मानिसहरूको चासोसित ठ्याक्क मिल्ने लेखहरू छान्नुहोस्
१ धनुर्धरले होसियारीसाथ निशाना ताकेझैं मण्डलीका थुप्रै प्रकाशक र अग्रगामीहरूले आफ्ना क्षेत्रका मानिसहरूको चासोसित ठ्याक्क मिल्ने प्रहरीधरहरा र ब्यूँझनुहोस्!-का लेखहरू छानी छानी चलाउँदा खुबै रमाइला सफलता हात पारिरहेका छन्। तिनीहरू ती पत्रिकाको कुन लेख कस्तो व्यक्तिले पढ्न रुचाउलान् सो निर्णय गर्छन् र ती व्यक्तिहरूलाई हाम्रा पत्रिकाहरूको ग्राहक बन्ने प्रोत्साहन दिन ती लेखहरू चलाउँछन्। तिनीहरू यो कसरी गर्छन्?
२ प्रथमतः तिनीहरू हरेक अंकको पन्ना पन्ना छिचोल्छन्। त्यसपछि मनमनै यसरी गम्छन्, कुन कुन लेखले कस्ता व्यक्तिहरूको मन खिच्ला? अनि पत्रिकाको त्यो लेख पढ्न चाहने सम्भाव्य व्यक्तिहरूलाई भेट्ने जमर्को गर्छन्। तिनीहरूको चासो जगाउने प्रश्नहरू सोध्दै तिनीहरूलाई सुहाउने लेख देखाइसकेपछि ग्राहक बन्ने प्रस्ताव राख्छन्। पत्रिकाको त्यो अंक निकै वितरण होला जस्तो देखिएमा अझ अरू प्रति मगाउँछन्।
३ हाम्रा पत्रिकाहरूको हार्दिक कदर गरिएको छ: अत्यधिक मात्रामा पढिने नाइजेरियाको अन्तरराष्ट्रिय पत्रिकाका एक जना कर्मचारी हाम्रा पत्रिकाका ग्राहक हुन्। तिनले ब्यूँझनुहोस्!-बारे यसो भने: “आमजनताको लोकप्रिय उत्कृष्ट पत्रिकालाई बधाई छ।” हाम्रा पत्रिका भनेपछि हुरुक्कै हुने एक अर्को पाठकले यसरी आफ्नो मन्तव्य पोखे: “अमूल्य ज्ञानको कस्तो अद्भुत ढुकुटी! मलाई मन नपर्ने विषय भनेको त यी पत्रिकामा हुँदै हुँदैन।”
४ ती पत्रिकाले अनेक विषयहरू समेटेका हुन्छन्। तीमध्ये केही हुन्—बाइबललगायत विश्व घटना, पारिवारिक चासोका विषयहरू, सामाजिक समस्या, इतिहास, विज्ञान, प्राणी तथा वनस्पतिजगत् आदि। अवश्य पनि मानिसहरू आफ्नो आवश्यकता, परिस्थिति वा पेशासित सम्बन्धित कुराहरू पढ्न अधिक रुचाउँछन्। हामी आ-आफ्नै अभिरुचि र समस्याहरू बोकेका थुप्रै व्यक्तिहरूसित कुरा गर्ने हुनाले मानिसहरूको चासोसित ठ्याक्क मिल्ने लेखहरू छानेर चलाउँदा तिनीहरूसितको हाम्रो भेटघाट प्रभावशाली हुन्छ।
५ याद गर्नुहोस् त, दुई जना साक्षीहरूले एउटा समाचारपत्रका स्तम्भकारलाई सेप्टेम्बर ८, १९९६, ब्यूँझनुहोस्! (अंग्रेजी) प्रस्तुत गर्दा कस्तो परिणाम भयो। ती स्तम्भकारले लेखे: “मलाई चासो छैन भन्नुअघि नै तिनीहरूमध्ये एकले अझै यसो भने: ‘यस पत्रिकामा अमेरिकन इन्डियनहरूबारे लेखिएको छ। अनि तपाईंले पनि यही विषयमा प्रशस्त लेखहरू लेख्दै हुनुहुन्छ भनेर हामीलाई थाह छ।’ ” तिनले पत्रिका लिए र नास्ता गर्ने समयमा इन्डियनहरूसम्बन्धी लेख पढे। पछि तिनले “यो उत्कृष्ट” र “शतप्रतिशत साँचो” भनेर स्वीकारे।
६ तपाईंका क्षेत्रका मानिसहरूको चासो केले जगाउँछ? हालै महिनाका पत्रिकाहरूमा कुन त्यस्तो विषय देख्नुभएको छ जसले तपाईंको क्षेत्रका पसले तथा पेशेवर मानिस वा छिमेकी, सहकर्मी र सहपाठीको हृदय छुनसक्ला? वकिल, शिक्षक, प्राध्यापक, प्रिन्सिपल, परिवार तथा स्कूलसम्बन्धी परामर्शदाता, युवाहरूका सल्लाहकार, समाजसेवी, डाक्टर तथा परिचारिकाहरूलाई चासो लाग्ने कुरा के हुन्? आफूले प्रचार गर्ने मानिसहरूलाई मनमा राख्दै पत्रिकाको प्रत्येक अंक पढ्दा सत्यको वचन फैलाउने उत्कृष्ट तरिकाहरू पाउनुहुनेछ।
७ प्रहरीधरहरा र ब्यूँझनुहोस्!-को कुनै लेखप्रति विशेष रुचि देखाएर पत्रिकाको त्यो अंक राख्ने व्यक्तिलाई यसो भन्न सक्नुहुन्छ: “पछि फेरि, तपाईंलाई मनपर्ने लेख भएको अर्को प्रति दिन पाएमा बडो खुसी लाग्ने थियो।” तपाईंले ती व्यक्तिलाई पुनःभेट गर्दैपछि पत्रिकाका नयाँ अंकहरू दिएर आफ्नो पत्रिका रुटमा गाभ्न सक्नुहुन्छ। हाम्रा पत्रिकाका कुनै लेखहरूप्रति विशेष चासो देखाउनेहरू जससित पुनःभेटको हार्दिक प्रस्ताव राख्नुभएको छ, तिनीहरूलाई पनि त्यसरी नै पत्रिका रुटमा लगाउन सकिन्छ।
८ आध्यात्मिक लक्ष्य राख्नुहोस्: आफ्नो पेशा मजबुत बनाउन तल्लीन एक व्यक्तिले केही वर्षअघि आफूलाई मनपर्ने विषय भएको ब्यूँझनुहोस्! पाए। तथापि, ती धर्मपरायण व्यक्तिले त्यसै पत्रिकाको सहपत्रिका प्रहरीधरहरा पनि पढे। त्यसमा भएको एउटा लेख पढेर आफूले जन्मदेखि मान्दै आएको त्रिएक मतबारे घोरिएर विचार गर्न तिनी जुर्मुरिए। त्यसको छ महिनापछि नै तिनले बप्तिस्मा लिए! त्यसैले, हाम्रा पत्रिकाका पाठकहरूसित आध्यात्मिक कुराकानी गर्न नहिचकिचाउनुहोस्। परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिका चलाउन सक्नुहुन्छ अनि हरेक पल्ट नयाँ पत्रिकाहरू लिएर भेट्न जानुहुँदा केही मिनेट लिएर एउटा एउटा पाठ छलफल गर्ने चाँजो मिलाउन सक्नुहुन्छ।
९ तपाईंका पुनःभेटहरू र कामको सिलसिलामा भेटेका कुन कुन व्यक्तिहरू प्रहरीधरहरा र ब्यूँझनुहोस्! पत्रिकाको ग्राहक बन्न रुचाउलान्, यकिन गर्नुहोस्। त्यसपछि भने तिनीहरूलाई भेट्ने हर प्रयास गर्नुहोस्। ती मूल्यवान् पत्रिकाहरू लिएर यथासक्दो धेरैभन्दा धेरैसित सम्पर्क राख्नुहोस्। चासो दिएर पनि ग्राहक बन्न चाहेनन् भने ताजा अंकहरू दिइरहनुहोस् अनि त्यसरी दिंदा प्रत्येक पल्ट तिनीहरूलाई मनपर्ने खालको लेख देखाउनुहोस्। नबिर्सनुहोस्, अझ धेरै मानिसलाई हाम्रा पत्रिकाहरू पढ्न मरिमेटी मदत दिनुहुँदा तपाईंले ‘आफ्नो अन्न पानीमा फालिरहनुभएको’ हुनेछ। समयको दौडान भावी सँगी चेलाहरू पाउन सक्नुहुन्छ।—उप. ११:१, ६, नेपाली (नयाँ संशोधित संस्करण)।