प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ९/१५ pp. २१-२४
  • पूर्ण-समय सेवामा कसरी आनन्द कायमै राख्ने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पूर्ण-समय सेवामा कसरी आनन्द कायमै राख्ने
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हरेश नखाने
  • अरूसँग घुलमिल हुने
  • अस्वस्थ हुँदा
  • मानिसहरूले विरक्‍त पार्दा पनि आनन्द कायमै राख्ने
  • अरूबाट प्रोत्साहन
  • यहोवाको आनन्द—हाम्रो बल
  • पूर्ण-समय सेवकहरूलाई सम्झनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • अग्रगामी सेवकाईका आशिष्‌हरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
  • पवित्र सेवाका सुअवसरहरूको उच्च मूल्यांकन गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • नयाँ असाइनमेन्टमा कसरी घुलमिल हुन सक्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ९/१५ pp. २१-२४

पूर्ण-समय सेवामा कसरी आनन्द कायमै राख्ने

बाइबलका भविष्यवाणीहरूको पूर्तिले हामी यस अभक्‍त रीतिरिवाजको अन्तिम दिनमा छौं भनेर प्रस्टै देखाउँछ। यो कुरा ध्यानमा राख्दै यहोवा परमेश्‍वरका सेवकहरू राज्यको सुसमाचार प्रचार गर्न व्यवहारिक तवरमा जतिसक्दो बढी समय बिताउँछन्‌। पूर्ण-समय सेवामा भाग लिन यहोवाका ६,००,००० भन्दा बढी साक्षीहरूले आफ्नो जीवनमा छाँटकाँट गरेका छन्‌। तिनीहरूमध्ये केही पूर्ण-समय राज्य उद्‌घोषकहरू छन्‌। तिनीहरूलाई अग्रगामी भनिन्छ। अरू चाहिं वाच टावर सोसाइटीको मुख्य कार्यालय र शाखा कार्यालयहरूमा बेथेल स्वयंसेवकका रूपमा कार्यरत छन्‌। त्यस्तै अरू कोही चाहिं मिसनरी र परिभ्रमण निरीक्षकका रूपमा सेवारत्‌ छन्‌।

आखिरी दिनमा “डरलाग्दो समय” आउनेछ भनी बाइबल संकेत गर्छ। (२ तिमोथी ३:१-५) यसलाई बुझाउन युनानी भाषाको बाइबलले “तोकिएको भयंकर समय” भन्‍ने अभिव्यक्‍ति चलाएको छ। यसर्थ, आजभोलि जीवन समस्यारहित होला भनेर कसैले आशा गर्नु हुँदैन। केही मसीही सेवकहरूलाई समस्याहरू यत्ति जटिल लाग्नसक्छन्‌, जसले गर्दा तिनीहरू यस्तो प्रश्‍न गर्नसक्छन्‌, ‘के म पूर्ण-समय सेवालाई जारी राख्नसक्छु वा छोड्‌नैपर्छ?’

कुनै व्यक्‍तिलाई अग्रगामी, बेथेल स्वयंसेवक, परिभ्रमण निरीक्षक अथवा मिसनरी भएर सेवा गर्ने कि नगर्ने भनेर आफ्नो परिस्थिति पुनर्विचार गर्न बाध्य पार्नसक्ने कुरा के हुनसक्ला? गम्भीर स्वास्थ्य समस्या भएर हुनसक्छ। शायद, परिवारको वृद्ध वा असक्‍त सदस्यलाई हेरचाहको सख्त जरुरत पो पऱ्‍यो कि। विवाहित दम्पतीको बच्चा जन्मिन लागेर पनि हुनसक्छ। उपरोक्‍त कारणहरू र धर्मशास्त्रीय जिम्मेवारीले गर्दा पूर्ण-समय सेवा छोड्‌ने कसैले पनि यो उचित आधार थिएन होला भनेर सुर्ताउनु पर्दैन।

तर, कसैले आनन्द गुमाएकोले पूर्ण-समय सेवा छोड्‌ने विचार गर्दैछ भने नि? शायद, सेवकाईमा यदाकदा मात्र चासो देखाउनेहरूका कारण एक अग्रगामी यसो भन्लान्‌, ‘कोही कोहीले मात्र सुन्छन्‌, यस्तो काममा सबै कुरा छोडेर किन लागिरहने?’ हुनसक्छ, बेथेलको कुनै स्वयंसेवक आफूले पाएको काममा सन्तुष्ट छैनन्‌। अथवा, बारम्बार पिरोलिरहने स्वास्थ्य समस्याले अग्रगामी सेवामा बाधा नपुऱ्‍याए पनि अन्ततः आनन्दमा दखल दिएको हुनसक्छ। त्यस्ता व्यक्‍तिहरूले कसरी आफ्नो आनन्द कायमै राख्नसक्छन्‌? आउनुहोस्‌, केही अनुभवी सेवकहरूका विचार केलाऔं।

हरेश नखाने

स्वीटजरल्याण्डकी एन्‍नीले सन्‌ १९५० मा वाच टावर बाइबल स्कूल अफ गिलियडमा भाग लिइन्‌। तिनले समुद्रपारका देशमा मिसनरी काम गर्ने आश गरेकी थिइन्‌। तर युरोपको बेथेलमा काम गर्न खटाइँदा निराश भइन्‌। तापनि, तिनले अनुवाद विभागमा आफ्नो कार्यभार स्वीकारिन्‌ र अझै त्यहीं काम गर्दैछिन्‌। त्यसोभए, तिनले निराशासँग कसरी प्रतिकार गरिन्‌ त? एन्‍नी बताउँछिन्‌, “त्यतिखेर थुप्रै काम गर्न बाँकी थियो र अझै गर्न बाँकी छ। मेरा भावना र अभिरुचिहरू ती कामभन्दा महत्त्वपूर्ण छैनन्‌।”

यदि आफूले आश गरेजस्तो जिम्मेवारी पाएका छैनौं भने, हामीले पनि एन्‍नीको जस्तै मनोवृत्ति राख्नसक्छौं। हाम्रा व्यक्‍तिगत अभिरुचिहरू नै सर्वमहत्त्वपूर्ण होइनन्‌। सबैभन्दा मुख्य कुरा त, सुसमाचारमा टेवा पुऱ्‍याउने थरिथरिका यी सबै जिम्मेवारीहरू राम्ररी सँभालिएको हुनुपर्छ। हितोपदेश १४:२३ ले हामीलाई यसो भन्छ, “[“हर,” NW] मेहनतको फल मीठो हुन्छ।” हामीलाई जस्तोसुकै कार्यभार सुम्पिएको भए तापनि वफादार भई त्यसलाई पूरा गर्नाले राज्यसम्बन्धी काममा टेवा पुग्छ। अनि त्यस्तो ईश्‍वरप्रदत्त काम गर्दा ठूलो सन्तुष्टि र आनन्द पाउन सकिन्छ।—१ कोरिन्थी १२:१८, २७, २८ तुलना गर्नुहोस्‌।

अरूसँग घुलमिल हुने

क्षेत्र सेवकाईमा, बेथेलमा, मिसनरी घरमा अथवा परिभ्रमण निरीक्षकको हैसियतमा एउटा मण्डलीबाट अर्को मण्डलीमा भ्रमण गर्दा नै किन नहोस्‌, पूर्ण-समय सेवामा लागेपछि सबै किसिमका मानिसहरूसँग सम्पर्कमा आइन्छ। त्यसकारण, अरूसँग घुलमिल हुनुमा हाम्रो आनन्द धेरै हदसम्म निर्भर गर्छ। यद्यपि, ‘भयंकर समय’ भनेर भविष्यवाणी गरिएको यी आखिरी दिनमा मानिसहरूसँग घुलमिल हुन गाह्रो छ। अरूले चित्त दुखाउने काम गरे तापनि, कसरी एक सेवकले आफ्नो आनन्द कायमै राख्नसक्छन्‌? शायद, यसबारे हामी विलियमबाट केही कुरा सिक्नसक्छौं।

विलियम १९४७ मा युरोपस्थित बेथेल परिवारको सदस्य भए। त्यसपछि, उनले अग्रगामी र परिभ्रमण निरीक्षकको काम गरेर समय बिताए। विलियम बताउँछन्‌, “मेरी पत्नी अनि मलाई कुनै कुरा ठीक लागेन वा त्यसले हामीलाई पिरोल्यो भने, हामी आफूलाई लागेका कुराहरू यहोवालाई सुनाउँछौं र बाँकी काम उहाँकै हातमा सुम्पिदिन्छौं।”—भजन ३७:५.

हुनसक्छ, तपाईं पनि होच्याएर वा विचारै नपुऱ्‍याइकन बोल्ने सँगी मसीहीको व्यवहारले गर्दा दिक्क हुनुहुन्छ। हामी सबै जना बोलीमा पटक पटक चुक्‍तछौं भन्‍ने कुरा नबिर्सनुहोस्‌। (याकूब ३:२) तसर्थ, यस्तो अवस्थामा “प्रार्थना सुन्‍नुहुने[सित]” नजीक हुने कोसिस गरे कसो होला? (भजन ६५:२) आफूलाई परेको समस्या यहोवालाई बताउनुहोस्‌ र बाँकी काम उहाँकै हातमा छोडिदिनुहोस्‌। यदि परमेश्‍वरलाई केही हेरफेर गर्न मन लाग्यो भने गर्नुहुन्छ। त्यस्तै प्रकारको समस्या छ भने, मिसनरी घरमा बस्नेहरूले पनि यही कुरा मनमा राख्नु आवश्‍यक हुनसक्छ। किनकि यसले तिनीहरूलाई यहोवाको सेवा गर्दा आफ्नो आनन्द धान्‍न मदत दिनेछ।

अस्वस्थ हुँदा

सधैं स्वस्थ रहने मानिस कमै होलान्‌। बलिया निरोगी जवानहरूसमेत निराशा अथवा रोगले ग्रस्त हुनसक्छन्‌। अस्वस्थताले गर्दा कोही कोही पूर्ण-समय सेवा छोड्‌न बाध्य हुन्छन्‌, तर पनि तिनीहरू राज्य प्रकाशकहरूको हैसियतमा सराहनीय काम गरी नै रहन्छन्‌। अरू कोहीले चाहिं स्वास्थ्य त्यति राम्रो नभए तापनि पूर्ण-समय सेवा जारी राख्न सकेका छन्‌। उदाहरणका लागि, हर्टमुट र जिस्लीन्डलाई विचार गर्नुहोस्‌।

हर्टमुट र जिस्लीन्ड विवाहित दम्पती हुन्‌। तिनीहरूले अग्रगामी, मिसनरी र परिभ्रमण निरीक्षकको काममा ३० वर्ष बिताएका छन्‌। तिनीहरू दुवैले धेरै पटक गम्भीर रोगहरूको सामना गर्नु परेको छ, जसले तिनीहरूलाई शारीरिक र भावनात्मक तवरमा जीर्ण बनाएको छ। त्यस्तो भए तापनि तिनीहरूले उल्लेखनीय काम गर्न सकिरहेका छन्‌ र आफूहरूले भोगेजस्तै परीक्षा भोग्नेहरूलाई प्रोत्साहन दिन सकिरहेका छन्‌। तिनीहरू अरूलाई कस्तो सल्लाह दिन्छन्‌? “बितेका कुराहरूमा होइन, भविष्यका कुराहरूमा ध्यान दिनुहोस्‌। सकेसम्म परिस्थितिको सदुपयोग गर्नुहोस्‌। प्रत्येक दिन परमेश्‍वरको प्रशंसा गर्ने एउटा मात्र भए पनि मौका आउनसक्छ। त्यस मौकाको फाइदा उठाउनुहोस्‌ र आनन्दित हुनुहोस्‌।”

हान्‍नेलोरेको स्थितिलाई ध्यान दिनुहोस्‌। अग्रगामी, मिसनरी, आफ्नो पतिसँगको परिभ्रमणको काम र बेथेल सेवामा बिताएको ३० वर्षको दौडान उनलाई दीर्घ रोगले दिनसम्म दुःख दिएको छ। हान्‍नेलोरे भन्छिन्‌: “मानिसहरूले आफूलाई सजिलो हुँदा मात्र यहोवाको सेवा गर्छन्‌ भनेर शैतानले उठाएको विवादबारे म सोच्ने गर्छु। यसो गर्दा, जाँचमा परेको बेला धैर्यधारण गरेर शैतानको दाबी झूटो साबित गर्ने काममा म पनि सरिक हुनसक्छु।” यो बलियो प्रेरणा हुनसक्छ। परीक्षामा पर्दा यहोवाप्रति तपाईं वफादार हुनु उहाँको लागि पनि महत्त्वपूर्ण छ भन्‍ने कुरा कहिल्यै नबिर्सनुहोस्‌।—अय्यूब १:८-१२; हितोपदेश २७:११.

तपाईंको स्वास्थ्यलाई ध्यानमा राखेर सन्तुलित निर्णय लिने कोसिस गर्दा येशूले यस रीतिरिवाजको अन्तबारे गर्नुभएको दुइ भविष्यवाणीलाई विचार गर्नुहोस्‌। येशूले विभिन्‍न ठाउँमा रूढी हुनेछ भन्‍नुभयो। उहाँले यसो पनि भन्‍नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई . . . प्रचार गरिनेछ।” (मत्ती २४:३, १४; लूका २१:११) आखिरी दिनमा उहाँका चेलाहरूले रोगहरूको सामना गर्नेछन्‌ भन्‍ने कुरा येशूलाई थाह थियो। तर तन्दुरुस्त मानिसहरूले मात्र होइन, गम्भीर रोगको सामना गर्नेहरूले पनि प्रचारको काम गरेको उहाँ आशा गर्नुहुन्छ। यदि हामीले आफ्नो अस्वस्थ शरीरको बावजूद पूर्ण-समय सेवालाई कायमै राख्न सक्यौं भने, उहाँको नाउँको खातिर हामीले देखाएको प्रेम यहोवाले बिर्सनुहुनेछैन।—हिब्रू ६:१०.

मानिसहरूले विरक्‍त पार्दा पनि आनन्द कायमै राख्ने

राज्य-प्रचारको काममा मानिसहरूले देखाउने प्रतिक्रियाले हाम्रो मनोवृत्तिमा असर गर्नसक्छ। एक अनुभवी सेवकले यसो भने, “घरधनीसित कुराकानी गर्न अग्रगामीहरूले समेत अप्ठ्यारो महसुस गरेका छन्‌। हाम्रो आनन्द गुम्न नदिन हामी सबैले अथक प्रयास गर्नुपर्छ।” हो, मानिसहरूले विरक्‍त पार्दा क्षेत्र सेवकाईबाट प्राप्त हुने आनन्दमा ह्रास आउनसक्छ। त्यसोभए, बारम्बार यस्तो समस्याको सामना गर्नुपर्ने अग्रगामीले कसरी आफ्नो आनन्द कायमै राख्नसक्छन्‌? अनुभवी सेवकहरूले निम्न सल्लाहहरू दिएका छन्‌। यी सल्लाहहरू उपयोगी सिद्ध भएका छन्‌।

मानिसहरूले हाम्रो कुरा नसुनेर विरक्‍त पार्दा चुनौती नै हुनसक्छ तर हार मान्‍नु भने पर्दैन। कतै कतै मानिसहरूले चासै दिन छाडे भन्दैमा पूर्ण-समय सेवा छोड्‌नु उपयुक्‍त होइन। मेहनतका साथ धर्मशास्त्र अध्ययन गर्न प्रशस्त समय निकाल्यौं भने, विरक्‍तिको बावजूद हामी आनन्द कायमै राख्नसक्छौं। किनकि पढेका कुराहरूले हामीलाई ‘सुकर्ममा सुसज्जित गराउनुका’ साथै सुसमाचारमा कान नथाप्नेहरूसँग समेत कुरा गर्न सुसज्जित गराउँछन्‌। (२ तिमोथी ३:१६, १७) मानिसहरूले कुरा सुन्‍न नमाने तापनि यर्मियाले आफ्नो काम बन्द गरेनन्‌। (यर्मिया ७:२७) मसीही प्रकाशनहरूको मदत लिएर बाइबल अध्ययन गर्दा हाम्रो विश्‍वासलाई मजबुत पार्ने र मानिसहरूले हाम्रो कुरा नसुनेर विरक्‍त पार्दा त्यसको सामना गर्न मदत दिने बुँदाहरू टिपोट गर्ने गऱ्‍यौं भने, हामीले भरपूर लाभ उठाउनसक्छौं।

आफ्नो कान हामीतिर नफर्काउने मानिसहरूलाई सुसमाचार सुनाउनु चुनौतीपूर्ण नै छ। त्यसैले आउनुहोस्‌, हामीले प्रचार गर्ने मानिसहरूप्रति आफ्नो दृष्टिकोण जाँचौं। तिनीहरूले किन वास्ता नगरेका? युरोपका केही भागहरूमा मानिसहरूले धर्मको नाउँसमेत सुन्‍न नचाहनुको एउटा कारण झूटा धर्मको नराम्रो रेकर्ड भएकोले हो। मानिसहरू आफ्नो जीवनमा धर्मको पनि कुनै स्थान हुन्छ भन्‍ने कुरा नै महसुस गर्दैनन्‌ नता तिनीहरू धर्मसँग केही सरोकार नै राख्न चाहन्छन्‌। अतः, बेरोजगारी, स्वास्थ्य, अपराध, असहिष्णुता, वातावरण र लडाइँको त्रास जस्ता तिनीहरूको जीवनलाई असर गर्ने कुराहरू समावेश गरेर लचकदार हुनु आवश्‍यक छ।

स्थानीय मानिसहरूले के कुरामा बढी चासो राखेको जस्तो लाग्छ, त्यही विषयलाई हतियार बनाएर हामी घरधनीसँग कुरा थाल्नसक्छौं। एउटा गाउँमा प्रचार गर्ने क्रममा कोही कोहीले मात्र चासो देखाउँदा डाइटमारले त्यसै गर्ने कोसिस गरे। एक दिनअघि मात्र गाउँलेहरूले एउटा दुःखद घटना बेहोर्नु परेको कुरा एउटा गाउँलेले उनलाई बताए। डाइटमारले त्यसपछिका हरेक ढोकामा प्रचार गर्दा उक्‍त दुःखद घटनाप्रति अफसोस व्यक्‍त गरे। यसो गर्दा “एक्कासि मानिसहरूले कुराकानी गर्न थाले। सबैको दिमागमा त्यो दुःखलाग्दो घटना ताजै थियो। उनीहरूको जीवनप्रति चासो देखाएको हुनाले मैले त्यस दिन धेरै जनासँग राम्ररी कुरा गर्नसकें” भनेर उनले भने।

जहाँसुकै किन नहोस्‌, भेटिएका मानिसलाई हामीले राज्यको बारेमा साक्षी दिनुपर्छ। अनौपचारिक साक्षी दिंदा पनि तपाईंको प्रयास सफल हुनसक्छ। अनि यस काममा सफल हुन बाइबलमा आधारित प्रकाशनहरू मार्फत दिइएका सल्लाहहरू प्रयोग गरेर आफूलाई प्रशिक्षित पार्नसक्छौं। घरधनीहरूसँग एक दुइटा मित्रैलो कुराकानी गर्दा अथवा एक दुइ प्रति प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पत्रिका दिंदा मात्र पनि हामीलाई आनन्द लाग्नसक्छ। यदि हामीले पुनःभेट गरेर जिज्ञासुसँग बाइबल अध्ययन गर्न थालिसकेका छौं भने, यसरी पनि उनलाई सोध्नसक्छौं: “यतातिर अरू कोही बाइबल अध्ययन गर्न चाहनेहरू तपाईंले चिन्‍नुभएको छ कि?” यस्तो प्रश्‍नले अर्को गृह बाइबल अध्ययन कायम गर्न सकिन्छ। मानिसहरूले हाम्रो कुरा नसुनेर विरक्‍त पार्दा हामी निराश नहोऔं, सधैं प्रार्थनापूर्वक यहोवामा भरोसा गरौं र सकारात्मक होऔं।

अरूबाट प्रोत्साहन

योर्गेन र क्रिश्‍टिया ३० वर्षभन्दा बढी समयदेखि अग्रगामी र परिभ्रमणको काम गर्दैछन्‌। तिनीहरूले एक पटक यस्तो क्षेत्रमा प्रचार गर्ने जिम्मेवारी पाए, जहाँ प्रायजसो मानिसहरू कुरै नसुन्‍ने र हठी थिए। यस्तो बेला तिनीहरूले साँच्चै नै कसैबाट प्रोत्साहन पाउने लालसा गरे! तर केही कारणवश मण्डलीका कोही कोहीले तिनीहरूको आवश्‍यकता महसुस समेत गर्न सकेनन्‌!

यसरी “केही अग्रगामीहरूलाई एकदम गाह्रो परिरहेको हुन्छ। तिनीहरूलाई प्राचीन र अरू प्रकाशकहरूको अझ बढी प्रोत्साहन चाहिन्छ,” भन्‍ने कुरा योर्गेनले आफूले भोगेको कुराबाट सिके। यहोशूलाई प्रोत्साहन दिन र साहसिलो बनाउन परमेश्‍वरले मोशालाई अह्राउनुभएको थियो। (व्यवस्था ३:२६-२८) अनि मसीहीहरू पनि एकअर्काको लागि प्रोत्साहनको स्रोत हुनुपर्छ। (रोमी १:११, १२) राज्य प्रकाशकहरूले पूर्ण-समय सेवामा लागेकाहरूलाई ढाडस दिएर अनि बेलाबेलामा तिनीहरूसँगै सेवकाईमा गएर प्रोत्साहन दिन सक्छन्‌।

यहोवाको आनन्द—हाम्रो बल

अग्रगामी, मिसनरी, बेथेल सेवा अथवा मण्डलीहरूको परिभ्रमण गर्ने काममा आफ्नो जीवनको प्रायजसो समय बिताउने मसीहीहरूले एउटा कुरा पत्ता लगाएका छन्‌। त्यो हो, प्रायजसो समस्याहरू छिट्टै टलिजाने हुन्छन्‌ तर एकाध समस्याहरूले मात्र पछिसम्म पिरोलिरहन्छन्‌। थोरै तर कहिल्यै नहट्‌नेजस्ता देखिने समस्याहरू भए तापनि त्यसलाई हाम्रो आनन्दमा बाधा पार्न दिनु हुन्‍न। जब जब समस्याहरूले हामीलाई निराश तुल्याउँछन्‌, त्यतिबेला के गर्ने? पैंतालीस वर्षभन्दा बढी समय विदेशमा सेवा गरेर बिताएका रमन सुझाउ दिन्छन्‌, हामीले “पाइरहेका थुप्रै आशिष्‌हरूबारे सोच्नुपर्छ र हामीले भन्दा पनि अझ कठिन समस्याहरू भोगिरहेका अरू हजारौंलाई” सम्झनुपर्छ। निस्सन्देह, संसारभरिका हाम्रा भाइहरूले समस्या भोगिरहेका छन्‌ र यहोवाले साँच्चै हामी सबैको हेरचाह गर्नुहुन्छ।—१ पत्रुस ५:६-९.

त्यसकारण, यदि परिस्थितिले हामीलाई पूर्ण-समय सेवामा भाग लिन र त्यसलाई कायमै राख्न दिन्छ भने, स्वर्गमा हुनुहुने हाम्रो पितामा भरोसा राखेर आनन्द कायमै राखौं। उहाँले आफ्ना सेवकहरूलाई बल दिनुहुन्छ अनि हामी सबैले यो कुरा कहिल्यै नबिर्सौं, ‘यहोवाको आनन्द नै हाम्रो बल हो।’—नहेम्याह ८:१०.

[पृष्ठ २१-मा भएको चित्र]

“मेरा भावना र अभिरुचिहरू ती कामभन्दा महत्त्वपूर्ण छैनन्‌”

[पृष्ठ २२-मा भएको चित्र]

“हामी आफूलाई लागेका कुराहरू यहोवालाई सुनाउँछौं र बाँकी काम उहाँकै हातमा सुम्पिदिन्छौं”

[पृष्ठ २३-मा भएको चित्र]

“सकेसम्म परिस्थितिको सदुपयोग गर्नुहोस्‌। प्रत्येक दिन परमेश्‍वरको प्रशंसा गर्ने एउटा मात्र भए पनि मौका आउनसक्छ”

[पृष्ठ २३-मा भएको चित्र]

“जाँचमा परेको बेला धैर्यधारण गरेर शैतानको दाबी झूटो साबित गर्ने काममा म पनि सरिक हुनसक्छु”

[पृष्ठ २४-मा भएको चित्र]

“केही अग्रगामीहरूलाई एकदम गाह्रो परिरहेको हुन्छ। तिनीहरूलाई प्राचीन र अरू प्रकाशकहरूको अझ बढी प्रोत्साहन चाहिन्छ”

[पृष्ठ २४-मा भएको चित्र]

“हामीले पाइरहेका थुप्रै आशिष्‌हरूबारे सोच्नुपर्छ”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने