‘यहोवाको दिनमा’ को बच्नेछ?
“सबै पवित्र जीवन र भक्तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्तासाथ इच्छा गरेर।”—२ पत्रुस ३:११, १२.
१. एलीशाको आत्मा र शक्ति पाएर कसले काम गरेका छन्?
आफ्ना पुत्र येशू ख्रीष्टसँग मिलेर स्वर्गको राज्यमा राज गरून् भनेर यहोवा परमेश्वरले मानिसजातिबाट केही मानिसहरूलाई छान्नुभएको छ। (रोमी ८:१६, १७) पृथ्वीमा छँदा यी छानिएका अभिषिक्त जनहरूले एलियाको आत्मा र शक्ति पाएर आफ्नो काम पूरा गरेका छन्। (लूका १:१७) अघिल्लो लेखमा तिनीहरूका यस्तो काम र एलिया अगमवक्ताका कामबीच कस्तो समानता छ, छलफल गरेका थियौं। तर एलियाको उत्तराधिकारी एलीशाको काम नि?—१ राजा १९:१५, १६.
२. (क) एलियाको अन्तिम चमत्कार अनि एलीशाको पहिलो चमत्कार के थियो? (ख) एलिया स्वर्ग उक्लेनन् भन्ने के प्रमाण छ?
२ छालाको खास्टोले यर्दन नदीलाई हिर्काई पानीलाई दुइ फ्याक पारेर एलियाले अन्तिम चमत्कार गरेका थिए। पानी दुइ फ्याक परेपछि एलिया र एलीशाले सुखा भूमि भएर नदी तर्नसके। नदीको पूर्वपट्टि तिनीहरू हिंड्दै थिए, अचानक ठूलो हुरी बतासले एलियालाई अन्तै ठाउँमा उडाएर लग्यो। (पृष्ठ १५ मा “एलिया उक्लेको स्वर्ग के थियो?” भन्ने पेटी हेर्नुहोस्।) तर एलियाले ओढ्ने गरेको खास्टो भने त्यहीं छुट्यो। फर्केर आउँदा एलीशाले त्यही खास्टोले पानीलाई हिर्काए र नदी पहिलेजस्तै दुइ फ्याक भयो र एलीशा सुखा भूमि हुँदै नदी तरे। त्यस चमत्कारले इस्राएलमा साँचो उपासनालाई थाम्न एलियाको उत्तराधिकारीको रूपमा एलीशालाई नै छानिएको रहेछ भनेर प्रस्ट पाऱ्यो।—२ राजा २:६-१५.
ईश्वरीय गुण अत्यावश्यक
३. येशूको उपस्थिति र ‘यहोवाको दिनबारे’ प्रेरित पावल र पत्रुसले के भने?
३ एलिया र एलीशा बितिगएको शताब्दीयौंपछि प्रेरित पावल र पत्रुसले आउँदै गरेको ‘यहोवाको दिनलाई’ येशू ख्रीष्टको उपस्थिति अनि भावी “नयाँ स्वर्ग र नयाँ पृथ्वी[सँग]” जोडे। (२ थिस्सलोनिकी २:१, २; २ पत्रुस ३:१०-१३) यहोवाको महान् दिन अर्थात् परमेश्वरले शत्रुहरूको नाश गर्नुभएर आफ्ना जनहरूलाई बचाउनुहुने त्यस दिनबाट बच्न हामीले यहोवालाई खोज्नैपर्छ, नम्रता र धार्मिकता देखाएको हुनैपर्छ। (सपन्याह २:१-३) तथापि, यसबाहेक गर्नुपर्ने अरू कुराहरू पनि छन् जुन एलीशा अगमवक्तासँग सम्बन्धित घटनाहरू केलाएर हामी पत्ता लगाउनेछौं।
४. यहोवाको सेवा गर्ने सन्दर्भमा जोशको के भूमिका छ?
४ ‘यहोवाको दिनबाट’ बच्न जोशिलो भई परमेश्वरको सेवा गरेकै हुनुपर्छ। एलिया र एलीशा दुवैले जोशिलो भई यहोवाको सेवा गरेका थिए। शेष अभिषिक्त जनहरू आज त्यस्तै जोश देखाएर यहोवालाई पवित्र सेवा चढाउँछन् र सुसमाचार प्रचार गर्ने काममा अगुवाइ लिन्छन्।a सन् १९३० दशकको बीचदेखि यी शेष अभिषिक्त जनहरूले राज्य सन्देश स्वीकार्ने अनि पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्ने जति सबैलाई आफ्नो जीवन यहोवालाई समर्पण गर्न र बप्तिस्मा लिन प्रोत्साहित गरेका छन्। (मर्कूस ८:३४; १ पत्रुस ३:२१) लाखौं मानिसहरूले तिनीहरूको यो प्रोत्साहनलाई हृदयंगम गरेका छन्। कुनै समय यिनीहरू आध्यात्मिक अन्धकारमा थिए, पापमा मरिसकेका थिए। तर अहिले परमेश्वरको सत्य वचन सिकिसकेका छन्, पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आशालाई अँगालिसकेका छन् अनि जोशिलो भई यहोवाको सेवा गरिरहेका छन्। (भजन ३७:२९; प्रकाश २१:३-५) तिनीहरूको जोश, सहयोग, अतिथि-सत्कार अनि सुकर्मले गर्दा ख्रीष्टका आध्यात्मिक भाइहरूमध्ये जो जो पृथ्वीमा छन्, तिनीहरूले धेरै स्फूर्ति पाइरहेका छन्।—मत्ती २५:३१-४६.
५. येशूका “भाइहरू[को]” भलाइ गर्नु किन आवश्यक छ र एलीशाको दिनमा कसले भलाइ गरेर देखाएका थिए?
५ यी अभिषिक्त जनहरू येशू ख्रीष्टका “भाइ” अनि अनुयायी हुन्। अतः, यिनीहरूको भलाइ हुने काम गर्नेले ‘यहोवाको दिनबाट’ बच्ने आशा गर्न सक्छन्। शुनैम गाउँमा एलीशा र तिनको चाकरको सत्कार गर्ने लोग्नेस्वास्नीले ठूलो आशिष् पाएका थिए। तिनीहरूको छोरा थिएन र त्यसमाथि लोग्ने चाहिं बूढो भइसकेका थिए। तैपनि, एलीशाले शुनैमी स्त्रीलाई छोरो जन्माउनेछौ भनेर वचन दिए र त्यो पूरा भयो। केही वर्ष बितेपछि त्यो छोरो मर्दा एलीशा शुनैम गइकन त्यसलाई बिउँताए। (२ राजा ४:८-१७, ३२-३७) हेर्नुहोस्! एलीशाको सत्कार गर्दा कत्रो इनाम पाइयो!
६, ७. नामानले कस्तो उदाहरण बसाले र ‘यहोवाको दिनबाट’ बच्न नामानले जस्तै के गर्नुपर्छ?
६ यहोवाको दिनबाट बच्न ख्रीष्टका “भाइहरू[को]” बाइबल आधारित निर्देशन स्वीकार्नु अत्यावश्यक छ र त्यसरी निर्देशन स्वीकार्न विनम्रता चाहिन्छ। अरामका कोरी सेनापति नामानले पनि इस्राएली दासीको सुझाउ मानेर इस्राएलमा एलीशाकहाँ गई रोग निको पार्न विनम्रता देखाउनु परेको थियो। नामान दैलोमा आइपुग्दा तिनलाई भेट्न निस्कनुको साटो एलीशाले यस्तो सन्देश पठाए: “गएर यर्दन नदीमा सातपल्ट डुबुल्की मार, र तिम्रो शरीर ज्यूँका त्यूँ हुनेछ, र तिमी शुद्ध हुनेछौ।” (२ राजा ५:१०) नामानले आफ्नो बेइज्जत भएको सम्झे र क्रोधित भए। तर पछि आफूलाई विनम्र बनाई तिनले यर्दन नदीमा सातपल्ट डुबुल्की मारे। “औ तिनको शरीरको छाला सानो बालकको जस्तै भयो, र तिनी शुद्ध भए।” (२ राजा ५:१४) घर फर्कनुअघि नामान यहोवाको अगमवक्तालाई धन्यवाद दिन सामरिया फर्के। परमेश्वरले दिनुभएको शक्तिको कुनै भौतिक लाभ उठाउन नचाहने एलीशाले नामानलाई भेट्न निस्के तर कुनै कोसेली स्वीकार्न चाहेनन्। नामानले विनम्रतापूर्वक एलीशालाई भने: “अब कहिल्यै म होमबलि र बलिदान परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई चढ़ाउनेछैनँ।”—२ राजा ५:१७.
७ अभिषिक्त जनहरूको धर्मशास्त्रीय सल्लाह विनम्रतापूर्वक स्वीकारेर लाखौं मानिसहरूले आज प्रशस्त आशिष् पाइरहेका छन्। यसबाहेक, येशूले दिनुभएको छुडौतीको बलिदानमाथि विश्वास गरेका हुँदा यी सोझा हृदय हुनेहरू आध्यात्मिक तवरमा शुद्ध भइसकेका छन्। अहिले तिनीहरूले यहोवा परमेश्वर अनि येशू ख्रीष्टका मित्रहरू हुने सुअवसरको आनन्द उठाइरहेका छन्। (भजन १५:१, २; लूका १६:९) अनि यहोवालाई भक्ति र सेवा चढाइरहेको हुनाले आउनै लागेको ‘यहोवाको दिनमा’ घमण्डी, अपश्चात्तापी पापीहरू सधैंभरिको लागि नाश हुँदा तिनीहरू चाहिं बच्नेछन्।—लूका १३:२४; १ यूहन्ना १:७.
“मतर्फ को छ?”
८. (क) ‘यहोवाको दिनमा’ बच्ने जतिले परमेश्वरको इच्छा पूरा गर्नेतर्फ कस्तो दृष्टिकोण राखेका हुनेछन्? (ख) येहूलाई के काम सुम्पियो? (ग) ईजेबेललाई के हुनेथियो?
८ ‘यहोवाको दिनबाट’ बच्ने आशा गर्नेहरूले परमेश्वरको इच्छाअनुसार गर्ने कि नगर्ने पक्का निर्णय गरिहाल्नु पनि अत्यावश्यक छ। एलियाले आहाब राजाका हिंस्रक बाल उपासक घराना नाश हुनेछन् भनेर नडराई अगमवाणी गरेका थिए। (१ राजा २१:१७-२६) तथापि, आहाबको घरानामाथि यो विपत्ति बज्रनुअघि एलियाका उत्तराधिकारी एलीशाले बाँकी रहेका केही काम सिध्याउनु परेको थियो। (१ राजा १९:१५-१७) आहाबको घरानालाई नाश गर्ने यहोवाको समय आएपछि एलीशाले आफ्नो चाकरलाई पठाएर सेनापति येहूलाई इस्राएलको नयाँ राजाको रूपमा अभिषेक गर्न अह्राए। येहूको शिरमा तेल खन्याइसकेपछि एलीशाको दूतले यसो भने: “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, ‘म तँलाई परमप्रभुका प्रजा[हरूमाथि] अभिषेक गर्दछु। तैंले तेरा मालिक आहाबको घरानालाई मार्नेछस्, औ मेरा सेवक अगमवक्ताहरूको र परमप्रभुका सबै सेवकहरूको रगतको निम्ति ईजेबेलमाथि साटो म लिनेछु। आहाबका सबै घराना नाश हुनेछन्।’ ” दुष्ट रानी ईजेबेललाई कुकुरहरूले टुक्रा टुक्रा पारेर खानेथिए र त्यसको लाश अलपत्र छोडिनेथियो।—२ राजा ९:१-१०.
९, १०. ईजेबेलमाथि एलियाका शब्दहरू कसरी पूरा भए?
९ येहूका अफिसरहरूले येहूको अभिषेकलाई वैध मानेर तिनलाई इस्राएलको नयाँ राजा घोषणा गरे। त्यसपछि, बाल देवताका धर्मत्यागी नेताहरूलाई खतम पार्न यिज्रेलतर्फ कुदेर येहूले निर्णायक कदम चाले। येहूको धनु चाख्ने पहिलो व्यक्ति आहाबका छोरा, राजा योराम थिए। योराम, येहू शान्ति कायम गर्न आएका हुन् कि भनी सोध्न शहरबाहिर पुगेका थिए। “जब तिम्री आमा ईजेबेलले आफ्नो घीनलाग्दो मूर्ति-पूजा र तंत्रमंत्र गर्दछिन् भने केको मित्रभाव?,” तिनले जवाफ दिए र धनु हिर्काएर योरामको मुटु वारपार गरिदिए।—२ राजा ९:२२-२४.
१० ईश्वरभक्त स्त्रीहरू ईजेबेलजस्तो वा त्यसको एक छेउ मात्र पनि पटक्कै हुन चाहँदैनन्। (प्रकाश २:१८-२३) येहू यिज्रेल पुगुञ्जेल ईजेबेलले सिंगारपटार गरेर आफूलाई यथाशक्य सुन्दरी बनाउने कोसिस गरिसकेकी थिइन्। येहू आइपुगेपछि झ्यालबाट नखरा गर्दै ईजबेलले घुमाउरो तरिकामा तिनलाई धम्काइन्। येहूले ईजेबेलका चाकरहरूलाई सोधे: “मतर्फ को छ?” तुरुन्तै दुइ तीन जना नपुंसकहरूले बाहिर हेरे। के तिनीहरू येहूको साथमा थिए? तिनले भने, “त्यसलाई झ्यालबाट फ्याँकिदेऊ।” येहूले त्यसो भन्ने बित्तिकै ती दुइ नपुंसकले दुष्ट ईजेबेललाई झ्यालबाट बाहिर फ्यालिदिए। भुइँमा बज्रेपछि सम्भवतः घोडाहरूले तिनलाई कुल्चे होलान्। पछि तिनलाई गाड्न आउँदा मानिसहरूले “तिनको खप्पर, खुट्टा र हत्केलाबाहेक केही पनि पाएनन्।” यसप्रकार, एलियाका यी शब्दहरू बीभत्स ढंगमा पूरा भए: “ईजेबेलको मासु कुकुरहरूले खानेछन्।”—२ राजा ९:३०-३७.
हृदयदेखि साँचो उपासनाको समर्थन
११. यहोनादाब को थिए र तिनले कसरी साँचो उपासनाको समर्थन गरे?
११ ‘यहोवाको दिनबाट’ बचेर पृथ्वीमा सधैंभरि बाँच्न चाहनेहरूले भित्री हृदयदेखि साँचो उपासनाको समर्थन गरेको हुनुपर्छ। तिनीहरू यहोवाको उपासना गर्ने गैरइस्राएली यहोनादाबजस्तै हुनुपर्छ। येहूले जोशिलो भई आफ्नो अभियान पूरा गर्दा यहोनादाब तिनको सराहना अनि समर्थन गर्न चाहन्थे। त्यसैकारण, इस्राएलका नयाँ राजा, येहू आहाबका घरानाका बाँकी सन्तानहरूलाई खतम पार्न सामरियातर्फ लाग्दा यहोनादाब तिनलाई भेट्न निस्के। यहोनादाबलाई देखेर येहूले सोधे: “म तिमीतर्फ भएझैं के आफ्नो मनतनले तिमी मतर्फ छौ?” यहोनादाबले सकारात्मक जवाफ दिए र तिनले त्यसो गरेको हुँदा आफ्नो हात बढाउँदै येहूले यहोनादाबलाई आफ्नो रथमा उक्लन आग्रह गरे र भने: “मसँग आऊ र तिमीले परमप्रभुको निम्ति मेरो जोश देख्नेछौ।” यहोवाले आफ्नो न्यायदण्ड दिन नियुक्त गर्नुभएको जनलाई समर्थन गर्ने यस्तो मौका पाउँदा यहोनादाबले रत्तिभर ढिलाइ गरेनन्।—२ राजा १०:१५-१७.
१२. यहोवाले ऐकान्तिक भक्तिको माग गर्नु किन जायज छ?
१२ भित्री हृदयदेखि साँचो उपासनाको समर्थन गर्नु उपयुक्त छ। किनभने यहोवा हाम्रो सृष्टिकर्ता हुनुका साथै विश्व ब्रह्माण्डका सार्वभौम प्रभु पनि हुनुहुन्छ र उहाँले हामीबाट ऐकान्तिक भक्ति चाहनु पूरापूर जायज कुरा हो। त्यसैकारण, इस्राएलीहरूलाई उहाँले यसो भन्नुभयो: “तैंले आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने ननिउरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तेरा परमेश्वर डाह गर्ने [“ऐकान्तिक भक्ति चाहने,” NW] परमेश्वर हुँ।” (प्रस्थान २०:४, ५) ‘यहोवाको दिनबाट’ बच्न चाहनेहरूले उहाँको मात्रै उपासना गरेको हुनुपर्छ र त्यो पनि “आत्मा र सत्यता[मा]”। (यूहन्ना ४:२३, २४) एलिया, एलीशा अनि यहोनादाबजस्तै तिनीहरूले पनि साँचो उपासनाको पूर्णतया पक्ष लिएको हुनैपर्छ।
१३. यहोनादाबको हृदय येहूतर्फ भएजस्तै आज कसले मसीह राजालाई स्वीकारेका छन् र तिनीहरू आफ्नो स्वीकृति कसरी देखाउँछन्?
१३ आहाबको घरानाका सबैलाई मारिसकेपछि राजा येहूले बाल उपासकहरू पत्ता लगाएर इस्राएलबाट बालको नाउँ निशानै मेटाउने जुक्ति रचे। (२ राजा १०:१८-२८) आज, स्वर्गीय राजा येशू ख्रीष्ट यहोवाका शत्रुहरूको नाश गर्न अनि उहाँको सार्वभौमिकता उच्च पार्न नियुक्त हुनुभएको छ। यहोनादाबको हृदय येहूतर्फ भएजस्तै आज येशू ख्रीष्टको “ठूलो भीड़” अर्थात् “अरू भेड़ा” भित्री हृदयदेखि ख्रीष्टलाई मसीह राजाको रूपमा स्वीकार्छन् र पृथ्वीमा बाँकी रहेका उहाँका आत्मिक भाइहरूलाई सहयोग गर्छन्। (प्रकाश ७:९, १०; यूहन्ना १०:१६) साँचो उपासना गरेर, मसीही सेवकाईमा जोशिलो भई भाग लिएर अनि परमेश्वरका शत्रुहरूलाई छिट्टै आउने ‘यहोवाको दिनबारे’ चेताउनी दिएर तिनीहरू त्यस्तो सहयोगको प्रमाण दिन्छन्।—मत्ती १०:३२, ३३; रोमी १०:९, १०.
उल्लेखनीय घटनाहरू हुनै लागेका छन्!
१४. झूटा धर्म के हुनेछ?
१४ इस्राएलबाट बाल उपासनाको जरै उखाल्न येहूले सशक्त कदम चाले। हाम्रो समयमा महान् येहू अर्थात् येशू ख्रीष्टलाई चलाउनुभएर परमेश्वरले झूटो धर्मको विश्व साम्राज्य, महान् बेबिलोनलाई नाश गर्नुहुनेछ। स्वर्गदूतले प्रेरित यूहन्नालाई बताएका निम्न शब्दहरू अब चाँडै हामीले पूरा भएको देख्नेछौं: “तिमीले देखेका ती दश सीङ र त्यस जानवरले त्यस वेश्यासँग [महान् बेबिलोन] दुश्मनी गर्नेछन्, र त्यसलाई उजाड़ र नांगो पार्नेछन्। औ त्यसको मासु खानेछन्, र त्यसलाई आगोमा भस्म पारिदिनेछन्। किनकि परमेश्वरका वचन पूरा नहोउञ्जेल त्यसको इच्छाबमोजिम गर्न र एकै मनका हुन र त्यस जानवरलाई तिनीहरूका राज्य दिनलाई परमेश्वरले तिनीहरूलाई त्यस्तो मन दिनुभएको हो।” (प्रकाश १७:१६, १७; १८:२-५) “दश सीङ[ले]” सैन्य शक्तिद्वारा सुसज्जित पार्थिव राजनैतिक शक्तिहरूलाई चित्रण गर्छ। यी राजनैतिक शक्तिहरूले अहिले महान् बेबिलोनसित आध्यात्मिक व्यभिचार गरिरहेका भए तापनि अब त्यसको धेरै दिन बाँकी छैन। यस संसारका राजनैतिक तत्त्वहरूले झूटो धर्मको नाश गर्नेछन् र “जंगली जानवर” अर्थात् संयुक्त राष्ट्र संघले “दश सीङ[सँग]” मिलेर त्यस वेश्यालाई उजाड पार्ने काममा अग्र भूमिका खेल्नेछ।b यहोवाको प्रशंसा गर्ने कत्ति राम्रो सुअवसर!—प्रकाश १९:१-६.
१५. परमेश्वरको पार्थिव संगठन नाश गर्ने कोसिस गर्दा के हुनेछ?
१५ राजा येहूले बाल उपासनामाथि सशक्त आक्रमण गरिसकेपछि तिनको शाही घरानाले इस्राएलका राजनैतिक शत्रुहरूमाथि ध्यान दिन थाल्यो। राजा येशू ख्रीष्टले पनि त्यस्तै गर्नुहुनेछ। बाल उपासनाजस्ता झूटा धर्महरू विनाश हुँदा राजनैतिक शक्तिहरू चाहिं अस्तित्वमै हुनेछन्। शैतान अर्थात् दियाबलको प्रभावमा परेर यहोवाको सार्वभौमिकताको विरोध गर्ने यी शत्रुहरूले परमेश्वरको पार्थिव संगठन नाश गर्न एकसाथ हमला गर्नेछन्। (इजकिएल ३८:१४-१६) तर त्यति नै खेर यहोवाले राजा येशू ख्रीष्टलाई चलाउनुभएर आरमागेडोनको युद्ध अर्थात् “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँ” लड्नुहुनेछ र ती राजनैतिक संगठनहरूलाई नाश गरेर आफ्नो सार्वभौमिकतालाई उच्च पार्नुहुनेछ।—प्रकाश १६:१४, १६; १९:११-२१; इजकिएल ३८:१८-२३.
एलीशाजस्तो जोशिलो भएर सेवा गर्ने
१६, १७. (क) अन्तिम श्वास छउञ्जेलसम्मै एलीशा जोशिलो थिए भनेर हामी कसरी भन्नसक्छौं? (ख) सत्यका काँडहरू हामीले कसरी हान्नुपर्ने हो?
१६ ‘यहोवाको दिनमा’ पूरै शैतानी रीतिरिवाज नष्ट नभएसम्म परमेश्वरका सेवकहरू एलीशाजस्तै साहसी अनि जोशिलो भइरहनेछन्। एलीशाले एलियाको चाकर भएर काम गर्नुको अलावा परमेश्वरका अगमवक्ता भएर ५० वर्षभन्दा बढी सेवा गरे! एलीशा आफ्नो दीर्घ जीवनको अन्तसम्मै जोशिला थिए। आफ्नो आखिरी घडी गनिरहेका बेला येहूको नाति राजा योआश तिनलाई भेट्न आए। एलीशाले तिनलाई झ्यालबाहिर काँड हान्ने आज्ञा गरे। काँड भनेकै ठाउँमा लाग्यो। यो देखेर एलीशाले प्रसन्न हुँदै भने: “परमप्रभुको विजयको निम्ति एक काँड़, अराममाथिको विजयको निम्ति एक काँड़। तपाईंले अपेकमा अरामलाई सम्पूर्ण रूपले परास्त गर्नुहुनेछ।” एलीशाले फेरि काँड हान्ने आग्रह गरे र योआशले भुइँमा काँड हाने। तर काँड हान्दा योआशले झिंजो मानेर तीन पटक मात्र हाने। अतः, योआशको जोशको कमी देखेर तिनले तीन पटक मात्र अरामीहरूमाथि विजय हासिल गर्नेछन् भनेर एलीशाले भविष्यवाणी गरे। एलीशाको वचन साँच्चै पूरा भयो। (२ राजा १३:१४-१९, २५) राजा योआशले अरामीहरूलाई “सम्पूर्ण रूपले परास्त” गर्न सकेनन्।
१७ तथापि, शेष अभिषिक्त जनहरू भने एलीशाजस्तै जोशिलो भएर झूटो धर्मसित लडिरहेका छन्। पार्थिव आशा हुने तिनीहरूका सहयोगीहरूले पनि त्यसै गरिरहेका छन्। यसबाहेक, ‘यहोवाको दिनबाट’ बच्ने आशा गर्ने जतिले जोशिलो एलीशाको कुरा मनमा राखेर पृथ्वीमाथि एक्कासि हुने प्रहारदेखि सतर्क हुनु बुद्धिमानी हुनेछ। त्यसकारण आउनुहोस्, हामी सबै जना सत्यको काँड बोकौं र यहोवाले पुग्यो नभन्नुभएसम्म जोशिलो भई हिर्काइरहौं।
१८. दोस्रो पत्रुस ३:११, १२ पढेपछि हाम्रो कस्तो प्रतिक्रिया हुनुपर्ने हो?
१८ चाँडै आउन लागेको ‘यहोवाको दिनमा’ यो दुष्ट रीतिरिवाज नष्ट हुनेछ। त्यो दिन नआउञ्जेल हामी चाहिं प्रेरित पत्रुसका घतलाग्दा शब्दहरूमा ध्यान दिएर उत्प्रेरित होऔं। पत्रुसले भने, “यी सबै कुराहरू यसरी पग्लन्छ भन्ने देखेर सबै पवित्र जीवन र भक्तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्तासाथ इच्छा गरेर!” (२ पत्रुस ३:११, १२) परमेश्वरले येशू ख्रीष्टलाई चलाउनुभएर आफ्नो क्रोध प्रकट गर्नुहुँदा यस रीतिरिवाजको सबै कुरा पग्लनेछन्। तर धार्मिक आचरण र ईश्वरीय भक्ति देखाउनेहरू चाहिं जरुर बच्नेछन्। त्यसको लागि नैतिक अनि आध्यात्मिक तवरमा स्वच्छ हुनु नितान्त आवश्यक छ। अनि सँगी मानवप्रतिको प्रेम पनि उत्तिकै आवश्यक छ, जुन हामी तिनीहरूलाई खाँचो पर्दा र अझ विशेषगरि हाम्रो मसीही सेवकाईद्वारा आध्यात्मिक तवरमा मदत गरेर देखाउँछौं।
१९. ‘यहोवाको दिनबाट’ बच्न हामीले के के गरेकै हुनुपर्छ?
१९ तपाईं परमेश्वरको वफादार अनि जोशिलो सेवक हुनुहुन्छ भनेर के तपाईंका कुरा र कामले देखाउँछ? देखाउँछ भने, ‘यहोवाको दिनबाट’ उम्कने र परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा प्रवेश गर्ने आशा तपाईं गर्न सक्नुहुन्छ। हो, ख्रीष्टका आत्मिक भाइहरू उहाँका चेलाहरू पनि हुन्। त्यसैले शुनैमका लोग्नेस्वास्नीले एलीशाको अतिथि-सत्कार गरेर भलाइ गरेजस्तै तिनीहरूको भलाइ गर्नुभयो भने, तपाईंको ज्यान बच्न सक्नेछ। यहोवाको दिनबाट बच्न तपाईं पनि ईश्वरीय निर्देशन स्वीकारेर यहोवाको उपासना गर्ने नामानजस्तै हुनुपर्छ। पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्ने लालसा गर्नुहुन्छ भने, यहोनादाबले जस्तै तपाईंले पनि साँचो उपासनाको पक्ष लिएको हुनैपर्छ। यी सब गर्नुभयो भने मात्र तपाईं यहोवाका ती विश्वासी सेवकहरूमध्ये हुनुहुनेछ जसले येशूका निम्न शब्दहरू पूरा भएको देख्नेछन्: “आओ, ए मेरा पिताका धन्यका हो, जो राज्य जगत्को उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको छ, त्यो अधिकार गर।”—मत्ती २५:३४.
[फुटनोटहरू]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित “तपाईंको नाउँ पवित्र गरिओस्,” भन्ने (अंग्रेजी) किताबको अध्याय १८ र १९ हेर्नुहोस्।
b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! भन्ने किताबको पृष्ठ २५४-६ हेर्नुहोस्।
तपाईं के जवाफ दिनुहुन्छ?
◻ ‘यहोवाको दिनबाट’ बच्न हामीसित हुनुपर्ने केही गुणहरू के के हुन्?
◻ एलीशाको समयमा शुनैमका लोग्नेस्वास्नीले कस्तो उदाहरण बसाले?
◻ नामानबाट हामी के पाठ सिक्नसक्छौं?
◻ हामी कसरी यहोनादाबको अनुकरण गर्नसक्छौं?
◻ दोस्रो पत्रुस ३:११, १२ ले हामीमाथि कस्तो असर पार्नुपर्ने हो?