प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w23 फेब्रुअरी pp. २६-३०
  • मैले भाइबहिनीको वफादारी देखेको छु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मैले भाइबहिनीको वफादारी देखेको छु
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उत्तरी आयरल्याण्ड—“गोलाबारुदको देश”
  • सियरा लियोन—भाइबहिनीहरू गरिब तर वफादार
  • नाइजेरिया—नयाँ संस्कृति सिक्दै
  • केन्या—भाइबहिनीले धीरजी हुँदै सिकाए
  • अमेरिका—भाइबहिनीहरू सम्पन्‍न तर वफादार
  • “तिम्रो कुरा सुन्‍नेहरूको” उद्धार हुनेछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • मैले जीवनमा गर्न सक्ने सबैभन्दा राम्रो कुरा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • यहोवाले भन्‍नुभएअनुसार गर्दा आशिष्‌ पाउँछौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • यहोवा वफादार हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२३
w23 फेब्रुअरी pp. २६-३०
रबर्ट ल्यानडस।

जीवनी

मैले भाइबहिनीको वफादारी देखेको छु

रबर्ट ल्यानडसको वृत्तान्तमा आधारित

तपाईँ आफूलाई एकदमै महत्त्वपूर्ण लागेको कुराकानी सम्झनुहुन्छ होला। मेरो पनि त्यस्तै एउटा अनुभव छ। करिब ५० वर्षअघि केन्यामा आगो ताप्दै म र मेरो एक जना साथी कुरा गर्दै थियौँ। यात्रा गरेको महिनौँ भइसकेको थियो र हामी घामले पूरै डढेका थियौँ।  त्यतिबेला हामी धर्मसित सम्बन्धित एउटा फिल्मबारे कुरा गर्दै थियौँ। कुरैकुरामा साथीले यसो भन्यो: “त्यो फिल्ममा बाइबलको कुरा बङ्‌ग्याएर देखाइएको छ।”

साथीको त्यो कुरा सुनेर मलाई हाँस उठ्यो किनभने उसलाई धर्ममा चासो छ जस्तो मलाई लागेको थिएन। “तिमीलाई बाइबलको कुरा थाह छ र” भनेर मैले भनेँ। ऊ एकछिन त केही नबोली बस्यो। पछि बल्ल उसको आमा यहोवाको साक्षी भएको कुरा बतायो र उसले आमाबाट बाइबलको केही कुरा सिकेको रहेछ। अनि उसले सिकेका कुराहरू बताएपछि मलाई त्यसबारे बुझ्न मन लाग्यो र मैले थुप्रै प्रश्‍न सोधेँ।

हाम्रो कुराकानी रातभरि नै चल्यो। उसले बाइबलअनुसार सैतान यस संसारको शासक हो भनेर बतायो। (युह. १४:३०) सायद तपाईँलाई यो कुरा सानैदेखि थाह थियो होला तर मेरो लागि यो कुरा नयाँ र रोचक थियो। मैले पहिलादेखि नै दयालु र न्यायी ईश्‍वर यस संसारको शासक हुनुहुन्छ भनेर सुनेको थिएँ। तर यो कुरा मलाई चित्त बुझेको थिएन। किनभने त्यतिबेला म २६ वर्षको मात्र भए तापनि मैले थुप्रै नराम्रा घटनाहरू देखेको थिएँ।

मेरो बुबा अमेरिकी वायुसेनाको पाइलट हुनुहुन्थ्यो। त्यसैले सानै बेलादेखि आणविक युद्ध हुन सक्ने सम्भावना छ भनेर सुन्दै आएको थिएँ। सेनाले कुनै पनि समय आणविक बम विष्फोट गर्न सक्थ्यो। क्यालिफोर्नियामा कलेज पढ्‌दै गर्दा भियतनाम युद्ध चलिरहेको थियो। म विद्यार्थी आन्दोलनहरूमा सहभागी हुन्थेँ। पुलिसले हामीलाई डन्डाले हान्दै लखेट्‌थ्यो र प्रहरीले अश्रुग्याँस फ्याँकेपछि हामी भाग्थ्यौँ। यसले गर्दा निसासिने र आँखै नदेखिने हुन्थ्यो। त्यतिबेलाको समय एकदमै तनावपूर्ण थियो र मानिसहरू विद्रोहमा उत्रेका थिए। राजनीतिज्ञहरूको हत्या भएको थियो; थुप्रै आन्दोलन र हुलदङ्‌गाहरू भइरहेका थिए। के गर्दा अवस्था राम्रो होला भन्‍नेबारे मानिसहरूको आ-आफ्नै धारणा थियो। मानिसहरू अलमलमा थिए।

मोटरसाइकलसँगै उभिएर नक्सामा आफूले गरेको यात्रा देखाउँदै।

लन्डनदेखि मध्य अफ्रिकासम्म

सन्‌ १९७० मा मैले अलास्काको उत्तरी तटमा एउटा जागिर खाएँ र टन्‍नै पैसा कमाएँ। त्यसपछि म लन्डन गएँ र एउटा मोटरसाइकल किनेँ। कता जाने केही नसोची म दक्षिणतिर लागेँ। महिनौँको यात्रापछि अफ्रिका पुगेँ। यात्राको क्रममा यस्ता थुप्रै मानिससित भेट भयो, जो आफूलाई जकडिरहेको समस्याबाट मुक्‍त हुन चाहन्थे।

आफूले देखेका र सुनेका कुराहरूले गर्दा यो संसार एक दुष्ट स्वर्गदूतको हातमा छ भन्‍ने बाइबलको शिक्षा मलाई सही लाग्यो। त्यसोभए परमेश्‍वरचाहिँ के गर्दै हुनुहुन्छ त? म यस प्रश्‍नको जवाफ जान्‍न चाहन्थेँ।

त्यसको केही समयपछि मैले जवाफ भेट्टाएँ। अनि मैले जस्तोसुकै परिस्थितिमा पनि साँचो परमेश्‍वरप्रति वफादार रहेका थुप्रै व्यक्‍तिलाई भेटेँ र तिनीहरूसित घनिष्ठ भएँ।

उत्तरी आयरल्याण्ड—“गोलाबारुदको देश”

लन्डन फर्केपछि मैले सुरुमा बताएको साथीको आमालाई भेट्‌न गएँ र उहाँले मलाई एउटा बाइबल दिनुभयो। पछि म नेदरल्याण्ड्‌सको आम्सटर्डम गएँ। एकदिन म सडकको बत्तीमुनि बसेर बाइबल पढिरहेको थिएँ। एक जना साक्षी भाइले मलाई देख्नुभयो र बाइबलको कुरा अझ धेरै बुझ्न मदत गर्नुभयो। पछि म आयरल्याण्डको डब्लिन गएँ र त्यहाँ यहोवाका साक्षीहरूको शाखा कार्यालय भेट्टाएँ। त्यहाँ मैले एक जना परिपक्व दाइ आर्थर माथ्युजलाई भेटेँ। मैले उहाँलाई बाइबल अध्ययनको लागि आग्रह गरेँ र उहाँले ‘हुन्छ’ भन्‍नुभयो।

मैले यहोवाका साक्षीहरूले प्रकाशित गरेका पत्रिका र किताबहरू एकपछि अर्को गर्दै मन लगाएर पढ्‌न थालेँ। अनि बाइबल नपढ्‌ने त कुरै भएन! पढेका कुराहरू निकै रोमाञ्चकारी थिए! सभाहरूमा साना केटाकेटी देखेर छक्कै परेँ। उनीहरूलाई पढेलेखेका मानिसहरूले वर्षौँदेखि खोज्दै आएका प्रश्‍नहरूको जवाफ पनि थाह थियो। जस्तै: ‘संसारमा किन यत्ति धेरै अन्याय-अत्याचार छ? परमेश्‍वर को हुनुहुन्छ? मानिस मरेपछि कहाँ जान्छ?’ आयरल्याण्डमा म कसैलाई चिन्दिनथेँ। त्यसैले मेरा साथीहरू भनेकै साक्षीहरू मात्र थिए। तिनीहरूले मलाई यहोवालाई प्रेम गर्न र उहाँको इच्छाअनुसार चल्न मदत गरे।

नाइजल, डेनिस र म

मैले १९७२ मा बप्तिस्मा गरेँ। त्यसको अर्को साल मैले अग्रगामी सेवा सुरु गरेँ र उत्तरी आयरल्याण्डको न्युरी भन्‍ने ठाउँमा एउटा सानो मण्डलीमा सेवा गर्न थालेँ। मैले पहाडछेउ अनकन्टार ठाउँमा ढुङ्‌गाले बनाइएको एउटा सानो घर भाडामा लिएँ। घरनजिकैको चौरमा गाईहरू चरिरहेका हुन्थे। तिनीहरूलाई आफ्नो श्रोता ठान्दै म भाषणको अभ्यास गर्थेँ। ती गाईहरू उग्राउँदै मेरो भाषण ध्यान दिएर सुनिरहेको जस्तो देखिन्थ्यो। हुनत तिनीहरू मलाई कुनै सल्लाह दिन सक्दैनथे। तर तिनीहरूले मलाई श्रोता सम्पर्क गर्न भने मदत गरे। सन्‌ १९७४ मा म विशेष अग्रगामी नियुक्‍त भएँ र मसँगै सेवा गर्न नाइजल पिटलाई पठाइयो। हामी दुई जना एकदमै मिल्ने साथी बन्यौँ।

त्यतिबेला उत्तरी आयरल्याण्डमा थुप्रै हिंसात्मक घटनाहरू हुने गर्थे। त्यसैले उत्तरी आयरल्याण्डलाई “गोलाबारुदको देश” भनिन्थ्यो। त्यहाँ अक्सर मारपिट, गोलीकाण्ड र कार-बम विस्फोटका घटनाहरू हुने गर्थे। प्रायजसो समस्याहरू राजनीति र धर्मसित सम्बन्धित हुन्थे। तर प्रोटेस्टेन्ट र क्याथोलिकहरूलाई यहोवाका साक्षीहरू राजनीतिमा कसैको पक्ष लिँदैनन्‌ भनेर थाह थियो। त्यसैले हामी मानिसहरूलाई कुनै डरविना साक्षी दिने गर्थ्यौँ। घरधनीहरूलाई हिंसा कहाँ र कहिले हुँदै छ भनेर अक्सर थाह हुन्थ्यो र तिनीहरू हामीलाई त्यसबारे पहिल्यै जानकारी दिन्थे।

तर कहिलेकाहीँ हामी खतरनाक अवस्थाहरूमा पर्थ्यौँ। एकदिन एक अग्रगामी डेनिस कारेगनसँगै साक्षीहरू नभएको एउटा नजिकैको सानो सहरमा सुसमाचार सुनाउँदै थियौँ। त्यहाँ हामी यसअघि एक चोटि मात्र गएका थियौँ। एउटी महिलाले हामीलाई बेलायती सेनाको गुप्तचर भएको आरोप लगाइन्‌। हाम्रो बोल्नेशैली त्यहाँका स्थानीय मानिसहरूको जस्तो नभएकोले तिनलाई त्यस्तो लागेको हुन सक्छ। हामीलाई एकदमै डर लाग्यो। त्यतिबेला कुनै व्यक्‍ति बेलायती सैनिकसित मित्रैलो भयो भने मात्र पनि मारिने वा घुँडामा गोली हानिने खतरा हुन्थ्यो। हामी बाहिर चिसोमा बस कुरिरहेको बेला ती महिला भएको क्याफेमा एउटा गाडी आएको देख्यौँ। तिनी त्यस गाडीमा आएका दुई जना पुरुषसित जोस्सिएर कुरा गर्दै थिइन्‌। त्यसपछि ती पुरुषहरू हामी भएतिर आए र बस आउने समयबारे सोधे। बस आएपछि हामी बस चढ्यौँ; तिनीहरूचाहिँ बस ड्राइभरसित कुरा गर्न थाले। तिनीहरूले के कुरा गरे, हामीले सुनेनौँ। बसमा अरू कोही यात्रु थिएन। त्यसैले सहरबाहिर लगेर हामीलाई केही गर्ने योजना बनाएको हो कि जस्तो लाग्यो। तर त्यस्तो केही पनि भएन। बसबाट झर्दै गर्दा मैले ड्राइभरलाई सोधेँ: “त्यो मान्छेहरूले हाम्रो विषयमा सोधेको हो?” तिनले यस्तो जवाफ दिए: “मलाई तपाईँहरू को हुनुहुन्छ भनेर थाह छ। मैले आफूलाई थाह भएको कुरा बताइदिएँ। चिन्ता नगर्नुस्‌, तपाईँहरू सुरक्षित हुनुहुन्छ।”

रबर्ट र पलिनको विवाहको दिन।

हाम्रो विवाहको दिन, मार्च १९७७

सन्‌ १९७६ मा डब्लिनमा आयोजना भएको जिल्ला सम्मेलनमाa मैले विशेष अग्रगामी पलिन लोम्याक्सलाई भेटेँ। तिनी बेलायतबाट आएकी थिइन्‌। तिनी वफादार, नम्र र मायालु थिइन्‌। तिनी र तिनको भाइ रे सत्यमै हुर्केका थिए। पलिनलाई भेटेको एक वर्षपछि हामीले विवाह गऱ्‍यौँ र उत्तरी आयरल्याण्डको बालिमेनामा विशेष अग्रगामी सेवा गर्न थाल्यौँ।

हामीले केही समय बेलफास्ट, लन्डनडेरी र अन्य खतरनाक ठाउँहरूमा परिभ्रमण कार्य गऱ्‍यौँ। भाइबहिनीले आफ्नो मनमा गहिरो जरा गाडेर बसेको धार्मिक आस्था, पूर्वाग्रह र घृणा हटाउन प्रयास गरेको देखेर हामी प्रोत्साहित भयौँ। यहोवाले तिनीहरूलाई पक्कै आशिष्‌ र सुरक्षा दिनुभयो!

मैले आयरल्याण्डमा सेवा गरेको १० वर्ष भइसकेको थियो। हामीले १९८१ मा गिलियडको ७२ औँ कक्षाको लागि निम्तो पायौँ। गिलियडबाट स्नातक भएपछि हामीलाई पश्‍चिम अफ्रिकाको सियरा लियोनमा खटाइयो।

सियरा लियोन—भाइबहिनीहरू गरिब तर वफादार

हामी अरू ११ जना भाइबहिनीसँगै एउटा मिसनरी घरमा बस्थ्यौँ। हामी बस्ने घरमा एउटा भान्छा, तीन वटा ट्‌वाइलेट, दुइटा नुहाउने ठाउँ, एउटा टेलिफोन, एउटा वासिङ मेसिन र एउटा लुगा सुकाउने मेसिन थियो। बत्ती आउने-जाने ठेगानै हुँदैनथ्यो। छतमा मुसाहरू र भुइँतलामा गोमन सर्पहरू आउने गर्थे।

रबर्ट र अरूहरू मुढाको डुङ्‌गाबाट मोटरसाइकलहरू नदी तार्दै।

छिमेकी देश गिनीमा अधिवेशन जान नदी तर्दै

त्यहाँको जीवन सहज थिएन तर साक्षीकार्यमा भने निकै रमाइलो हुन्थ्यो। मानिसहरूको मनमा बाइबलप्रति आदर थियो। तिनीहरू हाम्रो कुरा ध्यान दिएर सुन्थे। थुप्रैले बाइबल अध्ययन गरे र यहोवाको साक्षी पनि भए। त्यहाँका मानिसहरूले मलाई “श्रीमान्‌ रबर्ट” भनेर बोलाउँथे अनि पलिनलाई “श्रीमती रबर्ट” भन्‍ने गर्थे। केही समयपछि म शाखा कार्यालयको काममै व्यस्त हुन थाले र साक्षीकार्यमा पहिलाजति जान सकिनँ। त्यसपछि मानिसहरूले पलिनलाई “श्रीमती पलिन” र मलाई चाहिँ उसैको नामले “श्रीमान्‌ पलिन” भनेर बोलाउन थाले। पलिनलाई यो कुरा साह्रै चित्त बुझ्यो!

Robert रबर्ट र पलिन आफ्नो जीपसँगै।

सियरा लियोनमा टाढाका इलाकाहरूमा साक्षीकार्यको लागि जाँदै

हाम्रा थुप्रै भाइबहिनी गरिब थिए तर यहोवाले सधैँ तिनीहरूको आवश्‍यकता पूरा गरिदिनुभयो, कहिलेकाहीँ त सोच्दै नसोचेको तरिकामा। (मत्ति ६:३३) मलाई अझै याद छ, एक जना बहिनीसित एक दिनको खानेकुरा किन्‍न पुग्ने पैसा मात्र थियो। तर तिनले त्यो पैसा आफू र आफ्नो छोराछोरीको लागि नराखी एक जना बिरामी भाइलाई दिइन्‌। ती बिरामी भाइसित औलोको औषधी किन्‍न पैसा थिएन। अचम्मको कुरा, त्यही दिन एउटी महिलाले ती बहिनीलाई कपाल मिलाउनको लागि पैसा दिइन्‌। यहोवाले यसरी मदत गर्नुभएका थुप्रै घटना मैले देखेँ।

नाइजेरिया—नयाँ संस्कृति सिक्दै

हामीले सियरा लियोनमा सेवा गरेको ९ वर्ष भइसकेको थियो। त्यसपछि हामीलाई नाइजेरिया बेथेल खटाइयो। नाइजेरिया बेथेल परिवार ठूलो थियो। सियरा लियोनमा जस्तै मलाई अफिसकै काम गर्न खटाइयो र पलिनलाई भने लुगा मर्मत गर्ने विभागमा खटाइयो। यो पलिनको लागि ठूलो परिवर्तन थियो। पलिन यसअघि हरेक महिना क्षेत्र सेवामा १३० घण्टा बिताउने गर्थिन्‌ र उसको थुप्रै प्रगतिशील बाइबल अध्ययन थिए। पलिनलाई छाँटकाँट गर्न केही समय लाग्यो तर अरूले उसको कामको कदर गरेको उसले याद गरी। उसले सङ्‌गी बेथेल सेवकहरूलाई प्रोत्साहन दिने कुरामा ध्यान दिई।

नाइजेरियाको संस्कृति हाम्रो लागि नयाँ थियो र सिक्नुपर्ने कुरा धेरै थियो। एकचोटि एक जना भाइले मेरो अफिसमा भर्खरै बेथेलमा सेवा गर्न थालेकी एक बहिनीलाई चिनाउन ल्याउनुभयो। मैले बहिनीसित हात मिलाउन खोज्दा ती बहिनीले त मेरो खुट्टामै ढोग्न आइन्‌। म त झसङ्‌गै भएँ। मैले झल्याँस्स दुइटा बाइबल पद सम्झेँ, प्रेषित १०:२५, २६ र प्रकाश १९:१०। ‘यस्तो गर्नु हुँदैन’ भनेर तिनलाई भनूँ कि जस्तो लाग्यो। तर फेरि सोचेँ, तिनलाई बेथेलमा सेवा गर्न बोलाइएकोले बाइबलको शिक्षा त पक्कै थाह होला।

त्यसपछि त ती बहिनीसँग कुरा गरुन्जेल मलाई साह्रै अप्ठ्यारो लाग्यो। पछि मैले त्यस विषयमा अनुसन्धान गरेँ। ती बहिनीले स्थानीय चलनअनुसार त्यसरी ढोगेकी रहेछिन्‌। नाइजेरियाको केही ठाउँमा त्यतिबेला त्यस्तो चलन रहेछ। पुरुषहरूले पनि त्यसरी नै ढोग्ने गर्थे। त्यो उपासना नभई आदर देखाउने एउटा तरिका थियो अनि बाइबलमा पनि त्यस्तो उदाहरण पाइन्छ। (१ समु. २४:८) धन्‍न, मैले ती बहिनीलाई अप्ठ्यारोमा पार्ने केही कुरा भनिनँ।

हामीले नाइजेरियामा लामो समयदेखि उल्लेखनीय विश्‍वास देखाएका थुप्रै भाइबहिनीलाई भेट्यौँ। त्यस्तै एक जना आइजेया आडेङबोना थिए।b तिनले जवान छँदै सत्य सिकेका थिए। पछि तिनलाई कुष्ठरोग लाग्यो। तिनलाई कुष्ठरोगीहरू राखिने ठाउँमा पठाइयो र त्यहाँ अरू कोही यहोवाका साक्षीहरू थिएनन्‌। विरोधको बाबजुद तिनले ३० जनाभन्दा धेरै कुष्ठरोगीलाई सत्य सिक्न मदत गरे र पछि त्यहीँ एउटा मण्डली पनि स्थापना गरे।

केन्या—भाइबहिनीले धीरजी हुँदै सिकाए

अनाथ गैँडालाई हेर्दै

सन्‌ १९९६ मा हामीलाई केन्या शाखा खटाइयो। मैले सुरुमा बताएको अनुभवपछि म केन्यामा पहिलो चोटि जाँदै थिए। हामी बेथेलमै बस्यौँ। बेथेल परिसरमा थुप्रै बाँदर थिए। तिनीहरूलाई बहिनीहरूले फलफूल बोकेर हिँडेको देख्नै हुँदैनथ्यो, खोसिहाल्थे। एकचोटि एक जना बहिनीले आफ्नो कोठाको झ्याल खुल्लै छोडेकी रहेछिन्‌। तिनी फर्किँदा त एक हूल बाँदरहरूको भोज चलिरहेको रहेछ। ती बहिनी चिच्याउँदै बाहिर निस्किइन्‌ अनि बाँदरहरू पनि डराएर झ्यालबाट भागाभाग गरे।

पलिन र म स्वाहिली भाषाको मण्डलीमा जान थाल्यौँ। केही समयपछि मलाई मण्डली पुस्तक अध्ययन सञ्चालन गर्न भनियो (अहिले मण्डली बाइबल अध्ययन भनिन्छ)। तर स्वाहिली भाषा भर्खरै सिक्दै गरेकोले मलाई केटाकेटीलाई जत्तिको पनि आउँदैनथ्यो। पहिल्यै राम्ररी तयारी गरेकोले म प्रश्‍नहरू त जसोतसो सोधिहाल्थेँ। तर भाइबहिनीले टिप्पणी दिँदा छापिएको भन्दा अलिकति मात्र फरक जवाफ दिए भने पनि म बुझ्दिनथेँ। साह्रै लाज लाग्थ्यो! बिचरा भाइबहिनीहरू, उहाँहरूले मप्रति धीरज देखाउनुभयो र नम्र भई मण्डलीको प्रबन्ध स्विकार्नुभयो। म उहाँहरूप्रति निकै आभारी छु।

अमेरिका—भाइबहिनीहरू सम्पन्‍न तर वफादार

हामीले केन्यामा लगभग एक वर्ष सेवा गऱ्‍यौँ। त्यसपछि १९९७ मा हामीलाई न्यु योर्कको ब्रुक्लिन बेथेलमा खटाइयो। यस देशका मानिसहरू भौतिक रूपमा सम्पन्‍न छन्‌ तर यसका आफ्नै बेफाइदाहरू पनि छन्‌। (हितो. ३०:८, ९) तैपनि यहाँका भाइबहिनीले वफादारी देखाइरहेका छन्‌। हाम्रा भाइबहिनीले आफ्नो समय र स्रोतसाधन अझ धनी हुन नभई यहोवाको सङ्‌गठनको कामलाई सघाउन प्रयोग गरिरहेका छन्‌।

वर्षौँको दौडान हामीले भाइबहिनीहरू विभिन्‍न परिस्थितिमा वफादार रहेको देखेका छौँ। आयरल्याण्डका भाइबहिनीले हिंसाको बाबजुद वफादारी देखाए। त्यसैगरि अफ्रिकाका भाइबहिनीहरू गरिब र सङ्‌गी उपासकहरूदेखि टाढा हुनुपरे तापनि वफादार रहे। अर्कोतर्फ, अमेरिकाका भाइबहिनी सम्पन्‍न भए पनि वफादार छन्‌। आफ्ना सेवकहरू जस्तोसुकै परिस्थितिमा पनि वफादार रहेको देख्दा यहोवा पक्कै खुसी हुनुहुन्छ!

पलिनसँगै वारविक बेथेलम

वर्षहरू “तानको थुरी चलेभन्दा छिटो बितिरहेका छन्‌।” (अय्यु. ७:६) अहिले हामी न्यु योर्कको वारविकमा भएको विश्‍व मुख्यालयमा सेवा गर्दै छौँ। यहाँ हामीले एकअर्कालाई साँचो प्रेम गर्ने भाइबहिनीसँगै मिलेर काम गर्ने सुअवसर पाएका छौँ। अब चाँडै राजा येसु ख्रिष्टले उहाँका असङ्‌ख्य वफादार सेवकहरूलाई इनाम दिनुहुनेछ। उहाँको लागि आफ्नो तर्फबाट सक्दो गर्न पाउँदा हामी खुसी र सन्तुष्ट छौँ।—मत्ति २५:३४.

a त्यतिबेला अधिवेशनलाई जिल्ला सम्मेलन भनिन्थ्यो।

b आइजेया आडेङबोनाको जीवनी अप्रिल १, १९९८ अङ्‌कको प्रहरीधरहरा, पृष्ठ २२-२७ मा छापिएको थियो। तिनको मृत्यु २०१० मा भयो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने