प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 डिसेम्बर pp. २८-२९
  • ‘सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्‌’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्‌’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धन्यवाद दिँदा खुसी हुन सकिन्छ
  • कृतज्ञताले मानिसहरूलाई घनिष्ठ बनाउँछ
  • धन्यवादी हुँदा सकारात्मक हुन सकिन्छ
  • तपाईँले पाउनुभएका आशिष्‌हरूबारे सोच्नुहोस्‌
  • कृतज्ञता
    ब्यूँझनुहोस्‌!—२०१६
  • कृतज्ञताको मनोभाव खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • के तपाईं मौका छोप्नुहुन्छ?
    हाम्रो राज्य सेवा—२०१४
  • कृतज्ञ किन हुने?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 डिसेम्बर pp. २८-२९

‘सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्‌’

के तपाईँमा धन्यवादी मनोभाव छ? यो प्रश्‍न हामी हरेकले विचार गर्नुपर्छ। बाइबलले हाम्रो समयमा धेरै मानिस “कृतघ्न” हुनेछन्‌ भनेर भविष्यवाणी गरेको थियो। (२ तिमो. ३:२) केही-केही मानिस अरूले आफ्नो लागि सबै काम गरिदिएको अथवा आफूलाई चाहिएको कुरा दिएको आस गर्छन्‌। तिनीहरू आफूले पाएका कुराहरूको लागि कृतज्ञ हुनु आवश्‍यक छैन भनेर सोच्छन्‌। के तपाईँलाई त्यस्ता मानिसहरूसित सङ्‌गत गर्न रमाइलो लाग्छ? पक्कै लाग्दैन।

अर्कोतर्फ, परमेश्‍वरका सेवकहरूलाई यस्तो भनिएको छ: “तिमीहरू कृतज्ञ छौ भनी देखाओ।” हामीले “सबै कुराको निम्ति धन्यवाद” चढाउनुपर्छ। (कल. ३:१५; १ थिस्स. ५:१८) वास्तवमा धन्यवादी हुनु राम्रो हो। केही कारण विचार गरौँ।

धन्यवाद दिँदा खुसी हुन सकिन्छ

धन्यवादी हुनुको एउटा महत्त्वपूर्ण कारण यसले हामीलाई खुसी हुन मदत गर्छ। धन्यवाद दिने व्यक्‍तिले आफू खुसी भएको महसुस गर्छ अनि धन्यवाद पाउने व्यक्‍तिले पनि त्यस्तै महसुस गर्छ। धन्यवादी हुँदा किन दुवै जना खुसी हुन्छन्‌? कुनै व्यक्‍ति तपाईँको लागि केही गरिदिन इच्छुक हुन्छन्‌ भने तिनले तपाईँलाई मदतको खाँचो छ भनेर महसुस गरेका हुन्छन्‌ किनभने तिनी तपाईँको ख्याल राख्छन्‌। अरूले ख्याल राखेको महसुस गर्दा तपाईँलाई पनि खुसी लाग्छ। रुथले पनि त्यस्तै अनुभव गरेकी हुनुपर्छ। बोअजले रुथप्रति उदारता देखाए। आफ्नो ख्याल राख्ने कोही छ भनेर थाह पाउँदा रुथ निकै खुसी भएकी हुनुपर्छ।—रुथ २:१०-१३.

हामी विशेषगरि परमेश्‍वरप्रति धन्यवादी हुनुपर्छ। उहाँले विगत र वर्तमानमा दिनुभएको आध्यात्मिक र भौतिक कुराहरूबारे समय-समयमा पक्कै विचार गर्नुहुन्छ होला। (व्यव. ८:१७, १८; प्रेषि. १४:१७) तर यहोवाको भलाइबारे एकछिन मात्र विचार गर्नुको साटो उहाँले तपाईँ र तपाईँका प्रियजनहरूलाई दिनुभएको अनगिन्ती आशिष्‌बारे मनन गर्न समय निकाल्नुभए कसो होला? सृष्टिकर्ताको उदारताबारे मनन गर्दा उहाँप्रतिको तपाईँको कृतज्ञता बढ्‌नेछ। साथै उहाँले तपाईँलाई धेरै माया गर्नुहुन्छ र तपाईँको कदर गर्नुहुन्छ भन्‍ने कुरामा अझ विश्‍वस्त हुन सक्नुहुनेछ।—१ युह. ४:९.

यहोवाको उदारताबारे विचार गर्नु र उहाँले दिनुभएका आशिष्‌हरूमा मनन गर्नुका साथै उहाँको भलाइप्रति धन्यवादी हुनुहोस्‌। (भज. १००:४, ५) भनिन्छ, “अरूलाई धन्यवाद दिँदा आनन्द मिल्छ।”

कृतज्ञताले मानिसहरूलाई घनिष्ठ बनाउँछ

धन्यवादी हुनुको अर्को महत्त्वपूर्ण कारण हो, यसले मित्रतालाई बलियो बनाउँछ। अरूले कदर गरोस्‌ भन्‍ने चाहना हामी सबैको हुन्छ। कसैले तपाईँलाई मदत गर्दा मनैदेखि धन्यवाद दिनुभयो भने तपाईँहरूको सम्बन्ध घनिष्ठ हुनेछ। (रोमी १६:३, ४) साथै कृतज्ञ व्यक्‍तिहरू मदतगार पनि हुन्छन्‌। कसैले तिनीहरूलाई मदत गर्दा तिनीहरू पनि मदत गर्न उत्प्रेरित हुन्छन्‌। अरूलाई मदत गर्दा पक्कै पनि आनन्दित हुन सकिन्छ। येसुले पनि यसो भन्‍नुभएको थियो: “लिनुमा भन्दा दिनुमा धेरै आनन्द छ।”—प्रेषि. २०:३५.

क्यालिफोर्निया विश्‍वविद्यालयको कृतज्ञतासम्बन्धी अध्ययन परियोजनाको सहनिर्देशक रोबर्ट एमन्स यसो भन्छन्‌: “कृतज्ञ हुन हामी एकअर्कामा निर्भर छौँ भनेर बुझ्नुपर्छ। कहिलेकाहीँ हामी दिन्छौँ भने कहिलेकाहीँ पाउँछौँ।” वास्तविक कुरा के हो भने जीवन धान्‍न र सुखी हुन हामी विभिन्‍न तरिकामा अरूमा निर्भर हुन्छौँ। जस्तै: कसै-कसैले हाम्रो लागि खानेकुराको प्रबन्ध गरिदेलान्‌ अथवा स्वास्थ्य उपचारमा मदत गर्लान्‌। (१ कोरि. १२:२१) धन्यवादी मनोभाव भएको व्यक्‍तिले अरूले केही गरिदिँदा मनैदेखि त्यसको कदर गर्छ। त्यसैले अरूले तपाईँको लागि केही गरिदिँदा के तपाईँ धन्यवाद भन्‍ने गर्नुहुन्छ?

धन्यवादी हुँदा सकारात्मक हुन सकिन्छ

धन्यवादी हुनुको अर्को कारण हो, यसले नकारात्मक कुरामा नभई सकारात्मक कुरामा ध्यान दिन मदत गर्छ। हाम्रो दिमागले एक अर्थमा फिल्टरले जस्तै काम गर्छ। यसले हामीलाई वरपरका केही खास कुराहरूमा ध्यान दिन र बाँकी कुराहरूलाई चाहिँ बेवास्ता गर्न मदत गर्छ। तपाईँले धन्यवादी हुँदा सकारात्मक कुराहरू देख्न सक्नुहुनेछ अनि समस्याहरूबारे मात्र सोच्नुहुनेछैन। तपाईँ जति कृतज्ञता व्यक्‍त गर्नुहुन्छ, त्यति नै असल कुराहरूमा ध्यान दिन सक्नुहुनेछ अनि यसले तपाईँलाई अझ धन्यवादी हुन मदत गर्नेछ। धन्यवादी हुन सक्ने कुराहरूमा ध्यान दिँदा पावलको यो आग्रह पालन गर्न सक्नुहुनेछ: “प्रभुमा सधैँ रमाओ।”—फिलि. ४:४.

धन्यवादी हुँदा सकारात्मक तरिकामा सोच्न सकिन्छ। एकातिर धन्यवादी हुनु र अर्कोतिर द्वेष राख्नु, दुःखी हुनु वा रिसाउनु सम्भव छ र? धन्यवादी मानिस भौतिकवादी हुँदैन। ऊ आफूसित भएका कुराहरूमा सन्तुष्ट हुन्छ अनि सरसामान थुपार्न लागिपर्दैन।—फिलि. ४:१२.

तपाईँले पाउनुभएका आशिष्‌हरूबारे सोच्नुहोस्‌

यस अन्तको दिनमा गाह्रो परिस्थितिको सामना गर्नुपर्दा तपाईँ दुःखी र निरुत्साहित भएको सैतान चाहन्छ। यदि तपाईँमा नकारात्मक सोचाइ र गनगन गर्ने मनोवृत्ति छ भने त्यो खुसी हुन्छ। साथै तपाईँ प्रभावकारी प्रचारक बन्‍न सक्नुहुनेछैन। वास्तवमा धन्यवादी मनोभाव र परमेश्‍वरको पवित्र शक्‍तिको फलका पक्षहरू आपसमा सम्बन्धित छन्‌। उदाहरणको लागि, हामी आनन्दित छौँ किनभने हामी परमेश्‍वरले दिनुभएका असल कुराहरूमा ध्यान दिन्छौँ अनि उहाँले भविष्यको लागि गर्नुभएका प्रतिज्ञाहरूमा विश्‍वास गर्छौँ।—गला. ५:२२, २३.

तपाईँ यहोवाको साक्षी भएकोले यस लेखमा धन्यवादी हुनेबारे बताइएको कुरामा सहमत हुनुहुन्छ होला। तैपनि धन्यवादी र सकारात्मक हुन सधैँ सजिलो हुँदैन भनेर पनि मानिलिनुहुन्छ होला। तर हताश नहुनुहोस्‌। तपाईँ धन्यवादी हुन र त्यस्तो मनोभाव कायम राख्न सक्नुहुन्छ। कसरी? आफू धन्यवादी हुन सक्ने जीवनका केही पक्षहरूबारे विचार गर्न हरेक दिन समय निकाल्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँमा कृतज्ञता व्यक्‍त गर्ने चाहना स्वतः आउनेछ। यसो गर्नुभयो भने तपाईँ जीवनमा आइपर्ने समस्याहरूमा ध्यान दिने मानिसहरूभन्दा आनन्दित हुन सक्नुहुनेछ। तपाईँको उत्थान गर्न र तपाईँलाई आनन्दित तुल्याउन यहोवा र अरूले गरिदिनुभएका असल कामहरूबारे सोच्नुहोस्‌। ती कुराहरू लेखेर पनि राख्न सक्नुहुन्छ। हरेक दिन तपाईँ कृतज्ञ हुन सक्नुको दुई-तीन वटा कुरा लेख्न सक्नुहुन्छ।

यसबारे अध्ययन गरेका अनुसन्धानकर्ताहरूको भनाइअनुसार “कृतज्ञता व्यक्‍त गर्ने बानीले हाम्रो मस्तिष्कका न्युरोनहरूको काम गर्ने तरिकामा परिवर्तन ल्याउँछ, जसले गर्दा हामी आफसेआफ सकारात्मक तरिकामा सोच्न थाल्छौँ।” धन्यवादी व्यक्‍ति आनन्दित हुन्छ। त्यसैले आफूले पाएका आशिष्‌हरूबारे सोच्नुहोस्‌, जीवनका सकारात्मक कुराहरूबाट आनन्द उठाउनुहोस्‌ अनि सधैँ धन्यवादी हुनुहोस्‌। आफूले पाएका असल कुराहरूको कदर गर्नुहोस्‌ अनि ‘यहोवालाई धन्यवाद चढाउनुहोस्‌ किनकि उहाँ भला हुनुहुन्छ।’ हो, ‘सबै कुराको निम्ति धन्यवाद चढाउनुहोस्‌।’—१ इति. १६:३४; १ थिस्स. ५:१८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने