राज्य उद्घोषकहरूको रिपोर्ट
चिलीमा सत्यको बीउमा सिंचाइ
उत्तरी चिलीको मरुभूमीमा पानी पर्न वर्षौं कुर्नुपर्छ। तर पानी पर्दा त्यहाँको सुक्खा बलौटे भूमि विभिन्न रंगका फूलहरूले ढकमक्क हुन्छ। यस रमणीय दृश्यले देशभरिका पर्यटकहरूलाई आकर्षित गर्छ।
तथापि, चिलीमा त्योभन्दा पनि चाखलाग्दो दृश्य देख्न पाइएको छ। बाइबल सत्यको पानी देशको कुनाकुनासम्म बगिरहेको छ र थुप्रै इमानदार मानिसहरू येशू ख्रीष्टका चेलाहरूको रूपमा “फक्रिरहेका” छन्। यो सत्यको पानी फिजाउन प्रयोग गरिने माध्यमहरूमध्ये एउटा टेलिफोन पनि हो। निम्न लिखित अनुभवहरूले साक्षी दिन उक्त तरिका अपनाउँदा भएका राम्रा परिणामहरू देखाउँछन्।
• करीना नामक पूर्णसमय प्रचारकलाई क्षेत्रीय सम्मेलनको कार्यक्रममा टेलिफोन साक्षी दिने नमुना प्रदर्शन गर्न आग्रह गरियो। तथापि, करीनाले टेलिफोनद्वारा कसैलाई कहिल्यै साक्षी दिएकी थिइनन्। करीनालाई सम्मेलनको कार्यक्रममा भाग लिने प्रोत्साहन दिन एक जना प्राचीन र तिनकी पत्नीले तिनीसित कसरी टेलिफोन साक्षी दिने भन्ने बुँदामाथि छलफल गरे। यस बारेमा निर्देशनको लागि यहोवालाई प्रार्थना गर्न पनि तिनलाई आग्रह गरे। तिनले त्यसै गरिन् र अन्ततः फोन गर्न प्रयास गर्ने निर्णय गरिन्।
करीनाले नजिकैको गाउँको टेलिफोन नम्बर छानिन्। टेलिफोन परिचालकले फोन उठाइन् र करीनाले फोन गर्नुको उद्देश्य बताइन्। परिचालकले सकारात्मक प्रतिक्रिया जनाइन् र तीन दिनपछि फेरि कुरा गर्ने प्रबन्ध मिलाइयो। टेलिफोनबाट गरिएको पुनःभेटको परिणामस्वरूप परमेश्वर हामीबाट के चाहनुहुन्छ? पुस्तिकाबाट बाइबल अध्ययन सञ्चालन भयो। त्यसबेलादेखि तिनीहरूले चाखलाग्दो अनि जीवन्त अध्ययनको आनन्द उठाइरहेका छन् र करीनाले त्यस आइमाईका प्रश्नहरूको जवाफ दिन साहित्यहरू पठाएकी छिन्।
• गल्तीले आफ्नो नम्बरमा फोन गर्ने मान्छेलाई साक्षी दिन बर्नार्डा अग्रसर भइन्। चिढिनुको सट्टा तिनले आफूलाई यहोवाको साक्षी भनेर चिनाइन् र मदत गर्ने प्रस्ताव राखिन्। वार्तालाप सुरु भयो र परमेश्वरको राज्यले कसरी चाँडै सारा अन्याय निर्मूल पार्नेछ भनेर तिनले बताएको कुरा त्यस मानिसले ध्यान दिएर सुने। त्यस मानिसले बर्नार्डालाई आफ्नो फोन नम्बर दिए र तिनले फोनबाटै पुनःभेट गरिन्। तिनीहरूको वार्तालापकै दौडान तिनले ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकको एक भाग पढेर सुनाइन्। तिनले त्यो पुस्तक आफूले पनि पाउन सक्छु कि भनेर सोधे र बर्नार्डाले बाइबलसहित तिनीकहाँ त्यो पुस्तक पठाइन्। त्यहाँको स्थानीय भाइसित भेट गर्न प्रबन्ध मिलाइयो र तिनले यस हुर्कंदै गरेको “बिरुवा[लाई]” “पानीले” सिंच्ने काम गरिरहेका छन्।
हो, यस संसारको आध्यात्मिक तवरमा सुक्खा माटोमा नदेखिने बीउहरू जीवन दिने सत्यको पानी परेपछि फुट्न पर्खिरहेका छन्। तिर्खाएका हजारौं मानिसहरू यहोवा परमेश्वरका विश्वासी सेवकहरूको हैसियतमा “उम्रिरहेका” र “फक्रिरहेका” छन्।—यशैया ४४:३, ४.