यहोवालाई जे दिनुपर्ने हो, त्यो दिएँ
टेमोलियन भेसिल्युको वृत्तान्तमा आधारित
आइथोनोहरी भन्ने गाउँमा बाइबलको कुरा सिकाएको कारण मलाई गिरफ्तार गरे। प्रहरीले मेरो जुत्ता खोल्न लगाएर पैतालामा हिर्काउन थाले। पिटाइ खाँदा खाँदा मेरो खुट्टा नै लाटो भइसकेकोले हिर्काउँदा पनि दुख्नै छाड्यो। त्यतिखेर ग्रीसमा यस्तो दुर्व्यवहार कुनै नौलो कुरा थिएन। तर मैले यस्तो दुर्व्यवहार सामना गर्नुको कारण बताउनुअघि म कसरी बाइबल शिक्षक भएँ, त्यो बताउँछु।
मेरो जन्म १९२१ मा भएको थियो। त्यसको केही समयपश्चात् हामी उत्तर ग्रीसस्थित रोडोलिभस शहरमा बसाइँ सऱ्यौं। जवानीमा मैले छाडा जीवन बिताएँ। मैले ११ वर्षको उमेरमै चुरोट तान्न थालें। त्यसपछि, पियक्कड भएँ, जुवातास खेल्न थालें अनि प्रायः रातैपिच्छे उच्छृङ्खल पार्टीहरूमा दौडिन्थें। मलाई संगीत आउँथ्यो। तसर्थ, म स्थानीय सांगीतिक टोलीको सदस्य बनें। वर्ष दिनभित्रै हाम्रो सांगीतिक टोलीका प्रायजसो सबै वाद्ययन्त्रहरू बजाउन जान्ने भएँ। यसको साथसाथै म मेहनती र न्यायप्रेमी पनि थिएँ।
सन् १९४० दशकको सुरुतिर दोस्रो विश्वयुद्ध चर्किरहेको थियो। त्यस समय हाम्रो सांगीतिक टोलीलाई एउटी सानी बच्चीको अन्येष्टिमा धुन बजाउन निम्त्याइएको थियो। चिहान नजिकै त्यस बच्चीका नातेदार र साथीहरू अत्यन्तै शोकित भएर रोइरहेका थिए। मृतकप्रति तिनीहरू निराश भएर यस्तो विलाप गरेको देख्दा मेरो मनमा गहिरो छाप पऱ्यो। मैले सोच्न थालें, ‘हामी किन मर्छौं? हाम्रो जिन्दगी भनेको दुई चार दिन बाँच्नु मात्र हो र? यसका जवाफ कहाँ पाउनसक्छु?’
यसको केही समयपश्चात् घरको दराजमा नयाँ नियम देखें। त्यसलाई झिकेर पढ्न थालें। उहाँको उपस्थितिको चिह्नस्वरूप ठूलठूला युद्धहरू हुनेछन् भन्ने येशूका शब्दहरू मत्ती २४:७ मा पढेपछि उहाँका शब्दहरू हाम्रै समयमा लागू हुनुपर्छ भनेर बुझ्न थालें। त्यसपछिका हप्ताहरूमा मैले उक्त मसीही युनानी धर्मशास्त्र दोहऱ्याई तेहऱ्याई पढें।
त्यसपछि डिसेम्बर १९४० तिरको कुरा हो, हाम्रो घर नजिकैको एउटा परिवारलाई भेट्न गएको थिएँ। त्यस परिवारमा एउटी विधवा र तिनका पाँच बालबच्चाहरू थिए। तिनीहरूको घरको बुइँगलमा थुप्रै पुस्तिकाहरू देखें। त्यसमध्ये एउटा थियो, वाच टावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित चाह गरेको सरकार पुस्तिका। बुइँगलमा बसेर मैले उक्त पुस्तिका पूरै पढें। उक्त पुस्तिका पढेर हामी साँच्चै बाइबलले भनेको “आखिरी दिनमा” बाँचिरहेका छौं अनि परमेश्वरले चाँडै यो रीतिरिवाजको अन्त गरेर नयाँ धार्मिक संसार ल्याउनुहुनेछ भन्ने कुरामा म विश्वस्त भएँ।—२ तिमोथी ३:१-५; २ पत्रुस ३:१३.
मलाई एउटा कुराले असाध्यै प्रभाव पाऱ्यो। त्यो थियो, विश्वासीहरू सधैंभरि पार्थिव प्रमोदवनमा बाँच्नेछन् अनि परमेश्वरको राज्य अन्तर्गत नयाँ संसारमा दुःखकष्ट र मृत्यु हुनेछैन भन्ने धर्मशास्त्रीय प्रमाण। (भजनसंग्रह ३७:९-११, २९; प्रकाश २१:३, ४) उक्त पुस्तिका पढ्दा पढ्दै मैले त्यसको लागि परमेश्वरलाई प्रार्थनामा धन्यवाद चढाएँ अनि उहाँले चाहनुहुने कुराहरू बताइदिनुहोस् भनेर बिन्ती गरें। यहोवा परमेश्वरले मेरो तनमनको भक्ति चाहनुहुन्छ भन्ने कुरा स्पष्टसँग बुझें।—मत्ती २२:३७.
आफूले सिकेका कुराअनुसार चल्ने
त्यस समयदेखि चुरोट तान्न, रक्सीले मात्तिन र जुवा खेल्न चटक्कै छाडें। उक्त विधवाका पाँच बालबच्चा र मेरा तीन भाइबहिनीलाई एक ठाउँमा राखेर आफूले पुस्तिकाबाट सिकेका कुराहरू बताएँ। केही समय नबित्दै हामीले अलि अलि जानेका कुराहरू अरूलाई बताउन थाल्यौं। हामी समाजमा यहोवाका साक्षीहरू भनेर चिनिन थाल्यौं तर कुनै साक्षीसँग हाम्रो भेटघाट भएकै थिएन। सुरुदेखि नै मैले आफूले सिकेका अद्भुत कुराहरू अरूलाई बताउन हरेक महिना सय घण्टाभन्दा बढी समय बिताएँ।
एक जना स्थानीय ग्रीक अर्थोडक्स पादरीले मेयरकहाँ गएर हाम्रो विरुद्धमा उजुरी गरे। तर त्यसको केही दिनअघि एक जना जवान साक्षीले हराएको घोडा फेला पारेर त्यसको मालिकलाई बुझाएका रहेछन्। हामीलाई त्यो कुरा थाहै थिएन। यस्तो इमानदारीले गर्दा मेयरले साक्षीहरूको आदर गरे अनि पादरीको कुरा सुन्दै सुनेनन्।
अक्टोबर १९४१ को कुरा हो। एक दिन बजारमा साक्षी दिइरहेको बेला कसैले यहोवाका एक जना साक्षी शहर नजिकै छन् भनेर कुरा गरेको सुनें। तिनी क्रिसटोस ट्रेन्टाफिलु नामक भूतपूर्व प्रहरी थिए। म तिनलाई भेट्न गएँ। तिनी १९३२ मा नै साक्षी भएका रहेछन्। तिनले थुप्रै पुराना वाच टावर साहित्यहरू दिंदा खुसीले मेरो खुट्टा भुइँमै रहेनन्! ती साहित्यहरूले मलाई आध्यात्मिक उन्नति गर्न मदत गऱ्यो।
सन् १९४३ मा पानीको बप्तिस्माद्वारा परमेश्वरप्रतिको समर्पणलाई जनसमक्ष प्रकट गरें। त्यतिखेर मैले तीनवटा छिमेकी गाउँ अर्थात् ड्राभस्कोस, पालियोकोमी र मेभरोलोफसमा बाइबल अध्ययन सञ्चालन गरिरहेको थिएँ। मैले बाइबल अध्ययन सहायकको रूपमा परमेश्वरको वीणा नामक पुस्तक प्रयोग गर्थें। अन्ततः यस इलाकामा यहोवाका साक्षीहरूका चारवटा मण्डलीहरू स्थापित भएको देख्ने सुअवसर पाएँ।
अवरोधको बावजूद प्रचार गर्ने
सन् १९४४ मा जर्मन कब्जाबाट ग्रीस स्वतन्त्र भयो। त्यसको केही समयपश्चात् मैले वाच टावर सोसाइटीको एथेन्सस्थित शाखा कार्यालयसँग सम्पर्क राख्नसकें। कसैले परमेश्वरको राज्य सन्देश सुन्दै नसुनेको इलाकामा प्रचार गर्न मलाई शाखा कार्यालयले निमन्त्रणा दियो। त्यहाँ बसाइँ सरेपछि तीन महिनासम्म खेतमा काम गरें। त्यसपछि नौ महिना सेवकाईको काम गरें।
त्यही वर्ष मेरी मुमाका साथै त्यस विधवा र तिनका कान्छी छोरीबाहेक अरू छोराछोरीले बप्तिस्मा लिएको हेर्न पाएँ। त्यही वर्ष नोभेम्बरमा उक्त विधवाकी कान्छी छोरी मेरिन्थी मेरी प्रिय पत्नी बनिन्। तिनले १९४३ मै बप्तिस्मा लिएकी थिइन्। तीस वर्षपश्चात् अर्थात् १९७४ मा बुबा पनि बप्तिस्माप्राप्त साक्षी हुनुभयो।
सन् १९४५ को सुरुतिर हामीले पहिलो चोटि शाखा कार्यालयबाट प्रहरीधरहरा-को स्टेन्सिल प्रतिलिपि पायौं। त्यसको मुख्य लेखको शीर्षक थियो, “गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” (मत्ती २८:१९) तुरुन्तै म र मेरिन्थी घर छाडेर निकै टाढा अर्थात् स्ट्राइमन नदीको पूर्वतिर अवस्थित इलाकामा प्रचार गर्न गयौं। केही समयपछि अन्य साक्षीहरू पनि त्यहाँ आए।
हामी कुनै एउटा गाउँमा पुग्न खोंच र पहाडहरू हुँदै निकै किलोमिटर प्रायजसो खाली खुट्टै हिंड्थ्यौं। हामी खाली खुट्टै हिंड्नुको कारण चाहिं जुत्ता जोगाउनु थियो किनकि हामीसँग त्यही एक जोर मात्र जुत्ता थियो। सन् १९४६ देखि १९४९ सम्म ग्रीसमा गृह युद्ध चर्किरहेको थियो अनि यात्रा गर्नु एकदमै खतरनाक थियो। खुला सडकमा लासहरू तेर्सिरहेको देख्नु कुनै अनौठो कुरा थिएन।
कठिनाइहरूले गर्दा निरुत्साहित हुनुको सट्टा हामी जोसका साथ सेवामा लागिरह्यौं। भजनरचयिताले जस्तै मैले पनि थुप्रै चोटि महसुस गरें। तिनले यसो लेखे: “घोर अन्धकारमा मैले हिंड्नु परे तापनि, म कुनै खतरादेखि डराउँनेछैनँ। किनकि तपाईं मेरो साथमा हुनुहुन्छ। तपाईंको लट्ठी र तपाईंको लौरो, तिनैले मलाई सान्त्वना दिन्छन्।” (भजनसंग्रह २३:४) त्यतिबेला हामी हप्तौंसम्म घरदेखि टाढा हुन्थ्यौं र कहिलेकाहीं त मैले महिनामा २५० घण्टा सेवकाईमा बिताएको छु।
एड्हनोकरीमा हाम्रो सेवकाई
सन् १९४६ मा हामीले भ्रमण गरेका गाउँहरूमध्ये एउटा हो, पहाडको टुप्पामा अवस्थित एड्हनोकरी। त्यहाँ हामीले एक जना पुरुषलाई भेट्यौं। उक्त पुरुषले त्यस गाउँमा बाइबल सन्देश सुन्न चाहने दुई जना पुरुषहरू छन् भनेर बताए। तथापि, छिमेकीहरूको डरले गर्दा उक्त पुरुषले उनीहरू बस्ने ठाउँ देखाउन चाहेनन्। तर खोजखाज गरेर हामीले उनीहरूको घर भेट्टाएरै छाड्यौं अनि उनीहरूले हाम्रो राम्रो अतिथिसत्कार गरे। साँच्चै भन्ने हो भने, हामी त्यहाँ पुगेको केही समयमै बैठक कोठा मानिसहरूले खचाखच भरियो! तिनीहरू नातेदार वा साथीभाइहरू थिए। तिनीहरूले एकदमै ध्यान दिएर हाम्रो कुरा सुनेको देख्दा म त तीन छक परें। तिनीहरूले यहोवाका साक्षीहरूलाई भेट्न खोजेको धेरै भइसकेको रहेछ तर जर्मन कब्जाको दौडान त्यहाँ कोही पनि साक्षी थिएन रहेछ। तिनीहरूको चासो जाग्नुको कारण के थियो?
ती दुई परिवारका मूलीहरू स्थानीय साम्यवाद पार्टीका प्रमुख व्यक्तिहरू थिए र तिनीहरूले गाउँबासीहरूलाई साम्यवादी आदर्शहरू सिकाएका थिए। तर त्यसैताका तिनीहरूले वाच टावर सोसाइटीद्वारा प्रकाशित सरकार पुस्तक पाए। यो पुस्तक पढेपछि तिनीहरू त्रुटिरहित तथा धार्मिक सरकार भनेको त परमेश्वरको राज्य मात्र रहेछ भनी विश्वस्त भए।
हामीले ती दुई पुरुष र तिनीहरूका साथीभाइहरूसँग आधा रातसम्म कुरा गऱ्यौं। आफ्ना प्रश्नहरूको बाइबल आधारित जवाफ पाएर तिनीहरूलाई असाध्यै चित्त बुझ्यो। तथापि, केही समयपश्चात् गाउँका साम्यवादीहरूले मलाई मार्ने षड्यन्त्र रचे किनकि तिनीहरूको विचारमा मैले तिनीहरूका पूर्व नेताहरूको धर्म परिवर्तन गराएको थिएँ। संयोगको कुरा, हाम्रो भेटघाट भएको पहिलो रातमा कुराकानी गर्दा भेला हुनेहरूमध्ये त्यो व्यक्ति पनि थिए जसले मलाई गाउँका जिज्ञासु व्यक्तिहरूबारे बताएका थिए। अन्ततः तिनले बाइबल ज्ञान हासिल गर्दै गए, बप्तिस्मा लिए अनि पछि मसीही प्राचीन भए।
क्रूर सतावट
ती दुई पूर्व साम्यवादी पुरुषहरूसँग भेटघाट भएको केही समय नबित्दै हामीले सभा सञ्चालन गरिरहेको घरमा दुई जना प्रहरीहरू घुसे। तिनीहरूले बन्दुक तेर्स्याउँदै हामीमध्ये चार जनालाई पक्रेर प्रहरी चौकी लगे। त्यहाँको प्रहरी निरीक्षकको ग्रीक अर्थोडस्क पादरीसँग साठगाँठ थियो। तिनले हामीलाई गाली गरे। अनि अन्तमा सोधे, “म तिमीहरूलाई के गरूँ?”
“यिनीहरूलाई बेस्सरी पिटौं!” हाम्रोपछाडि ठिंग उभिरहेका प्रहरीहरूले जवाफ दिए।
त्यतिञ्जेल रात निकै ढल्किसकेको थियो। हामीलाई छिंडीमा बन्द गरेर ती प्रहरीहरू प्रहरी चौकी नजिकैको भट्टीतिर लागे। तिनीहरू रक्सी पिएर टिल्ल भएपछि फर्केर चौकीमा आए अनि मलाई माथिल्लो तलामा लगे।
तिनीहरूको चालामाला हेर्दा तिनीहरूले मलाई कुनै पनि समयमा मार्नसक्छ जस्तो लाग्यो। तसर्थ जेसुकै सामना किन गर्न नपरोस्, त्यसलाई सामना गर्न सकुँ भनेर परमेश्वरलाई प्रार्थना गरें। तिनीहरूले काठका डन्डाहरू लिएर मेरो पैतालामा हिर्काउन थाले। हो, मैले सुरुमा यसबारे बताएको छु। त्यसपछि तिनीहरूले मेरो शरीरभरि जताततै हिर्काएर फेरि छिंडीमा थुने। त्यसपछि अर्को व्यक्तिलाई पक्रेर पिट्न थाले।
त्यतिञ्जेल मैले दुई जना जवान साक्षीहरूलाई पछि सामना गर्नुपर्ने परीक्षाबारे सजग गराएँ। तर प्रहरीहरूले फेरि मलाई नै माथिल्लो तलामा लगे। तिनीहरूले मेरो लुगा फुकाले अनि पाँच जनाले एक घण्टासम्म तिनीहरूको आर्मी बुटले मेरो टाउकोमा जथाभावी हिर्काए। त्यसपछि तिनीहरूले मलाई भऱ्याङबाट तल खसालिदिए। त्यहाँ म १२ घण्टासम्म अचेत अवस्थामा लम्पसार परें।
अन्ततः हामी झ्यालखानाबाट मुक्त भएपछि त्यस रात गाउँको एउटा परिवारले हामीलाई आफ्नो घरमा राखेर हाम्रो हेरचाह गरे। भोलिपल्ट हामी आफ्नो घरतिर लाग्यौं। पिटाइले गर्दा हामी यति जीर्ण र थकित भएका थियौं कि साधारणतया दुई घण्टा लाग्ने बाटो हिंड्न आठ घण्टा लाग्यो। पिटाइ खाएर मेरो शरीर यतिसम्म सुनिएको थियो कि मेरिन्थीले मलाई चिन्नै गाह्रो पऱ्यो।
विरोधको बावजूद वृद्धि
सन् १९४९ मा गृह युद्ध भई नै रहेको बेला हामी थिस्सलोनिकामा बसाइँ सऱ्यौं। मलाई त्यस शहरका चार वटा मण्डलीहरूमध्ये एउटा मण्डलीका सहायक सेवकको रूपमा काम गर्न खटाइयो। एक वर्षभित्रै मण्डलीमा यति वृद्धि भयो कि हामीले अर्को मण्डली स्थापना गऱ्यौं अनि मलाई मण्डलीका सेवक वा अध्यक्षको कार्य दिइयो। फेरि वर्ष दिनभित्रै नयाँ मण्डलीमा पनि दोबर वृद्धि भयो। फलतः अर्को मण्डली स्थापित भयो!
थिस्सलोनिकामा यहोवाका साक्षीहरूको उत्तरोत्तर वृद्धि भएको देखेर विरोधीहरू रिसले चूर भए। सन् १९५२ को कुरा हो, एक दिन कामबाट घर फर्किंदा हाम्रो घर आगो लागेर खरानी भइसकेको रहेछ। मेरिन्थीले चाहिं मुस्किलले आफ्नो ज्यान जोगाइछिन्। त्यस रात हाम्रो सभा थियो र हामीले सभामा फोहोर लुगा लगाउनुको कारण बतायौं। हामीले सब थोक गुमाएका थियौं। हाम्रा मसीही भाइबहिनीहरूले धेरै माया र सहयोग गरे।
सन् १९६१ मा मलाई परिभ्रमणकार्यको कार्यभार दिइयो। मैले भाइबहिनीहरूलाई आध्यात्मिक तवरमा बलियो बनाउन हरेक हप्ता बेग्लै मण्डलीमा भ्रमण गर्नुपर्थ्यो। त्यसपछिका २७ वर्षसम्म मेरिन्थी र मैले मेसिडोनिया, थ्रेस र थेसालीको क्षेत्रीय तथा जिल्लाको भ्रमण गऱ्यौं। सन् १९४८ देखि मेरी प्रिय पत्नी मेरिन्थीको आँखाले देख्न छोड्यो भने पनि हुन्छ। तथापि, तिनले विश्वासका अनेकन् जाँचहरू सामना गर्दै साहसी भई मसँग सेवा गरिन्। तिनी पनि थुप्रैपल्ट पक्राउमा परिन्, दुःखकष्ट सहिन् अनि झ्यालखानामा परिन्। त्यसपछि तिनको स्वास्थ्य दिनदिनै बिग्रंदै गयो अनि लामो समयसम्म क्यान्सर रोगसँग संघर्ष गर्दै १९८८ मा मृत्यु भयो।
त्यही वर्ष मलाई थिस्सलोनिकामा विशेष अग्रगामीको रूपमा सेवा गर्न खटाइयो। अहिले मैले यहोवाको सेवा गरेको ५६ वर्षभन्दा बढी भइसक्यो। तैपनि, अझै कडा परिश्रम गर्न र हरेक प्रकारका सेवकाईमा भाग लिनसक्छु। कहिलेकाहीं त जिज्ञासुहरूसँग हरेक हप्ता २० वटा बाइबल अध्ययन सञ्चालन गरें।
अहिले हाम्रो समयमा महान् शैक्षिक कार्यक्रम सुरुआत भएको छ र यो कार्यक्रम यहोवाको नयाँ संसार तथा हजार वर्षसम्म चलिरहनेछ भनेर बुझेको छु। यद्यपि, अहिले सुस्त हुने, कामकुरा पन्छाउने वा शारीरिक अभिलाषाहरू पूरा गर्ने समय होइन भनेर पनि बुझेको छु। मैले सुरुमा गरेको प्रतिज्ञा पूरा गर्न मदत गर्नुभएकोमा यहोवालाई धन्यवाद दिन्छु किनकि यहोवा हाम्रो तनमनको भक्ति र सेवाको योग्य हुनुहुन्छ।
[पृष्ठ २४-मा भएको चित्र]
प्रचार गर्न प्रतिबन्ध लगाइएको समयमा भाषण दिंदै
[पृष्ठ २५-मा भएको चित्र]
मेरी पत्नी मेरिन्थीसँग