मण्डलीमा आफ्नो स्थानको कदर गर्नुहोस्
“परमेश्वरले आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अङ्ग राखिदिनुभएको छ।”—१ कोरि. १२:१८.
१, २. (क) हरेकले मण्डलीमा कदर गर्न सक्ने स्थान पाउन सक्छन् भनेर कुन कुराले देखाउँछ? (ख) यस लेखमा हामी कस्ता प्रश्नहरू छलफल गर्नेछौं?
मण्डली, प्राचीन इस्राएलको समयदेखि नै यहोवाले आफ्ना जनहरूलाई आध्यात्मिक पोषण र निर्देशन दिने प्रबन्ध हुँदै आएको छ। उदाहरणको लागि, ऐ सहरलाई जितिसकेपछि यहोशूले “इस्राएलका सारा समाज . . . का सामने” “आशिष र सराप विषय व्यवस्थाका वचन सबै पढेर सुनाए जो व्यवस्थाको पुस्तकमा लेखिएका छन्।”—यहो. ८:३४, ३५.
२ प्रथम शताब्दीमा प्रेरित पावलले ख्रीष्टियान प्राचीन तिमोथीलाई ख्रीष्टियान मण्डली “परमेश्वरको घर” अनि “सत्यको खामा र जग हो” भने। (१ तिमो. ३:१५) आज परमेश्वरको “घर” साँचो ख्रीष्टियानहरूको विश्वव्यापी भाइचारा हो। कोरिन्थीहरूलाई लेखेको पहिलो प्रेरित पत्रको १२ अध्यायमा पावलले मण्डलीलाई मानव शरीरसँग तुलना गरेका छन्। उनको भनाइअनुसार हरेक अंगले फरकफरक किसिमले काम गर्छ तर पनि सबै आवश्यक छन्। पावल लेख्छन्: “परमेश्वरले आफ्नो इच्छाबमोजिम शरीरमा हरेक अङ्ग राखिदिनुभएको छ।” उनी अझै औंल्याउँछन्: “शरीरका बढ्ता अनादर सम्झेका अंगहरूलाई हामीले बढ्ता आदर दिन्छौं।” (१ कोरि. १२:१८, २३) त्यसैले परमेश्वरको घरका कुनै निष्ठावान् व्यक्तिको भूमिका अर्को वफादार ख्रीष्टियानको भन्दा ठूलो वा सानो हुँदैन। फरक मात्र हुन्छ। त्यसोभए परमेश्वरको प्रबन्धमा हामी कसरी आफ्नो स्थान पाउन सक्छौं अनि यसको मोल वा कदर गर्न सक्छौं? मण्डलीमा हाम्रो स्थानलाई असर पार्ने तत्त्वहरू के हुन्? हामी कसरी ‘आफ्नो प्रगति सबैमा प्रकट’ गर्न सक्छौं?—१ तिमो. ४:१५.
आफ्नो स्थानको कदर गरौं —तर कसरी?
३. मण्डलीमा आफ्नो स्थान पाउने र यसको कदर गर्छौं भनेर देखाउने एउटा तरिका के हो?
३ मण्डलीमा आफ्नो स्थान पाउने र यसको कदर गर्छौं भनेर प्रमाण दिने एउटा तरिका “विश्वासी र बुद्धिमान् दास”-लाई अनि यसको प्रतिनिधित्व गर्ने परिचालक निकायलाई पूर्णतया सहयोग गरेर हो। ( मत्ती २४:४५-४७ पढ्नुहोस्) दास वर्गबाट पाएको निर्देशनप्रति हामी कत्तिको आज्ञाकारी छौं, जाँच्नुपर्छ। उदाहरणका लागि, वर्षौंदेखि हामीले पहिरन र कोरीबाटी, मनोरञ्जन अनि इन्टरनेटको अनुचित प्रयोगजस्ता विषयमा तोकेरै दिइएका निर्देशन पाएका छौं। आध्यात्मिक रूपमा जोगिन यस्ता असल सल्लाहलाई के हामीले होसियारीसाथ पालन गरेका छौं? पारिवारिक उपासना नियमित तवरले गर्नेबारे दिइएको सल्लाह नि? उक्त सल्लाह पालन गरेर एउटा साँझ पारिवारिक उपासनाको लागि छुट्टयाएका छौं? एक्लो छौं भने के हामीले व्यक्तिगत बाइबल पढाइको लागि उक्त समय छुट्टयाएका छौं? दास वर्गले दिएको निर्देशन पछ्याएका छौं भने यहोवाले हामीलाई व्यक्तिगत र पारिवारिक रूपमा आशिष् दिनुहुनेछ।
४. व्यक्तिगत छनौटका निर्णयहरू गर्दा हामीले के-कस्ता कुरा विचार गर्नुपर्छ?
४ मनोरञ्जन र पहिरन तथा कोरिबाटी त व्यक्तिगत कुरा हो नि भनेर कसैले तर्क गर्न सक्छन्। तर मण्डलीमा आफ्नो स्थानको कदर गर्ने समर्पित ख्रीष्टियानले व्यक्तिगत छनौटको आधारमा मात्रै निर्णय गर्नु हुँदैन। यहोवाको वचन बाइबलमा प्रकट गरिएको उहाँको दृष्टिकोणलाई विशेष ध्यान दिनैपर्छ। बाइबलको सन्देश ‘हाम्रो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो’ हो भनेर प्रमाणित हुनुपर्छ। (भज. ११९:१०५) व्यक्तिगत कुरामा हामी के-कस्ता छनौट गर्छौं त्यसले हाम्रो सेवाको काममा र मण्डलीका अनि बाहिरका सबैलाई असर गर्छ भनेर विचार गर्नु पनि बुद्धिमानी हो।—२ कोरिन्थी ६:३, ४ पढ्नुहोस्।
५. आफूखुसी गर्ने मनोवृत्ति विकास गर्नदेखि हामी किन होसियार हुनुपर्छ?
५ “अनाज्ञाकारिताका सन्तानमा काम गर्ने आत्मा” अहिले हामीले सास फेर्ने हावासरि व्याप्त छ। (एफि. २:२) उक्त आत्माले हामीलाई यहोवाको डोऱ्याइ चाहिंदैन भनेर सोच्न लगाउन सक्छ। हामी पक्कै पनि ‘प्रेरित यूहन्नालाई ग्रहण नगर्ने’ डियोत्रिफसजस्तै हुन चाहँदैनौं। (३ यूह. ९, १०) आफूखुसी गर्ने मनोवृत्ति विकास गर्नदेखि हामी होसियार हुनुपर्छ। यहोवाले अहिले प्रयोग गरिरहनुभएको माध्यमलाई आफ्नो बोलीवचन वा आचरणबाट कहिल्यै हाँक नदेऔं। (गन्ती १६:१-३) बरु दास वर्गलाई सहयोग गर्न पाएको सुअवसरलाई हामीले कदर गर्नुपर्छ। त्यसोभए मण्डलीमा नेतृत्व लिनेहरूको आज्ञा पालन गर्ने र अधीनमा बस्ने प्रयास गर्नुपर्दैन र?—हिब्रू १३:७, १७ पढ्नुहोस्।
६. हाम्रो परिस्थिति केलाउनु किन महत्त्वपूर्ण छ?
६ मण्डलीमा आफ्नो स्थानको कदर गर्छौं भनेर देखाउने अर्को तरिका हाम्रो परिस्थिति राम्ररी जाँच्नु र हामीले “सेवामा घमन्ड” गर्न सकेजति सबै गर्नु हो। (रोमी ११:१३) कसैले नियमित अग्रगामी सेवा गर्न सकेका छन्। कसैले भने विशेष पूर्ण-समय सेवाका विभिन्न पक्षमा जस्तै:- मिसनरी, क्षेत्रीय निरीक्षक र विश्वव्यापी बेथेल परिवारको सदस्यको रूपमा सेवा गर्न सकेका छन्। थुप्रै भाइबहिनी राज्यभवन बनाउन मदत गर्छन्। यहोवाका सेवकहरूमध्ये अधिकांशले आफ्नो परिवारको आध्यात्मिक आवश्यकताको ख्याल राख्न सक्दो गरिरहेका छन्। अनि हरेक हप्ता प्रचारमा पनि पूरा भाग लिइरहेका छन्। ( कलस्सी ३:२३, २४ पढ्नुहोस्) यहोवाको सेवामा राजीखुसीले र पूरा हृदयले आफैलाई दियौं भने उहाँको प्रबन्धमा सधैं आफ्नो स्थान हुन्छ भनेर विश्वस्त हुन सक्छौं।
हाम्रो भूमिकालाई असर पार्ने तत्त्वहरू
७. मण्डलीमा हाम्रो स्थानलाई असर पार्न सक्ने परिस्थितिहरूबारे बताउनुहोस्।
७ हामी के गर्न सक्षम छौं वा के गर्न सक्ने अवस्थामा छौं, त्यसले हाम्रो भूमिकामा केही हदसम्म फरक पार्ने भएकोले आफ्नो परिस्थिति केलाउनु महत्त्वपूर्ण छ। उदाहरणका लागि, मण्डलीमा कुनैकुनै पक्षमा भाइको स्थान बहिनीको भन्दा फरक हुन्छ। यहोवाको सेवामा हामी के-कति गर्न सक्छौं भन्ने कुरा उमेर, स्वास्थ्य र अरू कुराले पनि फरक पार्छ। हितोपदेश २०:२९ यसो भन्छ: “जवान मानिसहरूको गौरव तिनीहरूको बल हो, वृद्ध मानिसहरूको शोभा उनीहरूका फूलेको कपाल हो।” जवानीको बलले गर्दा जवानहरू मण्डलीमा शारीरिक रूपमा धेरै गर्न सक्छन्। अर्कोतर्फ वृद्धहरूको बुद्धि र अनुभवबाट मण्डलीले धेरै लाभ पाउन सक्छ। यहोवाको संगठनमा हामी जे गर्न सक्छौं उहाँकै अनुग्रहको कारणले हो भनेर पनि बिर्सनुहुँदैन।—प्रेरि. १४:२६; रोमी १२:६-८.
८. हाम्रो चाहनाले मण्डलीमा हामीले गर्ने काममा कत्तिको फरक पार्छ?
८ मण्डलीमा हाम्रो स्थानलाई असर पार्ने अर्को तत्त्वलाई प्रस्ट्याउन दुइटी जवान दिदीबहिनीको उदाहरण विचार गर्नुहोस्। दुवैले स्कूलको पढाइ सिध्याए। तिनीहरूको परिस्थिति उस्तै थियो। स्कूलको पढाइ सिद्धिएपछि नियमित अग्रगामी सेवामा लाग्न तिनीहरूलाई बुबाआमाले सक्दो प्रोत्साहन दिएका थिए। स्कूल सकिएपछि एउटीले अग्रगामी सेवा गरिन्, अर्कीले भने पूर्ण-समय जागिर खाइन्। यस्तो भिन्नता किन? चाहनाले गर्दा। तिनीहरू जे गर्न चाहन्थे अन्तमा त्यही गरे। हामीमध्ये धेरैले त्यस्तै गरेका छौं, होइन र? परमेश्वरको सेवामा हामी के गर्न चाहन्छौं गम्भीर भएर सोच्नुपर्छ। आफ्नो परिस्थिति छाँटकाँट गर्नुपर्ने भए तापनि के हामी परमेश्वरको सेवामा अझ जोडतोडले भाग लिन्छौं?—२ कोरि. ९:७.
९, १०. यहोवाको सेवामा अझ धेरै गर्ने उत्प्रेरणा नै छैन भने के गर्नुपर्छ?
९ यहोवाको सेवामा धेरै गर्ने उत्प्रेरणा नै छैन र मण्डलीमा झारा टार्ने हिसाबले मात्रै काम गर्ने झुकाव छ भने नि? फिलिप्पीहरूलाई लेखेको पत्रमा पावलले भने: “उहाँको आफ्नै मन खुशमा तिमीहरूलाई इच्छा गर्ने र काम गर्ने तुल्याउनुहुने परमेश्वरै हुनुहुन्छ।” हो, यहोवा हामीमा काम गर्न सक्नुहुन्छ र हाम्रो इच्छा वा चाहनालाई असर पार्न सक्नुहुन्छ।—फिलि. २:१३; ४:१३.
१० त्यसोभए, यहोवाको इच्छाबमोजिम गर्ने चाहना हामीमा जगाइदिनुहोस् भनेर प्रार्थना गर्नुपर्दैन र? पुरातन इस्राएलका राजा दाऊदले त्यसै गरे। तिनले यसरी प्रार्थना गरे: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे परमप्रभु, तपाईंको बाटो मलाई दिनुहोस्। तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्, र मलाई सिकाउनुहोस्। किनकि तपाईंनै मलाई उद्धार गर्ने परमेश्वर हुनुहुन्छ, दिनभरि म तपाईंकै बाटो हेर्दैरहन्छु।” (भज. २५:४, ५) यहोवालाई जे मन पर्छ त्यही गर्न हामीलाई इच्छुक तुल्याउनुहोस् भनेर प्रार्थना गर्दै हामी पनि त्यसै गर्न सक्छौं। यहोवा र उहाँको पुत्रको इच्छाअनुसार गर्न हामी जे गर्छौं त्यसबारे उहाँहरूको भावनाबारे विचार गर्दा उहाँहरूप्रतिको कृतज्ञताले हाम्रो हृदय भरिन्छ। (मत्ती २६:६-१०; लूका २१:१-४) कृतज्ञताको त्यस्तो भावले हामीलाई आध्यात्मिक प्रगति गर्न इच्छुक बनाउनुहोस् भनेर प्रार्थना गर्न उत्प्रेरित गर्छ। हामीले खेती गर्नुपर्ने मनोवृत्तिबारे अगमवक्ता यशैयाले उदाहरण बसालेका छन्। जब तिनले यहोवाको यो वचन सुने: “म कसलाई पठाऊँ औ हाम्रा निम्ति को जाने?” अगमवक्ताले भने, “परमप्रभु म हाजिर छु। मलाई पठाउनुहोस्।”—यशै. ६:८.
प्रगति गर्नुहोस्—तर कसरी?
११. (क) संगठनमा जिम्मेवारी बहन गर्ने योग्य भाइहरूको आवश्यकता किन पऱ्यो? (ख) कुनै भाइ सेवाको सुअवसर पाउन कसरी योग्यका हुन सक्छन्?
११ सेवा वर्ष २००८ मा संसारभर २,८९,६७८ जनाले बप्तिस्मा लिए। यसले नेतृत्व लिने भाइहरूको खाँचो प्रस्टै देखिन्छ। यस्तो आवश्यकताप्रति भाइहरूले कस्तो प्रतिक्रिया देखाउनुपर्छ? सीधै भन्नुपर्दा सेवकाई सेवक र प्राचीन हुनको लागि धर्मशास्त्रमा दिइएको योग्यता पूरा गर्नुपर्छ। (१ तिमो. ३:१-१०, १२, १३; ती. १:५-९) कुनै भाइले धर्मशास्त्रमा दिइएका यस्ता योग्यता पूरा गर्ने प्रयास कसरी गर्न सक्छन्? प्रचारमा सक्रिय भएर, मण्डलीमा पाएका जिम्मेवारी राम्ररी पूरा गरेर, ख्रीष्टियान सभामा आफ्ना टिप्पणीको गुणस्तर बढाएर अनि सँगी विश्वासीहरूलाई व्यक्तिगत चासो दिएर। तिनी मण्डलीमा आफ्नो स्थानको कदर गर्छन् भनेर संकेत गर्छ।
१२. सत्यको लागि जवानहरूले कसरी जोस देखाउन सक्छन?
१२ जवान भाइहरूले र त्यसमा पनि किशोर भाइहरूले मण्डलीमा प्रगति गर्न के गर्न सक्छन्? बाइबलको ज्ञान लिएर तिनीहरूले ‘बुद्धि र समझमा’ बढ्दै जाने प्रयास गर्न सक्छन्। (कल. १:९) परमेश्वरको वचनको लगनशील विद्यार्थी भएर र मण्डलीका सभामा सक्रिय भाग लिएर त्यो उद्देश्य पूरा गर्न सकिन्छ। पूर्ण-समय सेवाका विभिन्न पक्षको ‘ठूलो ढोकाबाट’ पस्न योग्यको हुन पनि किशोर भाइहरू अघि बढ्न सक्छन्। (१ कोरि. १६:९) आजीवन यहोवाको सेवा गर्न खोज्नु जीवनलाई पक्कै पनि सन्तोषदायी बनाउने तरिका हो र यसो गर्दा प्रचुर आशिष् पाइन्छ।—उपदेशक १२:१ पढ्नुहोस्।
१३, १४. बहिनीहरूले मण्डलीमा आफ्नो भूमिकाको कदर गरेको कुनकुन तरिकामा देखाउन सक्छन्?
१३ बहिनीहरूले पनि भजन ६८:११ को पूर्तिमा व्यक्तिगत तवरमा भाग लिएर त्यस सुअवसरको कदर गर्छन् भनेर देखाउन सक्छन्। उक्त पदमा यस्तो लेखिएको पाउँछौं: “परमेश्वरले वचन दिनुहुन्छ। शुभ-समाचार सुनाउने स्त्रीहरूको एक ठूलो दल हुन्छ।” बहिनीहरूले मण्डलीमा आफ्नो स्थानप्रति कृतज्ञता व्यक्त गर्न सक्ने एउटा उल्लेखनीय तरिका चेला बनाउने काममा सहभागी हुनु हो। (मत्ती २८:१९, २०) त्यसैले सेवाको काममा पूरापूर भाग लिएर अनि राजीखुसीले त्यागहरू गरेर बहिनीहरूले मण्डलीमा आफ्नो भूमिकाको कदर गरेको प्रमाण दिन्छन्।
१४ पावलले तीतसलाई यस्तो लेखे: “त्यही माफिक वृद्धाहरू पनि पवित्र चालचलनका, . . . बढिया कुराहरूको शिक्षा दिने होऊन्, कि तिनीहरूले तरूणीहरूलाई आफ्ना-आफ्ना पतिलाई स्नेह गर्न, आफ्ना बालबच्चाहरूलाई माया गर्न सिकाऊन्, आत्मसंयमी, पतिव्रता, घरजम गर्नसक्ने, दयालु, आफ्ना-आफ्ना पतिका अधीनमा रहने बनाऊन्, कि परमेश्वरका वचनको निन्दा हुन नपाओस्।” (ती. २:३-५) परिपक्व बहिनीहरूले मण्डलीमा कस्तो सशक्त प्रभाव पार्न सक्छन्! नेतृत्व लिने भाइहरूलाई आदर गरेर अनि पहिरन तथा कोरीबाटी र मनोरञ्जनजस्ता विषयमा बुद्धिमानी निर्णयहरू गरेर यी बहिनीहरू अरूको लागि असल उदाहरण बसाल्छन् र मण्डलीमा आफ्नो स्थानको अति मोल गर्छन्।
१५. एक्लोपनको सामना गर्न अविवाहित बहिनीहरू के गर्न सक्छन्?
१५ मण्डलीमा आफ्नो स्थान पाउन कहिलेकाहीं अविवाहित बहिनीलाई गाह्रो हुन सक्छ। यस्तै अनुभव गरेकी एउटी बहिनी बताउँछिन्: “अविवाहित भएकोले कहिलेकाहीं एक्लो महसुस हुन्छ।” यस्तो परिस्थितिको सामना कसरी गरिन् भनेर सोध्दा तिनले बताइन्: “प्रार्थना र अध्ययनले मलाई मण्डलीमा आफ्नो स्थान फेरि पाउन मदत गऱ्यो। मप्रति यहोवाको दृष्टिकोण कस्तो छ, अध्ययन गरें। त्यसपछि मण्डलीमा अरूलाई मदत गर्न अग्रसर भएँ। यसले मलाई आफूबारे मात्र होइन, अरूबारे पनि सोच्न मदत गऱ्यो।” भजन ३२:८ मा लेखिएअनुसार यहोवाले दाऊदलाई यसो भन्नुभयो: “तँमाथि नजर राखेर म तँलाई सल्लाह दिनेछु।” हो, यहोवाले अविवाहित बहिनीहरूलगायत आफ्ना प्रत्येक सेवकमाथि व्यक्तिगत चासो लिनुहुन्छ र सबैलाई मण्डलीमा आफ्नो स्थान पाउन मदत गर्नुहुन्छ।
आफ्नो स्थान कायम राख्नुहोस्!
१६, १७. (क) यहोवाले हामीलाई उहाँको संगठनको सदस्य हुन दिएको निम्तो स्वीकार्नु किन सर्वोत्तम निर्णय हो? (ख) यहोवाको संगठनमा आफ्नो स्थान कसरी कायम राख्न सक्छौं?
१६ यहोवाले आफ्ना प्रत्येक सेवकलाई आफूतर्फ मायालु ढंगमा खिच्नुभएको छ। येशूले भन्नुभयो: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन।” (यूह. ६:४४) पृथ्वीका अरबौं मानिसमध्ये यहोवाले हामीलाई उहाँको मण्डलीको सदस्य हुन व्यक्तिगत तवरमा निम्ताउनुभयो। यो निम्तो स्वीकार्नु हामीले जीवनमा गरेको सर्वोत्तम निर्णय थियो। यसले हाम्रो जीवन उद्देश्यपूर्ण र अर्थपूर्ण बनायो। यसबाहेक मण्डलीमा आफ्नो स्थान पाएकोमा हामी कत्ति आनन्दित अनि सन्तुष्ट छौं।
१७ भजनरचयिताले यसो भने: “परमप्रभु, तपाईंको भवनको बासस्थान . . . लाई म प्रेम गर्दछु।” तिनले अझै यसरी पनि गाए: “मेरो खुट्टाले सम्म ठाउँमा टेक्छ, समुदायहरूमा म परमप्रभुको प्रशंसा गर्नेछु।” (भज. २६:८, १२) साँचो परमेश्वरले हामी प्रत्येकलाई उहाँको संगठनमा ठाउँ दिनुभएको छ। ईश्वरतान्त्रिक निर्देशन निरन्तर पछ्याएर अनि परमेश्वरको सेवामा व्यस्त भइरहेर हामी यहोवाको प्रबन्धमा आफ्नो अनमोल स्थान कायम राख्न सक्छौं। ( w09 11/15)
के तपाईंलाई याद छ?
• मण्डलीमा सबै ख्रीष्टियानको स्थान छ भन्ने निष्कर्षमा पुग्नु किन व्यावहारिक छ?
• परमेश्वरको संगठनमा आफ्नो स्थानको कदर गर्छौं भनेर कसरी देखाउँछौं?
• मण्डलीमा हाम्रो स्थानलाई असर पार्न सक्ने तत्त्व केके हुन्?
• परमेश्वरको प्रबन्धमा आफ्नो स्थानको कदर गरेको कुरा ख्रीष्टियान युवा तथा वयस्कहरूले कसरी देखाउन सक्छन्?
[पृष्ठ २१-मा भएको चित्र]
मण्डलीमा सुअवसरहरू पाउन भाइहरू कसरी योग्यका हुन सक्छन्?