शन्तिका साँचो सन्देशवाहकहरू को हुन्?
मे ३१, १९९६ का दिन समाचार स्रोतहरूले शान्तिको सन्देश नै हो कि भन्ने भान पार्ने सन्देश घोषणा गरे। त्यसको अघिल्लो दिन विमोचित एउटा सरकारी कथनअनुसार “इजरायलले प्यालेस्टाइन लगायत अरू छिमेकी मुलुकहरूसित शान्ति र सुरक्षाको प्रक्रियालाई कायम राख्न इजरायलका भावी प्रधानमन्त्री बेन्जामीन नेतान्याहु अत्यन्तै वचनबद्ध भए।”
नेतान्याहुको चुनावमा गरिएको जोडतोडको प्रचार अभियानले थुप्रै मानिसलाई कतै मध्यपूर्वमा साँच्चै शान्ति छाउँछ कि भनेर सोच्न लगायो। यदि त्यसो हो भने, अरू राष्ट्रहरूले आपसको मतभेदलाई भुलेर इजरायलको अनुसरण गर्ने बेला पो आएको हो कि?
निस्सन्देह, शान्तिको दिलाशा दिनु जति सजिलो छ त्यसलाई पूरा गरेर देखाउनु उति नै गाह्रो छ। यस कुरालाई बुझेर थुप्रै मानिसहरूको मनमा शंका उब्जियो। यसबारे पत्रकार हेमी शाल्भे भन्छन्, “इजरायलका आधा जति मानिसहरू इजरायलको पुनर्स्थापना हुनै लागेको ठान्छन् र अरूले चाहिं पृथ्वीका पीडादायी परिस्थितिहरूभित्र इजरायल जकडिएको छ भन्ने विश्वास गर्छन्।” तिनले संक्षिप्तमा यसरी बताए: “कोही रमाउँछन्; कोही रुन्छन्।”
दुःखलाग्दो कुरा, मानिसले शान्ति ल्याउने चेष्टा गर्दा यस्तो परिस्थिति उत्पन्न हुन्छ। कुनै नेता र तिनका समर्थकहरू विजय हुनुको अर्थ, विपक्षी दलको हार हो। असन्तुष्टताले सरकारप्रति नराम्रो धारणा उत्पन्न गराउँछ र त्यस धारणाले प्रायजसो विद्रोह गर्न उस्काउँछ। मध्यपूर्व, ल्याटिन अमेरिका, पूर्वी युरोप वा अरू कुनै पनि ठाउँमा किन नहोस्, शान्तिको लागि मानिसजातिले गरेका प्रयासहरू एकदमै भ्रमात्मक छन्।
साँचो शान्ति सँघारमै!
मध्यपूर्वमा शान्तिबारे दिइएको समाचारले तहल्का मचाइरहेको बेला शान्तिको अर्को सन्देश सुनियो। यो सन्देश जोडतोडले प्रचारप्रसार गरिएको राजनैतिक भाषण थिएन नता राष्ट्रहरूबीचको शान्ति सन्धि नै थियो। बरु, यस सन्देशमा परमेश्वरको राज्य मार्फत मात्र सम्भव हुने शान्तिबारे उद्घोषणा गरियो। यो सन्देश कहाँ सुनाइएको थियो? सन् १९९६/९७ को दौडान यहोवाका साक्षीहरूले विश्वभरि सञ्चालन गरेका १,९०० भन्दा बढी “ईश्वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनहरूमा।
कुनै पनि मानव सरकारले साँचो शान्ति र सुरक्षा ल्याउन सक्दैन भनेर यी अधिवेशनहरूमा स्पष्ट पारियो। किन? किनभने शान्ति ल्याउने हो भने हाम्रो शान्तिलाई दिन प्रतिदिन भंग गर्ने कुराहरू हटाउनु आवश्यक छ। साँचो शान्तिको अर्थ, हामीले सधैं बिहान ब्यूँझदा युद्ध वा हिंसाको खतरा महसुस नगर्नु हो। यसको अर्थ, अपराधको अन्त, ढोकामा ताल्चा मार्न नपर्नु, डरबिना सडकहरूमा हिंडडुल गर्न पाउनु, परिवार भताभुंग नहुनु हो। पृथ्वीको कुन चाहिं सरकारले यी सबै कुराको प्रबन्ध गर्नसक्छ? भन्ने नै हो भने, पृथ्वीको कुन सरकारले यी कुरा ल्याएरै छाड्छु भन्ने आँट गर्नसक्छ?
तथापि, परमेश्वरको राज्यले यी कुराहरू पूरा गर्नसक्छ र गर्नेछ। बाइबल प्रतिज्ञा गर्छ: “हेर, परमेश्वरको बासस्थान मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछन्। औ परमेश्वर आफै तिनीहरूसँग भएर तिनीहरूका परमेश्वर हुनुहुनेछ। उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ, र फेरि मृत्यु हुनेछैन। औ शोक, रुवाइ, पीड़ा फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्।” (प्रकाश २१:३, ४) पीडा भोगिरहेका मानिसजातिलाई त्यसले कत्ति आराम दिनेछ!
यहोवा परमेश्वरको प्रतिज्ञा अवश्य पूरा हुनेछ। बाइबलले हामीलाई यस्तो आश्वासन दिन्छ: “परमेश्वर ढाँट्नुहुन्न, कारण उहाँ मानिस हुनुहुन्न, औ उहाँ मान्छेको सन्तान पनि हुनुहुन्न। उहाँले मन बद्लनुहुन्न। उहाँले भनेपछि के त्यो गर्नुहुन्न र? अथवा उहाँले बोलेपछि के त्यो पूरा गर्नुहुन्न र?” (गन्ती २३:१९) हो, परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको छ, त्यो पूरा हुनेछ। उहाँको पक्षमा अडान लिने सबैमाथि उहाँले आशिष् बर्साउनुहुनेछ।
परमेश्वरको शान्तिका सन्देशवाहकहरू
परमेश्वरको राज्यबारे जोसिलो प्रचार गर्नेहरू भनी यहोवाका साक्षीहरू चिरपरिचित छन्। प्रत्येक वर्ष तिनीहरूले बाइबलको हृदयस्पर्शी सन्देश अरूलाई सुनाउन जम्माजम्मी एक अरब घण्टाभन्दा बढी समय बिताउँछन्। यो कुरा येशूका यी शब्दहरूको पूर्तिअनुरूप छ: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) साक्षीहरूले सुनाउने सन्देश अवश्य पनि “सुसमाचार” हो किनभने मानिसजातिको लागि एक मात्र आशा परमेश्वरको स्वर्गीय राज्य हो भनेर यसले उद्घोषणा गर्छ। भविष्यको लागि यो कस्तो अटल आशा!
अहिले नै पनि परमेश्वरको राज्यले आफ्ना प्रजाहरूलाई साँचो शान्ति र भातृप्रेमको बन्धनले बाँधिरहेको छ। येशूले भन्नुभयो: “यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” (यूहन्ना १३:३५) यहोवाका साक्षीहरूले साँचो मसीही धर्मको यस आधारभूत आवश्यकता पूरा गर्ने प्रयत्न गर्छन्। परिणामस्वरूप यहूदी र अरबी, क्रोएशियाली र सर्बियाली, हुटु र टुट्सीहरूबीच अद्भुत भ्रातृत्व छ। अधिकांश मानिसजातिका लागि यसप्रकारको शान्ति केवल सपना हो, तर विश्वभरिका यहोवाका लाखौं साक्षीहरूका लागि भने अहिले यो वास्तविकता हो।
“ईश्वरीय शान्तिका सन्देशवाहकहरू” जिल्ला अधिवेशनले बाइबल सिद्धान्तअनुरूप जीवन बिताइरहन र परमेश्वरको राज्यको सुसमाचार सुनाइरहन प्रोत्साहन दियो। लाखौं मानिसहरूले भाग लिइरहेको प्रेरणादायी अधिवेशनको निम्न प्रतिवेदन पढ्न हामी तपाईंलाई आमन्त्रित गर्छौं।