यहोवाको संगठनसँगसँगै वफादारीपूर्वक सेवा गर्ने
“भक्तसँग [ “वफादारसँग,” NW] तपाईं भक्त [ “वफादार,” NW] देखा पर्नुहुन्छ।”—२ शमूएल २२:२६.
१, २. मण्डलीमा छर्लंगै देख्न सकिने वफादारीका केही उदाहरणहरू के हुन्?
रात निकै छिप्पिसक्दा पनि एक प्राचीन मसीही सभाको लागि भाषण तयार गरिरहेका छन्। तिनी कामकुरा थन्काएर थकाइ मार्न चाहन्छन् तैपनि बगालको हृदय छुने र प्रोत्साहित गर्ने धर्मशास्त्रीय उदाहरण तथा उखान खोज्दै भाषण तयार गरिरहन्छन्। सोही मण्डलीका एक थकित आमाबाबु सभाको रात घरमै बस्न पाए रमाउने थिए तैपनि धैर्यतापूर्वक आफ्नो बच्चाहरूलाई सभाको लागि ठीकठाक पारिदिन्छन् अनि सभा जान्छन्। सभापछि, एक हूल मसीहीहरू त्यस प्राचीनको भाषणबारे कुरा गर्छन्। एक बहिनीलाई त्यही भाइले एकचोटि तिनको चित्त दुखाएको कुरा बताउन सकसक लाग्छ, तैपनि प्राचीनले भाषणमा औंल्याएका एउटा बुँदाबारे उत्साही भएर बताउँछिन्। यी सबै घटनाहरूमा एउटै तत्त्वले भूमिका खेलेको छ, के तपाईंले याद गर्नुभयो?
२ त्यो तत्त्व हो, वफादारी। त्यस प्राचीन वफादारीपूर्वक परमेश्वरको बगालको सेवा गर्न तल्लीन छन्; त्यस आमाबाबु वफादारीपूर्वक मण्डलीका सभाहरू धाउँछन्; अनि त्यस बहिनी वफादारीपूर्वक प्राचीनहरूको समर्थन गर्छिन्। (हिब्रू १०:२४, २५; १३:१७; १ पत्रुस ५:२) हो, जीवनको हरेक पक्षमा परमेश्वरका जनहरू यहोवाको संगठनसँगसँगै वफादारीपूर्वक सेवा गर्न कटिबद्ध भएको हामी देख्छौं।
३. यहोवाको पार्थिव संगठनप्रति वफादार रहनु किन अत्यन्तै महत्त्वपूर्ण छ?
३ यहोवाले यस भ्रष्ट संसारमा मुश्किलले मात्र वफादारी भेट्टाउनुहुन्छ। (मीका ७:२) यस्तो बेला आफ्ना जनहरूको वफादारी देख्दा उहाँको हृदय खुशीले कत्ति गद्गद हुँदो हो! हो, तपाईंको वफादारीले पनि उहाँलाई खुशी तुल्याउँछ। तथापि, सुरुको विद्रोही अर्थात् शैतानलाई यसले रुष्ट बनाउँछ अनि त्यसलाई झूटो साबित गर्छ। (हितोपदेश २७:११; यूहन्ना ८:४४) यहोवा अनि उहाँको पार्थिव संगठनप्रति तपाईंको वफादारीलाई शैतानले नधरमराउला भन्न सकिन्न। आउनुहोस्, अब हामी शैतानले त्यसो गर्ने केही तरिकाहरू छलफल गरौं। यसप्रकार, आखिरसम्म कसरी वफादार रहनसक्छौं हामीले अझ राम्ररी थाह पाउनेछौं।—२ कोरिन्थी २:११.
कमजोरीहरूमा ध्यानकेन्द्रित गर्दा वफादारीमा धक्का पुग्नसक्छ
४. (क) जिम्मेवारी सँभाल्नेहरूप्रति नकारात्मक विचारधारा राख्न किन सजिलो छ? (ख) यहोवाको संगठनप्रति कोरह कसरी अवफादार प्रमाणित भए?
४ कुनै भाइले जिम्मेवार पद सँभालिरहेका छन् भने तिनका कमजोरीहरू झनै छर्लंग देखिनसक्छ। हो, हामी सजिलैसित ‘आफ्नो भाइको आँखामा भएको कसिंगर चाहिं देख्छौं तर आफ्नै आँखामा भएको मूढा चाहिं देख्तैनौं’! (मत्ती ७:१-५) तर कमजोरीहरूमै मन खेलाइरह्यौं भने अवफादारीको भाव पलाउनसक्छ। उदाहरणका लागि, कोरह र दाऊदबीचको भिन्नतालाई ध्यान दिनुहोस्। कोरहले थुप्रै जिम्मेवारीहरू वहन गरेका थिए र सम्भवतः थुप्रै वर्षसम्म तिनी वफादार पनि रहे होलान् तर तिनी महत्त्वाकांक्षी भए। तिनलाई आफ्नै नातेदार, मोशा र हारूनको अख्तियार चित्त नबुझ्न थाल्यो। मोशा सबैभन्दा विनम्र मानिस थिए, यद्यपि कोरहले तिनमा गल्ती कोट्याउन थाले। तिनले मोशाका कमजोरीहरू भेटाए पनि होलान्। तथापि, ती कमजोरीहरूलाई नै आधार मानेर यहोवाको संगठनप्रति अवफादार हुनु कोरहको निम्ति जायज कारण थिएन। अन्ततः तिनलाई समुदायको बीचबाट नाश गरियो।—गन्ती १२:३; १६:११, ३१-३३.
५. दाऊद किन शाऊलको विद्रोह गर्न प्रलोभित भएका हुनसक्छन्?
५ अर्कोतर्फ, दाऊदले राजा शाऊलको सेवा गरे। एक समय शाऊल असल राजा भए तापनि पछि दुष्ट भए। ईर्ष्यालु शाऊलका आक्रमणहरूबाट बच्न दाऊदलाई विश्वास, धैर्यता र कहिलेकाहीं चातुर्यको समेत आवश्यकता पऱ्यो। तर, दाऊदले बदला लिने मौका पाउँदा पनि यहोवाले नियुक्त गर्नुभएको व्यक्तिमाथि ‘हात उठाएर कहिल्यै’ अवफादारी कार्य गर्न नपरोस् भने।—१ शमूएल २६:११.
६. प्राचीनहरूको कमजोरी तथा गल्तीहरू देखे तापनि हामीले कहिल्यै के गर्नु हुँदैन?
६ नेतृत्व लिइरहेका मध्ये कसै कसैले गलत निर्णय गरेको, छुच्चो वचन बोलेको वा पक्षपात गरेको जस्तो लागेमा के हामी मण्डलीमा आलोचनात्मक मनोभाव फैलिने गरी गनगन गर्नेछौं? के आफ्नो विद्रोह जनाउन मसीही सभाहरू धाउन छोड्नेछौं? पक्कै पनि त्यस्तो गर्नेछैनौं! दाऊदजस्तै, अरू कसैको कमजोरीको कारण हामी कहिल्यै यहोवा अनि उहाँको संगठनप्रति अवफादार हुनेछैनौं!—भजन ११९:१६५.
७. यरूशलेमको मन्दिरमा चलिरहेको केही भ्रष्ट कार्यहरू के थिए र येशूले यसप्रति कस्तो दृष्टिकोण राख्नुभयो?
७ मानिसहरूमध्ये वफादारीको सबैभन्दा महान् उदाहरण येशू ख्रीष्ट हुनुहुन्थ्यो। उहाँलाई भविष्यसूचक ढंगमा यहोवाको “पवित्र [“वफादार,” NW] जन” भनेर वर्णन गरिएको छ। (भजन १६:१०) यरूशलेममा मन्दिरको दुरुपयोग हुँदा उहाँको वफादारीको परीक्षा भएको हुनसक्छ। प्रधानपूजाहारीको काम तथा बलिदानहरूले उहाँको सेवकाई अनि बलिदानरूपी मृत्युको पूर्वचित्रण गर्छ भनेर येशूलाई थाह थियो। अनि जनसाधारणले ती कुराहरूबाट सिक्नु कत्तिको महत्त्वपूर्ण छ भनेर पनि उहाँलाई थाह थियो। अतः, मन्दिरलाई “डाँकूहरूको ओड़ार” बनाएको देख्दा उहाँ क्रोधले चूर हुनु उचितै थियो। परमेश्वरले दिनुभएको अधिकार चलाएर उहाँले दुइ चोटि मन्दिरबाट त्यस्ता विकृतिहरू हटाउनुभयो।a—मत्ती २१:१२, १३; यूहन्ना २:१५-१७.
८. (क) येशूले मन्दिरको प्रबन्धप्रति कसरी वफादारी देखाउनुभयो? (ख) यहोवाको स्वच्छ संगठनसँगसँगै उहाँको सेवा गर्न रुचाउँछौं भनी हामी कसरी देखाउनसक्छौं?
८ तैपनि, येशूले वफादारीपूर्वक मन्दिरको प्रबन्धलाई समर्थन गर्नुभयो। बाल्यकालदेखि नै उहाँले मन्दिरको चाडहरूमा भाग लिनुभयो र पछि अक्सर त्यहाँ शिक्षा पनि दिनुभयो। मन्दिरको कर उहाँले तिर्नै पर्ने नभए तापनि करसमेत तिर्नुभयो। (मत्ती १७:२४-२७) मन्दिरको ढुकुटीमा “आफ्नो सारा जीविकानै अर्पण” गर्ने गरिब विधवाको उहाँले प्रशंसा गर्नुभयो। धेरै समय नबित्दै, यहोवाले सधैंको लागि त्यस मन्दिरलाई तिरस्कार गर्नुभयो। तर त्यतिञ्जेल येशू त्यस प्रबन्धप्रति वफादार रहनुभयो। (मर्कूस १२:४१-४४; मत्ती २३:३८) आज परमेश्वरको पार्थिव संगठन त्यस मन्दिर भएको यहूदी व्यवस्थाभन्दा धेरै गुना सर्वोत्कृष्ट छ। हो, यो त्रुटिरहित छैन। त्यसैकारण त बेलाबेलामा काँटछाँटहरू गरिन्छन्। तर यो भ्रष्टाचारले पनि भरिएको छैन, नता यहोवा परमेश्वरले यसलाई प्रतिस्थापन नै गर्न लाग्नुभएको छ। संगठनभित्र देखिने कुनै कमी कमजोरीको कारण हामी कहिल्यै चिढिनु वा यसप्रति आलोचनात्मक नकारात्मक मनोभाव राख्न दिनु हुँदैन। त्यसको साटो, बरु येशू ख्रीष्टको वफादारीको नक्कल गरौं।—१ पत्रुस २:२१.
हाम्रो आफ्नै कमी कमजोरीहरू
९, १०. (क) अवफादार कार्यमा प्रलोभित गर्न शैतानको रीतिरिवाजले हाम्रो कमी कमजोरीको कसरी नाजायज फाइदा उठाउँछ? (ख) गम्भीर पाप गर्ने व्यक्तिले के गर्नुपर्छ?
९ शैतानले हाम्रो कमी कमजोरीको पनि नाजायज फाइदा उठाएर हामीलाई अवफादार बनाउने कोसिस गर्छ। यहोवाको नजरमा जे गलत हो, त्यही गर्न प्रलोभित गरेर त्यसको रीतिरिवाजले हाम्रा कमजोरीहरूको फाइदा उठाउँछ। दुःखको कुरा, प्रत्येक वर्ष हजारौं मानिसहरू अनैतिकतामा फस्छन्। केहीले चाहिं दोहरो जीवन बिताएर अवफादारीलाई गढ्न दिन्छन्। तिनीहरू एकातिर गलत मार्गमा लागिरहेका हुन्छन् भने अर्कोतिर विश्वासी मसीही भएको ढोंग गर्छन्। यस विषयमा ब्यूँझनुहोस्! पत्रिकाको “युवा जनहरू सोध्छन् . . . ” श्रृंखलाबारे टिप्पणी गर्दै एक युवतीले यसो लेखिन्: “ती लेखहरूमा त मेरै जीवनकथा थियो।” गुपचुपमा तिनले यहोवालाई प्रेम नगर्ने केटाहरूसित मित्रता गाँसेकी थिइन्। परिणाम के भयो? तिनी लेख्छिन्: “मेरो जीवन त खतम भयो, म अनैतिकतामा फसें र मलाई सच्याउनुपऱ्यो। यहोवासितको मेरो सम्बन्ध बिग्रियो अनि मेरा आमाबाबु तथा प्राचीनहरूले मप्रति भरोसा गुमाए।”b
१० यस युवतीले प्राचीनहरूबाट मदत पाइन् र पुनः वफादारीपूर्वक यहोवाको सेवामा लागिन्। तर दुःखको कुरा, थुप्रैले अझ गम्भीर परिणामहरू भोग्छन् र कोही त बगालमा कहिल्यै फर्कंदैनन्। त्यसो हुनुभन्दा वफादार भएर यस दुष्ट संसारका प्रलोभनहरूको विरोध गर्नु कत्ति बेस! सांसारिक संगति र पतित मनोरञ्जनजस्ता विषयहरूमा प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाले दिने चेताउनीहरू पालन गर्नुहोस्। तपाईं कहिल्यै अवफादार कार्यमा फस्न नपरोस्। कथंकदाचित् फस्नुभयो भने पनि ढोंग नगर्नुहोस्। (भजन २६:४) बरु, मदत माग्नुहोस्। मसीही आमाबाबु तथा प्राचीनहरू तपाईंलाई मदत गर्न तयार छन्।—याकूब ५:१४.
११. आफू सुध्रने आशै नभएजस्तो सोचाइ राख्नु किन गलत हो र बाइबल समयमा भएको कुन घटनाले हाम्रो विचारधारालाई सच्याउन मदत दिन्छ?
११ हाम्रा कमजोरीहरूको कारण हामी अर्को तरिकामा पनि खतरामा पर्नसक्छौं। अवफादार कार्य गर्ने कसै कसैले यहोवालाई प्रसन्न तुल्याउन कोसिस गर्नै छोड्छन्। सम्झनुहोस् त, दाऊदले गम्भीर पापहरू गरेका थिए। यद्यपि, दाऊदको मृत्यु भएको धेरैपछि पनि यहोवाले तिनलाई विश्वासी सेवकको रूपमा सम्झनुभयो। (हिब्रू ११:३२; १२:१) किन? किनभने तिनले यहोवालाई खुशी तुल्याउन कहिल्यै हरेस खाएनन्। हितोपदेश २४:१६ यसो भन्छ: “धर्मी मानिस सातपल्ट लोट्यो भने पनि फेरि उठ्छ।” हो, केही कमजोरीको कारण आफूले छोडिसकेको गलत कार्य फेरि फेरि पनि गर्न पुग्छौं तर ‘उठ्ने’ प्रयास गऱ्यौं भने यहोवाको नजरमा हामी अझै धर्मी हुनसक्छौं। ‘उठ्नुको’ अर्थ साँचो पश्चात्ताप गर्नु र पुनः वफादारीपूर्वक सेवामा लाग्नु हो।—२ कोरिन्थी २:७ तुलना गर्नुहोस्।
अवफादारीका धूर्त चालदेखि सावधान!
१२. फरिसीहरूको सन्दर्भमा कठोर, कट्टर नियमपरायण विचारधाराले कसरी अवफादार हुन लगायो?
१२ चालै नपाउने तरिकामा पनि अवफादार हुन सकिन्छ। यसले वफादारीको नकाबसमेत लगाउनसक्छ! उदाहरणका लागि, येशूको दिनका फरिसीहरूले आफूलाई असाध्यै वफादार सम्झन्थे।c तर तिनीहरूले वफादार हुनु र एक एक गरी मानव निर्मित नियमहरू पछ्याउनुबीचको भिन्नता छुट्याउन सकेनन् किनभने तिनीहरू नाटीकुटी र कठोर मिजासका थिए। (उपदेशक ७:१६ तुलना गर्नुहोस्।) भनौं भने, फरिसीहरू तिनीहरूले सेवा गर्नुपर्ने मानिसहरूप्रति, तिनीहरूले सिकाइरहेको दाबी गरेको मोशालाई दिइएको व्यवस्थाको उद्देश्यप्रति र यहोवा स्वयंप्रति पनि अवफादार भइरहेका थिए। तर यसको विपरीत येशू प्रेममा आधारित मोशालाई दिइएको व्यवस्थाको उद्देश्यप्रति वफादार हुनुभयो। अतः, मसीहसम्बन्धी भविष्यवाणीहरूमा उल्लेख गरेझैं उहाँले मानिसहरूलाई सुदृढ र प्रोत्साहित गर्नुभयो।—यशैया ४२:३; ५०:४; ६१:१, २.
१३. (क) मसीही आमाबाबुहरू कसरी अवफादार हुनसक्छन्? (ख) छोराछोरीलाई अनुशासन दिंदा बढ्तै कठोर, भूल कोट्याउने वा नकारात्मक हुनदेखि आमाबाबु किन होशियार हुनुपर्छ?
१३ जिम्मेवारी वहन गर्ने मसीहीहरूले यस सन्दर्भमा येशूको नमुनाबाट निकै लाभ उठाउनसक्छन्। उदाहरणका लागि, आफ्ना छोराछोरीलाई अनुशासनमा राख्नुपर्छ भनी वफादार आमाबाबुलाई थाह छ। (हितोपदेश १३:२४) तैपनि रीसको झोंकमा कठोर अनुशासन दिएर वा जत्तिखेर पनि भूल कोट्याएर आफ्ना बच्चाहरूलाई रीस नउठाउन होशियार हुन्छन्। आफ्नो आमाबाबुलाई कहिल्यै खुशी पार्न सकिंदैन वा आमाबाबुको धर्म भन्नु नै खालि गल्ती कोट्याउनु र आलोचना गर्नु मात्र हो भनेर महसुस गर्ने बच्चाहरू हतोत्साहित हुनसक्छन् र परिणामस्वरूप, साँचो विश्वासबाटै तर्किनसक्छन्।—कलस्सी ३:२१.
१४. आफूले सेवा गर्ने बगालप्रति मसीही गोठालाहरू कसरी वफादार हुनसक्छन्?
१४ त्यसरी नै मसीही प्राचीन तथा परिभ्रमण निरीक्षकहरू बगालले सामना गर्ने समस्या तथा खतराहरूमा ध्यान दिन्छन्। वफादार गोठालोको हैसियतमा तिनीहरूले चाहिएको बेला सल्लाह दिन्छन् तर यसो गर्नुअघि तिनीहरूसित सबै तथ्यहरू छ या छैन पक्का गर्छन् र होशियारीपूर्वक बाइबल अनि सोसाइटीका प्रकाशनहरूमा आधारित सल्लाह दिन्छन्। (भजन ११९:१०५; हितोपदेश १८:१३) आध्यात्मिक भोजन तथा प्रोत्साहनको लागि बगाल तिनीहरूमा भर पर्छ भनेर तिनीहरूलाई पनि थाह छ। अतः, तिनीहरू असल गोठालो, येशू ख्रीष्टको अनुकरण गर्ने प्रयास गर्छन्। हप्तैपिच्छे मसीही सभाहरूमा बगाललाई निरुत्साहित गरेर होइन तर तिनीहरूको विश्वासलाई सुदृढ र बलियो पारेर वफादारीपूर्वक बगालको सेवा गर्छन्।—मत्ती २०:२८; एफिसी ४:११, १२; हिब्रू १३:२०, २१.
१५. प्रथम शताब्दीमा कसै कसैले गलत कुराप्रति वफादार रहेको कसरी प्रदर्शित गरे?
१५ अवफादारीको अर्को धूर्त रूप हो, गलत कुराप्रति वफादार हुनु। बाइबलकै अर्थमा भन्ने हो भने पनि, यहोवा परमेश्वरप्रति वफादार हुनुभन्दा महत्त्वपूर्ण अरू कुनै वफादारी छैन। हठी भएर प्रथम शताब्दीका थुप्रै यहूदीहरूले मोशालाई दिइएको व्यवस्था तथा यहूदी रीतिरिवाजलाई नै पक्रिराखे। तर त्यस विद्रोही राष्ट्रलाई नभई आध्यात्मिक इस्राएललाई आशिष् दिने यहोवाको समय आइसकेको थियो। तुलनात्मक रूपमा थोरै मात्र यहोवाप्रति वफादार रहे र तिनीहरूले यस महत्त्वपूर्ण परिवर्तनअनुसार काँटछाँट गरे। साँचो मसीहीहरूबीच समेत यहूदी मत मान्ने कसै कसैले मोशालाई दिइएको व्यवस्थाको “निर्बल र कंगाली तत्त्वहरूतिर” फर्केर जाने जिद्दी गरे। जबकि त्यो ख्रीष्टमा पूरा भइसकेको थियो।—गलाती ४:९; ५:६-१२; फिलिप्पी ३:२, ३.
१६. काँटछाँटहरू गरिंदा यहोवाका वफादार सेवकहरूले कस्तो प्रतिक्रिया देखाउँछन्?
१६ त्यसको विपरीत, आधुनिक समयमा यहोवाका जनहरूले काँटछाँट गर्नुपर्दा पनि आफूलाई वफादार साबित गरेका छन्। सत्यको ज्योति झन् झनै चहकिलो हुँदै जाँदा काँटछाँटहरू हुन्छन्। (हितोपदेश ४:१८) हालै, “विश्वासी र बुद्धिमान दास[ले]” मत्ती २४:३४ मा प्रयोग गरिएको “पुस्ता[को]” अर्थ र मत्ती २५:३१-४६ मा उल्लिखित “भेड़ा” र “बाख्रा[को]” न्यायको समय, साथै केही प्रकारका निजामती सेवासम्बन्धी हाम्रो समझलाई अझ खुलाइ दिएको छ। (मत्ती २४:४५) निस्सन्देह, यहोवाका थुप्रै साक्षीहरूले हठपूर्वक यी विषयहरूमा पहिलेको समझलाई नै पक्रिराखेर उन्नति गर्न इन्कार गरेका भए केही धर्मत्यागीहरू दंग पर्नेथिए होलान्। तर त्यस्तो भएन। किन? किनभने यहोवाका जनहरू वफादार छन्।
१७. प्रिय जनहरूले कहिलेकाहीं कसरी हाम्रो वफादारीको परीक्षा गर्नसक्छन्?
१७ तर, गलत कुराप्रति वफादार हुने कुराले हामीलाई व्यक्तिगत रूपमा प्रभाव पार्नसक्छ। प्रिय साथी वा परिवारको सदस्यले बाइबल सिद्धान्त उल्लंघन हुने मार्ग पछ्याउने छनौट गर्दा हाम्रो वफादारी विभाजित भएको महसुस गरौंला। स्वाभाविकतः, हामी परिवारका सदस्यहरूप्रति वफादार महसुस गर्छौं। तर यहोवा परमेश्वरप्रतिको वफादारीभन्दा परिवारप्रतिको वफादारीलाई कहिल्यै महत्त्वपूर्ण ठान्नु हुँदैन! (१ शमूएल २३:१६-१८ तुलना गर्नुहोस्।) हामीले गल्ती गर्नेको गम्भीर पापलाई ढाकछोप गर्न मदत गर्नेछनौं नता ‘नम्रताको आत्माले सुधार गर्न’ खोजिरहेका प्राचीनहरूको विरोध गर्न गल्ती गर्नेहरूको पक्ष नै लिनेछौं। (गलाती ६:१) त्यसो गर्नु भनेको यहोवा, उहाँको संगठन अनि त्यस प्रिय जनप्रति अवफादार हुनु हो। आखिरमा, पापीलाई चाहिएको अनुशासनबाट तिनलाई वञ्चित गर्नु तिनीप्रति यहोवाको प्रेमको अभिव्यक्ति पुग्नदेखि रोक्नु जत्तिकै हो। (हिब्रू १२:५-७) अनि यो पनि स्मरण रहोस्, “मित्रले दिएको चोट सुधारको निम्ति हुन्छ।” (हितोपदेश २७:६) परमेश्वरको वचनमा आधारित खुलस्त, मायालु सल्लाहले गल्ती गर्ने प्रिय जनको अभिमानमा केही धक्का त पुऱ्याउला तर पछि यो जीवनदायी साबित हुनसक्छ!
सतावट आइपर्दा पनि वफादारी डग्दैन
१८, १९. (क) नाबोतबाट आहाब के चाहन्थे र नाबोतले किन इन्कार गरे? (ख) के नाबोतको वफादारी मूल्य चुकाउनु योग्यको थियो? व्याख्या गर्नुहोस्।
१८ कहिलेकाहीं शैतानले हाम्रो वफादारीमाथि सीधै आक्रमण गर्छ। उदाहरणका लागि, नाबोतलाई लिनुहोस्। राजा आहाबले तिनको दाखबारी बेच्न दबाब दिंदा तिनले यस्तो जवाफ दिए: “मेरो पैतृक-सम्पत्तिमा सधैं रहेको जमीन मैले तपाईंलाई कसरी दिने? परमप्रभुले यस्तो नगरून्।” (१ राजा २१:३) नाबोत जिराहा भइरहेका थिएनन्। तिनी वफादार थिए। मोशालाई दिइएको व्यवस्थाअनुसार कोही पनि इस्राएलीले आफ्नो पैतृक सम्पत्ति सधैंको लागि बेच्न पाउँदैन थियो। (लेवी २५:२३-२८) नाबोतलाई त्यस क्रूर राजाले तिनलाई मार्नेछ भनी पक्कै थाह भएको हुनुपर्छ किनभने आहाबले आफ्नी पत्नी ईजेबेललाई यहोवाका थुप्रै अगमवक्ताहरू मार्न अनुमति दिइसकेका थिए! तैपनि नाबोत अडिग रहे।—१ राजा १८:४.
१९ वफादार हुँदा कहिलेकाहीं केही मूल्य चुकाउनु पर्नसक्छ। ईजेबेलले केही “नीच मानिस[हरूको]” साठगाँठमा नाबोतले गर्दै नगरेको अपराधमा पनि तिनलाई दोषी ठहऱ्याइन्। फलस्वरूप, तिनी र तिनका छोराहरू मारिए। (१ राजा २१:७-१६; २ राजा ९:२६) के यसको अर्थ नाबोतको वफादारी गलत थियो त? पटक्कै होइन! नाबोत पनि ती थुप्रै वफादार पुरुष तथा स्त्रीहरूमध्ये पर्छन् जो परमेश्वरको सम्झनामा अहिले पनि “जीवित” छन् र यिनीहरू पुनरुत्थानको समय नभएसम्म चिहानमा मस्त निद्रामा सुतिरहेका छन्।—लूका २०:३८; प्रेरित २४:१५.
२०. वफादारी कायम राख्न हाम्रो आशाले कसरी मदत दिनसक्छ?
२० आज पनि पुनरुत्थानको यस्तै प्रतिज्ञाले परमेश्वरका वर्तमान वफादार सेवकहरूलाई आश्वासन दिन्छ। वफादारीको कारण हामीले यस संसारमा ठूलो मूल्य पनि चुकाउन पर्नसक्छ भनेर हामीलाई थाह छ। येशू ख्रीष्टले वफादारीको मूल्य आफ्नो जीवन दिएर चुकाउनुभयो र आफ्ना अनुयायीहरूले पनि सतावट पाउनेछन् भनी उहाँले भन्नुभयो। (यूहन्ना १५:२०) उहाँलाई उहाँको भविष्यप्रतिको आशाले ढाडस दिएझैं हामीलाई पनि हाम्रो भविष्यले ढाडस दिन्छ। (हिब्रू १२:२) अतः जस्तोसुकै सतावट भोग्नु परे तापनि हामी वफादार रहनसक्छौं।
२१. आफ्ना वफादार जनहरूलाई यहोवा कस्तो आश्वासन दिनुहुन्छ?
२१ हो, आज हामीमध्ये थोरैले मात्र वफादारीमाथि त्यस्तो प्रत्यक्ष आक्रमणको सामना गर्नुपर्ला। तर अन्त आउनुअघि परमेश्वरका जनहरूले धेरै सतावटहरू सामना गर्नुपर्ला। हामीले कसरी आफ्नो वफादारी कायम राख्नसक्छौं? अहिलेदेखि नै वफादार रहेर। यहोवाले हामीलाई एउटा महान् कार्य सुम्पनुभएको छ। त्यो हो, उहाँको राज्यबारे प्रचार गर्ने र सिकाउने। हामी सबै यस अत्यावश्यक कार्यमा वफादारीपूर्वक लागिरहौं। (१ कोरिन्थी १५:५८) मानव असिद्धताको कारण यहोवाको संगठनप्रतिको वफादारीमा धक्का पुग्न दिएनौं वा गलत कुराहरूप्रति वफादार रहने जस्ता अवफादारीका धूर्त चालहरूदेखि सावधान रह्यौं भने कथंकदाचित् हाम्रो वफादारीमाथि कठोर परीक्षा आइपरे तापनि प्रतिरोध गर्न तयार हुनेछौं। जस्तै भए तापनि यहोवा आफ्ना वफादार सेवकहरूप्रति वफादार रहन चुक्नुहुन्न भनेर हामी सधैं विश्वस्त होऔं। (२ शमूएल २२:२६) हो, आफ्ना वफादार जनहरूको उहाँ सुरक्षा गर्नुहुन्छ!—भजन ९७:१०.
[फुटनोटहरू]
a येशू त्यस्तो लाभप्रद व्यापारिक संगठनलाई धपाउन डराउनुभएन। एक इतिहासकारअनुसार मन्दिरको कर तिर्न एउटा विशेष प्रकारको यहूदी सिक्का दिनुपर्थ्यो। अतः, मन्दिरमा आउने थुप्रै आगन्तुकहरूले कर तिर्नको निम्ति पैसा साट्नुपर्थ्यो। यस्ता मानिसहरूले पैसा साट्नको लागि एउटा निश्चित दाम तोक्न पाउँथे र यसबाट मुनाफा हुन्थ्यो।
b डिसेम्बर २२, १९९३; जनवरी ८, १९९४ र जनवरी २२, १९९४ को ब्यूँझनुहोस्! (अंग्रेजी) हेर्नुहोस्।
c तिनीहरूको समूह हासिडीवादबाट आएको हो। हासिडीवाद शताब्दीयौंअघि युनानी प्रभावको प्रतिरोध गर्न खडा भएको थियो। यस हासिडीवादले आफ्नो नाउँ हिब्रू शब्द चासिडिम-बाट लिएको हो जसको अर्थ, “वफादार जनहरू” वा “पवित्र जनहरू” हो। शायद, तिनीहरूलाई धर्मशास्त्रमा उल्लेख गरिएको “भक्त [“वफादार,” NW] जनहरू” केही खास अर्थमा तिनीहरू नै हो जस्तो लागेको हुनुपर्छ। (भजन ५०:५) तिनीहरू र तिनीहरूपछिका फरिसीहरू हठधर्मी र स्वयं नियुक्त व्यवस्थाका रक्षकहरू थिए।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ अरूको कमजोरीहरूको कारण आफू अवफादार नहुन हामीले के गर्नसक्छौं?
◻ हाम्रो आफ्नै कमी कमजोरीहरूको कारण कसरी अवफादार हुनसक्छौं?
◻ गलत कुराहरूप्रति वफादार रहने हाम्रो झुकाउको कसरी प्रतिरोध गर्नसक्छौं?
◻ सतावटको समयमा पनि वफादार रहन हामीलाई कुन कुराले मदत गर्नसक्छ?
[पृष्ठ ९-मा भएको पेटी]
बेथेलमा वफादारीपूर्वक सेवा गर्ने
“सबै काम शिष्ट रूपले र नियमपूर्वक गर्नू” भनी प्रेरित पावलले लेखे। (१ कोरिन्थी १४:४०) मण्डली सुचारु रूपले चल्न ‘नियमित’ र व्यवस्थित हुन आवश्यक पर्छ भनी पावललाई थाह थियो। त्यस्तैगरि, प्राचीनहरूले आज मण्डलीका सदस्यहरूलाई विभिन्न मण्डली पुस्तक अध्ययन स्थानहरूमा खटाउने, क्षेत्र सेवकाईको निम्ति सभाहरूको प्रबन्ध गर्ने र प्रचार इलाकामा पूर्णतया प्रचार भएको छ या छैन हेर्ने जस्ता व्यवहारिक कामकुराहरूमा निर्णय गर्नुपर्छ। यस्ता प्रबन्धहरूले कहिलेकाहीं वफादारीको परीक्षा गर्नसक्छ। तिनीहरू ईश्वरप्रेरित आज्ञाहरू होइनन् र प्रत्येक व्यक्तिविशेषले चाहेअनुसार पनि नहोला।
के तपाईंलाई कहिलेकाहीं मसीही मण्डलीमा प्रबन्ध गरिएका केही कुराहरूप्रति वफादार रहन चुनौतीपूर्ण लाग्छ? लाग्छ भने बेथेलको उदाहरण तपाईंलाई मदतकारी लाग्ला। हिब्रू शब्द बेथेलको अर्थ “परमेश्वरको घर” हो। र यो नाउँ सं.रा.-स्थित मुख्यालयलगायत वाच टावर सोसाइटीका सबै १०४ शाखाहरूलाई दिइन्छ।* बेथेलमा बस्ने तथा काम गर्ने स्वयंसेवकहरू यी ठाउँहरूमा परमेश्वरप्रति श्रद्धा र भय झल्कोस् भन्ने चाहन्छन्। यसो गर्न सबै वफादार हुनु आवश्यक छ।
बेथेल भ्रमणका लागि आउने मानिसहरूले अक्सर बेथेल सुव्यवस्थित र सफा छ भनी टिप्पणी गर्छन्। त्यहाँका कामदारहरू व्यवस्थित र खुशी छन्। तिनीहरूको बोली, व्यवहार र बाहिरी रूपबाट समेत बाइबल प्रशिक्षित मसीही अन्तस्करण झल्किन्छ। बेथेलका सबै सदस्यहरूले परमेश्वरको वचनका स्तरहरू वफादारीपूर्वक पछ्याउँछन्।
यसबाहेक, परिचालक निकायले तिनीहरूलाई एकताबद्ध भई बस्ने (अंग्रेजी) नामक पुस्तिकाको प्रबन्ध गरिदिएको छ। यस पुस्तिकामा त्यस्तो ठूलो परिवार मिलेर काम गर्नको निम्ति केही व्यवहारिक प्रबन्धहरू दयालु ढंगमा औंल्याइएको छ। (भजन १३३:१) उदाहरणका लागि, यसमा कोठा, भोजन, सफाई, पहिरन, कोरीबाटी र त्यस्तै अन्य विषयहरूमा छलफल गरिएको छ। व्यक्तिगत रुचि भिन्नाभिन्नै भए तापनि बेथेल परिवारका सदस्यहरूले वफादारीपूर्वक त्यस्ता प्रबन्धहरूको समर्थन गर्नुका साथै त्यसलाई पछ्याउँछन्। यस पुस्तिकालाई तिनीहरू क्रूर नियम तथा कानुनको रूपमा हेर्दैनन् तर एकता र मिलाप बढाउन मदतकारी निर्देशनको रूपमा लिन्छन्। निरीक्षकहरू यस्ता बाइबल आधारित कार्यप्रणाली पछ्याउन वफादार छन् र पवित्र बेथेल सेवामा नै लागिरहन बेथेल परिवारलाई सकारात्मक ढंगमा सुदृढ र प्रोत्साहित गर्छन्।
* यी कारखाना, कार्यालय तथा आवासीय भवनहरू परमेश्वरको महान् आध्यात्मिक मन्दिर वा घर होइन। परमेश्वरको आध्यात्मिक मन्दिर त शुद्ध उपासनाको लागि उहाँको एउटा प्रबन्ध हो। (मीका ४:१) अतः, यो पृथ्वीमा भएको कुनै भौतिक भवनमा सीमित छैन।
[पृष्ठ १०-मा भएको पेटी]
वफादार व्यक्ति र नियमपरायण व्यक्ति
सन् १९१६ मा धर्म र नीतिशास्त्रको विश्वकोश-ले (अंग्रेजी) यस्तो टिप्पणी गऱ्यो, “वफादार व्यक्ति र नियमपरायण व्यक्तिबीचको भिन्नता कहिल्यै कतै अभाव छैन।” उक्त पुस्तकले यसरी वर्णन गऱ्यो: “नियमपरायण व्यक्तिले तिनलाई भनिएको कुरा गर्छन्, कुनै नियमहरू तोड्दैनन्। लिखित वचनलाई विश्वासपूर्वक पछ्याउँछन्। अनि वफादार व्यक्तिले पनि यी सबै गर्छन् . . . तर तिनीबाट अझ बढी आशा गर्न सकिन्छ किनभने तिनले आफ्नो कार्यमा पूरा मन लाउँछन्, आफूले सेवा गर्नुको कारण बुझेर त्यस्तै मनोभाव देखाउँछन्।” सोही पुस्तकले अझ यसो भन्यो: “वफादार हुनु भनेको नियम पालन गर्नु मात्र होइन . . . वफादार मानिस र नियमपरायणबीचको प्रमुख भिन्नता हो, वफादार मानिसले आफ्नो पूरा मन अनि हृदयले सेवा गर्छ . . . जानाजानी, बेवास्ता गरेर वा अनजानमा आफूबाट केही पाप नगर्न होशियार हुन्छ।”