरणका लागि, यसो भन्न सकिन्छ: “यो समाचार धेरै महत्त्वपूर्ण छ। त्यसकारण, यो महिनाभरि यसलाई विश्वव्यापी तवरमा १६९ भाषाहरूमा वितरण गरिंदैछ। तपाईं पनि एक प्रति लिनुहोस् भन्ने म चाहन्छु।” साना केटाकेटीहरूले पनि यो चाखलाग्दो कार्यमा अर्थपूर्ण ढंगमा भाग लिनसक्छन्।
४ पुस्तक अध्ययन सञ्चालकले आ-आफ्ना समूहको प्रत्येक व्यक्तिलाई राज्य समाचार न. ३५ वितरणमा जोडतोडले भाग लिन प्रोत्साहित गर्नुपर्छ। तपाईंहरूकहाँ निष्क्रिय प्रकाशकहरू पनि हुनसक्छन्। आवश्यक प्रोत्साहन पाउनसके पुनः तिनीहरू सेवकाईमा सक्रिय बन्नसक्छन्। यो अभियान सुरु हुन अगावै प्राचीनहरूले त्यस्ता प्रकाशकहरूलाई भेट्नुपर्छ। अनि अनुभवी प्रकाशकहरूसँग सेवकाईमा संगत गराएर तिनीहरूलाई मदत दिने प्रयास गर्नुपर्छ।
५ सेवकाईमा जान कुन समय भेला हुने? यस अभियानको निम्ति सुविधाजनक र व्यवहारिक सामूहिक साक्षीकार्यको प्रबन्ध मिलाउनुपर्छ। परिस्थिति अनुकूल भए, प्रत्येक हप्ताको सप्ताहन्त अनि साँझपख सेवकाईको निम्ति व्यवस्था मिलाउनुपर्छ। प्रकाशक र अग्रगामीहरूले साक्षीकार्यको पूर्ण लाभ उठाउन सक्नेगरि ती समय मिलाउनुपर्छ। सन्ध्याकालमा भेट्ने प्रबन्ध पनि मिलाउन सकिन्छ। यसो गर्नाले स्कूल जाने विद्यार्थी, सिफ्ट मिलाएर काम गर्ने कामदार तथा अन्य व्यक्तिहरूले पनि भाग लिनसक्छन्। इलाकामा पर्याप्त घर र व्यापारिक थलोहरू छन् कि छैनन् भनी सेवा निरीक्षकले निधो गर्नुपर्छ। त्यसो गर्नाले सबैले सेवकाईमा पूर्णरूपले भाग लिन सक्छन्। कुनै क्षेत्रमा धेरै प्रकाशकहरू छन् भने, एउटा इलाकामा कति जनाले काम गर्ने हो भनी सेवा निरीक्षकहरूले विचार गर्नुपर्छ।
६ घरमा नभेटिएका मानिसहरूलाई कसरी दिने? राज्य समाचार न. ३५ पढ्नु किन अत्यावश्यक छ भनी हामी यथासम्भव सबै घरधनीहरूलाई व्यक्तिगतरूपमा बताउन चाहन्छौं। घर-घर जाँदा कोही नभेटे त्यस घरको ठेगाना लेख्नुहोस् र अर्को पल्ट फेरि जानुहोस्। अभियानको अन्तिम हप्तासम्म पनि त्यस घरधनीसँग सम्पर्क भएन भने, बटुवाहरूले नदेख्नेगरि त्यस घरको ढोकामा एक प्रति राज्य समाचार छोड्न सक्नुहुन्छ। आवासीय क्षेत्रहरूमा जानुहुँदा पनि पदयात्रीहरूलाई राज्य समाचार टक्य्राउन चनाखो हुनुहोस्। ग्रामीण इलाकाहरूमा तथा अभियानको दौडान ढाक्न नसकिने इलाकामा चाहिं घरमा नभेटिएकाहरूकहाँ प्रथम भेटमै एक प्रति राज्य समाचार छोड्न सक्नुहुन्छ।
७ हाम्रो उद्देश्य के हो? यो अभियान नोभेम्बर १६ मा अन्त हुनेछ। सबै इलाका नछुट्याउन त्यस अगावै प्रत्येक मण्डलीले आफूसँग भएका सबै राज्य समाचार वितरण गर्ने कडा मेहनत गर्नुपर्छ। आफ्नो मण्डलीको इलाका एकदमै विस्तृत छ र इलाकामा एक्लै जानु कुनै डर छैन भने, तपाईं एक्लै पनि जान सक्नुहुन्छ। यसो गर्नाले यथासम्भव सबैलाई सुसमाचार सुनाउन सकिन्छ। (मत्ती १०:११) ब्रिफकेस लगिरहनुको सट्टा पर्चा हातमा र बाइबल चाहिं खल्ती वा झोलामा लग्न लाभकारी साबित हुनसक्छ। इच्छुक व्यक्तिहरूको रेकर्ड राम्ररी राख्न नभुल्नुहोस्।
८ के तपाईं तम्तयार हुनुहुन्छ? मण्डलीलाई कतिजति थप पत्रिका चाहिन्छ भनेर प्राचीनहरूले अडकल गर्नुपर्छ र त्यहीबमोजिम मगाउनुपर्छ। राज्य समाचार न. ३५ मगाउन पर्दैन। किनकि हरेक मण्डलीलाई नै यो पठाइनेछ। विशेष, नियमित र सहायक अग्रगामी प्रत्येकले २०० प्रति पाउनेछन्। अनि मण्डलीका अन्य प्रत्येक प्रकाशकहरूले ४० प्रति पाउनेछन्। हाम्रोनिम्ति यो काम निर्धारित भइसकेको छ। के यस आनन्ददायी कार्यमा भाग लिन तपाईं उत्सुक हुनुहुन्छ? अवश्य पनि हुनुहुन्छ। यथासम्भव व्यापक वितरण गरेर राज्य समाचार न. ३५ मा भएको बाइबलआधारित महत्त्वपूर्ण सन्देश सबैलाई बाँडौं!