झन् धेरै मानिसहरूकहाँ सुसमाचार पुऱ्याउने
मेरो देशका मानिसहरूबारे विचार गर्दा प्रायजसोले यहोवाका साक्षीहरूबारे अखबारहरूमा मात्र पढेका छन् भनी मैले थाह पाएँ। यहोवाका साक्षीहरू वास्तवमा को हुन् र तिनीहरूले के विश्वास गर्छन् भनी जानकारी दिन त्यस्ता मानिसहरूलाई भेट्नैपर्ने जस्तो मलाई लाग्यो। तर मदत गर्ने कसरी? मेरा श्रीमान् मसीही प्राचीन हुनुहुन्छ र उहाँले मलाई बुद्धिमान् निर्देशन तथा सुझाउहरू दिनुभयो।
जनवरी ८, १९९५ ब्यूँझनुहोस्! (अंग्रेजी) पत्रिकामा प्रकाशित “व्यवहारिक सान्त्वना दिने पत्रिकाहरू” नामक लेखमा हामीले अति उत्तम सल्लाह पायौं। साक्षीहरूको गतिविधि सन्दर्भमा त्यस लेखमा यसो भनिएको थियो: “अन्य साक्षीहरूको घरमा थुप्रिरहेको ब्यूँझनुहोस्! पत्रिकाका खास खास प्रतिहरू जम्मा गरिरहेकी छिन्। त्यसपछि, कुनै खास विषयहरूमा विशेष चासो देखाउने सम्भावना भएका अफिसहरूमा तिनी जान्छिन्।”
श्रीमान्को सहयोगमा मैले सयवटा जति पत्रिका जम्मा गरें। यिनीहरूबाट मैले भेट्नुपर्ने व्यक्तिहरूका लागि सुहाउँदो विभिन्न विषयहरू छानें।
टेलिफोन डाइरेक्टरी र सार्वजनिक रेकर्डहरू चलाएर अस्पताल, युवायुवतीहरूका होस्टेल र नर्सिङ होमहरूको सूची तयार पारें। त्यस सूचीमा मैले चिहान घरका प्रबन्धकहरू, स्कूलका सुपरिवेक्षक तथा सल्लाहकारहरू, औषधी जाँच्ने मानिसहरू र जेल तथा अदालतका अधिकारीहरूको पनि सूची तयार पारें। मेरो सूचीमा मतवाला र लागूपदार्थ दुर्व्यसनीहरूका लागि संस्थाका निर्देशकहरू, वातवरणीय विषयसित सम्बन्धित संघहरू, युद्धका शिकार भएकाहरू तथा अपांगहरू र पौष्टिक आहारसम्बन्धी अनुसन्धान गर्नेहरू पनि थिए। मैले कल्याणकारी संघ, सामाजिक सेवा तथा पारिवारिक मामिलासम्बन्धी कार्यालयका प्रबन्धकहरूलाई पनि सूचीमा गाभें।
के भन्ने?
त्यसरी भेट्न जाँदा सर्वप्रथम मैले आफ्नो परिचय स्पष्टसित दिएँ। त्यसपछि, मेरो यस भेट केही मिनेटको मात्र हुनेछ भनी बताएँ।
सम्बन्धित व्यक्तिसित मुखामुख भएपछि यसो भन्थें: “म यहोवाको एक साक्षी हुँ। तथापि, म यहाँ धर्मबारे छलफल गर्न आएको होइन किनभने कार्यालय समयमा त्यसबारे छलफल गर्नु उचित नहुन पनि सक्छ।” त्यसो भनेपछि साधारणतया वातावरण अलि अर्कै हुन्थ्यो। अनि परिस्थितिअनुसार आफ्नो टिप्पणीलाई छाँटकाँट गर्दै कुरा यसरी अघि बढाउँथे: “म यसरी आउनुका दुइटा कारण छन्। प्रथमतः म तपाईंको अफिसले आयोजना गरेका कामहरूप्रति मूल्यांकन व्यक्त गर्न चाहन्छु। आखिरमा सर्वसाधारणको हितको लागि आफ्नो समय र बल दिने मानिसहरूलाई मान्नै पर्छ। तपाईंहरूको प्रयासको साँच्चै सराहना गर्नुपर्छ।” थुप्रै अवसरहरूमा यसप्रकार कुरा थाल्दा मानिसहरू छक्क परे।
त्यतिञ्जेल त्यस मानिसलाई म आउनुको दोस्रो कारण जान्न सकसक भइसकेको हुन्छ। त्यसपछि म यसो भन्छु: “म आउनुको दोस्रो कारण यो हो: विश्वभरि नै प्रकाशित हुने हाम्रो पत्रिका ब्यूँझनुहोस्!-बाट मैले विशेषगरि तपाईंको काम र त्यससित सम्बन्धित समस्याहरूबारे छलफल गर्ने लेखहरू छानेकी छु। मलाई पूर्ण विश्वास छ तपाईं पक्कै पनि एउटा अन्तरराष्ट्रिय पत्रिकाले यी समस्याहरूबारे कस्तो दृष्टिकोण राख्छ भनी जान्न चाहनुहुन्छ। तपाईंसित यी प्रतिहरू छोडेर जान पाए म खुसी हुनेछु।” मेरा यस्ता प्रयासहरूको अक्सर मूल्यांकन गरियो।
अचम्मलाग्दा र इनामदायी नतिजाहरू
मैले यसरी वार्तालाप थाल्दा थुप्रैले मेरो कुरा सुने। खालि १७ जनामध्ये एक जनाले मात्र सुनेन। मैले छक्कलाग्दो र इनामदायी दुवै प्रकारका थुप्रै अनुभवहरू बटुलें।
उदाहरणका लागि, धीरजी हुँदै भेट्न चारचोटि प्रयास गरेपछि मात्र मैले जिल्ला शिक्षाका अधिकारीलाई भेट्नसकें। तिनी अत्यन्तै व्यस्त मानिस थिए। तैपनि, तिनी असाध्यै मित्रैलो थिए र मसित केही क्षण कुरा गरे। फर्किन लाग्दा तिनले मलाई यसो भने: “म तपाईंको प्रयासको साँच्चै सराहना गर्छु र म तपाईंको साहित्य अवश्य पढ्नेछु।”
अर्को एउटा अवसरमा म जिल्ला अदालतका मुख्य न्यायाधीशलाई भेट्न गएँ। तिनी अधबैंसे थिए। काम गरिरहेको समयमा तिनको अफिसमा कोही आएकोले रिसाउँदै मतिर पुलुक्क हेरे।
“कार्यालय समय मंगलबार बिहान मात्रै हो, जे सोध्नुपर्छ त्यतिबेलै आएर सोध्नुहोस्” भनेर रिसाउँदै भने।
मैले तुरुन्तै यस्तो जवाफ दिएँ: “बेटाइममा आएकोमा माफी चाहन्छु।” अनि तुरुन्तै यसो भनें, “हुन त, अर्को पाली आउनु परे पनि कुनै आपत्ति छैन। तर म वास्तवमा व्यक्तिगत मामिला लिएर आएकी हुँ।”
अब चाहिं न्यायाधीशको मनमा कौतूहल जाग्यो। अलि नरम स्वरमा के कामको लागि आउनुभएको भनेर सोधे। म मंगलबार आउनेछु भनेर मैले फेरि भनें।
मलाई छक्कै पार्नेगरि तिनले भने: “कृपया बस्नुहोस् र भन्नुहोस् के कति कामले आउनुभएको?”
त्यसपछि, असाध्यै रमाइलो कुराकानी भयो र अत्यन्तै व्यस्त भएकोले सुरुमा रुखो व्यवहार गरेकोमा माफी मागे।
एकछिन पछि न्यायाधीशले यस्तो प्रश्न गरे: “यहोवाका साक्षीहरूबारे मलाई के मन पर्छ थाह छ? तिनीहरूका सिद्धान्तहरूको बलियो आधार छ र त्यसबाट तिनीहरू तर्किंदैनन्। हिटलरले अनेकन् प्रयासहरू गरे तरै पनि साक्षीहरू युद्धमा गएनन्।”
हामी दुई बहिनी कार्यालयभित्र छिर्दा सेक्रेटरीहरूले हामीलाई चिने। त्यसपछि मुख्य सेक्रेटरीले यसो भने: “अध्यक्षले कहिले पनि कुनै पार्टीलाई भेट्नुहुन्न।”
“तर उहाँले हामीलाई भेट्नुहुनेछ किनभने हामी यहोवाका साक्षी हौं” भनेर मैले शान्तपूर्वक भनें। “हामी चन्दा माग्न आएको होइनौं र हाम्रो भेट तीन मिनेट भन्दा लामो पनि हुनेछैन।” मनमनै मैले प्रार्थना गरें, “यहोवा बिन्ती छ हामी तिनलाई भेट्न सकौं!”
सेक्रेटरीले मन नलागी नलागी बल्लबल्ल यसो भनिन्, “त्यसोभए ठीकै छ, म कोसिस गर्छु।” तिनी गइन्। दुई मिनेट जति पछि तिनी देखा परिन् र तिनको साथमा अध्यक्ष पनि थियो। एक शब्द केही नभनी तिनले हामीलाई तिनको कार्यालयमा लगे, तिनको कार्यालयमा जान दुईवटा कोठा पार गरेर जानुपर्थ्यो।
कुरा गर्न थालेपछि तिनी झन् झनै मित्रैलो भए। हामीले ब्यूँझनुहोस्! पत्रिकाको विशेष अंक दिंदा तिनले स्वेच्छापूर्वक स्वीकारे। हाम्रो कार्यको उद्देश्यबारे यस्तो राम्रो साक्षी दिन पाएकोमा हामीले यहोवालाई धन्यवाद दियौं।
यी थुप्रै राम्रा अनुभवहरूलाई सम्झँदा मैले प्रेरित पत्रुसले भनेका कुराहरूको अझ बढी मूल्यांकन गर्नसकेकी छु: “साँच्चिनै म देख्तछु, कि परमेश्वरले मानिसहरूको पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यसलाई उहाँले स्वीकार गर्नुहुन्छ।” (प्रेरित १०:३४, ३५) विभिन्न पृष्ठभूमि, भाषा वा सामाजिक परिस्थितिका मानिसहरूले मानिसजाति र पृथ्वीको लागि परमेश्वरको उद्देश्य जान्न अवसर पाऊन् भन्ने उहाँको इच्छा छ। —साभार।