पवित्र सेवाका सुअवसरहरूको उच्च मूल्यांकन गर्ने
पवित्र सेवाका कार्यभारहरू हल्कासित लिने कुरा होइन। पुरातन यहूदाका पूजाहारीहरूले यहोवाको मन्दिरमा पाएका सुअवसरहरूप्रति भावशून्य हुँदा उहाँले तिनीहरूलाई कडासित हप्काउनुभयो। (मलाकी १:६-१४) इस्राएलका कसै कसैले नाजरीहरूलाई तिनीहरूले पवित्र सेवाको सम्बन्धमा स्वीकारेका जिम्मेवारीहरूलाई हल्कासित लिन बहकाउँदा यहोवाले ती पापी इस्राएलीहरूलाई गाली गर्नुभयो। (आमोस २:११-१६) साँचो मसीहीहरू पनि पवित्र सेवामा भाग लिन्छन् र त्यसलाई गम्भीरतापूर्वक लिन्छन्। (रोमी १२:१) यो पवित्र सेवाका थुप्रै पक्षहरू छन् र सबै उत्तिकै महत्त्वपूर्ण छन्।
येशू आफ्ना अनुयायीहरूसित पृथ्वीमा हुनुहुँदा तिनीहरूलाई परमेश्वरको राज्यका उद्घोषकहरू हुन प्रशिक्षण दिनुभयो। समय बित्दै जाँदा तिनीहरूको सन्देश पृथ्वीको अन्तसम्म पुग्नेथियो। (मत्ती २८:१९, २०; प्रेरित १:८) यस वर्तमान रीतिरिवाजको आखिरी दिनहरूमा यो प्रचारकार्य झन् बढी तत्परताका साथ अघि बढिरहेको छ।
यहोवाका सबै साक्षीहरू यो काममा भाग लिन्छन्। अग्रगामीको हैसियतमा यो काममा भाग लिन पाएकोमा सयौं हजार व्यक्तिहरू आनन्दित छन्। यस विश्वव्यापी कार्यको आवश्यकताहरू पूरा गर्न हजारौंले बेथेलमा विशेष पूर्ण-समय सेवा, क्षेत्रीय वा जिल्ला निरीक्षकको हैसियतमा परिभ्रमण कार्य वा मिसनरी सेवाको लागि अग्रसर भएका छन्। त्यस्तो विशेष सेवामा लागिरहन चाहनेहरूको निम्ति यसको अर्थ के हो?
गम्भीर पारिवारिक आवश्यकताहरू आइपर्दा
विशेष पूर्ण-समय सेवामा लाग्नुअघि सबैले आफ्नो परिस्थितिमा केही न केही छाँटकाँट गर्नुपर्ने हुन्छ। यो सबैले गर्न सक्दैनन्। आफ्ना धर्मशास्त्रीय दायित्त्वहरूले गर्दा यसो गर्न असम्भव हुनसक्छ। तर विशेष सेवामा लागिसकेकाहरूमाथि वृद्ध आमाबाबुसित सम्बन्धित जस्ता गम्भीर पारिवारिक आवश्यकताहरू आइपर्दा नि? निम्न बाइबल सिद्धान्त तथा सल्लाहहरूले आवश्यक निर्देशन प्रदान गर्छ।
हाम्रो सम्पूर्ण जीवनको केन्द्रविन्दु यहोवासितको सम्बन्ध हुनुपर्छ। (उपदेशक १२:१३; मर्कूस १२:२८-३०) हाम्रो जिम्मामा सुम्पिएका पवित्र कुराहरूको ठूलो मूल्यांकन गर्नुपर्छ। (लूका १:७४, ७५; हिब्रू १२:१६) आफ्ना प्राथमिकताहरू परिवर्तन गर्ने खाँचो भएको मानिसलाई एक चोटि येशूले परमेश्वरको राज्य घोषणा गर्ने कार्यमा पूर्णतया व्यस्त रहनू भन्नुभएको थियो। घटनाक्रमले देखाएअनुसार आफ्नो बुबाको मृत्यु नहोउञ्जेल तिनले ती क्रियाकलापहरू पन्छाउने विचार गरेका थिए। (लूका ९:५९, ६०) अर्कोतर्फ, येशूले त्यस्ता व्यक्तिहरूको गलत सोचाइलाई पर्दाफास गर्नुभयो जसले सारा कुरा परमेश्वरलाई अर्पण गरेको दाबी गर्थे अनि “बाबु आमाको निम्ति फेरि केही” गर्दैनथे। (मर्कूस ७:९-१३) प्रेरित पावलले आमाबाबु तथा बाजेबज्यैलगायत “आफ्ना परिवारलाई पालन-पोषण” गर्नुपर्ने गम्भीर जिम्मेवारी औंल्याए।—१ तिमोथी ५:३-८.
के यसको मतलब विशेष सेवामा लागेकाहरूले जरुरी आवश्यकताहरू पूरा गर्नुपर्दा आफ्नो कार्यभार छोडेर सुसारे बन्नुपर्छ? यो प्रश्नको जवाफमा थुप्रै कुराहरू मुछिएका छन्। निर्णय चाहिं व्यक्तिगत कुरा हो। (गलाती ६:५) थुप्रैले आफ्नो कार्यभारलाई अनमोल ठाने तापनि आफ्ना आमाबाबुको स्याहारसुसार गर्न तिनीहरूसितै बस्नुपर्ने खाँचो महसुस गरेका छन्। किन? किनभने जटिल समस्या आइपरेको हुनसक्छ, परिवारका अन्य सदस्यहरू मदत गर्न उपलब्ध नभएको वा स्थानीय मण्डलीले आवश्यक कामकुरा गर्न नसकेको हुनसक्छ। कसै कसैले त्यस्तो मदत दिंदै अग्रगामी गर्न सकेका छन्। अरू कतिपयले भने पारिवारिक अवस्थाको चाँजो मिलाइसकेपछि विशेष पूर्ण-समय सेवामा पुनः लाग्न सकेका छन्। तथापि, प्रायजसो अवस्थामा अरू कुनै तरिका अपनाउँदा त्यस्तो अवस्था सुल्झाउन सम्भव भएको छ।
तिनीहरूको जिम्मेवारी वहन गर्ने
गम्भीर आवश्यकताहरू आइपर्दा विशेष पूर्ण-समय सेवामा लागेका कोही कोहीले आफ्नो कार्यभार नछोडी ती आवश्यकताहरूलाई टार्न सकेका छन्। केही उदाहरणहरूमा ध्यान दिनुहोस्।
यहोवाका साक्षीहरूको मुख्यालयमा सेवारत एक दम्पतीले क्षेत्रीय तथा जिल्ला कार्यमा समय बिताइसकेपछि १९७८ मा बेथेल सेवा थाले। उक्त भाइले ईश्वरतान्त्रिक संगठनमा गहन जिम्मेवारीहरू सँभालिरहेका छन्। तर तिनका आमाबाबुलाई पनि मदत चाहिएको छ। यस बेथेल दम्पतीले आमाबाबुको हेरचाह गर्न जानआउन वर्षको तीन चार चोटि ३,५०० किलोमिटर लामो यात्रा गरेका छन्। आमाबाबुको आवश्यकता पूरा गर्न तिनीहरूले नै एउटा घर बनाइदिए। आमाबाबुलाई आकस्मिक चिकित्सा सेवा प्रदान गर्न पनि भेट्न गएकै छन्। झन्डै २० वर्षको बिदाको समय सबैजसो यो जिम्मेवारी पूरा गर्न खर्च गरेका छन्। तिनीहरू आमाबाबुलाई माया गर्छन् र तिनीहरूको आदर गर्छन् तर पवित्र सेवामा आफूले पाएको सुअवसर पनि मूल्यांकन गर्छन्।
अर्का एक भाइले जीवनमा सबैभन्दा ठूलो चुनौती सामना गर्दा परिभ्रमण कार्यमा ३६ वर्ष बिताइसकेको कुरा बताए। तिनको ८५ वर्षीय सासू, उनी पनि यहोवाको विश्वासी सेवक नै थिइन्, उनलाई आफूसितै बस्ने व्यक्तिको मदतको खाँचो पऱ्यो। त्यतिबेला उनका धेरैजसो छोराछोरीले आमालाई आफूसित राख्न अलि नमिल्ने ठाने। एक जना नातेदारले यस परिभ्रमण निरीक्षक तथा तिनकी पत्नीलाई परिवारको खातिर आमाको हेरचाह गर्न उक्त सेवा छोड्नुपर्ने कुरा बताए। तर यस दम्पतीले आफ्नो मूल्यवान् सेवा त्यागेनन् नता आमाको आवश्यकताको लापरवाह गरे। त्यसपछिको नौ वर्षसम्म आमा तिनीहरूसितै थिए। सुरुमा तिनीहरू आवासको सारा सुविधा भएको गाडीमा र पछि क्षेत्रले प्रबन्ध गरेअनुसार बेग्लाबेग्लै आवासगृहहरूमा बसे। त्यतिबेला जिल्ला निरीक्षकको हैसियतमा सेवारत उक्त भाइ कार्यभारहरू पूरा गर्न थुप्रै ठाउँहरू धाउन लामो समयसम्म बाहिरै हुन्थे र तिनकी पत्नीले चाहिं आमासित बसेर पूर्ण-समय मायालु हेरचाह प्रदान गर्थिन्। हरेक आइतबार सभापछि तिनीहरूसित समय बिताउन पति लामो यात्रा गर्थे। यो अवस्थाबारे सजग थुप्रै व्यक्तिहरूले यस दम्पतीले जे गरिरहेको थियो, त्यसप्रति गहिरो मूल्यांकन व्यक्त गरे। केही समयपछि परिवारका अरू सदस्यहरू पनि केही मदत प्रदान गर्न तम्सिए। यहोवाका हजारौं जनहरू त्यस आत्मत्यागी दम्पतीको सेवाबाट अझै लाभ उठाउँदैछन् किनभने तिनीहरूले विशेष पूर्ण-समय सेवालाई त्यागेनन्।
पारिवारिक सहयोग
परिवारका सदस्यहरूले विशेष पूर्ण-समय सेवाको मूल्यांकन गर्दा तिनीहरूमध्ये कोही न कोही त्यो सेवामा लाग्न सकोस् भनेर सहयोग पुऱ्याउनसक्छन्।
त्यस्तो पारिवारिक सहयोगको मनोभावले पश्चिम अफ्रिकामा मिसनरी कार्यमा सेवारत एक क्यानेडियाली दम्पतीलाई निकै मदत पुऱ्याएको छ। आकस्मिक अवस्था नआऊञ्जेल अर्थात् केही आइपर्नेछैन भनेर तिनीहरू चूपो लागेर बसेनन्। विदेशी सेवाको तयारीमा वाचटावर बाइबल स्कूल अफ गिलियडमा जानुअघि पतिले आफ्नो कान्छो भाइसित कथन्कदाचित् आमा बिरामी वा अशक्त भएको खण्डमा स्याहारसुसार गर्नुपर्ने सम्भावनाबारे कुरा गरे। कान्छो भाइले आमाप्रति माया र मिसनरी सेवाको महत्त्वप्रति मूल्यांकन देखाउँदै भने: “अब मेरो परिवार र बालबच्चाहरू छन्। म टाढ-टाढा गएर तपाईंले जस्तो गर्न सक्दिनँ। आमालाई केही भइहाल्यो भने म उहाँको स्याहारसुसार गर्नेछु।”
दक्षिण अमेरिकामा सेवारत एक दम्पतीले पत्नीको वृद्ध आमाको हेरचाह गर्न उनकै परिवारबाट निकै सहयोग पायो। उनकी दिदी र भिनाजुले आमाको हेरचाह गरे तर पछि यही दिदीलाई घातक रोग लाग्यो। अब के गर्ने? अरूलाई चिन्तित नबनाउन बिरामी दिदीका पतिले साढुभाइलाई यस्तो पत्र लेखे: “म र छोराछोरी जीवित रहुञ्जेल तिमीहरूले मिसनरी सेवा छोड्नुपर्दैन।” साथै अर्की बहिनी र ज्वाइँले आफ्नो घर छोडेर आमासँगै बस्न आउँदा थप पारिवारिक सहयोग प्राप्त भयो र तिनीहरूले आमाको मृत्यु नहोउञ्जेल स्याहारसुसार गरे। सहयोगको कस्तो असल मनोभाव! तिनीहरू सबैले मिसनरी सेवालाई सहयोग पुऱ्याउन मदत गरिरहेका थिए।
खुला मनले यहोवालाई दिने आमाबाबुहरू
आमाबाबुले प्रायजसो पवित्र सेवाप्रति उल्लेखनीय मूल्यांकन देखाउँछन्। यहोवालाई आदर गर्ने सबैभन्दा मूल्यवान् सम्पत्ति आफ्नै छोराछोरी हुन्। (हितोपदेश ३:९) थुप्रै मसीही आमाबाबु आफ्ना छोराछोरीलाई पूर्ण-समय सेवामा लाग्ने प्रोत्साहन दिन्छन्। अनि तिनीहरूमध्ये कोही कोही हन्नाले जस्तै महसुस गर्छन् जसले आफ्नो छोरा शमूएललाई यहोवाको सेवामा “सधैंभरि” अर्थात् “जीवनभरिनै” अर्पण गरिन्।—१ शमूएल १:२२, २८.
त्यस्तै एउटी आमाले अफ्रिकामा आफ्नी छोरीलाई यस्तो पत्र पठाइन्: “तिमीले पाएको अद्भुत सुअवसरको लागि हामी यहोवालाई धन्यवाद दिन्छौं। योभन्दा ठूलो कुरा हामीले आशा गरेका छैनौं।” अनि अर्को चोटि उनले यसो लेखिन्: “हो, हामीले तिमीसित बिछोडिनुको पीडा खप्नुपर्छ तर यहोवाले तिम्रो हेरचाह गरेको देख्न पाउँदा असाध्यै आनन्द लाग्छ!”
आफ्ना वृद्ध आमाबाबुको हेरचाह गर्न आवश्यक परेको विभिन्न परिस्थितिहरू केलाएपछि इक्वेडरका मिसनरीले यसप्रकार लेखे: “म र मेरी पत्नीले मेरो बुबाको प्रार्थनाबाट सबैभन्दा ठूलो सहयोग पाएका छौं। उहाँको मृत्युपछि आमाले हामीलाई भन्नुभयो: ‘तिम्रो बुबाले तिमीहरूले आफ्नो कार्यभार कहिल्यै छोड्न नपरोस् भनेर दिनैपिच्छे प्रार्थना गर्नुहुन्थ्यो।’ ”
क्यालिफोर्निया, सं.रा.अ.-का वृद्ध दम्पती आफ्नो एक जना छोरा पूर्ण-समय सेवामा भएकोमा खुसी थिए। आमाको मृत्यु हुँदा ती छोरा र बुहारी स्पेनमा थिए। परिवारका अन्य सदस्यहरूले बुबाको हेरचाह गर्न प्रबन्ध मिलाउनुपर्ने आवश्यकता महसुस गरे। तिनीहरू आफ्नो जागिर अनि छोराछोरीको पालनपोषणमा व्यस्त भएकोले त्यो जिम्मेवारी पूरा गर्न नसक्ने महसुस गरे। बरु, विशेष पूर्ण-समय सेवामा लागेका यो दम्पतीलाई घर फर्केर बुबाको हेरचाह गर्न निकै आग्रह गरे। तर ७९ वर्ष पुगिसकेका बुबाको स्वास्थ्य राम्रै थियो र तिनको सुस्पष्ट आध्यात्मिक दृष्टि थियो। परिवारका सबै सदस्य भेला हुँदा सबैले आ-आफ्नो विचार व्यक्त गरिसकेपछि बुबा जुरुक्क उठेर दृढतापूर्वक यसो भने: “तिनीहरू स्पेन फर्केर त्यहीं सेवा गरिरहेको म चाहन्छु।” तिनीहरूले त्यसै गरे तर अरू उपयोगी ढंगमा बुबालाई मदत गर्न छोडेनन्। हाल तिनीहरू स्पेनको क्षेत्रीय कार्यमा सेवारत छन्। त्यो पारिवारिक छलफलपश्चात् परिवारका अन्य सदस्यहरूले त्यस दम्पतीले विदेशी सेवामा गरेको कार्यप्रति मूल्यांकन देखाएका छन्। त्यसको निकै वर्षपछि एक जना छोराले बुबालाई आफ्नो घरमा लगेर बाँचुञ्जेल हेरचाह गरे।
पेन्सिलभानिया, सं.रा.अ.-का एक अभिषिक्त भाइको उमेर ९० वर्ष नाघिसक्दा र अग्रगामी सेवामा ४० वर्षभन्दा बढी समय बिताइसक्दा तिनकी पत्नी सिकिस्त बिरामी परेर मरिन्। तिनको एक छोरा र तीन छोरी अनि थुप्रै आध्यात्मिक छोराछोरीहरू थिए। तिनीहरूका एउटी छोरीले पूर्ण-समय सेवामा ४० वर्षभन्दा बढी बिताएकी थिइन्, पतिसित मिसनरी कार्य, परिभ्रमण कार्य र बेथेल सेवा इत्यादिमा। बुबालाई उचित स्याहारसुसार पुगोस् भनेर छोरीले प्रबन्ध मिलाइन्। स्थानीय भाइहरूले उनलाई राज्यभवनमा लैजान पनि मदत गरे। आफ्नो पतिको मृत्युपछि बेथेल छोडेर उहाँको हेरचाह गर्न आऊँ कि भनेर सोधिन्। बुबा पवित्र कुराको उच्च सम्मान गर्छन् र तिनका आवश्यकताहरू अरू ढंगमा पनि पूरा हुनसक्ने महसुस गरे। अतः तिनले यस्तो जवाफ दिए: “तिमीले त्यो सेवा कहिल्यै छोड्न नपरोस्, झन् मेरै कारण छोड्न पऱ्यो भने त मेरो लागि त्योभन्दा दुःखदायी कुरा अरू केही हुनेछैन।”
सहयोगी मण्डलीहरू
विशेष पूर्ण-समय सेवामा लागेका व्यक्तिहरूको वृद्ध आमाबाबुको हेरचाह गर्न कुनै कुनै मण्डलीहरूले निकै सहयोग गरेका छन्। त्यस्तो सेवामा निकै वर्ष बिताइसकेकाहरूको विशेषगरि मूल्यांकन गर्छन्। मण्डलीले तिनीहरूलाई धर्मशास्त्रीय जिम्मेवारीबाट मुक्त गर्न नसके तापनि छोराछोरीले विशेष कार्यभार त्याग्न नपरोस् भनेर तिनीहरूको भारी हल्का पार्न निकै सहयोग गर्छन्।
जर्मनीका एक दम्पतीले विदेशी सेवामा १७ वर्षभन्दा लामो समय बिताइसकेका थिए र त्यसमध्ये प्रायजसो समय परिभ्रमण कार्यमा थियो र यति नै बेला पतिको वृद्ध आमाको हेरचाह गर्ने खाँचो पनि पऱ्यो। तिनीहरू वर्षेनी बिदाको समयमा आमालाई मदत गर्थे। साक्षी छिमेकीहरूले पनि मायालु सहयोग गरे। पूर्ण-समय सेवामा लागेको दम्पती आमासित भएको यस महत्त्वपूर्ण घडीमा स्थानीय मण्डलीका प्राचीनहरूले तिनीहरूसित भेट्ने प्रबन्ध मिलाए। यो दम्पतीले आमाको हेरचाह गर्न के के गरिरहेका छन् भनेर तिनीहरूलाई राम्ररी थाह थियो। तिनीहरू यो दम्पतीले गरिरहेको विशेष सेवाको महत्त्वलाई पनि मूल्यांकन गर्थे। त्यसकारण, प्राचीनहरूले आमाको हेरचाहको निम्ति एउटा तालिका देखाउँदै यसो भने: “अहिले जे जति गरिरहनुभएको छ, यहाँ बसेर पनि त्योभन्दा बढी गर्न सक्नुहुन्न, तपाईंहरूले स्पेनको सेवा छोड्न नपरोस्, हामी तपाईंहरूलाई मदत गर्नेछौं।” यी प्राचीनहरूले त्यस्तो मदत पुऱ्याइरहेको सात वर्ष भइसक्यो।
त्यस्तैगरि, १९६७ देखि सेनेगलमा सेवारत भाइले आफ्नो बुबा बस्ने इलाकाको मण्डलीबाट निकै मायालु सहयोग पाएका छन्। संकट आइपर्दा मायालु पत्नीको सहमतिमा यो भाइ आमाबाबुको हेरचाह गर्न एक्लै संयुक्त राज्य गए। त्यहाँ निकै महिना बस्नुपऱ्यो। अवस्था कठिन थियो तर तिनले सकेजति गरिसकेपछि तिनी मिसनरी सेवामा लागिरहन सकून् भनेर मण्डलीले सहयोग गर्न थाल्यो। लगभग १८ वर्षको दौडान मण्डलीले थुप्रै तरिकामा मायालु सहयोग प्रदान गऱ्यो। पहिला बुबालाई (तिनले धेरैजसो मानिसलाई चिन्न छोडिसकेका थिए) र आमालाई पनि। के यसले छोरालाई जिम्मेवारीमुक्त बनायो? अहँ, बनाएन। तिनी यथासक्य मदत दिन आफ्नो बिदाको प्रायजसो समयमा बुबालाई भेट्न जान्थे। तर सेनेगलमा विशेष पूर्ण-समय सेवामा कार्यरत मेहनती दम्पतीलाई मदत गर्न सानो योगदान भए पनि पुऱ्याउन सकेकोमा मण्डलीका थुप्रै सदस्यहरू खुसी भए।
सुसमाचारको खातिर घरबार छोड्नेहरूले सय गुणा बढी भाइबहिनी, आमाबाबु, छोराछोरी पाउनेछन् भनी येशूले भन्नुभएको थियो। (मर्कूस १०:२९, ३०) यो यहोवाका सेवकहरूको सन्दर्भमा साँच्चै साँचो साबित भएको छ। अहिले बेनिन, पश्चिम अफ्रिकामा सेवारत दम्पतीले येशूले भन्नुभएका उक्त कुरा अनौठो ढंगमा अनुभव गरे जब तिनीहरूको मण्डलीका दुइ जना साक्षीले आमाबाबुको पीर नगर्नुहोस् भने। तिनीहरूले भने: “तपाईंका आमाबाबु, हाम्रै आमाबाबु हुन्।”
हो, पवित्र सेवाको सुअवसरलाई उच्च मूल्यांकन गर्छौं भनेर हामीले थुप्रै तरिकामा देखाउनसक्छौं। तपाईं यो कार्यमा अझ पूर्णतया भाग लिनसक्ने कुनै तरिकाहरू छन् कि?
[पृष्ठ २६-मा भएको चित्र]
तिनीहरू विशेष पूर्ण-समय सेवाको लागि अग्रसर भएका छन्