विशाल क्रियाकलापको सँघारमा उभिरहेका
“त्यहाँ कुनै प्रकारको प्रतिस्पर्धात्मक भावना थिएन। हरेक एकअर्काको सफलता चाहन्थे।” वाचटावर बाइबल स्कूल अफ गिलियडको १०५ औं कक्षाका आफ्ना विद्यार्थी साथीहरूबारे वर्णन गर्दै रिचर्ड अनि लूसीयाले भने। तिनीहरूकै अर्का साथी लोअलले त्यस कुरालाई स्वीकार्दै यसो भने: “हामी सबै भिन्न छौं तर हाम्रालागि सबै विद्यार्थी त्यत्तिकै महत्त्वपूर्ण छन्। हाम्रा भिन्नताहरूले गर्दा एकअर्का प्रति हामी आकर्षित भएका छौं।”
सेप्टेम्बर १२, १९९८ मा स्नातक गरेका यस कक्षाका विद्यार्थीहरू साँच्चै एकअर्कासँग भिन्न थिए। केही विद्यार्थीले राज्य प्रकाशकहरू अत्यावश्यक भएका ठाउँहरूमा अग्रगामीको काम गरेका थिए भने केहीले चाहिं आफ्नै घर वरपर विश्वासी भएर सेवा गरेका थिए। म्याट्स र रोजमेरीजस्ता केही विद्यार्थीहरूले स्कूल आउन अघि अंग्रेजी राम्ररी बुझ्न धेरै परिश्रम गर्नुपरेको थियो। अरू थुप्रैले बाल्यकालदेखि नै मिसनरी गर्ने विचार गर्दै थिए। एक दम्पत्तिले १२ चोटि निवेदन दिएका थिए। अतः यस १०५ औं कक्षामा तिनीहरूले निमन्त्रणा पाउँदा साह्रै आनन्दित भए!
यो २० हप्ते प्रशिक्षणको समय यति चाँडै बित्यो कसैलाई थाहै भएन। तिनीहरूले अन्तिम लिखित अभ्यास सिध्याएर मौखिक टिप्पणी दिएका मात्र के थिए तिनीहरूको कक्षा पनि सकियो अनि तिनीहरू स्नातक हुने दिन पनि आइपुग्यो।
यस कार्यक्रमका अध्यक्ष तथा यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्य अल्बर्ट श्रोडरले विद्यार्थीहरूलाई, पहिले गिलियड स्कूलबाट स्नातक लिइसकेका अरू ७,००० का साथमा तिनीहरू “विशाल क्रियाकलापको संघारमा उभिरहेका” छन् भन्ने स्मरण गराए। धेरै समय अघिदेखि लगातार सेवामा लागिरहेका समर्पित मिसनरीहरू अन्तरराष्ट्रिय अधिवेशनको सिलसिलामा गृष्म ऋतुको दौडान मुख्य कार्यालयमा भ्रमण गर्न आउँदा विद्यार्थीहरूले तिनीहरूसित संगत गर्न पाए भनेर पनि तिनले वर्णन गरे।
त्यस पछि भाइ श्रोडरले बेथेल सञ्चालन समितिका म्याक्स् लार्सनलाई भाषण दिन निम्त्याए। “अनन्त जीवनतर्फ डोऱ्याउने शिक्षा” भन्ने विषयलाई तिनले स्पष्ट पारे। तिनले, “बुद्धिमान मानिसले यो ध्यानसित सुन्यो भने आफ्नो विद्या बढ़ाउनेछ, औ समझ-शक्ति भएको मानिसले निपुणता प्राप्त गर्नेछ” भनी उल्लेख गरिएको हितोपदेश १:५ उद्धृत गर्दै भाषण दिए। प्रभावकारी मिसनरी हुन सीपको आवश्यकता पर्दछ र निपुण कारीगरले राजाको सेवा गर्छन्। (हितोपदेश २२:२९) पाँच महिने यस तालिमबाट विद्यार्थीहरू महान् राजाहरू यहोवा अनि येशू ख्रीष्टका प्रतिनिधित्व गर्न पूर्णतया सुसज्जित पारिए।
त्यसपछि सेवा विभागका डेविड ओल्सनले “यहोवाको हृदय आनन्दित तुल्याउन मदत गर्नुहोस्” भन्ने विषयमा भाषण दिए। तिनले प्रश्न राखे: “असिद्ध मानिसहरूले के गरेर यहोवाको हृदय आनन्दित तुल्याउन सक्छन्?” त्यसको जवाफ? विश्वासी, वफादार अनि आनन्दित भई उहाँको सेवा गरेर। आफ्ना जनहरूले उहाँको सेवा गर्दा आनन्द उठाउन् भन्ने यहोवा चाहनुहुन्छ। हामीले आनन्द मानेर उहाँको सेवा गर्दा उहाँको हृदय आनन्दित तुल्याइरहेका हुन्छौं। (हितोपदेश २७:११) भाइ ओल्सनले १०४ औं कक्षाका स्नातक, मिसनरी दम्पत्तिले पठाएको चिठी पनि पढेर सुनाए। के तिनीहरू आफ्नो नयाँ जिम्मेवारीबाट आनन्द उठाइरहेका छन्? “हामीकहाँ झन्डै १४० जना प्रकाशक छन् अनि सभामा लगभग २५० देखि ३०० जना उपस्थित हुन्छन्। क्षेत्र सेवा त झनै राम्रो छ हामी दुवैको चार चारवटा बाइबल अध्ययन छ र कोही कोही त सभामा पनि नियमित रूपमा आउँछन्।”
परिचालक निकायका लाइमन स्वींगलले “पर्खेर तपाईंका आशिष्हरू गन्ने समय” भन्ने विषयमा बोले। गिलियड प्रशिक्षणले थुप्रै आशिष् ल्याए। यसले विद्यार्थीहरूको ज्ञान बढाउन, यहोवाको संगठनप्रति मूल्यांकन र विनम्रता जस्ता नभई नहुने गुनहरू खेती गर्न मदत गऱ्यो। तिनले अझ यसो भने, “यहाँसम्म आएर अनि निर्देशनहरू सुनेर समय बिताउनु पनि साँच्चै विनम्रताको उदाहरण हो। तपाईंहरू यहाँबाट यहोवाको अझ बढि प्रशंसा गर्न सुसज्जित भएर जाँदै हुनुहुन्छ।”
त्यसको लगत्तै परिचालक निकायकै अर्का सदस्य डानिएल सिड्लिकले दिएको भाषणको विषय यस्तो थियो, “यति ठूलो आनन्द पाएपछि किन चिन्ता गर्ने?” समस्याहरू उत्पन्न हुँदा निर्देशनका लागि धर्मशास्त्रमा खोजी गर्न तिनले जोड्दार आग्रह गरे। त्यसो गर्ने तरिका स्पष्ट पार्न तिनले मत्ती अध्याय ६ बाट केही पदहरू छानेर चलाए। विश्वासको कमीले हामीलाई भोजन तथा लुगाफाटा जस्ता सांसारिक चीजहरूका लागि चिन्तित बनाउनसक्छ। तथापि हाम्रा आवश्यकताहरू यहोवालाई थाह छ। (मत्ती ६:२५, ३०) चिन्ताले समस्यामाथि समस्या मात्र थप्छ। (मत्ती ६:३४) अर्कोतिर हामीले योजना पनि बनाउने गर्नुपर्छ। (लूका १४:२८ तुलना गर्नुहोस्।) “येशूले भविष्यबारे बुद्धिमानीपूर्वक विचार गर्नु बेकारको चिन्ता नगर्नु भन्नुभएको थियो” भनेर तिनले वर्णन गर्नुका साथै “चिन्ता हटाउने राम्रो उपाय कुनै काम गरिहाल्नु हो त्यसैले सच्चाईबारे कुरा गर्न थाल्नु त झन् बेस हो” भनेर बताए।
प्रशिक्षकहरूको अन्तिम सल्लाह
ती भाषणहरूको लगत्तै गिलियड विभागका तीन सदस्यहरूले भाषण दिए। कार्ल आडम्सले “तपाईंले यहोवालाई के भर्ना दिनुहुनेछ?” भन्ने विषयमा पहिलो भाषण दिए। तिनको भाषण भजन ११६ औं अध्यायमा आधारित थियो जुन येशूले आफ्नो मृत्यु हुनअगाडि राती गाउनुभएको भजन हुनसक्छ। (मत्ती २६:३०, न्यु वर्ल्ड, पाद टिप्पणी) “परमप्रभुले गर्नुभएको मेरो उपकारको निम्ति म उहाँलाई के भर्ना चढ़ाऊँ” भन्नु हुँदा येशूको मनमा के थियो? (भजन ११६:१२) उहाँले आफ्नो लागि यहोवाले तयार पारिदिनुभएको सिद्ध शरीरबारे सोचिरहनु भएको पनि हुनसक्छ। (हिब्रू १०:५) भोलिपल्टै उहाँले यहोवाप्रतिको गहिरो प्रेम दर्साउँदै आफ्नो त्यो शरीर वलिदान दिनुभयो। यस १०५ औं कक्षाका विद्यार्थीहरूले विगत पाँच महिना यहोवाको भलाई चाखिसकेका थिए। अब तिनीहरूले आफ्नो मिसनरी कार्य पूरा गर्न निकै मेहनत गरेर परमेश्वरप्रतिको आफ्नो प्रेम दर्साउने छन्।
“असल काम गरिरहनू” भनी आफ्ना विद्यार्थीहरूलाई सल्लाह दिंदै गिलियडका प्रशिक्षक मार्क नुमारले दोस्रो भाषण दिए। मिश्रमा बेचिएपछि यूसुफले १३ वर्ष सम्म अन्याय सहे। अरूको गलत कामले गर्दा के तिनले निरुत्साहित भएर यहोवाको सेवा गर्न छाडे? छाडेनन्, बरु तिनले असल काम गरी नै रहे। अनि यहोवाले आफ्नो समयमा तिनलाई परीक्षाहरूबाट छुटकारा दिनुभयो। एकाएक तिनी जेलबाट राजमहल पुगे। (उत्पत्ति अध्याय ३७-५०) यस प्रशिक्षकले आफ्ना विद्यार्थीहरूलाई यस्ता प्रश्नहरू सोधे: “आफूले पाउनुभएको मिसनरी असाइनमेन्ट तपाईंले आशा गरेजस्तो भएन भने के तपाईंले यो काम छोड्नुहुनेछ? के तपाईं निरुत्साहित भएर हार मान्नुहुनेछ? अथवा तपाईं यूसुफले जस्तै सहनुहुनेछ?”
अन्तमा गिलियड स्कूलका रजिस्ट्रार वालेस लिभरन्सले विद्यार्थीहरूसित जीवन्त छलफल गरे। तिनको विषय थियो “राजा तथा उहाँको राज्यको घोषणा गर्नुहोस्।” केही विद्यार्थीहरूले हालै घर घर, पसल पसल र सडकहरूमा साक्षी दिंदा पाएका अनुभवहरू सुनाए। अरूले चाहिं विदेशी भाषा बोल्ने मानिसहरूलाई कसरी साक्षी दिए भनी बताए। अरूले भने विभिन्न धर्मका मानिसहरूलाई कसरी प्रचार गर्ने प्रष्ट पारे। सबै स्नातकहरू मिसनरी भएर पूर्ण सेवकाईमा लाग्न उत्सुक थिए।
धेरै अघिदेखि सेवामा लागिरहने आनन्दित मिसनरीहरू
त्यसपछि रोवर्ट वलेनले “मिसनरी सेवाबाट प्राप्त आनन्दित परिणामहरू” भन्ने विषय प्रस्तुत गर्नुका साथै भर्खरै अनुभवी मिसनरीहरूसित समय बिताउने मुख्य कार्यालयका चार जना भाइहरूको अन्तरवार्ता पनि लिए। ती मिसनरीहरूले नयाँ भाषा सिक्नु, अर्कै संस्कृतिसित भिज्नु अथवा भिन्नै हावापानीमा आफूलाई मिलाउनु निकै गाह्रो भएको स्वीकारे। घरको सम्झनाले मानसिक पीडा थप्थ्यो। कहिलेकाहीं शारीरिक समस्याहरूले पनि सताउँथ्यो। तर जस्तोसुकै परिस्थिति आइपरे पनि ती मिसनरीहरूले सकारात्मक दृष्टिकोण अपनाएर परिश्रम गरेको हुँदा तिनीहरूले आशिष् पाए। केहीले थुप्रै मानिसहरूलाई यहोवाको ज्ञानमा ल्याएका छन्। अरू केहीले चाहिं आफ्नै भूमिमा राज्यसम्बन्धी कार्यलाई बढाउन विभिन्न तरिकामा सहयोग पुऱ्याएका छन्।
अन्तमा परिचालक निकायका सदस्य क्यारी बार्बरले भाषण दिए। तिनले “परमेश्वरले चाहनुहुने जीवनशैली” अधिवेशन कार्यक्रमको विशेषताहरू प्रस्तुत गरे। तिनले आफ्ना स्रोताहरूलाई “यस अधिवेशन कार्यक्रमले तपाईं र यहोवाबीचको सम्बन्धलाई कस्तो प्रभाव पाऱ्यो?” भन्ने प्रश्न गरे। तिनले सांसारिक जीवनशैली अपनाउँदाको दुःखदायी अन्त र परमेश्वरको जीवनशैली पछ्याउँदा पाइने आशिष्बीच तुलना गरे। मोशाले मरीबामा गरेको भूललाई औंल्याउँदै तिनले यो चेतावनी दिए: “धेरै वर्ष उहाँको सेवा गरिसकेको भए पनि यहोवाको सानोभन्दा सानो नियम भंग गर्दा उहाँ त्यसलाई बेवास्ता गर्नुहुन्न।” (गन्ती २०:२-१३) त्यसैले संसारको जुनसुकै ठाउँमा भए पनि परमेश्वरका सेवकहरूले आफ्ना सेवाका बहुमूल्य सुअवसरहरू कडासँग पक्रिराखून्!
विद्यार्थीहरूले आ-आफ्नो डिप्लोमा प्राप्त गर्ने समय पनि आयो। अनि विद्यार्थीहरू तर्फका प्रतिनिधिले सम्पूर्ण कक्षाले पाएको प्रशिक्षणको लागि मूल्यांकन व्यक्त गर्दै पत्र पढेर सुनाए। त्यसपछि अन्तिम भजन अनि हार्दिक प्रार्थना चढाएपछि यस स्नातक कार्यक्रमको समापन भयो। तथापि १०५ औं कक्षाका लागि भने यो एउटा सुरुवात मात्र थियो। किनभने यी नयाँ मिसनरीहरू “विशाल क्रियाकलापको सँघारमा उभिरहेका” थिए।
[पृष्ठ २३-मा भएको पेटी]
कक्षाको तथ्यांक
प्रतिनिधित्व गरिएका देशहरूको संख्या: ९
मिसनरी सेवामा खटाइएका देशहरूको संख्या: १७
विद्यार्थीहरूको संख्या: ४८
विवाहित दम्पतीहरूको संख्या: २४
औसत उमेर: ३३
सच्चाइमा बिताएको औसत वर्ष: १६
पूर्ण-समय सेवकाईमा बिताएको औसत वर्ष: १२
[पृष्ठ २४-मा भएको क्याप्सन]
तिनीहरूले पूर्णसमय सेवकाई रोजे
“म जवान छँदा अग्रगामीको काम गर्ने विचारै थिएन,” १०५ औं कक्षाका बेन स्वीकार्छन्। तिनी भन्छन्, “विशेष क्षमता अनि राम्रो परिस्थिति भएकाहरूले मात्र अग्रगामीको काम गर्नसक्छन् भनेर म सोच्ने गर्थें। तर मैले क्षेत्र सेवकाईलाई मन पराउन सिकें। अनि एक दिन अग्रगामी गर्नु भनेको त सेवकाईमा झन् धेरै भाग लिने अवसर पो रहेछ भन्ने मैले बुझें। त्यसबेलादेखि मैले अग्रगामी गर्नसक्छु भन्ने थाह पाएँ।”
“हाम्रो घरमा पूर्णसमय सेवकहरूको सधैं आदर गरिन्थ्यो,” लुसीया वर्णन गर्छिन्। मिसनरीहरू तिनको मण्डलीमा भ्रमण गर्न आउँदा पूरै मण्डलीमा हलचल हुनेगरि उत्साहको लहर चल्थ्यो भनी तिनी सम्झना गर्छिन्। तिनी भन्छिन्, “म हुर्कंदै गर्दा पूर्णसमय सेवकाईलाई नै मैले आफ्नो लक्ष्य बनाउनेछु भनेर सबैले आशा गरिरहेका थिए।”
थियोडिस १५ वर्षको हुँदा तिनकी आमाको मृत्यु भयो। तिनी भन्छन्, “त्यसबेला मण्डलीले मलाई धेरै सहारा दियो। ‘त्यसको मूल्यांकन व्यक्त गर्न म के गर्नसक्छु?’ मैले आफैलाई सोधें।” यसैकारण, तिनी पहिला पूर्णसमय सेवक अनि अहिले मिसनरी भए।
[पृष्ठ २५-मा भएको चित्र]
वाचटावर बाइबल स्कूल अफ गिलियडको १०५ औं स्नातक कक्षा
देहायबमोजिम सूचीमा दिइएको लहर तथा नाउँहरू क्रमशः अगाडिबाट पछाडि र बायाँबाट दायाँतर्फ सुरु हुन्छ
(१) स्याम्पसन, एम.; ब्राउन, आइ.; हेग्ली, जी.; आबुयान, इ.; डेब्वा, एम.; पूर्ती, पी. (२) कासम, जी.; लिन्वर्ग, आर.; डपूजो, ए.; टेलर, सी.; लफेब्रे, के.; वकर, एस. (३) बेकर, एल.; पेलास, एम.; भोगन, इ.; बोन, सी.; आसप्लान्ड, जे.; हाइल, जे. (४) पूर्ती, टी.; ह्वीट्टेकर, जे.; पामर, एल.; नर्टन, एस.; गेरिङ, एम.; हाइल, डब्लू. (५) वकर, जे.; बोन, ए.; ग्रनभेल्ड, सी.; वाशिङटन, एम.; ह्वीट्टेकर, डी.; आबुयान, जे. (६) गेरिङ, डब्लू.; वाशिङटन, के.; पेलास, एम.; डेब्वा, आर.; हेग्ली, टी.; आसप्लान्ड, अ. (७) भोगन, बी.; लफेब्रे, आर.; टेलर, एल.; ब्राउन, टी.; ग्रनभेल्ड, आर.; पामर, आर. (८) नर्टन, पी.; स्याम्पसन, टी.; बेकर, सी.; लिन्वर्ग, एम.; कासम, एम.; डपूजो, एम.