घरको ढोकैमा र टेलिफोनद्वारा बाइबल अध्ययन सुरु गर्ने
१, २. व्यस्त मानिसहरूलाई मदत गर्न हामी कसरी आफ्नो बाइबल अध्ययन कार्यक्रमलाई समय सुहाउँदो बनाउन सक्छौं?
१ आजकल मानिसहरू व्यस्त छन्। तैपनि थुप्रैले आध्यात्मिक कुरामा चासो लिन्छन्। हामी कसरी तिनीहरूको आध्यात्मिक आवश्यकता पूरा गर्न सक्छौं? (मत्ती ५:३) थुप्रै प्रकाशकहरूले मानिसहरूसित घरको ढोकैमा वा टेलिफोनबाट बाइबल अध्ययन गर्न सकेका छन्। तपाईं पनि यस्तै तरिका अपनाएर आफ्नो सेवकाईलाई अझ बढाउन सक्नुहुन्छ कि?
२ बाइबल अध्ययन सुरु गर्न, बाइबल अध्ययन कसरी गर्न सकिन्छ भनेर घरधनीलाई मौका पाउने बित्तिकै देखाउन तयार हुनुपर्छ। यो कसरी अनि कहाँ गर्न सकिन्छ?
३. बाइबल अध्ययन कसरी गरिन्छ भनेर किन घरधनीलाई प्रथम भेटमै देखाउने र यो कसरी गर्न सकिन्छ?
३ घरको ढोकैमा: बाइबलबारे छलफल गर्न मन पराउने व्यक्तिलाई भेट्नुहुँदा पहिल्यै तयारी गर्नुभएको अनुच्छेदबाट कुराकानी थाल्नुहोस्। जस्तो कि, चाहनुहुन्छ पुस्तिकाको पाठ १ को पहिलो अनुच्छेद पल्टाउनुहोस् र छलफल गर्नुहोस्। अनुच्छेद पढिसकेपछि प्रश्न सोध्नुहोस् र दिइएका एक वा दुई शास्त्रपद छलफल गर्नुहोस्। अक्सर, घरको ढोकैमा पाँच दस मिनेटभित्र यसो गर्न सकिन्छ। उक्त व्यक्तिले छलफल मन पराएमा अर्को चोटि एक वा दुई अनुच्छेद छलफल गर्ने चाँजो मिलाउनुहोस्।—यसरी सीधै बाइबल अध्ययन सुरु गर्न चलाउने सकिने थप तरिका हाम्रो राज्य सेवकाई, जनवरी २००२ को पृष्ठ ६ मा पाउन सकिन्छ।
४. पुनःभेट गर्दा कसरी हामी घरको ढोकामै बाइबल अध्ययन सुरु गर्न सक्छौं?
४ पुनःभेटमा पनि बाइबल अध्ययन सुरु गर्न यस्तै तरिका चलाउन सकिन्छ। उदाहरणका लागि, चाहनुहुन्छ पुस्तिकाको पाठ २ पल्टाएर अनुच्छेद १-२ बाट परमेश्वरको नाउँबारे बुझाउनुहोस्। अर्को भेटमा, बाइबलले यहोवाका गुणहरूबारे के बताउँछ भनेर अनुच्छेद ३-४ बाट छलफल गर्न सक्नुहुन्छ। त्यसपछिको छलफलमा अनुच्छेद ५-६ र पृष्ठ ५ को चित्र चलाएर बाइबल अध्ययनबाट हामी कसरी यहोवालाई अझ बढी चिन्न मदत पाउँछौं भनी बुझाउनुहोस्। यहाँ बताएका सबै तरिकाहरू ढोकामै उभिएर गर्न सकिन्छ।
५, ६. (क) किन कतिपय मानिसहरू टेलिफोनबाट बाइबल अध्ययन गर्न बढी रुचाउँछन्? (ख) टेलिफोनबाट गरिने बाइबल अध्ययनको प्रस्ताव राख्दा हामी कुन तरिका चलाउन सक्छौं?
५ टेलिफोनद्वारा: कतिपय मानिसहरू, भेटेर भन्दा टेलिफोनबाट बाइबल अध्ययन गर्न रुचाउँछन्। यो अनुभव विचार गर्नुहोस्: एक साक्षी बहिनीले घर-घरको प्रचारकार्यमा जाँदा एउटी जवान स्त्रीलाई भेटिन्। उनी एक आमा हुनुका साथै उनलाई कामको चटारो थियो। ती साक्षी बहिनीले उनलाई घरमा फेरि भेट्टाउन नसकेपछि टेलिफोन गरिन्। उक्त स्त्रीले बाइबल छलफल गर्न आफूले पटक्कै नभ्याएको कुरा बताइन्। बहिनीले भनिन्: “तपाईंले फोनबाटै पनि १०/१५ मिनेटमा केही नयाँ कुरा सिक्न सक्नुहुन्छ।” स्त्रीले भनिन् “हुन्छ नि, फोनबाट भए त म सिक्छु।” केही समय नबित्दै, टेलिफोनबाट नियमित बाइबल अध्ययन सञ्चालन हुन थाल्यो।
६ तपाईंले भेट्नुभएका कतिपय मानिसहरू टेलिफोनबाट पो बाइबल अध्ययन गर्न रुचाउँछन् कि? रुचाउँछन् भने, तपाईं भर्खरै माथि बताइएको तरिका अपनाउन सक्नुहुन्छ वा यसो भन्न सक्नुहुन्छ: “तपाईं चाहनुहुन्छ भने, हामी फोनबाटै बाइबलबारे छलफल गर्न सक्छौं। तपाईंलाई कस्तो लाग्छ?” हाम्रो बाइबल अध्ययन कार्यक्रमलाई अरू मानिसहरूको परिस्थितिसित मिल्दो बनाएर हामी तिनीहरूलाई “परमेश्वरको ज्ञान प्राप्त” गर्न मदत दिन सक्छौं।—हितो. २:५; १ कोरि. ९:२३.