के तपाईं मौका छोप्नुहुन्छ?
आउँदै गरेको स्मरणार्थमा हामी कृतज्ञ हुने मौका पाउँछौं
१. स्मरणार्थ उत्सवले हामीलाई कस्तो विशेष मौका दिन्छ?
१ अप्रिल १४ मा हुने स्मरणार्थले हामीलाई यहोवाको उदारताप्रति कृतज्ञ हुने अनि कामबाट त्यो कृतज्ञता देखाउने मौका दिन्छ। लूका १७:११-१८ को विवरणले यहोवा र येशूले कृतज्ञ हुने कुरालाई कसरी हेर्नुहुन्छ भनी बताउँछ। येशूलाई धन्यवाद दिने मौका दसै जना कुष्ठरोगीसित थियो तर दुःखको कुरा एक जनाले मात्र धन्यवाद दिए। छुडौतीको बलिदानले गर्दा भविष्यमा निरोगी जीवन र अनन्त जीवन सम्भव भएको छ। प्रमोदवनमा हामी पक्कै यहोवालाई यस्ता कुराको लागि दिनहुँ नै धन्यवाद दिन्छौं होला। तर आउने हप्ताहरूमा चाहिं कसरी कृतज्ञता देखाउन सक्छौं?
२. छुडौतीको बलिदानप्रतिको कृतज्ञता बढाउन हामी के गर्न सक्छौं?
२ कृतज्ञ हुनुहोस्: कृतज्ञ हुने कुरा मनबाट आउँछ। अनि दिमागमा जे भर्छौं, त्यसले हाम्रो मनलाई असर गर्छ। त्यसैले स्मरणार्थको बेला अझै कृतज्ञ हुनको लागि हामीले आफ्नो दिमागमा राम्रो कुरा भर्न सक्छौं। त्यसको लागि स्मरणार्थको लागि दिइएको बाइबल पढाइले मदत गर्छ। हामी यसको तालिका सन् २०१४ को भित्तेपात्रो अनि दैनिक पदको किताबमा पाउँछौं। साथै स्मरणार्थको केही समयअघि jw.org मा पनि यो तालिका राखिनेछ। त्यसैले परिवारै मिलेर यी विवरणहरू पढे कसो होला? यसो गर्दा छुडौतीको बलिदानप्रतिको हाम्रो कृतज्ञता बढ्नेछ। साथै यसले हाम्रो व्यवहार र कामलाई पनि असर गर्छ।—२ कोरि. ५:१४, १५; १ यूह. ४:११.
३. स्मरणार्थ उत्सवको दौडान हामी कृतज्ञ भएको कुरा कुन-कुन तरिकामा देखाउन सक्छौं?
३ कामबाट कृतज्ञता देखाउनुहोस्: कृतज्ञ भएको कुरा कामबाट देखाउन सकिन्छ। (कल. ३:१५) येशूले निको पार्नुभएको कुष्ठरोगीलाई विचार गरौं। तिनले आफू कृतज्ञ भएको कुरा देखाउन येशूलाई खोजे र उहाँलाई धन्यवाद दिए। साथै आफू कसरी चमत्कारद्वारा निको भए भनेर अरूलाई उत्साहित हुँदै बताए। (लूका ६:४५) छुडौतीको बलिदानप्रति कृतज्ञ भएकोले के हामी पनि स्मरणार्थबारे अरूलाई बताउने अभियानमा जोडतोडले लाग्छौं? हामी कृतज्ञ भएको देखाउने एउटा राम्रो तरिका स्मरणार्थको बेला सहायक अग्रगामी सेवा गरेर अथवा प्रचारकार्यमा अझ बढी भाग लिएर हो। साथै कृतज्ञ छौं भने हामी स्मरणार्थको साँझमा नयाँ व्यक्तिहरूलाई स्वागत गर्न अनि उनीहरूले सोध्ने प्रश्नको जवाफ दिन जुरमुरिन्छौं।
४. स्मरणार्थपछि पछुतो नमान्ने हो भने हामीले यो उत्सव कसरी मनाउन सक्छौं?
४ के अब आउने स्मरणार्थ उत्सव नै हाम्रो अन्तिम उत्सव हुनेछ? (१ कोरि. ११:२६) त्यो त हामीलाई थाह छैन। तर भविष्यमा स्मरणार्थ उत्सव मनाउने चलनकै अन्त्य भएपछि भने हामीले कृतज्ञता देखाउने मौका पाउनेछैनौं। त्यसैले के तपाईं अहिल्यै मौका छोप्नुहुन्छ? हामी मनैदेखि कृतज्ञ भयौं र कृतज्ञ भएको कुरा बोलीबाट प्रकट गऱ्यौं भने छुडौतीको बलिदानका प्रबन्धक यहोवा खुसी हुनुहुनेछ।—भज. १९:१४.