प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ३/१ pp. २५-२८
  • के तपाईं अरूमाथि भरोसा राख्न डराउनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं अरूमाथि भरोसा राख्न डराउनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • भरोसा गर्न नसक्नुका कारणहरू
  • त्यस्तो पर्खाललाई किन भत्काउनुपर्छ?
  • आफ्नो परिवारमाथि भरोसा
  • मण्डलीमाथि भरोसा
  • भरोसायोग्य सम्बन्धहरू कसरी बनाउने
  • हामी भाइबहिनीलाई भरोसा गर्न सक्छौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • प्राचीनहरू आफ्नो जिम्मेवारीको संरक्षण गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • सुखी जीवनको लागि भरोसा नभई हुँदैन
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • आफूलाई भरोसायोग्य साबित गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ३/१ pp. २५-२८

के तपाईं अरूमाथि भरोसा राख्न डराउनुहुन्छ?

‘आफ्नो मन खोलेर कुरा गर्न मिल्ने कोही छैन। मानिसहरूले मलाई बुझ्दै बुझ्दैनन्‌। तिनीहरू आफ्नै समस्याहरूमा चुर्लुम्म डुबेका छन्‌। तिनीहरूलाई मेरो कुरा सुन्‍ने फुर्सदै छैन।’ थुप्रैले यस्तै महसुस गर्छन्‌ अनि आफ्नो कुराहरू आफैसित गुम्साएर राख्छन्‌। अरूले हालखबर के छ भनी सोध्दा तिनीहरू बताउन चाहन्छन्‌ तर भन्दैनन्‌। तिनीहरू मन खोलेर कुरा गर्नै सक्दैनन्‌।

हो, अरूबाट मदत नचाहने मानिसहरू पनि छन्‌। यद्यपि, मदतको अत्यन्तै खाँचो भएकाहरू पनि थुप्रै छन्‌ तर आफ्नो एकदमै गोप्य विचार, भावना तथा अनुभवहरू अरूलाई भन्‍न डराउँछन्‌। के तपाईंलाई पनि त्यस्तै लाग्छ? के तपाईंले भरोसा गर्नसक्ने कोही छँदै छैन?

भरोसा गर्न नसक्नुका कारणहरू

आज संसारमा अविश्‍वासको लहर चलिरहेको छ। युवकयुवतीहरू आफ्नो आमाबाबुसित कुरा गर्दैनन्‌। आमाबाबु पनि आपसमा खुलेआम कुरा गर्न सक्दैनन्‌। अख्तियारवालाहरूसित कुरा गर्न चाहनेहरू पनि थोरै मात्र छन्‌। अरूमाथि भरोसा गर्न नसकेर कतिपय मानिसहरू मद्य र लागू पदार्थको सहारा लिन्छन्‌ वा आफ्ना समस्याहरूबाट उम्कन छाडा जीवनशैली अपनाउँछन्‌।—हितोपदेश २३:२९-३५; यशैया ५६:१२.

पादरीवर्ग, चिकित्सक, उपचारक तथा शिक्षकहरूका अनेकन्‌ बेइमान र अनैतिक कार्यले गर्दा तिनीहरूमाथि समेत मानिसहरू भरोसा राख्न सक्दैनन्‌। उदाहरणका लागि, एक अनुमानअनुसार १० प्रतिशतभन्दा बढी पादरीहरू यौन दुराचारमा फसेका छन्‌। एक लेखकअनुसार ती “मानिसहरूले मानव सम्बन्धमा खाडलरूपी ठूलो दरार पैदा गर्छन्‌।” अनि यसले तिनीहरूको चर्चलाई कस्तो असर पार्छ? तिनीहरूले अरूमाथि भरोसा राख्न सक्दैनन्‌।

खस्कँदो नैतिक स्तरहरूले परिवारमा ठूलो समस्या खडा गरेका छन्‌। यो यस्तो हदसम्म पुगिसक्यो कि मिलाएर मिलाउनै नसक्ने जस्तो देखिने पारिवारिक अवस्थाहरू त सामान्य भइसक्यो। कुनै समय यस्तो पनि थियो जब घरमा बालबच्चाको लालनपालन गरिन्थ्यो। तर आजकल घर भनेको खाना खानको निम्ति मात्र जाने ठाउँ मानौं, पेट्रोल पम्पजस्तो भएको छ। “स्वाभाविक प्रेम” नपाइकन हुर्केका केटाकेटीले वयस्क जीवनमा अरूमाथि भरोसा राख्नसक्दैनन्‌।—२ तिमोथी ३:३.

यसबाहेक विश्‍व परिस्थिति बिग्रँदै गएकोले झनै डरलाग्दा घटनाहरूको सामना गर्नुपर्छ। त्यस्तै परिस्थितिबारे अगमवक्‍ता मीकाले यस्तो लेखे: “तिमीहरूको हितका मितमाथि भरोसा नगर।” (मीका ७:५) स-साना चित्त नबुझ्ने कुराहरू, विश्‍वासघात वा जीवनलाई नै खतरामा पार्ने घटनाहरूले गर्दा तपाईंले पनि त्यस्तै महसुस गर्नुहोला। तपाईंलाई अरूमाथि फेरि भरोसा गर्न गाह्रो लाग्ला, भावशून्य हुनुहोला र कुराहरू आफैमा गुम्साएर एउटा भावनात्मक पर्खालजस्तो बनाउनुहुन्छ होला। (भजन १०२:१-७ तुलना गर्नुहोस्‌।) हो, त्यस्तो मनोवृत्तिले तपाईंको दिनचर्यामा कुनै बाधा त नदेला तर तपाईंको “दुःखित हृदयले” जीवनको आनन्द खोस्छ। (हितोपदेश १५:१३) साँचो कुरा के हो भने, तपाईं आध्यात्मिक, भावनात्मक, मानसिक तथा शारीरिक तवरमा स्वस्थ हुन चाहनुहुन्छ भने त्यस्तो पर्खाललाई भत्काउनुपर्छ र मानिसमाथि भरोसा राख्न सिक्नुपर्छ। के त्यसो गर्नु सम्भव छ र? छ।

त्यस्तो पर्खाललाई किन भत्काउनुपर्छ?

अरूलाई आफ्नो कुराहरू बताउँदा दुःखित हृदय शान्त हुन्छ। हन्‍नाले पनि त्यस्तै अनुभव गरेकी थिइन्‌। तिनको दाम्पत्य जीवन सुखमय थियो र घरपरिवारको राम्रो प्रबन्ध थियो तरै पनि तिनी असाध्यै विचलित थिइन्‌। “मन[मा] ठूलो ताप” भए तापनि तिनले “परमप्रभुको सामु उभिएर धुरूधुरू रुदै प्रार्थना गरिन्‌” जसले गर्दा तिनको ओंठ नै थरथर काँप्न थाल्यो। हो, तिनले यहोवालाई आफ्नो सबै दुःख पोखिन्‌। अनि तिनले परमेश्‍वरको प्रतिनिधि एलीलाई सबै बेलिबिस्तार सुनाइन्‌। परिणाम कस्तो भयो? “त्यसपछि [हन्‍ना] गइहालिन्‌ र केही खानेकुरो खाइन्‌, औ तिनी फेरि उदास भइनन्‌।”—१ शमूएल १:१-१८.

गोप्य कुराहरू बताउँदा के कस्ता फाइदाहरू हुन्छन्‌ धेरै मानिसहरूलाई थाह भइसक्यो। उदाहरणका लागि, समान परिस्थिति भएकाहरूलाई आफ्नो विचार तथा अनुभवहरू बताउँदा लाभकारी साबित हुनसक्छ। अनुसन्धानकर्ताहरू यस्तो निष्कर्ष निकाल्छन्‌: “भावनात्मक रूपमा एकलकाँटे हुँदा बिरामी हुन्छ त्यसैले आफ्नो सुद्धि नहराउने हो भने कुराहरू बताउनुपर्छ।” थुप्रै वैज्ञानिक अनुसन्धानहरूले प्रेरित हितोपदेशको यो सत्यतालाई पुष्टि दिन्छ जहाँ यसो भनिएको छ: “अलग्गै बस्ने मानिसले सुयोग्य मानिसलाई गिल्ला गर्न सबै किसिमको बहाना गर्छ।”—हितोपदेश १८:१.

तपाईंले अरूलाई आफ्नो मनका कुराहरू बताउनुभएन भने तिनीहरूले कसरी मदत गर्नसक्छन्‌? यहोवा परमेश्‍वरले त हाम्रो हृदय पढ्‌न सक्नुहुन्छ तर तपाईंको परिवार तथा साथीहरूलाई तपाईंले बताउनुभएन भने तपाईंको भित्री विचार अनि भावनाहरू तिनीहरूले थाहै पाउँदैनन्‌, एउटा बन्द पुस्तकजस्तै हुनेछ। (१ इतिहास २८:९) त्यसमाथि पनि परमेश्‍वरको व्यवस्था उल्लंघन भएको छ र त्यो स्वीकार्दै कसैलाई केही भन्‍नुभएन भने त कुरा झनै बिग्रिनसक्छ।—हितोपदेश २८:१३.

निस्सन्देह, अरूले के भन्ला भन्‍ने डरले आफैमा गुम्साएर राख्नुभन्दा समस्याहरू बताउँदा हुने फाइदाहरू कता हो कता धेरै छन्‌। यसको अर्थ, आफ्नो सबै कुराहरू जो पायो त्यसलाई धकै नमानी पोखाउनु भनेको पनि होइन। (तुलना गर्नुहोस्‌ न्यायकर्त्ता १६:१८; यर्मिया ९:४; लूका २१:१६) हितोपदेश १८:२४ ले यस्तो चेताउनी दिन्छ, “कुनै कुनै साथीहरू बेफायदाको कुराको लागि मात्र असल हुन्छन्‌” तर फेरि यसो भन्छ: “तर मित्र चाहिं ता दाज्यू-भाइभन्दा पनि नजीकको हुन्छ।” त्यस्तो मित्र तपाईंले कहाँ पाउन सक्नुहुन्छ?

आफ्नो परिवारमाथि भरोसा

तपाईंलाई कुनै समस्या पर्दा, के तपाईंले कहिल्यै आफ्नो पति वा पत्नी वा आमाबाबुसित कुरा गर्ने प्रयास गर्नुभएको छ? एक अनुभवी सल्लाहकारअनुसार “अरूलाई बताउँदा मात्र पनि कतिपय समस्याहरू हल हुन्छन्‌।” (हितोपदेश २७:९) ‘आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम’ गर्ने मसीही पतिहरू, ‘आफ्ना पतिको अधीनमा बस्ने’ पत्नीहरू र ‘आफ्नो छोराछोरीलाई यहोवाको शिक्षा र चेताउनीमा पालनपोषण’ गर भन्‍ने ईश्‍वरप्रदत्त जिम्मेवारीलाई गम्भीरतापूर्वक लिने आमाबाबुले समानुभूति देखाउँदै अरूको कुरा सुन्‍न र मदतकारी सल्लाहकार हुन मेहनत गर्नेछन्‌। (एफिसी ५:२२, ३३; ६:४) मानिसहरूको जस्तै येशूको पत्नी तथा छोराछोरी नभए तापनि उहाँले यस सन्दर्भमा असाध्यै राम्रो नमुना बसाल्नुभयो!—मर्कूस १०:१३-१६; एफिसी ५:२५-२७.

तर परिवारका सदस्यहरूले समस्या हल गर्न सकेनन्‌ भने नि? मसीही मण्डलीमा हामीले कहिल्यै एक्लो महसुस गर्नुपर्दैन। प्रेरित पावलले यसो भने: “को निर्धो छ, र म निर्धो छैनँ?” (२ कोरिन्थी ११:२९) तिनले यस्तो सल्लाह दिए: “तिमीहरू एउटाले अर्कोको भार उठाऊ।” (गलाती ६:२; रोमी १५:१) निस्सन्देह, हाम्रो आध्यात्मिक भाइबहिनीहरूबीच “दुःखमा सहभागी हुनलाई जन्मेको” दाजुभाइहरू थुप्रै पाउँछौं।—हितोपदेश १७:१७.

मण्डलीमाथि भरोसा

विश्‍वभरि यहोवाका साक्षीहरूको ८०,००० भन्दा धेरै मण्डलीहरूमा “आनन्दका सहयोगी[को]” रूपमा सेवा गर्ने नम्र पुरुषहरू छन्‌। (२ कोरिन्थी १:२४) यी पुरुषहरू प्राचीनहरू हुन्‌। यशैयाले यस्तो टिप्पणी गर्छन्‌: “प्रत्येक मानिस बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” हुनुपर्छ र प्राचीनहरू यस्तै हुने प्रयास गर्छन्‌।—यशैया ३२:२; ५०:४; १ थिस्सलोनिकी ५:१४.

‘पवित्र आत्माले नियुक्‍त’ हुनुअघि प्राचीनहरूले धर्मशास्त्रीय आवश्‍यकताहरू पूरा गर्नुपर्छ। यो थाह पाएर तिनीहरूमाथि तपाईंको भरोसा बढ्‌नेछ। (प्रेरित २०:२८; १ तिमोथी ३:२-७; तीतस १:५-९) तपाईंले प्राचीनसित छलफल गर्नुहुने कुरा गोप्य नै रहनेछन्‌। तिनका योग्यताहरूमध्ये एउटा भरोसायोग्य पनि हो।—तुलना गर्नुहोस्‌ प्रस्थान १८:२१; नहेम्याह ७:२.

मण्डलीमा प्राचीनहरूले “लेखा दिनुपर्ने जस्तैगरी, [तपाईं]हरूका प्राणको तिनीहरूले हेरचाह गर्छन्‌।” (हिब्रू १३:१७) यस्ता पुरुषहरूमाथि भरोसा राख्न के यस पदले तपाईंलाई प्रेरित गर्दैन र? तर पक्कै पनि सबै प्राचीनहरू एउटै गुनमा पोख्त हुँदैनन्‌। कोही प्राचीनहरू चाहिं अरू प्राचीनभन्दा कुरा गर्न सजिलो, दयालु वा कुरा बुझ्ने खालका होलान्‌। (२ कोरिन्थी १२:१५; १ थिस्सलोनिकी २:७, ८, ११) धक नमानी कुरा गर्न सकिने प्राचीनलाई आफ्नो समस्याहरू बताउनुभए कसो होला?

यी पुरुषहरूले पैसा पाएर यो काम गरिरहेका होइनन्‌। बरु, यहोवाले तपाईंको मदतको निम्ति प्रबन्ध गर्नुभएको “मानिसहरूलाई वरदान” हुन्‌। (एफिसी ४:८, ११-१३; गलाती ६:१) कसरी? निपुण ढंगमा बाइबल चलाएर तिनीहरूले तपाईंको व्यक्‍तिगत परिस्थितिमा यसको निवारण गर्नसक्ने शक्‍ति प्रयोग गर्नेछन्‌। (भजन १०७:२०; हितोपदेश १२:१८; हिब्रू ४:१२, १३) तिनीहरूले तपाईंसित र तपाईंको निम्ति प्रार्थना गर्नेछन्‌। (फिलिप्पी १:९; याकूब ५:१३-१८) त्यस्ता मायालु सल्लाहकारहरूको मदतले दुःखित हृदयलाई निको पार्न र मनोशान्ति दिन मदत गर्नसक्छन्‌।

भरोसायोग्य सम्बन्धहरू कसरी बनाउने

मदत, सल्लाह माग्नु वा कुरा सुनिदिन आग्रह गर्नु कमजोरी वा असफलताको चिह्न होइन। यसो गर्नु भनेको हामी असिद्ध छौं र कोहीसित पनि सबै समस्याहरूको जवाफ छैन भनी मानि लिनु हो। निश्‍चय पनि, सबैभन्दा महान्‌ सल्लाहकार र भरोसा गर्नसक्ने व्यक्‍ति त हाम्रो स्वर्गमा हुनुहुने पिता यहोवा परमेश्‍वर नै हुनुहुन्छ। भजनरचयिताले लेखेका कुरासित हामी सहमत हुन्छौं, जहाँ यसो भनिएको छ: “परमप्रभु मेरो शक्‍ति र मेरो ढाल हुनुहुन्छ, मेरो हृदयले उहाँमा भरोसा राखेको हुनाले मैले सहायता पाएको छु।” (भजन २८:७) हामीले प्रार्थनामा जुनसुकै समयमा पनि धकै नमानी ‘हृदयको दुःख पोखाउनसक्छौं’ र उहाँले हाम्रो कुरा सुन्‍नुका साथै हाम्रो ख्याल गर्नुहुन्छ भनी निश्‍चिन्त हुनसक्छौं।—भजन ६२:७, ८; १ पत्रुस ५:७.

तर तपाईंले मण्डलीका प्राचीन तथा अरूलाई भरोसा गर्न कसरी सिक्न सक्नुहुन्छ? पहिला आफूलाई नै जाँच्नुहोस्‌। के तपाईं हिचकिचाउनुको कुनै ठोस कारण छ? के तपाईंलाई अरूको मनसायबारे शंका लाग्छ? (१ कोरिन्थी १३:४, ७) कुराकानीको दौडान तिनलाई चोट नपुगोस्‌ भनी के केही गर्न सकिन्छ? सकिन्छ। कसरी? अरूलाई आध्यात्मिक वातावरणमा व्यक्‍तिगत तवरमा चिन्‍ने कोसिस गर्नुहोस्‌। मण्डलीका सभाहरूमा तिनीहरूसित कुरा गर्नुहोस्‌। सँगसँगै घरघरको प्रचारकार्यमा भाग लिनुहोस्‌। आदर कमाएजस्तै भरोसा पनि कमाउनुपर्छ। त्यसैले धीरजी हुनुहोस्‌। उदाहरणका लागि, आध्यात्मिक गोठालोको रूपमा तिनलाई चिनेपछि तिनीप्रति तपाईंको भरोसा बढ्‌नेछ। आफ्नो चिन्ताहरू बिस्तारै बताउन थाल्नुहोस्‌। तिनले उपयुक्‍त, मायालु र विवेकपूर्ण ढंगमा तपाईंको कुरा सुन्छन्‌ भने अरू समस्याहरू पनि बताउने कोसिस गर्न सक्नुहुन्छ।

यहोवाका सँगी उपासकहरू र अझ विशेषगरि मसीही प्राचीनहरू एकअर्कासितको सम्बन्धहरूमा परमेश्‍वरका उत्कृष्ट गुनहरू नक्कल गर्न यथाशक्य प्रयास गर्छन्‌। (मत्ती ५:४८) यसो गर्दा मण्डलीमा भरोसाको वातावरण छाउँछ। लामो समयदेखि प्राचीनको रूपमा सेवा गर्दै आएका भाइ यसो भन्छन्‌: “भाइहरू यो एउटा कुरामा ढुक्क हुनुपर्छ: कुनै भाइले जे सुकै गरे पनि प्राचीनले तिनीप्रतिको मसीही प्रेम कहिल्यै गुमाउँदैनन्‌। हुनसक्छ, तिनले गरेको काम प्राचीनलाई मन नपर्ला तर तिनले अझै आफ्नो भाइलाई प्रेम गर्छन्‌ र मदत गर्न चाहन्छन्‌।”

त्यसैले समस्या आइपर्दा एक्लो महसुस गर्नुपर्ने कुनै कारण छैन। तपाईंको भार बोक्नसक्ने “आध्यात्मिक योग्यता” भएको कसैसित कुरा गर्नुहोस्‌। (गलाती ६:१) स्मरण रहोस्‌, “चिन्तित हृदयले मानिसलाई अशान्ति ल्याउँछ” तर “दयालु वचन तपतप चुहुने महजस्तै हो, जिब्रोलाई मीठो बनाउने र शरीरलाई स्वास्थ्यकर बनाउने त्यो हुन्छ।”—हितोपदेश १२:२५; १६:२४.

[पृष्ठ २६-मा भएको पेटी]

व्यक्‍तिगत समस्या भएका नातेदार, साथी, वा आध्यात्मिक भाइको मदतको लागि कुनै पनि मसीहीलाई बोलाउन सक्नुहुन्छ। के तपाईंलाई मदत गर्ने तरिका थाह छ?

प्रभावकारी सल्लाहकार

तिनीसित धक नमानी कुरा गर्न सकिन्छ: मत्ती ११:२८, २९; १ पत्रुस १:२२; ५:२, ३

कुरा गर्न उपयुक्‍त समय छान्छन्‌: मर्कूस ९:३३-३७

समस्या बुझ्ने कोसिस गर्छन्‌: लूका ८:१८; याकूब १:१९

शान्त स्वभावका हुन्छन्‌: कलस्सी ३:१२-१४

पीडादायी भावनाहरू खप्न मदत दिन्छन्‌: १ थिस्सलोनिकी ५:१४; १ पत्रुस ३:८

आफ्नो सीमिततालाई बिर्संदैनन्‌: गलाती ६:३; १ पत्रुस ५:५

तोकेरै सल्लाह दिन्छन्‌: भजन १९:७-९; हितोपदेश २४:२६

गोप्यता कायम राख्छन्‌: हितोपदेश १०:१९; २५:९

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने