मानवजातिको सृष्टिकर्त्तामाथि विश्वास बढाउने
१ जीवनको सुरुआत र उद्देश्यबारे धेरै मानिसहरू कुनै न कुनै प्रकारको निष्कर्षमा पुगेका छन्। तर अफसोचको कुरा, गलत प्रभावमा परेर धेरैले विकासवाद नै त्यसको जवाफ हो भनी स्वीकारेका छन्। क्रिएशन पुस्तकले यस विवादको दुवै पक्षलाई गहिरिएर हेर्छ र बाइबलको पक्षमा प्रशस्त जोडदार प्रमाणहरू पेश गर्छ। सुन्न इच्छुकता देखाउने सोझा हृदय भएका व्यक्तिहरूलाई हामी कसरी मदत दिन सक्छौं? पुनःभेटहरू गरेर। हामी पुनः फर्कंदा यहोवा हाम्रो सृष्टिकर्त्तामाथि तिनीहरूको विश्वास बढाउन हाम्रो मनमा केही निश्चित कुरा हुनु बेस हुनेछ।
२ यदि त्यस व्यक्तिले बाइबलप्रति विश्वास देखायो भने वार्तालाप सुरु गर्न यो प्रस्तुति प्रभावकारी हुन सक्छ:
▪“यशैया ४५:१८ ले ब्रह्माण्डको सुरुआतबारे एउटा प्रभावकारी विवरण दिन्छ; त्यसबारे तपाईंको विचार म जान्न चाहन्छु। [पद पढ्नुहोस् र टिप्पणी गर्ने मौका दिनुहोस्।] स्वर्ग अनि पृथ्वीको सृष्टिकर्त्ता भनी यहोवाले आफूलाई चिनाउनुभएको छ। यस पृथ्वीमा जीवन को सुरुआत नि? त्यसको श्रेय पनि यशैया ४२:५ ले उहाँलाई नै दिन्छ। [पढ्नुहोस्।] यदि बाइबलले भनेको कुरा सत्य हो भने विकासवाद गलत हुनुपर्छ। के तपाईंलाई बाइबलमा विश्वास गर्न सकिन्छ जस्तो लाग्छ?” क्रिएशन पुस्तकको अध्याय १७ देखाउनुहोस् र यहोवा नै सृष्टिकर्त्ता हुनुहुन्छ भनी विश्वास गर्न सकिने थप कारणहरू औंल्याउनुहोस्।
३ यस्तै केही भनेर तपाईंले वार्तालाप सुरु गर्न सक्नुहुन्छ:
▪“मानिस र पृथ्वीको भविष्य के हो भनेर अघिल्लो भेटमा मैले प्रश्न गरेको थिएँ? मैले तपाईंलाई दिएको पुस्तकले त्यस प्रश्नको जवाफ कसरी दिन्छ, हेर्नुहोस्।” क्रिएशन पुस्तकको पृष्ठ २३४-५ पल्टाउनुहोस् र अनुच्छेद ६, ७ पढ्ने प्रोत्साहन दिनुहोस्। अझै चासो देखाएमा तपाईं यो प्रश्न सोध्न सक्नुहुन्छ: “पृथ्वीमा कस्ता नाटकीय परिवर्तनहरू होला जस्तो तपाईंलाई लाग्छ?” उपयुक्त भएमा क्रिएशन पुस्तकको यसै अध्यायका अरू अनुच्छेदहरू समावेश गरेर त्यस बुँदालाई त्यतिनै खेर अथवा अर्को पटक छलफल गर्न सक्नुहुन्छ।
४ घरधनीले “सबैभन्दा महान पुरुष” पुस्तक लिइसकेको छ भने तपाईं सोध्न सक्नुहुन्छ:
▪“आफूले खोजी रहेको सुख आज धेरै मानिसले पाउन सकेका छैनन् भनी के तपाईंले विचार गर्नु भएको छ? सुख कसरी प्राप्त गर्न सकिन्छ भनी येशू ख्रीष्टले सिकाउनुभयो र सही काम गर्दा प्राप्त हुने आनन्दलाई उहाँले आफ्नो जीवनमा प्रतिबिम्बित गर्नुभयो।” मत्ती ५:३-१२ मा उल्लिखित ‘सुखहरूमा’ ध्यानाकर्षण गर्नुहोस् र तीमध्ये केही सबैभन्दा महान पुरुष पुस्तकको अध्याय ३५ मा उल्लिखित छन्। विशेषगरि आफ्नो आध्यात्मिकताप्रति सचेत हुनाले कसरी सुखी हुन सकिन्छ भनी देखाउनुहोस् र यस आवश्यकता पूरा गर्न गृह बाइबल अध्ययन एउटा राम्रो कदम हो भनी बुझाउनुहोस्।
५ तपाईंले यसो भनेर पनि पुनःभेट सुरु गर्न सक्नुहुन्छ:
▪“दुष्ट्याईं र दुष्टताको कारण मानवजातिले निकै पीडा र दुःख भोगेको छ। यस्ता परिस्थितिहरूको अन्त हुनेछ भनी यस पृथ्वीको सृष्टिकर्त्ता, यहोवाले प्रतिज्ञा गर्नुभएको छ। [अध्याय १३३ पल्टाउनुहोस् र हितोपदेश २:२१, २२ पढ्नुहोस्।] येशूको उदाहरण र शिक्षाद्वारा यहोवाले सिकाउनुभएका कुराहरूप्रति आज्ञाकारी हुन र सिक्न चाहनेहरूले भविष्यमा अद्भुत आशिषहरू पाउन आशा गर्न सक्छन्।” हामीले त्यस्तो आशा गर्ने बलियो आधार देखाउन २५, २६, ३७, ४४, ४६, ४७, ५२, ५८ र ७० जस्ता अध्यायहरूमा उल्लिखित एक दुई वटा चमत्कारहरूमाथि ध्यानाकर्षण गर्नुहोस्।
६ पुनःभेटहरूका निम्ति निश्चित समय तोक्नु अनुभवी प्रकाशकहरूले राम्रो पाएका छन्। यो काम गर्ने निश्चित प्रबन्ध गर्नाले चासो देखाउनेहरूकहाँ तुरुन्तै जान मदत मिल्नेछ। तपाईं र त्यस क्षेत्रमा बस्ने मानिसहरूको निम्ति उपयुक्त समय पत्ता लगाउनुहोस्। यस कार्यमा नियमित तवरमा भाग लिएर “चेला बनाओ” भन्ने आज्ञा पूरा गर्नुको आनन्द प्राप्त गर्नुहुनेछ।—मत्ती २८:१९, २०.