युद्धको अन्त
‘हामी १२ वर्षका मात्र भयौं। राजनीति र युद्धमा हाम्रो केही लाग्दैन तर हामी जिउन चाहन्छौं! हामी शान्तिको पर्खाइमा छौं। के हामीले आफ्नो जीवनकालमा यो देख्न पाउनेछौं?’—पाँच कक्षाका विद्यार्थीहरू।
‘हामी अपहरित हुने डरविना स्कूल जान र साथीभाइ तथा परिवारलाई भेट्न चाहन्छौं। सरकारले हाम्रो कुरा सुनिदेओस् भन्ने आशा छ। हामी उत्तम जीवन चाहन्छौं।”—आल्हाजी, १४ वर्ष।
यी हृदयस्पर्शी शब्दहरूले वर्षौं गृह कलहको चपेटामा परेका जवान व्यक्तिहरूको हार्दिक आशा प्रकट गर्छ। तिनीहरू केवल सामान्य जीवनको चाह गर्छन्। तर आशालाई वास्तविकतामा परिणत गर्नु सजिलो कुरा होइन। के हामीले युद्धरहित संसार कहिल्यै देख्न पाउनेछौं?
हालैका वर्षहरूमा विरोधी समूहहरूलाई शान्ति सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएर गृहयुद्धको अन्त गर्ने अन्तरराष्ट्रिय प्रयासहरू भएका छन्। केही देशहरूले त्यस्ता सम्झौताहरू कार्यान्वयन गर्न शान्ति-सेना पनि उपलब्ध गराएका छन्। तर एकदमै जरा गाडेर बसेको घृणा र शंकाको कारण कुनै पनि युद्धरत समूहहरूबीच गरिएको सम्झौता असाध्यै नाजुक हुने भएकोले थोरै देशहरूसँग मात्र त्यस्तो टाढ-टाढाका राष्ट्रहरूमा प्रहरीको काम गर्ने पैसा वा इच्छा हुन्छ। प्रायजसो युद्धविरामको घोषणा गरेको केही हप्ता वा महिनामै फेरि युद्धको ज्वाला चर्कन्छ। स्टकहोल्म इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट-ले औंल्याएअनुसार “लडाकूहरूमा लड्ने इच्छा र क्षमता भएसम्म शान्ति कायम गर्न सजिलो हुँदैन।”
अर्कोतर्फ, आज पृथ्वीका थुप्रै भागहरू प्रभावित सुल्झाउनै नसकिने यस्ता मुठभेडहरूले मसीहीहरूलाई बाइबलको एउटा भविष्यवाणीको सम्झना गराउँछ। प्रकाशको पुस्तकमा इतिहासको एउटा निर्णायक घडीबारे वर्णन गरिएको छ जब लाक्षणिक घोडचढीले “पृथ्वीबाट शान्ति हरण” गर्नेछ। (प्रकाश ६:४) अटुट रूपले चलिरहने यस युद्धको भविष्यवाणी मिश्रित चिह्नको भाग हो र यसले हामी बाइबलमा वर्णन गरिएको “आखिरी दिनमा” बाँचिरहेका छौं भनी संकेत गर्छ।a (२ तिमोथी ३:१) तथापि, परमेश्वरको वचनले हामीलाई यी आखिरी दिन शान्ति आउनुअघिको संकेत हो भन्ने आश्वासन दिन्छ।
बाइबलले भजन ४६:९ मा साँचो शान्तिको लागि संसारको एउटा भागमा मात्र होइन तर सारा पृथ्वीभरि युद्धको अन्त हुनुपर्छ भनी बताउँछ। यसबाहेक, यसै भजनले बाइबल समयका हतियारहरू—धनु र भालाको विनाश पनि तोकेरै उल्लेख गरेको छ। त्यस्तै गरी मानिसजाति शान्तिसित बस्ने हो भने आज प्रशस्त मात्रामा पाइने हतियारहरू पनि नाश गरिनुपर्छ।
अन्ततः युद्धहरू चर्किंदै जानुको कारण गोली र बन्दुक नभई घृणा र लोभ हो। लालच वा लोभ, युद्धको प्रमुख कारण हो र घृणाले अक्सर हिंसालाई निम्त्याउँछ। यी विनाशकारी भावनाहरू जरैदेखि उखेल्न मानिसहरूले आफ्नो सोचाइमा परिवर्तन ल्याउनु खाँचो छ। तिनीहरूले आफूलाई शान्तिको मार्गमा शिक्षित गर्नु जरुरी छ। त्यसकारण पुरातन अगमवक्ता यशैयाले मानिसहरूले ‘अब उप्रान्त युद्ध गर्न सिक्न’ बन्द गरेपछि मात्र युद्ध हुनेछैन भनी उल्लेख गर्नु व्यावहारिक छ।—यशैया २:४.
तथापि, हामी अहिले बाँचिरहेको संसारमा वयस्क तथा केटाकेटीलाई शान्तिको महत्त्व होइन तर युद्धको महिमाबारे सिकाइन्छ। दुःखको कुरा, यस्तो काम गर्नको लागि केटाकेटीलाई समेत तालिम दिन थालिएको छ।
तिनीहरूले मार्न सिके
चौध वर्षको उमेरमा आल्हाजी सैन्य सेवाबाट मुक्त भए। विद्रोही सेनाहरूले तिनलाई आफ्नो कब्जामा लिएर AK-47 राइफल बोकेर लड्न सिकाउँदा तिनी १० वर्षका मात्र थिए। तिनलाई जबरजस्ती सेना बनाइएपछि तिनी खानाको लागि लुटपाट गर्न जान्थे र घरहरू जलाइदिन्थे। तिनले मानिसहरूलाई मार्नुका साथै अंगभंग पनि गरिदिए। अहिले, आल्हाजीलाई युद्धको आफ्नो अनुभव बिर्सेर सामान्य जीवन बिताउन गाह्रो भइरहेको छ। अर्का एक जना बाल-सेना अब्राहामले पनि मार्न सिके र आफ्नो हतियार बिसाउन हिचकिचाए। तिनले भने: “मलाई तिनीहरूले बन्दुक छोडेर जाऊ भनेमा मैले के गर्ने, कसरी खाने म सोच्नै सक्दिनँ।”
तीन लाखभन्दा बढी बाल-सेनाहरू, केटा र केटी दुवै हाम्रो ग्रहलाई ध्वंस पार्ने कहिल्यै नटुंगिने गृहयुद्धहरूमा अझै लड्दै छन् र मारिंदै छन्। एक जना विद्रोही नेताले यसो भने: “तिनीहरू आज्ञा पालन गर्छन्; तिनीहरूलाई आफ्नी श्रीमती वा परिवारकहाँ फर्कनुपर्छ भन्ने चिन्ता हुँदैन; अनि तिनीहरूलाई डर भन्ने कुरा थाह छैन।” यद्यपि, यी केटाकेटीहरू उत्तम जीवनको चाह गर्छन् र त्यो तिनीहरूको अधिकार पनि हो।
विकसित देशमा रहनेहरूलाई, बाल-सेनाहरूको दुरवस्थाबारे कल्पना गर्न गाह्रो लाग्ला। तैपनि, थुप्रै पश्चिमी राष्ट्रका केटाकेटीले आफ्नो घरमै बसेर युद्ध गर्न सिकिरहेका छन्। कसरी?
उदाहरणका लागि, दक्षिणपूर्वी स्पेनका होसेलाई लिनुहोस्। तिनी मार्सल आर्ट खेल्न मन पराउने किशोर थिए। आफ्नो बुबाले क्रिसमसको बेला किनिदिएको सामुराइ तरबार तिनलाई आफ्नो सबैभन्दा बहुमूल्य कुरा लाग्थ्यो। अनि तिनलाई भिडिओ गेम र त्यसमा पनि हिंस्रक खालको विशेष मन पर्थ्यो। अप्रिल १, २००० मा तिनले आफूलाई मन पर्ने भिडिओ गेमको मुख्य पात्रको झगडालाई आफ्नो वास्तविक जीवनमा नकल गरे। हिंसाको सुरमा तिनले आफ्नो बुबाले दिएकै तरबारले बुबा, आमा र बहिनीको हत्या गरिदिए। “म यस संसारमा एक्लै बस्न चाहन्थें; आमाबाबुले मेरो सोधखोज गरिरहेको चाहदैनथें” भनी तिनले प्रहरी समक्ष बयान दिए।
हिंसात्मक मनोरञ्जनका असरहरूबारे टिप्पणी गर्दै लेखक तथा सैन्य अधिकारी डेभ ग्रसम्यानले भने: “हामी भावशून्यताको पनि यस्तो हदसम्म पुगेका छौं कि अरूको पीडा र दुःख नै मनोरञ्जनको स्रोत भएको छ: यस्ता कुराहरू त्याग्नुको सट्टा अरूको दुःखबाट आनन्द लिने। हामी मार्न सिकिरहेका छौं र त्यसैबाट आनन्द लिन पनि सिकिरहेका छौं।”
आल्हाजी र होसे दुवैले मार्न सिके। दुवैको हत्यारा हुने मनसाय थिएन तर एक न एक प्रकारको प्रशिक्षणले तिनीहरूको सोचाइलाई विकृत तुल्यायो। त्यस्तो प्रशिक्षणले केटाकेटीमा होस् वा वयस्कमा, हिंसा र युद्धको बीउ रोप्छ।
युद्धको सट्टा शान्ति सिक्ने
मानिसहरूले मार्न सिकुन्जेल अनन्त शान्ति कहिल्यै स्थापना गर्न सकिदैंन। थुप्रै शताब्दीअघि अगमवक्ता यशैयाले यस्तो लेखे: “तैंले [परमेश्वरका] आज्ञाहरू पालन गरेको भएता तेरो शान्ति नदीझैं . . . हुनेथियो!” (यशैया ४८:१७, १८) मानिसहरूले परमेश्वरको वचनको सही ज्ञान प्राप्त गरेर परमेश्वरको व्यवस्थालाई प्रेम गर्न सिकेपछि हिंसा र युद्ध तिनीहरूका लागि घृणित कुरा हुनेछ। अहिले पनि आमाबाबुले आफ्ना छोराछोरीले खेल्ने गेमहरू हिंस्रक छन् कि छैनन् भनेर पक्का गर्न सक्छन्। वयस्कहरूले पनि घृणा र लोभमाथि विजय हासिल गर्न सिक्न सक्छन्। यहोवाका साक्षीहरूले परमेश्वरको वचनमा व्यक्तित्व परिवर्तन गर्ने शक्ति छ भनी थुप्रै उदाहरणहरूद्वारा बारम्बार थाह पाएका छन्।—हिब्रू ४:१२.
उदाहरणका लागि, ओर्टेन्स्यो लिनुहोस्। आफ्नो इच्छा विपरीत तिनलाई सेनामा भर्ना गरिंदा तिनी ठिटै थिए। सैन्य प्रशिक्षणको उद्देश्य “हामीमा अरूलाई मार्ने इच्छा जगाउने र अरूलाई मार्दा नडराउने” बनाउनु थियो भनी तिनी भन्छन्। अफ्रिकामा निकै लामो समयसम्म चलेको गृहयुद्धमा तिनी लडे। “युद्धले मेरो व्यक्तित्वमा असर गऱ्यो” तिनी स्वीकार्छन्। “अहिले पनि मलाई आफूले गरेको एक-एक कुरा याद छ। मलाई जबरजस्ती गर्न लगाइएका कुराहरू सम्झँदा मलाई असाध्यै दुःख लाग्छ।”
सँगी सैनिकले ओर्टेन्स्योलाई बाइबलबारे बताउँदा तिनको हृदय छोयो। भजन ४६:९ मा बताइएझैं सबै युद्धहरू रोक्ने परमेश्वरको प्रतिज्ञाले तिनी प्रभावित भए। तिनले जति बढी बाइबल अध्ययन गरे, त्यति नै तिनको मनबाट लड्ने इच्छा हराउँदै गयो। चाँडै तिनी र तिनका दुई जना सँगी सैनिकलाई सेनाबाट निकालियो र तिनीहरूले आफ्नो जीवन यहोवा परमेश्वरमा समर्पित गरे। “बाइबल सत्यले मलाई आफ्नो शत्रुलाई पनि प्रेम गर्न मदत गऱ्यो” ओर्टेन्स्यो भन्छन्। “युद्धमा लडेर मैले वास्तवमा यहोवा विरुद्ध पाप गरिरहेको थिएँ भनेर बुझें किनभने परमेश्वरले हामीलाई आफ्नो छिमेकीको हत्या गर्नु हुँदैन भन्नुभएको छ। यस्तो प्रेम देखाउन मैले आफ्नो सोचाइमा परिवर्तन गर्नुपर्ने थियो र मानिसहरूलाई आफ्नो शत्रु ठान्नु हुँदैनथ्यो।”
त्यस्ता सत्य घटनामा आधारित अनुभवहरूले बाइबल शिक्षाले शान्ति बढाउँछ भनी प्रमाणित गर्छ। यो छक्कलाग्दो कुरा होइन। अगमवक्ता यशैयाले ईश्वरीय शिक्षा र शान्तिबीच प्रत्यक्ष सम्बन्ध छ भनी बताए। तिनले यस्तो भविष्यवाणी गरे: “तेरा सबै छोरा–छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्, र तेरा छोरा–छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (छड्के अक्षर हाम्रो, यशैया ५४:१३) तिनै अगमवक्ताले सबै राष्ट्रका मानिसहरू उहाँको मार्ग सिक्न यहोवा परमेश्वरको साँचो उपासनातर्फ ओइरो लाग्ने समयबारे पनि पहिल्यै दर्शन देखे। यसको नतिजा कस्तो हुनेछ? “तिनीहरूले आफ्ना आफ्ना तरवार पिटेर हलोको फाली र भाला चाहिं हँसिया बनाउनेछन्। एउटा जातिले अर्को जातिको विरूद्धमा तरवार उठाउनेछैन, औ तिनीहरूले अब उप्रान्त युद्ध गर्न सिक्नेछैनन्।”—छड्के अक्षर हाम्रो, यशैया २:२-४.
त्यसै भविष्यवाणी अनुरूप यहोवाका साक्षीहरू विश्वव्यापी शैक्षिक कार्यमा संलग्न छन् जसले मानिसहरूको युद्धको प्रमुख कारण घृणालाई हटाउन लाखौंलाई मदत गरिसकेको छ।
विश्वशान्तिको ग्यारेन्टी
शिक्षा दिनुको अलावा परमेश्वरले संसारभरि शान्ति स्थापना गर्न सक्षम सरकार वा “राज्य” पनि स्थापना गर्नुभएको छ। उल्लेखनीय कुरा के हो भने, बाइबलले परमेश्वरको नियुक्त शासक येशू ख्रीष्टलाई “शान्तिका राजकुमार” भनी वर्णन गर्छ। यसले हामीलाई “उहाँको शासन र शान्तिको वृद्धिको अन्त चाहिं कहिल्यै हुनेछैन” भनी थप आश्वासन दिन्छ।—यशैया ९:६, ७.
ख्रीष्टको शासनले हरेक प्रकारको युद्धलाई नामेट गर्न सफल हुनेछ भन्ने के ग्यारेन्टी छ? अगमवक्ता यशैया अझ यसो भन्छन्: “सेनाहरूका परमप्रभुको उत्तेजित जोशले यो गर्नेछ।” (यशैया ९:७) परमेश्वर अनन्त शान्तिलाई कायम राख्ने इच्छा गर्नुहुन्छ र यसको लागि उहाँ सक्षम पनि हुनुहुन्छ। यस प्रतिज्ञामा येशूको पूर्ण विश्वस्तता छ। त्यसैकारण उहाँले आफ्ना अनुयायीहरूलाई परमेश्वरको राज्य आओस् र परमेश्वरको इच्छा पृथ्वीमा पूरा होस् भनेर प्रार्थना गर्न सिकाउनुभयो। (मत्ती ६:९, १०) त्यस निष्कपट आग्रह अन्ततः पूरा हुँदा युद्धले फेरि पृथ्वीलाई हानि पुऱ्याउनेछैन।
[फुटनोट]
a हामी आखिरी दिनमा बाँचिरहेका छौं भन्ने कुराको प्रमाण जाँच गर्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तकको अध्याय ११ हेर्नुहोस्।
[पृष्ठ ७-मा भएको चित्र]
बाइबलको शिक्षाले साँचो शान्ति बढाउँछ