प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ४/१ pp. २०-२४
  • त्यागिएको टुहुरोले मायालु बुबा पाउँछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • त्यागिएको टुहुरोले मायालु बुबा पाउँछ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पहिला शरणार्थी, त्यसपछि टुहुरो
  • बाइबलले जवाफ दिन्छ
  • सहयोगी परिवार भेटें
  • सतावटको परिणाम राम्रो हुन्छ
  • दस वर्षमा आठ वर्ष त जेलमै
  • मसीही भ्रातृत्वमा फस्टाउँदै
  • पचास वर्षभन्दा लामो समयसम्म ‘स्थानान्तरित’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवालाई खुसी तुल्याउनु नै मेरो प्रमुख चाहना
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • यहोवाको मायालु छत्रछायामा सेवा गर्ने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
  • यहोवालाई जे दिनुपर्ने हो, त्यो दिएँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ४/१ pp. २०-२४

जीवनी

त्यागिएको टुहुरोले मायालु बुबा पाउँछ

डिमिट्रिस सिडिरोपोलसको वृत्तान्तमा आधारित

रिसाउँदै मेरो अगाडि राइफल राखेर एक जना अफिसर गर्जियो, “छिटो गर्‌। यो हतियार उठाएर गोली चला।” मैले शान्तपूर्वक त्यसो गर्न इन्कार गरें। अफिसरको बन्दुकबाट निस्केको गोली मेरो कुम नजिकैबाट जाँदा नजिकैका अरू सैनिकहरू डरले थरथर कामे। अब ज्यान जाने भो भन्ठानेको थिएँ। खुसीको कुरा, म बाँचें। तर मेरो जीवन खतरामा परेको यो पहिलो पटक थिएन।

मेरो परिवार टर्कीको कपोदिसियास्थित केसरी नजिकै बसोबास गर्ने एउटा अल्पसंख्यक जातीय समूह थियो। यस भेगका कसै-कसैले प्रथम शताब्दीमै मसीहीधर्म अँगालिसकेका थिए जस्तो देखिन्छ। (प्रेरित २:९) तथापि, बीसौं शताब्दीको प्रारम्भतिर समयले नाटकीय मोड लिइसकेको थियो।

पहिला शरणार्थी, त्यसपछि टुहुरो

सन्‌ १९२२ मा मेरो जन्म भएको केही महिनापछि जातीय द्वन्द्वले गर्दा मेरो परिवार शरणार्थीहरूको रूपमा ग्रीस विस्थापित हुनुपऱ्‍यो। भयभीत भएका मेरा आमाबाबुले केही महिनाको काखे बच्चा मबाहेक सबै कुरा छोड्‌नुपऱ्‍यो। साह्रै दुःख पाएपछि उहाँहरू उत्तरी ग्रीसको ड्रामा नजिकैको किरिया भन्‍ने अत्यन्त दयनीय अवस्थामा भएको गाउँमा पुग्नुभयो।

म चार वर्षको छँदा र भाइ जन्मेपछि मेरो बुबा बित्नुभयो। उहाँ २७ वर्षको मात्र हुनुहुन्थ्यो तर ती अत्यन्त कठिन समयमा भोग्नुपरेको दुःखले गर्दा उहाँ निकै कमजोर हुनुभएको थियो। मेरी आमाले धेरै दुःख पाउनुभयो र धेरै समय नबित्दै उहाँको पनि मृत्यु भयो। मेरो भाइ र म पूरै बेसहारा भयौं। हामीलाई एउटा अनाथालयदेखि अर्को अनाथालय पठाइयो र १२ वर्षको उमेरमा पठाइएको थिस्सलोनिकाको अनाथालयमा मैले मेकानिकको काम सिक्न थालें।

अमित्रैलो र दयामाया नदेखाइने अनाथालयभित्रको चार पर्खालबीच हुर्कंदै जाँदा कसै-कसैले किन यतिबिघ्न दुःखकष्ट र अन्याय भोग्नुपरेको होला भनेर मैले सोच्न थालें। परमेश्‍वरले यस्तो दुःखलाग्दो अवस्था रहन दिनुको कारण के होला भनेर म आफैलाई सोध्थें। हाम्रो धार्मिक शिक्षाका कक्षाहरूमा हामीलाई परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ भनी सिकाइन्थ्यो तर खराब कुरा तथा ती व्याप्त हुनुको स्पष्ट कारण भने बताइँदैनथ्यो। ग्रीक अर्थोडक्स चर्च सबैभन्दा राम्रो धर्म हो भन्‍ने एउटा लोकप्रिय भनाइ थियो। “अर्थोडक्स धर्म नै सबैभन्दा राम्रो धर्म हो भने किन सबै जना अर्थोडक्स धर्म मान्दैनन्‌ त?” भनेर प्रश्‍न गर्दा मैले एउटै पनि चित्तबुझ्दो जवाफ पाइनँ।

यद्यपि, हाम्रो शिक्षक बाइबललाई गहिरो आदर गर्नुहुन्थ्यो र उहाँले हामीमा यो एउटा पवित्र पुस्तक हो भन्‍ने छाप पारिदिनुभयो। अनाथालयका निर्देशकले पनि यस्तै मनोभाव देखाउनुभयो तर उहाँ कुनै कारणवश धार्मिक सभाहरूमा भाग लिनुहुन्‍नथ्यो। मैले यसको कारण खोजीनीति गर्दा पहिला उहाँले यहोवाका साक्षीहरूसित अध्ययन गर्नुभएको रहेछ भन्‍ने कुरा थाह लाग्यो तर यहोवाका साक्षीहरू भन्‍ने धर्म मेरो लागि एकदमै नौलो कुरा थियो।

थिस्सलोनिकाको अनाथालयमा मेरो पढाइ सिद्धिंदा म १७ वर्षको थिएँ। त्यतिखेर दोस्रो विश्‍वयुद्ध भर्खरै सुरु भएको थियो र ग्रीस नाजीहरूको कब्जामा थियो। भोकले मानिसहरू सडकमा मरिरहेका थिए। ज्यान जोगाउन म कम ज्यालामै भए पनि खेतालाको रूपमा काम गर्न गाउँतिर भागें।

बाइबलले जवाफ दिन्छ

सन्‌ १९४५ को अप्रिल महिनामा म थिस्सलोनिका फर्केपछि थुप्रै अनाथालयमा सँगै बसेका बाल्यकालको साथीकी दिदी पासालिया मलाई भेट्‌न आउनुभयो। उहाँले मलाई आफ्नो भाइ हराइरहेको कुरा बताउनुभयो र कतै मलाई तिनको बारेमा थाह छ कि भनेर सोध्नुभयो। कुरै-कुरामा उहाँले आफू यहोवाको साक्षी भएको कुरा बताउनुका साथै मानिसजातिमा परमेश्‍वरले राख्नुहुने चासोबारे बताउनुभयो।

झोकिंदै मैले ठाडो विरोध जनाएँ। बाल्यकालदेखि मैले किन कष्ट भोग्नुपरिरहेको छ? म किन टुहुरो हुनुपऱ्‍यो? चाहेको बेला परमेश्‍वर कहाँ हुन्छ? उहाँले यस्तो उत्तर दिनुभयो, “के यी सबै कुराको जिम्मेवार परमेश्‍वर नै हो त?” आफ्नो बाइबलबाट उहाँले मलाई परमेश्‍वरले मानिसलाई दुःख दिनुहुन्‍न भनी देखाउनुभयो। यसबाट मैले सृष्टिकर्ता मानिसजातिलाई माया गर्नुहुन्छ र अब चाँडै उहाँले अवस्था सुधार्नुहुनेछ भन्‍ने कुरा बुझ्न सकें। यशैया ३५:५-७ र प्रकाश २१:३, ४ जस्ता शास्त्रपदहरू चलाएर तिनले मलाई युद्ध, कलह, रोगबिमार अनि मृत्यु सबै चाँडै नामेट हुनेछन्‌ र विश्‍वासी मानिसहरू सधैंभरि पृथ्वीमा बस्नेछन्‌ भन्‍ने कुरा देखाइन्‌।

सहयोगी परिवार भेटें

गुरिल्ला युद्धमा पासालियाको भाइ मारिएको कुरा मैले चाल पाएँ। उहाँहरूलाई सान्त्वना दिन म उहाँको परिवारलाई भेट्‌न जाँदा उल्टै उहाँहरूले पो मलाई धर्मशास्त्रबाट सान्त्वना दिनुभयो। बाइबलबाट अझ धेरै सान्त्वनादायी कुरा पाउन म फेरि-फेरि पनि उहाँहरूको घर गएँ र चाँडै म अध्ययन तथा उपासनाको लागि गोप्य रूपमा भेटघाट गर्ने यहोवाका साक्षीहरूको एउटा सानो समूहको भाग भएँ। साक्षीहरूमाथि प्रतिबन्ध लगाइएको भए तापनि उनीहरूसित सरसंगति गरिरहन म कटिबद्ध थिएँ।

नम्र मसीहीहरूको त्यस समूहमा मैले न्यानो र मायालु पारिवारिक वातावरण पाएँ, जुन कुरा मैले अहिलेसम्म पाएको थिइनँ। उनीहरूले मलाई नितान्त आवश्‍यक परेको आध्यात्मिक सहयोग र मदत दिए। उनीहरूमाझ मैले यस्ता निःस्वार्थ अनि अरूको ख्याल राख्ने मित्रहरू पाएँ, जो मलाई मदत गर्न र सान्त्वना दिन हरदम तयार र इच्छुक थिए। (२ कोरिन्थी ७:५-७) त्योभन्दा अझ महत्त्वपूर्ण कुरा त, यहोवाको नजिक हुने मदत पाएँ जसलाई मैले स्वर्गमा हुनुहुने आफ्नो मायालु बुबाको रूपमा हेर्न सकें। प्रेम, समानुभूति र गहिरो चासोजस्ता उहाँका गुणहरू मलाई अत्यन्त मनमोहक लाग्थ्यो। (भजन २३:१-६) बल्ल मैले एउटा आध्यात्मिक परिवार र एक जना मायालु बुबा पाएँ! मेरो हृदय उमङ्‌गले भरियो। यहोवामा आफूलाई समर्पण गर्न चाँडै म उत्प्रेरित भएँ र सन्‌ १९४५ को सेप्टेम्बर महिनामा बप्तिस्मा लिएँ।

मसीही सभाहरूमा उपस्थित हुँदा मेरो ज्ञान बढ्‌नुका साथै मेरो विश्‍वास पनि गहिरो भयो। यातायातको सुविधा नभएकोले हामीमध्ये धेरैजना अक्सर गाउँदेखि सभास्थलसम्मको साढे छ किलोमिटर हिंडेरै जान्थ्यौं अनि बाटोमा हामीले गरेका आध्यात्मिक कुराकानी अहिले पनि झलझली याद आउँछ। सन्‌ १९४५ को अन्ततिर पूर्ण-समय प्रचारकको काममा भाग लिने सुअवसरबारे थाह पाएपछि मैले अग्रगामी गर्न थालें। मेरो विश्‍वास र निष्ठाको हदैसम्म जाँच हुन लागेको कारण यहोवासित बलियो सम्बन्ध राख्नु अत्यावश्‍यक थियो।

सतावटको परिणाम राम्रो हुन्छ

प्रहरीले हाम्रो सभा हुने ठाउँमा धेरै चोटि छापा माऱ्‍यो र हामीलाई मार्ने धम्की दियो। ग्रीसमा गृहयुद्ध मच्चिएकोले त्यहाँ सैनिक शासन लागू गरिएको थियो। एकअर्काप्रति तीव्र घृणा लिएर विरोधी समूहहरू हिंसामा उत्रिए। यस परिस्थितिको फाइदा उठाउँदै पादरीले हामी यहोवाका साक्षीहरू कम्युनिष्ट हौं र हामीलाई उग्र सतावट दिइनुपर्छ भनेर अधिकारीहरूको कान फुके।

दुई वर्षको अवधिमा हामी धेरै चोटि पक्राउ पऱ्‍यौं र छ चोटि त हामीलाई चार महिनाको लागि जेल सजायसमेत सुनाइयो। तथापि, राजनैतिक कैदीहरूले नै जेल अटाई-नअटाई भइसकेको हुनाले हामीलाई छोडियो। हामीले यस अप्रत्याशित स्वतन्त्रतालाई प्रचार गर्न चलायौं तर केही समयपछि नै हामीलाई फेरि गिरफ्तार गरियो—एकै हप्तामा तीन-तीन चोटि। हाम्रा धेरै भाइहरूलाई अनकन्टार टापुहरूमा निर्वासित गरिएको छ भनेर हामीलाई थाह थियो। यस किसिमको कठोर परीक्षाको अगाडि के मेरो विश्‍वास टिक्ने थियो?

दिनहुँ प्रहरी चौकी गएर बयान दिनुपर्दा अवस्था निकै गाह्रो भयो। ममाथि निगरानी राख्न अधिकारीहरूले मलाई एउटा मात्र प्रहरी चौकी भएको थिस्सलोनिका नजिकैको इभोस्मोस पठाए। प्रहरी चौकी नजिकै मैले एउटा कोठा भाडामा लिएँ र जीविका चलाउन धातुका भाँडाकुँडामा पालिस लगाउने फिरन्ते कारिगरको रूपमा काम गर्न थालें। नजिकैका गाउँहरूमा अग्रगामी गर्दा यस कामले मलाई प्रहरीहरूलाई शङ्‌का नलाग्ने गरी घर-घर प्रचार गर्न धेरै मदत गऱ्‍यो। फलस्वरूप, थुप्रै मानिसहरूले सुसमाचार सुने र राम्रो प्रतिक्रिया देखाए। तीमध्ये दस जनाभन्दा बढी पछि गएर यहोवाका समर्पित उपासकहरू भए।

दस वर्षमा आठ वर्ष त जेलमै

सन्‌ १९४९ को अन्तसम्म मलाई प्रहरीको निगरानीअन्तर्गत राखियो र त्यसपछि म फेरि पूर्ण-समय सेवकाईमा लाग्ने जोसका साथ थिस्सलोनिका फर्कें। बल्ल परीक्षाहरू सकिए भन्ठानेको मात्र के थिएँ सन्‌ १९५० मा अचानक मलाई सेनामा भर्ती हुन बोलाइयो। मसीही तटस्थताको कारण म ‘युद्ध नसिक्न’ कटिबद्ध थिएँ। (यशैया २:४) यसरी सुरु भयो एउटा लामो र पीडादायी कारावास यात्रा, जसको कारण मैले ग्रीसकै कुख्यात जेलहरूको चक्कर काट्‌नुपर्ने थियो।

कारावासको यो यात्रा ड्रामा भन्‍ने सहरबाट सुरु भयो। त्यहाँ थुनिएको पहिलो हप्तामा भर्खरै भर्ती भएका सेनाहरूले बन्दुक चलाउन सिक्न थाले। एक दिनको कुरा हो, मलाई बन्दुक चलाउन सिकाइने ठाउँमा लगियो। एक जना अफिसरले रिसाउँदै मेरो अगाडि राइफल राखे र गोली चलाउने आदेश दिए। त्यसो गर्न नमान्दा तिनले मतिर भटटट गोली चलाउन थाले। मैले सम्झौता गर्नेछैन भन्‍ने लागेपछि अरू अफिसरहरूले मलाई निर्ममतापूर्वक मुक्काले हिर्काए। उनीहरूले चुरोट सल्काएर मेरो हत्केलामा ठोसेर निभाए। त्यसपछि तिनीहरूले मलाई एकल बन्दीगृहमा थुनेर राखे। त्यहाँ मलाई तीन दिनसम्म राखियो। चुरोटले पोलेको घाउ भतभत पोल्थ्यो र मेरो हातमा बसेको त्यो खत धेरै वर्षसम्म पनि रहिरह्‍यो।

मेरो कोर्ट-मार्सल हुनुअघि मलाई क्रेटको इराक्लियोनस्थित एउटा सैन्य शिविरमा सारियो। मेरो निष्ठा तोड्‌ने प्रयास गर्दै उनीहरूले मलाई पिट्‌नुसम्मै पिटे। सम्झौता गरिहाल्छु कि भन्‍ने डरले गर्दा मैले बलको लागि स्वर्गमा हुनुहुने पितालाई व्यग्र प्रार्थना गरें। यर्मिया १:१९ का शब्दहरू मेरो मनमा आयो: “तिनीहरूले तँसित युद्ध गर्नेछन्‌, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्‌, किनभने तँलाई बचाउनलाई म तेरो साथमा छु—परमप्रभु भन्‍नुहुन्छ।” सन्चो पार्ने “परमेश्‍वरको शान्तिले” मभित्र शान्ति र सौम्यता ल्यायो। यहोवामाथि पूर्ण भरोसा राख्नु किन बुद्धिमानी कुरा हो भनेर मैले बुझें।—फिलिप्पी ४:६, ७; हितोपदेश ३:५.

पछि भएको सुनुवाइमा मलाई जन्मकैद सजाय सुनाइयो। यहोवाका साक्षीहरूलाई “राष्ट्रकै” सबैभन्दा खतरनाक “शत्रुहरूको” रूपमा हेर्न थालियो। मेरो जन्मकैद सजाय केनियाको सहरबाहिर पर्ने अपराधीहरूलाई राखिने एट्‌सेडिन जेलबाट सुरु भयो र त्यहाँ मलाई एकल बन्दीगृहमा राखिएको थियो। एट्‌सडेन एउटा पुरानो महल थियो र मलाई राखिएको कोठाभरि मुसै-मुसा थिए। मेरो जीउमाथि मुसाहरू दगुर्दा तिनीहरूले मेरो शरीरमा नछोऊन्‌ भनेर म शिरदेखि खुट्टासम्मै पुरानो झुत्रेझाम्रे कम्बल बेर्ने गर्थें। निमोनिया लागेर म थला परें। डाक्टरले मलाई बाहिर घाममा राख्नुपर्छ भनेपछि मलाई बाहिर लगियो र मैले बाहिर आँगनमा धेरै कैदीहरूसित कुराकानी गर्न सकें। तथापि, मेरो स्वास्थ्यस्थिति बिग्रिंदै गयो र मेरो फोक्सोमा अत्यधिक रक्‍तस्राव भएपछि मलाई इराक्लियोन अपस्ताल लगियो।

फेरि पनि मेरा आध्यात्मिक सँगी मसीहीहरूले खाँचोमा परेको बेला मलाई मदत गरे। (कलस्सी ४:११) इराक्लियोनका भाइहरू नियमित रूपमा मलाई भेट्‌न आउँथे र सान्त्वना तथा प्रोत्साहन दिन्थे। इच्छुक व्यक्‍तिहरूलाई साक्षी दिन मलाई साहित्य चाहिएको कुरा मैले उनीहरूलाई बताएँ। उनीहरूले मलाई डबल बटम अर्थात्‌ तलतिर सामान लुकाउन मिल्ने ठाउँ भएको सुट्‌केस ल्याइदिए जहाँ म साहित्यहरू सुरक्षितसाथ लुकाएर राख्न सक्थें। ती जेलहरूमा बस्दा कम्तीमा पनि छ जना सँगी कैदीलाई साँचो मसीहीहरू हुन मदत गर्न सकेकोमा म अत्यन्त खुसी थिएँ!

त्यतिन्जेलसम्म गृहयुद्ध अन्त भइसकेको थियो र मैले पाएको सजाय पनि घटाएर दस वर्ष बनाइयो। बाँकी जेल जीवन मैले रेथिम्नो, जेन्टी कुले र कासान्ड्रामा बिताएँ। आठवटा जेलमा लगभग दस वर्ष बिताइसकेपछि मलाई रिहा गरियो र त्यसपछि म थिस्सलोनिका फर्कें। त्यहाँका प्रिय मसीही भाइबहिनीहरूले मलाई हार्दिक स्वागत गरे।

मसीही भ्रातृत्वमा फस्टाउँदै

जेलबाट म रिहा होउन्जेलसम्ममा साक्षीहरूले उपासना गर्ने सापेक्षिक स्वतन्त्रता पाइसकेका थिए। मैले अलिकति पनि ढिलाइ नगरी फेरि पूर्ण-समय सेवकाई सुरु गरिहालें। चाँडै अर्को आशिष्‌ पनि थपियो किनभने यहोवालाई प्रेम गर्ने र प्रचारकार्यमा एकदमै सक्रिय एउटी विश्‍वासी मसीही बहिनी काटिनासित मेरो चिनापर्ची भयो। हामीले सन्‌ १९५९ को अक्टोबर महिनामा बिहे गऱ्‍यौं। हाम्री छोरी अगापेको जन्म र मेरो आफ्नै मसीही परिवारले मलाई टुहुरो हुँदा भोग्नुपरेको पीडा बिर्सिन मदत गऱ्‍यो। सबैभन्दा महत्त्वपूर्ण कुरा त, स्वर्गमा हुनुहुने हाम्रो मायालु पिता यहोवाको सुरक्षात्मक हेरचाहमा उहाँको सेवा गर्न पाउँदा हाम्रो परिवारलाई अपार सन्तुष्टि मिलेको थियो।—भजन ५:११.

अत्यन्तै नाजुक आर्थिक अवस्थाको कारण मैले अग्रगामी गर्न छोड्‌नुपऱ्‍यो तर मैले पूर्ण-समय सेवा गरिरहेकी मेरी पत्नीलाई मदत गरें। सन्‌ १९६९ मा जर्मनीको न्युरेमबर्गमा यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय अधिवेशन आयोजना भएको बेला मेरो मसीही जीवनमा एउटा अविस्मरणीय घटना घट्यो। त्यस अधिवेशनमा जानको लागि तयारी गर्ने क्रममा मैले पासपोर्टको लागि निवेदन दिएँ। दुई महिना बितिसक्दा पनि पासपोर्ट नआउनुको कारण बुझ्न मेरी पत्नी प्रहरी चौकी जाँदा एक जना अफिसरले दराजबाट एउटा मोटो फाइल झिकेर यसो भने: “जर्मनीका मानिसहरूको धर्म परिवर्तन गराउन तपाईं यस व्यक्‍तिको पासपोर्ट माग्नुहुँदैछ? अहँ, हुँदै हुँदैन! ऊ खतरनाक व्यक्‍ति हो।”

यहोवा अनि केही भाइहरूको मदतद्वारा मलाई समूहकै पासपोर्टमा समावेश गरियो र त्यस प्रकार म त्यो भव्य अधिवेशनमा उपस्थित हुन सकें। शिखर उपस्थिति संख्या १,५०,००० थियो र मैले यो अन्तरराष्ट्रिय आध्यात्मिक परिवारलाई यहोवाको आत्माले डोऱ्‍याएको र एकताबद्ध बनाएको छर्लङ्‌ग देख्न सकें। पछि उमेर ढल्कँदै जाँदा मैले मसीही भ्रातृत्वको महत्त्व अझ बढी थाह पाउने थिएँ।

सन्‌ १९७७ मा मेरी प्रिय पत्नी तथा विश्‍वासी सहयोगीको मृत्यु भयो। मैले मेरी छोरीलाई बाइबल सिद्धान्तहरू अनुरूप हुर्काउने सक्दो प्रयास गरें तर म एक्लो थिइनँ। फेरि पनि मेरो आध्यात्मिक परिवार मलाई मदत गर्न अग्रसर भयो। अप्ठ्यारो परिस्थितिमा परेको बेला भाइहरूले गर्नुभएको सहयोगको लागि म सदा ऋणी रहनेछु। मेरी छोरीको हेरचाह गर्न केही-कोही भाइबहिनी त केही समयको लागि हाम्रै घरमा समेत बसे। उहाँहरूले देखाउनुभएको त्यस्तो आत्मत्यागी प्रेम म कहिल्यै बिर्सनेछैनँ।—यूहन्‍ना १३:३४, ३५.

ठूली भएर अगापेले एलियास नाउँको भाइसित विवाह गरिन्‌। उनीहरूका चारै जना छोरा सच्चाइमा छन्‌। हालैका वर्षहरूमा मलाई धेरै चोटि मस्तिष्कघात भइसकेको छ र मेरो स्वास्थ्य पनि नराम्रो भएको छ। मेरी छोरी र तिनको परिवारले मेरो राम्रो हेरचाह गरिरहेका छन्‌। स्वास्थ्यस्थिति ठीक नभए पनि हर्षित हुने मसित अझ थुप्रै कारणहरू छन्‌। सारा थिस्सलोनिकाभरि लगभग एकसय मात्र साक्षी भएको र सभाको लागि उनीहरू लुकीछिपी निजी घरहरूमा भेला हुने गरेको समय मलाई अझै पनि याद आउँछ। अहिले त्यहाँ लगभग पाँच हजार जोसिला साक्षीहरू छन्‌। (यशैया ६०:२२) अधिवेशनहरूमा जवान भाइहरू मकहाँ आएर यसो भन्‍ने गर्छन्‌: “तपाईंले हाम्रो घरमा पत्रिकाहरू ल्याइदिने गर्नुहुन्थ्यो, के तपाईंलाई सम्झना छ?” आमाबाबुले ती पत्रिकाहरू पढेनन्‌ होला तर उनीहरूका छोराछोरीले पढेछन्‌ र आध्यात्मिक तवरमा प्रगति गरेछन्‌!

यहोवाको संगठन जुन रूपमा बढिरहेको छ त्यसलाई विचार गर्दा लाग्छ, मैले भोगेका सबै परीक्षाहरू बेकार भएनन्‌। म सधैं मेरा नातिनातिना तथा अरू साना केटाकेटीहरूलाई आफ्नो युवावस्थामै स्वर्गमा बस्नुहुने पिताको सम्झना गर्नू र उहाँले तिमीहरूलाई कहिल्यै त्याग्नुहुनेछैन भनी भन्‍ने गर्छु। (उपदेशक १२:१) मेरो लागि “टुहुराका बाबु” हुनुभएर यहोवाले आफ्नो वचन पूरा गर्नुभएको छ। (भजन ६८:५) बाल्यावस्थामै म टुहुरो हुनुपरे तापनि अन्तमा मैले मायालु बुबा भेट्टाएँ!

[पृष्ठ २२-मा भएको चित्र]

ड्रामा जेलमा मैले भान्छेको काम गरें

[पृष्ठ २३-मा भएको चित्र]

सन्‌ १९५९ मा हाम्रो विवाहको दिन काटिनासँग

[पृष्ठ २३-मा भएको चित्र]

सन्‌ १९६० दशकको अन्ततिर थिस्सलोनिका नजिकैको जङ्‌गलमा आयोजित एउटा सम्मेलन

[पृष्ठ २४-मा भएको चित्र]

सन्‌ १९६७ मा हाम्री छोरीसित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने