प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • cl chap. २५ pp. २५०-२५९
  • “हाम्रा परमेश्‍वरको कोमल करुणा”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हाम्रा परमेश्‍वरको कोमल करुणा”
  • यहोवासित नजिक हुनुहोस्‌
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • करुणा के हो?
  • यहोवाले एउटा राष्ट्रलाई करुणा देखाउनुभयो
  • यहोवा प्रत्येक व्यक्‍तिलाई करुणा देखाउनुहुन्छ
  • यहोवा कुन अवस्थामा करुणा देखाउनुहुन्‍न?
  • यहोवाको दयाको देखासिकी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • कोमल अनुकम्पापूर्ण हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • “कोमल हृदयका” हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • यहोवाले करुणामय शासन गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
यहोवासित नजिक हुनुहोस्‌
cl chap. २५ pp. २५०-२५९
एउटी स्त्रीको मुहारमा ममता झल्किएको छ।

अध्याय २५

“हाम्रा परमेश्‍वरको कोमल करुणा”

१, २. (क) बच्चा रुँदा आमाले के गर्छिन्‌? (ख) आमाको ममताभन्दा पनि गहिरो र प्रबल भावना के हो?

मध्यरातमा एउटा बच्चा अचानक रुन थाल्छ। ऊ रोएको सुन्‍नेबित्तिकै आमा उठिहाल्छिन्‌। बच्चा जन्मेदेखि नै उनी राम्ररी सुत्न पाएकी छैनन्‌। उनी आफ्नो बच्चा रोएको तरिकाबाटै उसलाई के चाहिएको छ भनेर बुझिहाल्छिन्‌। उसलाई दूध खुवाउनुपर्ने हो कि, काखमा लिएर भुलाउनुपर्ने हो कि वा अरू केही गरिदिनुपर्ने हो भनेर उनी अक्सर थाह पाइहाल्छिन्‌। तर बच्चा रुनुको कारण जेसुकै भए पनि आमा उसलाई फकाउन थाल्छिन्‌। किनकि बच्चा रोएको सुनेर पनि नसुनेझैँ गर्न उनको मनले मान्दैन।

२ एउटी आमाले आफूले गर्भमा हुर्काएको बच्चालाई देखाउने ममता मानिसमा हुने सबैभन्दा कोमल भावना हो। तर योभन्दा पनि अझ कोमल र प्रबल भावना हाम्रा परमेश्‍वर यहोवामा छ। त्यो हो, उहाँको कोमल करुणा। उहाँको यस मनमोहक गुणबारे विचार गर्दा हामी उहाँसित नजिक हुन सक्छौँ। करुणा के हो र यहोवाले यो गुण कसरी देखाउनुभएको छ, अब विचार गरौँ।

करुणा के हो?

३. “कृपा देखाउनु” वा “टिठाउनु” भनेर अनुवाद गरिएको हिब्रू क्रिया राकाम-को अर्थ के हो?

३ बाइबलले करुणा र कृपाबीच नजिकको सम्बन्ध छ भनेर बताउँछ। हिब्रू र ग्रीकमा यस्ता थुप्रै शब्द छन्‌, जसले कोमल करुणा भन्‍ने भाव दिन्छ। उदाहरणको लागि, हिब्रू क्रिया राकाम-लाई अक्सर “कृपा देखाउनु” वा “टिठाउनु” भनेर अनुवाद गरिन्छ। एउटा स्रोतसामग्रीमा राकाम-को यस्तो परिभाषा दिइएको छ: “यो करुणाले भरिएको गहिरो र कोमल भावना हो, जुन हामीले माया गर्ने वा हाम्रो मदत चाहिएको व्यक्‍तिलाई एकदमै लाचार अवस्थामा वा पीडामा देख्दा हाम्रो मनभित्र जाग्छ।” यहोवाले आफ्नो गहिरो भावनालाई बुझाउन यो हिब्रू शब्द चलाउनुभएको छ। यो शब्द “गर्भ” भनेर अनुवाद गरिएको शब्दसित सम्बन्धित छ अनि यसलाई “आमाको ममता” पनि भन्‍न सकिन्छ।a—प्रस्थान ३३:१९; यर्मिया ३३:२६.

एउटी आमाले आफ्नो बच्चालाई काखमा बोकेकी छिन्‌।

‘के कुनै आमाले आफ्नो गर्भबाट जन्मेको बच्चालाई बिर्सन सक्छे र?’

४, ५. यहोवाको करुणाबारे बुझाउन बाइबलमा आफ्नो बच्चाप्रति एउटी आमाको भावनालाई कसरी उदाहरणको रूपमा चलाइएको छ?

४ यहोवाको करुणाबारे बुझाउन बाइबलमा एउटी आमाको मनमा आफ्नो बच्चाको लागि हुने भावनालाई उदाहरणको रूपमा चलाइएको छ। यसैया ४९:१५ मा यस्तो लेखिएको छ: “के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र? वा आफ्नो गर्भबाट जन्मेको बच्चालाई कठोर व्यवहार गर्छे [“टिठ्याउँदिन,” नयाँ संशोधित संस्करण] र? बरु तिनीहरूले बिर्सेलान्‌ तर म तिमीलाई कहिल्यै बिर्सनेछैनँ।” यो मन छुने अभिव्यक्‍तिबाट यहोवाले आफ्ना जनहरूलाई देखाउनुहुने करुणा अथाह छ भनेर प्रस्ट हुन्छ। कसरी?

५ एउटी आमाले आफ्नो दूधेबालकलाई खुवाउन र स्याहारसुसार गर्न बिर्सेको हामी कल्पना समेत गर्न सक्दैनौँ। किनभने बच्चा निस्सहाय हुन्छ; उसलाई दिनरात आमाको माया र स्नेह चाहिन्छ। तर दुःखको कुरा, अहिलेको यस “असाध्यै कठिन समय”-मा केही आमाले आफ्नो बच्चालाई बेवास्ता गरेको हामी सुन्‍ने गर्छौँ किनकि तिनीहरूमा “स्वाभाविक स्नेह” नै छैन। (२ तिमोथि ३:१, ३) तर यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “म तिमीलाई कहिल्यै बिर्सनेछैनँ।” उहाँ आफ्ना जनहरूलाई कोमल करुणा देखाउन कहिल्यै छोड्‌नुहुन्‍न। एउटी आमाले आफ्नो बच्चालाई देखाउने करुणाभन्दा यहोवाले आफ्ना जनहरूलाई देखाउनुहुने करुणा कता हो कता गहिरो र प्रबल छ। त्यसैले एक जना टिप्पणीकारले यसैया ४९:१५ बारे यसो भन्‍नु छक्कलाग्दो कुरा होइन: “पुरानो नियममा परमेश्‍वरको प्रेमबारे बताइएको सबैभन्दा सशक्‍त अभिव्यक्‍तिहरूमध्ये यो पनि एउटा हो।”

६. थुप्रै त्रुटिपूर्ण मानिसले कोमल करुणाबारे कस्तो सोचाइ राख्छन्‌ तर यहोवाले हामीलाई कस्तो आश्‍वासन दिनुभएको छ?

६ के कोमल करुणा देखाउनु कमजोरीको चिन्ह हो? थुप्रै त्रुटिपूर्ण मानिसले त्यस्तै सोचाइ राख्छन्‌। उदाहरणको लागि, येसुका समकालीन र रोमका एक प्रख्यात विद्वान्‌ तथा दार्शनिक सेनेकाले “कसैप्रति टिठाउनु कमजोरी हो” भनेर सिकाउँथे। सेनेका स्तोइकवादलाई समर्थन गर्थे र स्तोइकवादी शिक्षाअनुसार मानिसले आफूलाई कुनै पनि भावनाको प्रभावमा पर्न दिनु हुँदैनथ्यो। सेनेकाको भनाइअनुसार कोही मानिस समझदार छ भने उसले दुःखमा परेकालाई मदत त गर्न सक्छ तर तिनीप्रति टिठाउनु भने हुँदैन किनकि त्यस्तो भावनाले उसको मनोशान्ति भङ्‌ग गर्छ। जीवनप्रति यस्तो सङ्‌कुचित दृष्टिकोण राख्ने मानिसले मनैदेखि करुणा देखाउन सक्दैन। तर यहोवा त्यस्तो कदापि हुनुहुन्‍न। बाइबलले उहाँ “करुणामय अनि कृपालु हुनुहुन्छ” भनेर बताउँछ। (याकुब ५:११, फुटनोट) करुणा देखाउनु कमजोरी होइन बरु यो एउटा सशक्‍त र महत्त्वपूर्ण गुण हो भनेर हामी सिक्नेछौँ। यहोवाले कसरी एक जना मायालु बुबाले जस्तै करुणा देखाउनुहुन्छ, अब हामी विचार गरौँ।

यहोवाले एउटा राष्ट्रलाई करुणा देखाउनुभयो

७, ८. इस्राएलीहरूले मिश्रमा कस्तो दुःख भोग्नुपऱ्‍यो र तिनीहरूले गुहार्दा यहोवाले के गर्नुभयो?

७ इस्राएल राष्ट्रसित यहोवाले गर्नुभएको व्यवहारमा उहाँको करुणा स्पष्ट देखियो। ईसापूर्व १६ औँ शताब्दीको अन्ततिर लाखौँ इस्राएली मिश्रको दासत्वमा थिए र त्यहाँ तिनीहरूलाई असाध्यै दमन गरिन्थ्यो। “इँटा र इँटाको लागि चाहिने माटोको मसला बनाउन अनि खेतमा गरिने सबै किसिमका काम गर्न लगाएर [मिश्रीहरूले] इस्राएलीहरूको जीवनै खल्लो बनाइदिए।” (प्रस्थान १:११, १४) यस्तो दुःख भोग्नुपर्दा इस्राएलीहरूले यहोवालाई गुहारे। त्यतिबेला कोमल करुणा देखाउनुहुने परमेश्‍वरले कस्तो महसुस गर्नुभयो?

८ उहाँलाई असाध्यै दुःख लाग्यो। उहाँले यसो भन्‍नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।” (प्रस्थान ३:७) यहोवाको मनमा तिनीहरूप्रति कुनै पनि भावना नभएको भए उहाँले तिनीहरूको पीडा देख्नुहुन्‍नथ्यो वा तिनीहरूको चीत्कार सुन्‍नुहुन्‍नथ्यो। हामीले अघिल्लो अध्यायमा सिकेझैँ यहोवा समानुभूति देखाउनुहुने परमेश्‍वर हुनुहुन्छ। समानुभूति भनेको अरूको पीडा महसुस गर्न सक्ने क्षमता हो र यो करुणासित सम्बन्धित छ। तर यहोवाले आफ्ना जनहरूको पीडा महसुस मात्र गर्नुभएन बरु तिनीहरूको खातिर कदम पनि चाल्नुभयो। यसैया ६३:९ यसो भन्छ: “प्रेम र करुणा देखाएर उहाँले तिनीहरूलाई छुटाउनुभयो।” यहोवाले आफ्नो ‘शक्‍तिशाली हातले’ इस्राएलीहरूलाई मिश्रको दासत्वबाट छुटकारा दिनुभयो। (व्यवस्था ४:३४) त्यसपछि उहाँले तिनीहरूको लागि चमत्कारपूर्ण ढङ्‌गमा खानेकुराको प्रबन्ध गरिदिनुभयो र तिनीहरूलाई प्रशस्त उब्जनी हुने देशमा लैजानुभयो।

९, १०. (क) यहोवाले इस्राएलीहरूलाई किन पटक-पटक शत्रुहरूको हातबाट छुटकारा दिनुभयो? (ख) यिप्तहको समयमा यहोवाले इस्राएलीहरूलाई कस्तो अत्याचारबाट छुटकारा दिनुभयो र उहाँलाई त्यसो गर्न कुन कुराले उत्प्रेरित गऱ्‍यो?

९ यहोवाले इस्राएलीहरूलाई करुणा देखाउन छोड्‌नुभएन। प्रतिज्ञा गरिएको देशमा बसोबास गर्न थालेपछि तिनीहरूले बारम्बार उहाँलाई विश्‍वासघात गरे र दुःख भोगे। तर पछि तिनीहरू आफ्नो गल्तीको लागि पछुतो मान्थे र यहोवालाई पुकार्थे अनि उहाँ तिनीहरूलाई पटक-पटक शत्रुहरूको हातबाट छुटकारा दिनुहुन्थ्यो। किन? ‘किनकि आफ्ना मानिसहरूप्रति उहाँको मनमा दया जाग्थ्यो।’—२ इतिहास ३६:१५; न्यायकर्ता २:११-१६.

१० यिप्तहको समयमा के भएको थियो, विचार गर्नुहोस्‌। इस्राएलीहरूले झूटा देवीदेवताको उपासना गर्न थालेपछि यहोवाले तिनीहरूलाई अम्मोनीहरूको हातमा सुम्पिदिनुभयो र तिनीहरूले १८ वर्ष अत्याचार भोगे। अन्तमा तिनीहरूले आफ्नो गल्तीको लागि पछुतो माने। बाइबल यसो भन्छ: “तिनीहरूले आफ्नो बीचबाट अरू देवताहरूका मूर्ति हटाए र यहोवा परमेश्‍वरको उपासना गर्न थाले। त्यसपछि उहाँले इस्राएलीहरूको दुःख हेरिरहन सक्नुभएन।” (न्यायकर्ता १०:६-१६) इस्राएलीहरूले मनैदेखि पश्‍चात्ताप गरेपछि कोमल करुणाका परमेश्‍वरले यिप्तहलाई चलाएर तिनीहरूलाई शत्रुहरूको हातबाट छुटकारा दिनुभयो।—न्यायकर्ता ११:३०-३३.

११. यहोवाले इस्राएलीहरूसित गर्नुभएको व्यवहारबाट कोमल करुणाबारे के सिक्न सक्छौँ?

११ यहोवाले इस्राएलीहरूसित गर्नुभएको व्यवहारबाट उहाँको कोमल करुणाबारे के सिक्न सक्छौँ? एउटा पाठ, कोमल करुणा देखाउनु भनेको मानिसहरूको पीडा महसुस गर्नु मात्र त होइन। सुरुमा चर्चा गरिएको आमाको उदाहरण फेरि विचार गर्नुहोस्‌। बच्चा रोइरहेको सुनेपछि उनको मनमा करुणा जाग्छ र उनी उसको लागि केही गरिदिन उत्प्रेरित हुन्छिन्‌। त्यसैगरि यहोवा आफ्ना सेवकहरूको पुकारा सुनेपछि हात बाँधेर बस्नुहुन्‍न। बरु उहाँ कोमल करुणाले गर्दा तिनीहरूको दुःख हटाउन कदम चाल्नुहुन्छ। अर्को पाठ, कोमल करुणा देखाउनु कमजोरी होइन। किनकि यहोवालाई यस कोमल गुणले नै इस्राएलीहरूको लागि ठोस कदम चाल्न उत्प्रेरित गरेको थियो। तर के उहाँ आफ्ना सेवकहरूलाई सामूहिक रूपमा मात्र कोमल करुणा देखाउनुहुन्छ?

यहोवा प्रत्येक व्यक्‍तिलाई करुणा देखाउनुहुन्छ

१२. व्यवस्थाले यहोवा प्रत्येक व्यक्‍तिलाई करुणा देखाउनुहुन्छ भनेर कसरी प्रस्ट पाऱ्‍यो?

१२ परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाले उहाँ आफ्ना प्रत्येक सेवकलाई करुणा देखाउनुहुन्छ भनेर प्रस्ट पाऱ्‍यो। उदाहरणको लागि, उहाँले गरिबहरूको ख्याल राखेको कसरी देखाउनुभयो, विचार गरौँ। सोच्दै नसोचेको परिस्थितिले गर्दा इस्राएलीहरू गरिबीको दलदलमा फस्न सक्छन्‌ भनेर उहाँलाई थाह थियो। उहाँ ती गरिबहरूसित कस्तो व्यवहार गरिएको चाहनुहुन्थ्यो? यहोवाले इस्राएलीहरूलाई यस्तो कडा आज्ञा दिनुभएको थियो: “यदि तिमीहरूका दाजुभाइमध्ये कोही गरिब भयो भने तिमीहरू ऊप्रति निष्ठुर नहुनू र उसलाई मदत गर्न कन्जुस्याइँ नगर्नू। तिमीहरूले उसलाई मन नलागी-नलागी होइन तर खुला मनले दिनू। त्यसरी दियौ भने मात्र यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको मेहनतमा आशिष्‌ दिनुहुनेछ र तिमीहरू जे काम गर्छौ, त्यसमा तिमीहरूलाई सफल तुल्याइदिनुहुनेछ।” (व्यवस्था १५:७, १०) साथै उहाँले तिनीहरूलाई खेतको कुनाकुनासम्म कटनी नगर्नू र सिलाबाला नबटुल्नू बरु गरिबहरूको लागि छोडिदिनू भनेर आज्ञा दिनुभएको थियो। (लेवी २३:२२; रुथ २:२-७) तिनीहरूले यो आज्ञा पालन गर्दा दीनदुःखी र गरिबहरूले खानाको लागि कसैसित भीख माग्नु पर्दैनथ्यो। के यस प्रबन्धमा यहोवाको कोमल करुणा झल्किँदैन र?

१३, १४. (क) दाउदले लेखेको कुराले यहोवा हामी प्रत्येकमा गहिरो चासो लिनुहुन्छ भनेर कसरी देखाउँछ? (ख) हाम्रो ‘हृदय टुट्‌दा’ वा हामी ‘निराश हुँदा’ यहोवा हाम्रो नजिक रहनुहुन्छ भनेर कुन उदाहरणले देखाउँछ?

१३ आज पनि हाम्रो मायालु परमेश्‍वर हामी प्रत्येकमा गहिरो चासो लिनुहुन्छ। हामीले कस्तो दुःखकष्ट भोगिरहेका छौँ भनेर उहाँलाई राम्ररी थाह छ। भजनरचयिता दाउदले यस्तो लेखे: “धर्मीहरूमाथि यहोवाको नजर रहन्छ अनि तिनीहरूले उहाँलाई गुहार्दा उहाँले आफ्नो कान थाप्नुहुन्छ। यहोवा टुटेका हृदय भएकाहरूको नजिक हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ।” (भजन ३४:१५, १८) यहाँ भजनरचयिताले कस्ता मानिसहरूको विषयमा बताइरहेका थिए भन्‍नेबारे बाइबलका एक टिप्पणीकारले यस्तो लेखे: “तिनीहरू मन भाँचिएका मानिसहरू हुन्‌, जो आफ्नो पापको बोझले दबिएका छन्‌ र आफ्नो आत्मसम्मान गुमाएका छन्‌। तिनीहरू आफ्नै नजरमा गिरेका हुन्छन्‌ र आफू बेकामको छु भनेर महसुस गर्छन्‌।” तिनीहरूलाई यहोवा एकदमै टाढा हुनुहुन्छ र आफू उहाँको नजरमा मूल्यहीन भएकोले उहाँले वास्तै गर्नुहुन्‍न जस्तो लाग्न सक्छ। तर त्यस्तो त होइन। दाउदले लेखेको कुराले “आफ्नै नजरमा गिरेका” मानिसहरूलाई यहोवा त्याग्नुहुन्‍न भनेर हामीलाई ढुक्क बनाउँछ। कोमल करुणाले भरिपूर्ण हाम्रा परमेश्‍वरलाई यस्तो गाह्रो अवस्थामा हामीलाई अझ धेरै मदत चाहिन्छ भनेर थाह छ र उहाँ हाम्रो अझ नजिक आउनुहुन्छ।

१४ एउटा अनुभव विचार गरौँ। अमेरिकामा बस्ने एउटी आमाले आफ्नो दुई वर्षे छोराको अवस्था नाजुक भएकोले तुरुन्तै अस्पताल लगिन्‌। उसलाई सास फेर्न गाह्रो भइरहेको थियो र एकदमै खोकिरहेको थियो। विभिन्‍न जाँचपछि डाक्टरहरूले उसलाई त्यो रात अस्पतालमै राख्नुपर्छ भनेर आमालाई बताए। के उनी छोरालाई अस्पतालमै छोडेर गइन्‌? उनले त्यसो गरेको हामी कल्पना पनि गर्न सक्दैनौँ। उनले त्यो रात अस्पतालमा छोरा सुतिरहेको खाटछेउको कुर्सीमै बिताइन्‌। उनी बिरामी छोरालाई एकछिन पनि छोड्‌न चाहँदिन थिइन्‌। यहोवाको स्वरूपमा बनिएका हामी मानिसमा त यत्ति धेरै कोमल करुणा हुन्छ भने हामी दुःखमा पर्दा यहोवा हामीलाई झन्‌ कत्ति धेरै मदत गर्नुहुन्छ होला, कल्पना गर्नुहोस्‌ त! (उत्पत्ति १:२६) भजन ३४:१८ को मन छुने अभिव्यक्‍तिबाट हाम्रो ‘हृदय टुट्‌दा’ वा हामी ‘निराश हुँदा’ मायालु आमाबुबाजस्तै यहोवा हाम्रो “नजिक” रहनुहुन्छ भनेर स्पष्ट हुन्छ। हो, उहाँ हामीलाई करुणा देखाउन र मदत गर्न सधैँ तयार हुनुहुन्छ।

१५. यहोवाले आफ्ना प्रत्येक सेवकलाई मदत गर्न के-कस्तो प्रबन्ध मिलाउनुभएको छ?

१५ त्यसोभए यहोवा आफ्ना प्रत्येक सेवकलाई कसरी मदत गर्नुहुन्छ? उहाँले अहिले नै तिनीहरूको दुःखकष्ट हटाइदिनु त हुन्‍न। तर यहोवाले उहाँलाई गुहार्नेहरूको लागि थुप्रै प्रबन्ध मिलाउनुभएको छ। उहाँले आफ्नो वचन बाइबलमा व्यावहारिक सल्लाह-सुझाव दिनुभएको छ, जुन पालन गर्दा हाम्रो अवस्थामा केही हदसम्म भए पनि सुधार आउन सक्छ। साथै उहाँले मण्डलीमा आध्यात्मिक रूपमा परिपक्व निरीक्षकहरूको पनि प्रबन्ध मिलाउनुभएको छ र तिनीहरू उहाँका सेवकहरूलाई मदत गर्ने सन्दर्भमा उहाँले जस्तै करुणा देखाउन हरप्रयास गर्छन्‌। (याकुब ५:१४, १५) साथै यहोवा “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” हुनुभएकोले “उहाँसित माग्नेहरूलाई . . . पवित्र शक्‍ति” दिनुहुन्छ। (भजन ६५:२; लुका ११:१३) त्यसले हामीमा “असाधारण शक्‍ति” भरिदिन सक्छ, जसले गर्दा हामी परमेश्‍वरको राज्यले सबै समस्याको समाधान नगरुन्जेल सहनशील हुन सक्छौँ। (२ कोरिन्थी ४:७) के यस्ता प्रबन्धहरूको लागि हामी यहोवाप्रति कृतज्ञ छैनौँ र? यी सबै यहोवाको कोमल करुणाको अभिव्यक्‍ति हुन्‌ भन्‍ने कुरा सधैँ मनमा राखौँ।

१६. यहोवाले कसरी सर्वोत्कृष्ट तरिकामा करुणा देखाउनुभएको छ र यस प्रबन्धबाट हामी प्रत्येकले कस्तो लाभ उठाउन सक्छौँ?

१६ यहोवाले आफ्नो प्यारो छोरा हाम्रो लागि फिरौतीस्वरूप दिनुभएर हामीलाई सर्वोत्कृष्ट तरिकामा करुणा देखाउनुभएको छ। यो प्रबन्ध मिलाउन यहोवाले आफ्नो तर्फबाट ठूलो मोल चुकाउनुभयो अनि त्यसले गर्दा हाम्रो लागि उद्धारको बाटो खुल्यो। फिरौतीको प्रबन्धबाट हामी प्रत्येकले लाभ उठाउन सक्छौँ भन्‍ने कुरा सधैँ मनमा राख्नुहोस्‌। बप्तिस्मा गराउने युहन्‍नाका बुबा जकरियाले पनि यस प्रबन्धमार्फत “हाम्रा परमेश्‍वरको कोमल करुणा” सशक्‍त तरिकामा प्रकट हुन्छ भनेर भविष्यवाणी गरेका थिए।—लुका १:७८.

यहोवा कुन अवस्थामा करुणा देखाउनुहुन्‍न?

१७-१९. (क) यहोवाको करुणाको सीमा छ भनेर बाइबलले कसरी देखाउँछ? (ख) यहोवाको करुणाको बाँध किन टुट्यो?

१७ के हामीले यहोवाको कोमल करुणाको कुनै सीमा छैन भनेर सोच्नु उचित हो? यदि कोही यहोवाको धार्मिक स्तरको विरुद्धमा उठ्‌छ भने उहाँ त्यस्तो व्यक्‍तिलाई करुणा देखाउनुहुन्‍न र उहाँले त्यसो गर्नु जायजै हो। (हिब्रू १०:२८) यसको कारण बुझ्न इस्राएल राष्ट्रको उदाहरण फेरि विचार गरौँ।

१८ हुनत यहोवाले तिनीहरूलाई बारम्बार शत्रुहरूको हातबाट छुटकारा दिनुभयो तर उहाँले सधैँभरि त्यसो गरिरहनुभएन किनकि उहाँको करुणाको पनि सीमा छ। ती अटेरी मानिसहरूले मूर्तिपूजा गरे अनि यहोवाको मन्दिरमा समेत घिनलाग्दा मूर्तिहरू ल्याए। (इजकिएल ५:११; ८:१७, १८) बाइबलमा यस्तो पनि लेखिएको छ: “तिनीहरूले साँचो परमेश्‍वरका सन्देशवाहकहरूको खिसी गरिरहे, उहाँको वचनलाई तुच्छ सम्झे र उहाँका भविष्यवक्‍ताहरूलाई हाँसोमा उडाए। तिनीहरूले त्यसै गरिरहे र आखिरमा तिनीहरू सुधार्नै नसकिने हदसम्मै पुगे। अनि यहोवा परमेश्‍वरको क्रोध उहाँका मानिसहरूमाथि दन्कियो।” (२ इतिहास ३६:१६) इस्राएलीहरू यत्ति भ्रष्ट भइसकेका थिए कि तिनीहरूले यहोवाको करुणा पाउने कुनै आधार बाँकी रहेन। यहोवा असाध्यै क्रोधित हुनुभएको थियो। नतिजा के भयो?

१९ यहोवाले तिनीहरूलाई करुणा देखाउन छोड्‌नुभयो। उहाँले यस्तो घोषणा गर्नुभयो: “म तिनीहरूमाथि टिठाउनेछैनँ, तिनीहरूमाथि दयामाया वा कृपा देखाउनेछैनँ; तिनीहरूलाई नाश गर्न मलाई कुनै कुराले रोक्नेछैन।” (यर्मिया १३:१४) नभन्दै यरुसलेम र त्यहाँको मन्दिर विनाश भयो अनि इस्राएलीहरूलाई बन्दी बनाएर बेबिलोन लगियो। ती पापी मानिसहरू यत्ति विद्रोही भए कि यहोवाको करुणाको बाँध नै टुट्यो। कत्ति दुःखलाग्दो कुरा!—विलाप २:२१.

२०, २१. (क) भविष्यमा यहोवाको करुणाको बाँध टुटेपछि के हुनेछ? (ख) अर्को अध्यायमा यहोवाको करुणा सर्वोत्कृष्ट तरिकामा झल्किएको कुन प्रबन्धबारे छलफल गर्नेछौँ?

२० आज हाम्रो समयबारे के भन्‍न सकिन्छ? यहोवा परिवर्तन हुनुभएको छैन। उहाँले मानिसहरूप्रतिको करुणाले गर्दा नै आफ्ना साक्षीहरूलाई सारा पृथ्वीभरि “राज्यको सुसमाचार” सुनाउन आज्ञा दिनुभएको छ। (मत्ति २४:१४) असल हृदय भएका मानिसहरूले राज्यको सन्देश बुझ्न सकून्‌ भनेर उहाँ तिनीहरूको हृदय खोलिदिनुहुन्छ। (प्रेषित १६:१४) तर यो काम सधैँभरि चलिरहनेछैन। यहोवाले यो दुष्ट संसार र मानिसहरूले भोगिरहेको दुःखकष्ट यसरी नै सधैँभरि रहिरहन दिनुभयो भने उहाँले करुणा देखाइरहनुभएको त हुँदैन। भविष्यमा उहाँको करुणाको बाँध टुटेपछि उहाँले यस दुष्ट संसारलाई दण्ड दिनुहुनेछ। तर त्यतिबेला पनि उहाँले एक अर्थमा करुणा देखाइरहनुभएको हुनेछ—आफ्नो “पवित्र नाम” र आफ्ना वफादार सेवकहरूप्रतिको करुणा। (इजकिएल ३६:२०-२३) उहाँले दुष्ट मानिसहरूबारे भने यस्तो घोषणा गर्नुभएको छ: “म तिनीहरूलाई दयामाया देखाउनेछैनँ र अफसोस मान्‍नेछैनँ। तिनीहरूको कामको फल म तिनीहरूकै थाप्लोमा खन्याइदिनेछु।” (इजकिएल ९:१०) यसरी उहाँले दुष्टहरूको नामोनिसान मेटाएर धार्मिकताले बास गर्ने नयाँ संसारको सुरुवात गर्नुहुनेछ।

२१ त्यतिन्जेल यहोवाले सबै मानिसलाई करुणा देखाइरहनुहुनेछ; ती मानिसहरूलाई समेत जसले विनाश भोग्नेछन्‌। मनैदेखि पश्‍चात्ताप गर्नेहरूले यहोवाको करुणा सर्वोत्कृष्ट तरिकामा झल्किएको एउटा प्रबन्धबाट लाभ उठाउन सक्छन्‌। त्यो हो, क्षमा। अर्को अध्यायमा पश्‍चात्ताप गर्नेहरूलाई यहोवा पूर्ण रूपमा क्षमा दिनुहुन्छ भनेर बुझाउन बाइबलमा चलाइएका केही सुन्दर उदाहरणहरू छलफल गर्नेछौँ।

a रोचक कुरा, भजन १०३:१३ मा हिब्रू क्रिया राकाम एक जना बुबाले आफ्ना छोराछोरीलाई देखाउने कृपा वा करुणालाई बुझाउन पनि प्रयोग गरिएको छ।

मननका लागि प्रश्‍न

  • यर्मिया ३१:२० यहोवाको मनमा आफ्ना मानिसहरूप्रति कस्तो कोमल भावना छ र यो कुरा थाह पाउँदा तपाईँ उहाँप्रति कस्तो महसुस गर्नुहुन्छ?

  • योएल २:१२-१४, १७-१९ यहोवाको करुणा पाउन उहाँका सेवकहरूले के गर्नुपर्थ्यो र हामी यसबाट के सिक्न सक्छौँ?

  • योना ४:१-११ करुणा देखाउनुको महत्त्वबारे यहोवाले योनालाई कस्तो पाठ सिकाउनुभयो?

  • हिब्रू १०:२६-३१ यी पदहरूले यहोवाको करुणाको सीमा छ भनेर कसरी देखाउँछ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने