प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w08 १/१ pp. ४-७
  • “कोमल हृदयका” हुनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “कोमल हृदयका” हुनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कोमलताको शक्‍ति
  • कोमलता—कामद्वारा सहानुभूति
  • कोमलतापूर्ण वातावरणको आनन्द उठाउनुहोस्‌
  • कोमल अनुकम्पापूर्ण हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९४
  • यहोवाको दयाको देखासिकी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • “हाम्रा परमेश्‍वरको कोमल करुणा”
    यहोवासित नजिक हुनुहोस्‌
  • यहोवाले करुणामय शासन गर्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
w08 १/१ pp. ४-७

“कोमल हृदयका” हुनुहोस्‌

अनिकाल, रोग-बिमार, गरिबी, अपराध, गृह-कलह, प्राकृतिक प्रकोपजस्ता विपत्तिहरूको चपेटामा परेका हाम्रा थुप्रै सँगी मानिसहरूलाई आज जत्तिको कोमल मदतको आवश्‍यकता पहिले कहिल्यै परेको थिएन। कोमलता देखाउनु भनेको अरूको दुःखकष्टप्रति सहानुभूति महसुस गर्नुका साथै ती दुःखकष्टलाई कम गर्ने इच्छा राख्नु हो। सूर्यले न्यानो दिएझैं कोमलताले भाँचिएको मनलाई जोड्‌ने, पीडा कम गर्ने र दुःखको भुमरीमा परेको व्यक्‍तिलाई प्रोत्साहित गर्ने काम गर्न सक्छ।

आफ्नो व्यवहार र बोलीद्वारा हामी कोमलता देखाउन सक्छौं—अरूको हेरविचार गरेर अनि चाहिएको बेला आफूलाई उपलब्ध गराएर। कोमलतालाई परिवार, साथीभाइ र परिचित मानिसहरूमा मात्र सीमित नराख्नु बेस हो। चिन्दै नचिनेका मानिसप्रति समेत कोमलता देखाएर हामी ठूलो मनका हुन सक्छौं। “तिमीहरूसँग प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्दछौ भने, तिमीहरूलाई के इनाम छ?” भनी डाँडाको उपदेश दिंदा येशूले सोध्नुभयो। कोमल व्यक्‍ति येशूले यसो पनि भन्‍नुभयो: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।”—मत्ती ५:४६, ४७; ७:१२.

यी शब्दहरू तपाईंले बाइबलमा पढ्‌न सक्नुहुन्छ। कोमलता देखाउन डोऱ्‍याइ दिने सम्बन्धमा बाइबल सर्वोत्तम छ भन्‍ने कुरामा थुप्रैले सहमति जनाउँछन्‌। कुनै कारणले गर्दा आफैलाई मदत गर्न नसकेका व्यक्‍तिहरूलाई मदत गर्नुपर्ने हाम्रो दायित्वबारे बाइबल हामीलाई बारम्बार बताउँछ। बाइबलले यसको लेखक, हाम्रा सृष्टिकर्ता यहोवा परमेश्‍वरलाई कोमलता देखाउनमा सबैभन्दा उत्तम उदाहरणको रूपमा प्रस्तुत गर्छ।

उदाहरणको लागि, हामी यस्तो लेखिएको पाउँछौं: “[परमेश्‍वरले] अनाथ र विधवाहरूको इन्साफ गर्नुहुन्छ, औ प्रवासीहरूलाई भोजन र वस्त्र दिनुहुन्छ।” (व्यवस्था १०:१८) यहोवालाई ‘अत्याचारमा परेकाहरूको इन्साफ गर्ने र भोकाहरूलाई खानेकुरा दिने’ परमेश्‍वरको रूपमा बयान गरिएको छ। (भजन १४६:७) खाँचोमा परेका प्रवासीहरूबारे यहोवाले यसो भन्‍नुभयो: “तिमीहरूको लागि त्यो स्वदेशीजस्तै होस्‌, र तिमीहरूले त्यसलाई आफूलाई झैं प्रेम गर्नू।”—लेवी १९:३४.

तर कोमलता देखाउने भन्‍ने कुरो चुड्‌की बजाएको भरमा आउने कुरा भने होइन। प्रेरित पावलले कलस्सीका मसीहीहरूलाई लेखे: “पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ, र नयाँ स्वभाव धारण गरेका छौ, जो आफ्नो सृष्टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ। . . . यसकारण परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा . . . धारण गर।”—कलस्सी ३:९, १०, १२, NRV.

त्यसकारण, कोमल मनोभाव विकास गर्न प्रयत्न चाहिन्छ। यो मनोभाव मसीहीहरूले धारण गरेको अपेक्षा गरिने “नयाँ स्वभाव[को]” एउटा पक्ष हो। पावल बस्ने प्राचीन रोम क्रूर थियो। अझै सहानुभूतिशील र कोमल हुनको लागि आफ्नो स्वभावमा आमूल परिवर्तन ल्याउन उनले सँगी विश्‍वासीहरूलाई प्रोत्साहन दिए।

कोमलताको शक्‍ति

कोमलता देखाउनेहरूलाई कसै-कसैले कमजोर र फितलो व्यक्‍तिको रूपमा लिन्छन्‌। के यस्तो धारणा सही हो?

बिलकुलै होइन! कोमलता देखाउन अग्रसर गराउने मुख्य तत्त्व भनेकै गहिरो प्रेम हो र यसको स्रोत परमेश्‍वर हुनुहुन्छ। उहाँ प्रेमको मूर्त रूप हुनुहुन्छ। ‘परमेश्‍वर प्रेम हुनुहुन्छ।’ (१ यूहन्‍ना ४:१६) यहोवालाई “कृपाका पिता, र सबै सान्त्वनाका परमेश्‍वर” भनिनु कत्ति उपयुक्‍त! (२ कोरिन्थी १:३) “कृपा” भनी अनुवाद गरिएको अभिव्यक्‍तिले साधारणतया “अरूको दुःख देखेर टिठाउनु र कोमल हुनु” भन्‍ने अर्थ बुझाउँछ। त्यसैले नै हो, यहोवा “बैगुणी र दुष्टमाथि समेत कृपालु हुनुहुन्छ।”—लूका ६:३५.

हामीले पनि कोमलता जस्ता दयाका गुणहरू देखाएको हाम्रो सृष्टिकर्ता चाहनुहुन्छ। मीका ६:८ मा हामी यस्तो लेखिएको पाउँछौं: “ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, कि न्याय गर्नू, दया गर्नू।” हितोपदेश १९:२२, NW मा हामी यस्तो पढ्‌छौं: “मानिसमा हुने मनमोहक गुण उसको करुणा हो।” परमेश्‍वरका पुत्र येशू ख्रीष्ट जसले आफ्ना पिताको व्यक्‍तित्वलाई हुबहू झल्काउनुभयो, उहाँले आफ्ना अनुयायीहरूलाई यस्तो सल्लाह दिनुभयो: “जस्तो तिमीहरूका पिता कृपालु हुनुहुन्छ, त्यस्तै तिमीहरू पनि कृपालु होओ।”—लूका ६:३६.

कोमल हुनुको असल कारण छ किनभने हामीले थुप्रै सन्तोषजनक इनाम पाउन सक्छौं। हितोपदेश ११:१७ मा लेखिएको यो भनाइमा हामी अक्सर सत्यता पाउँछौं: “उदार मानिसले आफ्नै कल्याण ल्याउँछ।” खाँचोमा परेको कसैलाई कोमलता देखाउँदा, यहोवा यसलाई हामीले उहाँप्रति नै लगाएको गुन सम्झनुहुन्छ। आफ्ना उपासकहरूले कोमलता देखाए बापत उनीहरूप्रति दया देखाउनुलाई उहाँ आफ्नो दायित्व ठान्‍नुहुन्छ। प्रेरणा पाएर राजा सुलेमानले यस्तो लेखे: “उदारचित्तले गरीबलाई जो दिन्छ, त्यसले परमप्रभुलाई दिन्छ, उहाँले त्यसलाई भरिपूर्ण प्रतिफल दिनुहुन्छ।” (हितोपदेश १९:१७) अनि पावलले लेखे: “हरेकले जे जस्तो असल काम गर्दछ सोही त्यसले प्रभुबाट फेरि पाउनेछ।”—एफिसी ६:८.

कोमलतामा मेलमिलाप गराउने अनि कलह तथा झै-झगडाको समाधान गर्न सक्ने शक्‍ति छ। असमझदारीलाई साम्य पार्न र क्षमा देखाउन पनि कोमलताले मदत गर्छ। हामी कहिलेकाहीं आफ्नो सोचाइ तथा भावना आफूले सोचेजस्तो तरिकामा व्यक्‍त गर्दैनौं वा कहिलेकाहीं हाम्रो कामकुराको गलत अर्थ लगाइन्छ जसले गर्दा असमझदारी उत्पन्‍न हुन सक्छ। यस्तो अवस्थामा समस्या सुल्झाउन र शान्ति कायम राख्न कोमलताले मदत गर्छ। कोमल व्यक्‍ति भनेर नाउँ कमाएकालाई क्षमा दिन सजिलो हुन्छ। पावलले मसीहीहरूलाई दिएको यो सल्लाह लागू गर्न हामीलाई कोमलताले मदत गर्छ: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कोलाई क्षमा गर।”—कलस्सी ३:१३.

कोमलता—कामद्वारा सहानुभूति

यसबाहेक, कोमलतामा पीडालाई कम गर्ने शक्‍ति छ। अगाडि नै उल्लेख गरिएझैं, कोमल व्यक्‍ति कष्टमा परेकाहरूप्रति सहानुभूतिशील हुन्छ र अरूको दुःखमा आफू पनि दुःखी हुन्छ। दुःखमा परेकाहरूप्रति मायालु चासो राख्नु र कामद्वारा नै उनीहरूलाई व्यावहारिक मदत दिनु कोमलतामा समावेश छ।

सहानुभूतिशील हुँदा मसीहीहरूले येशूको अनुकरण गरिरहेका हुन्छन्‌। अरूलाई भौतिक र आध्यात्मिक मदत गर्न उहाँ कहिल्यै पछि हट्‌नुभएन। जब कोही खाँचोमा परेको कुरा उहाँ बुझ्नुहुन्थ्यो, तत्कालै तिनीहरूलाई कोमलतासाथ मदत गर्ने उपाय निकाल्नुहुन्थ्यो।

आध्यात्मिक रूपमा बेवास्ता गरिएका भीडलाई देख्दा येशूले देखाउनुभएको प्रतिक्रियालाई विचार गर्नुहोस्‌: “भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) “दयाले भरियो” भनी यहाँ अनुवाद गरिएको वाक्यांशले “हृदयको गहिराइबाट आएको भावनालाई” संकेत गर्छ भनी एक बाइबलविद्‌ले बताए। वास्तवमा, कोमलताको लागि युनानी भाषामा चलाइएको यो सबैभन्दा सशक्‍त शब्द हो पनि भनिएको छ।

त्यसैगरि, कोमल हृदय भएका मसीहीहरू अरूलाई भौतिक तथा आध्यात्मिक मदतको आवश्‍यकता पर्दा मदत गर्न तुरुन्तै अग्रसर हुन्छन्‌। प्रेरित पत्रुसले लेखे: “तिमीहरू सबै एक मनका, सहानुभूति देखाउने, भातृ-प्रेम गर्ने, कोमल हृदयका, नम्र मनका” होओ। (१ पत्रुस ३:८) उदाहरणको लागि, आवश्‍यकतामा परेको एउटा परिवार जब स्वास्थ्य समस्याको कारण नयाँ क्षेत्रमा बसाइँ सर्नुपऱ्‍यो, त्यहाँका सँगी विश्‍वासीहरूले ६ महिनाको लागि घर भाडै नलिई उनीहरूलाई बस्न दिए। पति भन्छन्‌: “हाम्रो हालखबर बुझ्न उहाँहरू हरेक दिन आउनुहुन्थ्यो। उहाँहरूको प्रोत्साहनदायी टिप्पणीले हामीलाई आफ्नै घरमा भएको महसुस गराउँथ्यो।”

अपरिचित मानिसहरूको आवश्‍यकतालाई पनि साँचो मसीहीहरू ध्यान दिन्छन्‌। चिन्दै नचिनेकाहरूलाई मदत गर्न उनीहरू आफ्नो समय, शक्‍ति र स्रोत-साधन खुसीसाथ प्रयोग गर्छन्‌। अगाडिको लेखमा उल्लेख गरिएको पूर्णतया अपरिचित मानिसहरूलाई मदत गर्ने ती स्वयंसेवकहरू यहोवाका साक्षीहरू थिए।

मसीही मण्डली यसरी कोमलता र करुणाले भरिएको छ। प्रेमले ओतप्रोत भएकोले गर्दा मण्डलीका सदस्यहरू अरूको सेवा गर्ने तरिकाहरू खोज्न उत्प्रेरित हुन्छन्‌। विभिन्‍न व्यक्‍तिगत समस्याको कारण मण्डलीका अनाथ र विधवाहरूलाई तपाईंको चासो र समानुभूति चाहिन सक्छ। उनीहरूलाई गरिबीसँग डट्‌न, औषधी-उपचारको यथोचित प्रबन्ध मिलाउन, बस्ने ठाउँ नभएकाहरूलाई त्यसको उचित व्यवस्था गर्न वा अन्य व्यक्‍तिगत कठिनाइ झेलिरहेकाहरूलाई मदत दिन, के तपाईं आफ्नो सहयोगी हात अघि बढाउन सक्नुहुन्छ?

ग्रीसका एक दम्पतीलाई विचार गर्नुहोस्‌। पति मस्तिष्कघातको शिकार हुन पुगे। उनी र उनकी पत्नीलाई टाढाको अस्पतालमा लगियो। उनीहरूको सीमित आम्दानी, टिप्नको लागि ठिक्क भएका सुन्तलामा निर्भर थियो। तर उनीहरू त्यति टाढा अस्पतालमा हुँदा कसले सुन्तला टिपिदिने? स्थानीय मण्डली यस काममा जुटे। तिनीहरूले ती सुन्तला टिपिदिए, लगेर बेचिदिए। यसरी आवश्‍यकतामा परेका ती दम्पतीलाई पैसाको बन्दोबस्त पनि भयो र उनीहरूले मनोशान्ति पनि पाउन सके।

कोमलता विभिन्‍न तरिकामा देखाउन सकिन्छ। उदाहरणको लागि, दुःखमा परेका मानिसहरू कुनै न कुनै समय उनीहरूको कुरालाई सहानुभूतिशील भई सुनिदिने, उनीहरूप्रति समानुभूति देखाउने र बाइबलबाट सान्त्वना प्रदान गर्ने मानिसहरू आफ्नो घरमा आइदिऊन्‌ भन्‍ने ठूलो चाहना राख्छन्‌ भनी कोमल हृदय भएका मसीहीहरू बुझ्छन्‌।

कोमलतापूर्ण वातावरणको आनन्द उठाउनुहोस्‌

विश्‍वव्यापी मसीही मण्डली शान्ति र सान्त्वनाको ठाउँ साबित भएको छ जहाँ कोमलता र दया देखाइन्छ। साँचो मसीहीहरूले के कुरा बुझेका छन्‌ भने, कोमलताले आकर्षित गर्छ भने निष्ठूरताले विकर्षित। त्यसैकारण, स्वर्गमा भएका आफ्ना पिताको अनुकरण गर्ने प्रयास गर्दा तिनीहरू व्यावहारिक तरिकामा “कोमल हृदयका” हुने प्रयत्न गर्छन्‌।

यहोवाका साक्षीहरू तपाईंलाई उनीहरूको समुदायभित्र छाएको कोमल, मायालु र विचारशील वातावरणलाई आफैले अनुभव गरेर हेर्नुहोस्‌ भनी निम्तो दिन्छन्‌। तपाईंले त्यहाँ मित्रैलो र मनमोहक वातावरण भेट्टाउनुहुनेछ भन्‍ने कुरामा साक्षीहरू विश्‍वस्त छन्‌।—रोमी १५:७. (w07 12/15)

[पृष्ठ ५-मा भएको चित्र]

पावलले कलस्सीका मसीहीहरूलाई कोमलता देखाउन आग्रह गरे

[पृष्ठ ७-मा भएको चित्र]

जब येशूले कोही खाँचोमा परेको कुरा बुझ्नुभयो, कोमलतासाथ मदत गर्ने उपाय निकाल्नुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने